प्रश्नहरू | SATURDAYकलम | Kavyalaya - काव्यालय

प्रश्नहरू

काम परेर निस्किएँ। सन्चै छौ र खबर के छ भन्ने कुरा भ्याइएपछि अरू भन्नको सट्टा यो आवाज मेरो कानमा पर्छ।

“तिमी भविष्यमा के गर्छौ?” कोही सोध्छ।

खासमा कोही भन्नुपर्ने आवश्यकता यहाँ थिएन। उसको सात पुस्तालाई म चिन्छु। यतिसम्म कि म उनीहरू सबैको नाम भन्दिन सक्छु। तर, जिन्दगीमा अरू काम नभए झैं बेतुकका कुरा सोध्नेको नाम थर लेखिदिन म तयार छैन। कोही भनिनु नै उपलब्धि हो उसको।

“जागिर गर्छु।” म भन्छु।

थाहा त मलाई म भोलि बिहान उठेर के गर्छु भन्ने पनि छैन। तर, यति भन्नु परिहाल्यो। तपाईं त्यो व्यक्तिलाई, जसको तपाईं नाम पनि लिन चाहनुहुन्न, यो भन्न पनि त चाहनुहुन्न कि तपाईंको भविष्यसम्म बाँचिरहने कुनै चाहना छैन। बाध्यताबस बाँचिरहेको मान्छेले गर्ने उपलब्धि सास फेर्नुबाहेक केही होइन। जागिर खानकै लागि तैँले के गरिरा’छस् भनेर सोध्ने हो भने मसँग त्यो जवाफ पनि छैन।

अब यहाँ तपाईं “सन्चै छ?” को जवाफ “सन्चै छ।” दिएपछि “अनि, हजुर सन्चै?” भनेर सोधेजस्तो “हजुर भविष्यमा के गर्ने?” सोध्न सक्नुहुन्न। उनको भविष्यमा उनले केही गरिसकिन्। उनले अफ्ना पतिलाई उनको सम्पत्तिको भावी हकवाला (पुत्र) दिइसकिन्। यो भनेको नेपाली समाजमा नारीको भविष्य र आवश्यकता दुवै सकिनु हो।

“अनि?” उनी भन्छिन्।

हो, उनी! मैले सकेसम्म तटस्थ लिङ्गी शब्द प्रयोग गरूँ भन्ने सोचिरहेकी थिएँ। तर, मेरो नेपाली भाषाको क्षमता यहीँ सकियो।

म हेरिरहन्छु। जसरी उनी मलाई हेरिरहन्छिन्। खासमा आँखा हेर्नकै लागि बनाइएका हुन्। मैले यहाँ यो लेख्नपर्ने जरुरी थियो? खासमा कुरा के हो भने अलिकति नजर तिम्रो झुकाएर आऊ, लजाऊ, आँखा उठाऊ, गित सुन्ने बित्तिकै मेरो पारो तात्छ, मैले एउटा मान्छे चिन्छु जो लजाएर रातो हुन्छ अनि मुख आफ्नो सिरानीमा घोप्टाउँछ। त्यो लजालु पुरुषमाथि भएको अन्याय सम्झेर मेरो मुटु टुक्रा टुक्रामा बाँडिन्छ। म आज ती सबै लजालु पुरुषसँग माफी माग्न चाहन्छु। माफ गरिदिनुहोस् ! उनीहरूले (यहाँ उनीहरूमा समाज र विशेषतः गीतकार पर्छन्) तपाईंको लजालुपनको कदर गर्न सकेनन् उनीहरूले तपाईंहरूको लागि गित बनाएनन् उनीहरूलाई माफी गरिदिनुहोस्, यो नारीहरूको एकलौटी हुने अभिशापबाट म लाजलाई आजबाट मुक्त गर्छु। हुन त, उनीहरूको भेट मैले भेटेजस्तो मीठो पुरुष-लाजसँग भएन होला। त्यो उनीहरूको गल्ती पनि होइन।

त म भन्दै थिएँ, मलाई कसैले हेरिरहँदा उनीहरूलाई हेरिरहन्छु। किनकी मेरा आँखा छन्। अनावश्यक वाक्य। उनीहरू मलाई हेरिरहन्छन् किनकी उनीहरूको पनि आँखा छ। कस्तो संयोग ! ह्वाट अ कोइन्सिडेण्ट !

“अनि?” म परेला उचाल्छु।

भनिहालुँ, तपाईंहरूले कल्पना गर्दा कुनै केटीका थ्रेडिङ गरेका परेला सम्झनुहोला। तर, मैले नगरेको २-४ वर्ष भयो। त्यसैले, आफ्नो कल्पना यथार्थता नजिक राख्नुहोला।

“बिहे नगर्ने???” उनको भविष्यसँग जोडिएको सवालले बल्ल आएर मेरो कानको जालीलाई भेट्यो।

तपाईंहरूले एबिस म्याथ्युको ‘जर्नी अफ् जोक’ हेर्नू भा’छ? त्यहाँ चाहिँ एबिस र अरू कमेडियन बसेर कुनै एउटा व्यङ्ग्य प्रस्तुत गर्नलाई कसरी एउटा पटकथा तयार पार्नुपर्छ भन्ने बारेमा कुरा हुन्छ। त्यो पटकथासँग जोडेर अन्त्यमा त्यो व्यङ्ग्यको फलश्रुती वा पन्चलाइन हानिन्छ। तपाईं मान्नुस् कि ‘भविष्यमा के गर्छ्यौ’ सोध्नु त्यो पटकथा हो। त्यसको फलश्रुती वा पन्चलाइनचाहिँ “बिहे नगर्ने?” भन्ने प्रश्न हो।

