प्रिय माम्खा | संस्मरण | काव्यालय - Kavyalaya | बद्री भिखारी

प्रिय माम्खा –  बद्री भिखारी 

प्रिय माम्खा,                                                                            

                    माम्खालाई सम्झनुअघि सबैभन्दा पहिले सम्झिएका दुई वटा दृश्यहरू छन्, तर ती कुन अघि र कुन पछि हुन् थाहा छैन । आमाका काखमा बसेर दूध चुस्दै थिएँ, दूधका मुण्टा टट्टाएका हुँदा हुन्, आमाले तीतेपाती माँडेर जेठीलप्टनी आमाकै सामू दलिदिनुभएको थियो र थूथू गर्दै ‘अबदेखि यस्तो फोहोर दलेको बुबू नखानू है’, भन्नुभएको थियो । मेरै बालअधिकारभित्र पर्ने, मैले चुस्दै गरेको दूधमाथि बाल्यावस्थामा आमाले परचक्रीले जस्तो गर्नुभएको व्यवहार मलाई सैह्य भएको थिएन र आमाको त्यही कुरा मानिदिने म छोरो, ज्ञानी भएको थिइनँ । सम्भवतः आमाको आज्ञा उल्लङ्घन गर्ने परम्परा यहीँबाट शुरु गरेको थिएँ कि, सम्झन खोजेर पनि यकीन गर्न सकेको छुइनँ । तर मलाई ठ्याक्कै थाहा छ, मैले पाँच वर्षको उमेरसम्म दूध चुसेँ आमाको, कति सम्झन खोज्दा पनि थाहा छैन, दूधको स्वाद कस्तो थियो र मैले खाने दूधमा तीतेपाती दलिदिएको साल कति थियो ? लेख्न बस्दा अहिले घोत्लिएर गम्छु, बाल्यकालको मेरो पहिलो सम्झना त्यही थियो कि अर्काे ? स्मृतिको बाकस उघारेर खोज्दै जाँदा मैले देखेको यो सम्झना पहिलो नभएर दोस्रो पनि हुनसक्छ ।

 

                अँ, माथि मैले पहिलो कि दोस्रो भनेर त लेखेँ, तर अझै पहिलो हुन खोज्ने अर्काे सम्झना पनि भेटेँ । भरत दाजुलाई चन्द्रनिगाहापुरमा पढ्न पठाउँदा भात पकाएर ख्वाएको भोगटेको बोट सम्झिएँ । चौहत्तर सालमा जाँदा त्यही भोगटेको बोटले मलाई चार वर्षको उमेरमा लगेर राखिदिएको थियो । हो, म त्यतिबेला चार वर्षको थिएँ र दाजुसँग बसेर भात खाएको दृश्यधमिलो भएर देखिएको थियो । त्यस दिन घर छोड्ने साइत थिएन, अघिल्लै दिन पाइतो सारेको हुँदा आमाले बाहिरबाहिरै भात खान दिएको भनेर मलाई पछिसम्म पनि सुनाउनुहुन्थ्यो । हुन त यी सम्झनाहरू मध्ये पहिलो हुनेले पुरस्कार नै जितिहाल्ला भन्ने होइन, तैपनि लेखोटमा उतार्न खोजेको मात्र हूँ । पहिलो र दोस्रो सम्झना कुन होला भनेर छिलुङ्ग्याउन नसकेको अवस्थामा यसको चर्चै गर्न छोडूँजस्तो पनि लाग्छ, तर हृदयको अन्तरकुन्तर भक्कानिएर बग्दै र बन्दै गरेको लेखाइको गति रोक्नु न्यायोचित नहोला भनेर सम्झन मात्र खोजेको हुँ । 

 

