सुनसरीमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका महान थापा थिएटर आर्टिस्ट हुन् । एक्टर स्टुडियो नेपालमा अभिनय पढेका उनी अभिनयसँगै बिबिएसका विद्यार्थी पनि हुन् । इन्टरनेशनल थिएटर फेस्टिवलमा `रेप मेसिन´नामक नाटक साथै पछिल्लो समय निक्कै चर्चा कमाएको नाटक ‘झिम्के मामा’मा समेत उनले अभिनय गरेका थिए । अन्य नाटकहरूमा पनि व्याक स्टेज काम गरेका उनी निक्कै मिहेनति छन् ।
मनदेखि चाह्यो र मिहेनत गर्यो भने हरेक चिज पूरा हुन्छ भन्ने उनीसँग काव्यालयको रङ्गमञ्च विशेष बिहीबारको लागि अन्शु खनालले गरेको कुराकानी:
१.तपाईंलाई मैले अभिनय गर्नुपर्छ वा म अभिनयमा जानुपर्छ भन्ने कहिले महसुस भयो ?
प्लस टु सकाएर बस्दा मलाई मैले अभिनयका क्लासहरू लिनुपर्छ कि भन्ने सोचेँ । किनकि मैले दाइहरूसँग केही सर्ट मुभिहरूमा काम गरेको थिएँ । मलाई त्यति बेलासम्म अभिनय पनि सिकाइन्छ भन्नेसम्म थाहा थिएन । जब मलाई अभिनयको क्लास हुन्छ भन्ने थाहा भयो तब नै मैले आफूलाई ग्रोथ गराउनु पर्छ भनेर एक्टर स्टुडियोमा क्लास लिन थालेँ ।
२.एक्टर स्टुडियोमा जोइन हुनेबित्तिकै कस्तो महसुस भएको थियो ?
मलाई त्यहाँ एक्टिङको मात्रै क्लास हो भन्ने माइन्ड सेट भएको थियोे । त्यहाँ गइसकेपछि मैले धेरै कुरा बुझेँ । मैले त्यसअघि यो फिल्डको खासै धेरै मान्छेहरूसँग चिनजान या काम गरेको थिइनँ । एक्टिङलाई पनि मैले आफ्नो नजरले जे देखेको थिएँ त्योभन्दा धेरै फरक पाएँ । सरले पनि हामीलाई त्यहाँ एक्टिङ बाहेक पनि धेरै कुरा सिकाउनु भयो । सुरुमा केही दिन त मलाई मेरो यो इच्छा मात्रै हो कि ? म एकदमै राम्रोसँग गर्न सक्दिनँ कि? भनेर डर पनि लाग्यो । त्यहाँ सरले हरेक विद्यार्थीलाई उसको आफ्नै तरिकाले ट्रिट गर्नुहुन्थ्यो त्यही कारण पनि धेरै सजिलो भयो । क्लास सकिने समयसम्म चाहिँ मलाई म गर्न सक्छु भन्ने आत्मबल चाहिँ आइसकेको थियोे र क्लास जोइन गरेर एकदमै ठिक गरेछु भन्ने महसुस भएको थियो ।
३.नेपालमा नाटक, सर्ट मुभि, मनोलगहरूको भविष्य कस्तो छ त ?
भविष्य कसैले देखेको हुँदैन, पहिलेदेखि हेर्ने हो भने पनि अहिलेसम्म यो क्षेत्रमा धेरै परविर्तन आइसकेको छ । तर हामीले आफूले चाहिँ मिहेनत गर्नुपर्छ आज पनि र भोलि पनि । अहिले मिहेनत गरियो भने भविष्य पनि अवश्य नै राम्रो हुनेछ ।
४.नेपाली नाटकहरूमा मौलिक कथा नआएकै हो कि नाटकको दर्शक कम हो ?
नाटकहरूमा मौलिक कथा आएको छ, मैले पछिल्लो समय गरेको नाटक झिम्के मामाको कथा पनि मौलिक थियो । तर हामी नेपालीहरूमा नाटक हेर्ने बानी चाहिँ कम नै छ । दर्शक चाहिँ हुनुहुन्छ तर हुनुपर्ने भन्दा अलि कम नै हुनुहुन्छ कि जस्तो लाग्छ ।
५.आर्ट फिल्डमा छोराछोरी पठाउने भनेपछि बुवाआमा अझै मानिहाल्ने अवस्था छैन नि ?
पहिले भन्दा अहिले केही हदसम्म नाटक सिक्न या पेन्टिङ पढ्न या डान्स गर्न पनि बुवाआमाहरूले छोराछोरीलाई छुट दिएको हो कि भन्ने लाग्छ मेरो विचारमा । पहिल्यैदेखि आर्ट फिल्डमा कमाइ हुँदैन भन्ने, नाम बनाउन समय लाग्छ भन्ने, आर्ट फिल्डमा काम गर्नेहरूलाई गलत नजरले हेर्ने, जस्ता अनेक मानसिकताहरूका कारणले अझै केही व्यक्तिहरू चाहेर पनि यस क्षेत्रमा आउन सकेका छैनन् । मेरो विचारमा हरेक व्यक्तिमा कला हुन्छ उसको त्यो कलालाई समयमै बुझेर यो क्षेत्रमा आउन चाहनेहरूलाई अभिभावकहरूले सपोर्ट गर्नुपर्छ ।
६.नाटकमा क्रिटिक्सको भुमिका ?
नाटकमा क्रिटिक्सको भुमिका एकदमै महत्त्वपूर्ण हुन्छ । क्रिटिक्स भन्ने शब्द नेगेटिभ सुनिएपनि त्यो नराम्रो चाहिँ होइन । कुनैपनि क्रिटिक्सले आफ्नो नजरबाट मात्रै हेरेर आफ्नो विचार नदिई त्यो कुरालाई चौतर्फी बुझेर विचार दिनुपर्छ भन्ने मलाई लाग्छ ।
७. सबैको जीवनमा केही न केही प्रेरणदायी चिज हुन्छ भनिन्छ । तपाईंको जीवनमा त्यस्तो केही चिज ?
हरेक मान्छे सानो सानो चिजले प्रेरित हुन्छ । म हरेक दिन केही न केही कुराबाट प्रेरित भइरहेकै हुन्छु । ठ्याक्कै यही पलले मलाई प्रेरित गरेको छ भनेर भन्नै सक्दिनँ । यही कुराले म इन्सपाएर हुन्छु भनेर मैले भनेँ भने यत्तिकै भनेको जस्तो हुन्छ ।
८.मनपर्ने किताब ?
दा भिन्ची डिकोडेड, र अमिश त्रिपाठीको द शिव ट्रिलोजीः ओम्निबस
९.बारम्बार हेरिराख्न मनलाग्ने फिल्म ?
बाइसाइकल थिव्स
१०.यो कोरोनाको महामारीमा के गर्दै हुनुहुन्छ ?
यस्तो अवस्थामा घरबाहिर निस्किन ठिक छैन, सरकारले भनेअनुसार घरमै बसिरहेको छु । एकदमै अत्यावश्यक परेमा मात्रै बाहिर निस्किन्छु नत्र घरमा नै मुभि हेर्ने, पढ्ने, लेख्ने यस्तै गरेर दिन बितिरहेको छ ।
अघिल्लो संवादः
सिन्धुलियसँग दृश्यसंवाद
https://kavyalaya.com/drishya-sambad/