राजधानी छिरेको बिर्खे

कागहरुको शहर

कुहिएपछि मानव विचारहरु
डुङडुङ गन्हाउँदो छ यो शहर
खण्डहर बनेको छ
भत्किएर आदिम सभ्यता

यस शहरमा कागहरु राज गर्छन्
माथिबाटै हेर्छन् बेथिती
र माथिबाटै जान्छन् पित्त बिस्ट्याएर

जमिनमा ब्वाँसाहरु सल्बलाउँछन्
रखवाली गर्छन् सिनो बनिसकेको सभ्यता
जसरी दुधको रखवाली गर्छ बिरालो

मानिसहरु मस्त बसेका छन्
सुम्पिएर सत्ता
कागहरुलाई
ब्वाँसाहरुलाई !

Crow Wearing Crown Under Skull

Crow Wearing Crown Under Skull | Source: FreePik

***

सरकार

सरकार के गर्छ?

सरकार कुम्भकर्णको निद्रा सुत्छ
र जनताको काँधमा टेकेर
कानमा मुतिदिन्छ
र न्याक्छ घाँटी
जुर्मुराउन लागे आवाजहरु

मेरो देशको सरकार यसो गर्छ

Satirical Illustrations by Anthony Freda

Satirical Illustrations by Anthony Freda

***

राजधानी छिरेको बिर्खे

हस्तरेखा साहुको जिम्मामा छोडेर
एउटा दुब्लो मानुस
भालेको डाँक अघि नै
लुसुक्क शहर पस्छ

शहरमा
उसले कमाउनुछ
र सबैभन्दा पहिले फिर्ता लिनु छ
आफ्नै हत्केलाको स्वामित्व
अनि किन्नु छ
आकाशले रोएर नबिथोल्ने निद्रा
जमानी बसेको
मंगलसुत्र छुटाउनु छ
छोरोका सपना किन्नु छ
आमालाई सास फेर्नै नदिने
ज्याद्रो दमको ओखती
बाको फुटेको हातको मल्हम
….

अहो !
किन्नुपर्ने धेरै छन्
सोच्दा सोच्दै ऊ शहरको मूलचोकमा पुग्ने छ
लापरबाह लात बजार्दै स्वागत गर्ने छ समय
र थपिनेछ
सपनाहरुको भिडमा
एक अर्को सपना !!

Nine, Ten, The Little Black Hen by Julia Suddaby

Nine, Ten, The Little Black Hen by Julia Suddaby

Facebook Comments

You may also like

error: Content is protected !!