              मैले सम्झेको सम्झना अर्काे पनि छ । म कत्रो थिएँ थाहा छैन, तर कम्मरमुनिको भाग नाङ्गै, माथि एउटा भोटो लगाएर दलानमा खेल्दै थिएँ । शरीरको बुनोटले पनि भुक्क गाला र जीउ, बाटुलो निधार र ढ्याब्रे नाक भएको बालक म । खेल्दै गरेको मलाई, अकस्मात् आमाले औंलाका इशाराले ‘उता हेर् त’ भन्दै घरको पूर्वतर्फ देखाउनु’भो र आफू लुसुक्क मुलढोकाभएर भित्र छिर्नु’भो । आँगनको मध्यभागमा शरीरमा एउटा गह्राँ कुम्लो, कुम्लोमाथि अर्काे भरी झोला बोकेर उभिइरहेको एक मानिसतर्फ आमाले इशारा गर्नुभएको रहेछ । त्यो एक मानिस बुबा भनेर चिनेको थिएँ कि थिइनँ थाहा छैन, तर दुबैका आँखा निकैबेरसम्म जुधिरहेको चाहिँ थाहा पाउँछु । मेरो खेल त त्यसैपनि भङ्ग गरिदिनुभएकै थियो आमाले, तर मसँग कि भित्र जाने कि उभिइरहने दुई मध्ये एक विकल्प पनि राखिदिनुभएको थियो । बाबु छोराबीचमा बसेर दुबैलाई यथास्थानमै अड्याइराख्ने एउटा यस्तो चुम्बक रहेछ, जसले न बुबालाई अगाडि आएर बालक छोरालाई च्याप्पै समाउन दियो, न छोरालाई कतै हलचल गर्नै दियो । थाहा छैन, त्यस्तो दुबैको हेराहेर एक मिनेटभन्दा बढ्ता नभएको होस् तर अहिले हेर्दा लाग्छ, त्यो मिनेटभरको खाली समयको पनि गहिरो अर्थ लाग्दोरहेछ । म पनि घरी बुबाका अनुहारतिर हेर्थेँ र घरी भुइँ । हुनसक्छ, हामी बाबु छोराले त्यहाँ केही देखेको भए त्यो थियो प्रेम, प्रेमसँग गाँसिएको अपनत्व अनि घुर्की । अर्काे पनि हुनसक्छ, दुबै जना, को पहिले भन्ने होडबाजीमा थियौँ, शायद । अवस्था यस्तो भयो, मैले बुबालाई नजानिँदो घुर्की लगाइरहेको थिएँ र यतिका दिन मलाई छोडेर किन टाढा जानुभएको भनेर अमुक प्रश्नहरू तेर्स्याइरहेको थिएँ (अनुमान) । बाबु छोराका बीच यस्तो खेल हुँदै थियो, जहाँ एउटाले हार्नैपर्थ्यो । उमेर र आवश्यकताले हार्ने पालो बुबाको थियो । आखिर भयो पनि त्यस्तै । ओहो ! थाहै नपाइ बुबाले हाक्की ! हाक्की ! खेलमाझैं आएर मलाई त च्याप्प दुबै हातले उचालेर छातीमा पो टाँस्नुभो । मानिसहरू कहिलेकाहीँ ठट्टा गर्थे आमा बाबुका बारेमा र भन्थे, “बाबु आए आमाका लागि !” तर मेरो मामला अलिक फरक रह्यो, बुबा आमाका लागि होइन, मेरालागि आउनुभएको दृश्य देखिएको थियो त्यतिबेला । बुबाले मलाई त्यसरी छातीमा टाँसेर मेरा गालामा म्वाइँ खानुभएको बाहेक त्यसपछि के भयो केही थाहा छैन, र म त्यतिबेला कति वर्षको थिएँ त्यो पनि थाहा छैन । 

              जे होस् माम्खालाई सम्झनुअघि पहिलोपल्ट आमालाई सम्झिएँ, बुबाको कति महिनादेखि न्यास्रो मानिरहेको न्यानो छातीलाई सम्झिएँ । हो, थाहा पाएका यिनै र थाहा नपाएका थुप्रै—थुप्रै सम्झनाहरू समेटिएका छन् यतिबेला । उत्तर फर्किएको, वनजङ्गलका छहारीले ओतिएको, माथिल्लो फाँट पाखाभीटा र तल देब्रे पट्टिको बेंसी गरैगरा खेतले भरिएको, पूर्व कलिबेलीदेखि उत्तरपश्चिम सोलाघर छिपछिपेसम्म फैलिएको सुन्दर गाउँ भएर पो पुर्खालाई प्यारो लागेको हो कि, सम्झनाका तरेलीमा अहिले पनि सुन्दर लाग्छ मलाई, माम्खा । ओखलढुङ्गा सदरमुकामबाट पूर्व पर्ने माम्खा पुग्न पश्चिमबाट, जोसमनी मतका अगुवा विचारक सन्त ज्ञानदिल दासको पवित्र भूमि रुम्जाटारलाई नछोई धर नै पाइँदैन । बुबा भन्नुहुन्थ्यो –पोखरेलका रोज्जा विर्तामध्ये एउटा विर्ता माम्खा, सभ्यताको सानो– सानो खाले राजधानी नै थियो । राजधानी काठमाण्डौसँग भाषा र भुजाको सम्बन्ध र सम्पर्कले गर्दा मैले पनि आमाको सम्बोधन यथावत राखेर बालाई बुबा भन्न सिकेको हूँ । हो, हाम्रै पूर्वज हरिकृष्ण पाध्याले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्न आर्थिक सहयोग गरेका थिए । तिनै पूर्वजका सन्तान खार्पा हुँदै माम्खामा पुगेका अनुजको उत्तराधिकारी म, सम्झन्छु अहम्, दम्भ र सम्भ्रान्त शैली, यस्तै यस्तै कारण पोखरेललाई बीना श्रीपेचका राजा भनेको हुनुपर्छ । नेपाल एकीकरणको गौरवगाथा बोकेर यहाँसम्म आइपुगेको म पनि कताकता अरुको हेपाइ सहन नसकेर कहिलेकाहीँ नजानिदो अहम् भिरेर माथमा, विना श्रीपेचका राजाकै भएपनि दम्भ देखाउने पो गर्छु त !