“किन नगर्ने? गर्ने।” म आधा हांँस्दै रोकिँदै फेरि हाँस्दै रोकिँदै हाँस्ने कि नहाँस्ने भनेर सोच्दै भनिरहेछु।

“केटासाथी होला नि?” म चाहन्छु कि नेपालका हरेक केटा यत्तिकै ठाडे होउन्। कुरा नचपाई बोल्न जान्ने होउन्। “मसँग बोल्दा तिम्रो प्रेमी केही भन्दैन?” भनेर सोध्नु भन्दा “प्रेमी छ कि छैन?” भनेर सोध्नु बढी उपयोगी होला।

“छैन” म भन्छु।

तपाईं त्यो कोहीलाई, जसको लैंगिकता तपाईंको भाषाको अध्ययनको कमिले लुकाउन सकिएन र उनी महिला हुन् भनेर थाहा भयो, त्यसलाई यो भन्न सक्नुहुन्छ कि तपाईं त्यस्तो व्यक्तिसँग प्रेम गर्नुहुन्छ? अनि तपाईंले उसलाई फेसबुकबाट चिन्नुभएको हो र तपाईंको र उसको यी चार वर्षमा एकपटक मात्र भेट भएको छ। अनि उसँग तपाईंले छालाको कपडा मात्र लगाएको फोटो छ।

“खोज्नुपर्यो” उनी भन्छिन्।

तपाईं आफ्नो सपना सम्झिनु हुन्छ। कुनै केटाको घर जाने। अनि उसले दिएको चिया पिउने। अनि चिया मीठो भएन भनेर केटालाई अस्वीकार गरेर हिँड्ने। या त विवाह फिल्ममा झैं गिलास समात्दा हात ठोकाउने। अनि आँखा जुध्ने। अनि प्रेम पर्ने। अनि आगो लाउने। अनि विवाह हुने। तर, नेपाली समाजमा आगो विवाह पछि लाग्छ। त्यो पनि घरमा होइन, विवाहित महिलाको शरीरमा।

तपाईंले “यसले गल्ती गरिहाली। भर्खर प्रेमी छ भनेकी होइन !” सोच्नु भो होला। के तपाईंलाई बिहे गर्ने बहानामा चिया चाख्न प्रेमिका नभएका पुरुष मात्र जान्छन् जस्तो लाग्छ? होची भई भन्यो। हाँस्दा कुकुरे दाँत देखियो भन्यो। चिया पची त जान्छ।

“मैले कहाँ खोज्नु तपाईंहरूले पो हो त खोज्ने !” मैले केही सोच्नुपूर्व नै उनी भन्छिन्।

“खोज्नु ,अब म बिहे गर्छु, भने पो खोज्नु” उनी मलाई हेरेर मुस्कुराउँछिन्।

“मैले त उहिल्यैदेखि भन्या हो। म त तयार छु। खोज्नु, म बिहे गर्छु।” लाजको गहनालाई फुकालेर कतै फालेछु क्यारे यो धृष्टता गर्छु म।

हुन त मलाई थाहा छ विवाह हुनु भनेको मलाई त्यो रात हुनसक्ने बलात्कारको लागि पनि तयार हुनु हो। अनि उही बलात्कारीसँग जिन्दगी जिउन तयार हुनु पनि हो। म उनलाई यो भन्न सक्दिनँ कि म जति पनि बलात्कार खप्न तयार छु। के म तयार छु र? वा के मैले तयार हुनुपर्ने हो र?

“युरोपतिरकै केटा खोज्ने त होला नि। दिदी उतै भए’सि..” उनी व्यङ्ग्य हानिरहेकी हुन् कि जस्तो लाग्छ मलाई। तर, होइनन्।

मेरी दिदी युरोप हुनुले मेरो योग्यता युरोप गएको केटा पाउने कसरी हुन गयो म बुझ्दिनँ। जब तपाईं यो बारेमा सोच्नुहुन्छ, तपाईंलाई केटा र केटीको वैवाहिक योग्यताको संरचनाबारे थाहा पाउन सक्नुहुन्छ। जस्तो कि, मेरी दिदी युरोपमा छे। त्यसकारण, म युरोपको केटा पाउन योग्य भएँ। तर, कुनै केटा घरमा बेरोजगार हल्लिरहेको छ। उसको दाइ विदेशमा छन् भने पनि उसको योग्यता बेरोजगार नै हुन्छ। कुनै दिन उतै जाला भन्ने आशले उसको योग्यताको मापन गरिए पनि मेरो हकमा म जानुपर्ने बाध्यता हुँदैन। तर उसको हुन्छ।

“ल खोजौँला” उनी यति भनेर लाग्छिन्।

उनले मसँग कस्तो केटा चाहियो नसोध्नुले मलाई रिस उठाउँछ। केटा भएको भए सुन्दर, सुशील, संस्कारी, खोइ के के भनी टोपल्थेँ होला। साहित्यकार भएको भए उही नागबेली केश, हरिणझैं चाल, ठूलाठूला आँखा, अन्नपूर्ण हिमालझैं स्तन, भन्थेँ कि? केटी नै भएर सोच्दा, जो कि म साच्चिकै हो, उनले ‘कस्तो केटा चाहियो’ भनी सोधेको भए म भन्थेँ होला “जसले केही इन्चको अंगमा आफ्नो पुरुषत्व नराखेको होओस्।”

Facebook Comments

You may also like

error: Content is protected !!