              पोखरेलका पुर्खा बसाइँसराइ गरेर पश्चिमबाट पूर्व आउँदै गर्दा खार्पा नपुग्दै, ठोट्ने र खार्ते दुई खोलाको सुरक्षा घेरामा उभिएको एउटा रमणीय गाउँ माम्खा, त्यही पूण्यभूमि, तर गरिब परिवारमा जन्मिएछु पञ्चायत आउनु एक वर्षअघि । पुर्खाका गौरव र वैभव सुन्दै बुबाले सानो– सानो खण्डे सुन्दुकमा राखेका हिङ सकिएका तर ‘हिङ बाँधेका टाला’ मनलागी सुँघेर कोशी र माम्खाका विर्तावाल पोखरेलको सन्तति रहेछु भनेर चित्त बुझाएको अहिलेझैं लाग्छ । विक्रम सम्बत उन्नाइस सय तीसतिरको कुप्रा बाजेका पालामा भएको चिसङ्खु मौजे, माम्खा विर्ताको अंशबण्डा, सप्तकोशीछेउको बालुवामा परिणत भएको विर्ता जग्गाको पोत तिरेका रसिद थिए, मेरालागि हिङ बाँधेका टाला । सम्झन्छु, मपछिका बैनी र भाइका सालनाल राखेको कान्लो, मेरो सालनाल पनि यसैगरी यतै राखेको हुँदो हो भनेर कल्पना गरेको बारीको एउटा सानो सुर्काको माटो, पहिलोचोटि टुकुटुकु हिँड्दा औँलाहरूले चुमेको घरको भित्तो, भर्खरै हिँड्न सिकेका पाइतालाले डोब बनाएको आफ्नै बारीको बाटो । 

 

             प्रिय माम्खा, मैले माम्खा थातथलो छोडे पनि मेरा स्मृतिमा अहिले पनि नापनक्सामा ताजै बनेर चित्रझैं घुमिरहन्छ । हरेक रात देखिने सपनाको दृश्य माम्खाकै सेरोफेरोमा हुन्छ र मलाई माम्खा देउरालीमा पुर्याएर असिनपसिन भएको मेरो शरीरलाई बतासमा बयेलिरहेका पीपलका पातले हम्किएर शीत्ल बनाउँदै लैजान्छ । सपना हो कि सम्झना, छुट्याउन नसकेका बेला, कहिले अञ्जुलीभरि गट्टी भल्न लगाएर किसिम–किसिमका खेलमा अलमल्याउँदै खुसीका रङ उठाएर अनुहारभरि दलिदिन्छ । कुनै रात डण्डीबियो खेल्दै गरेको चौकेबारी चौरमा साथीहरूकै लहरमा लगेर राखिदिन्छ र फुरुङ्ग बनाउँछ । कति, कतिबेला स्कुलकै चौरमा भकुण्डो खेलिरहेको आफैलाई देखेर दङ्ग बनाउँछ । त्यो माथि भँडारे डाँडा मेरो बाल्यकालको साथी, दुबै टाढा बसेर हेराहेर गर्थ्यौँ दिनहूँ र महिनौं । कोदो र तीतेफापरका रोटी झुसेतीलको छोप र निबुवाको अचारमा चोब्दै खाँदाको बाल्यकाल, गोजीभरि मकैभटमाँस हालेर, गाईबस्तु लिएर दिनैभरि कहिले भालुखोप, कहिले चामन र पालेवनका जङ्गल– पाखा चहार्दै वस्तुसँगै साँझ लिएर फर्किएको रमाइलो बाल्यकाल मैले गाउँमै छोडेर आएको थिएँ । 

 

             आमाको काख छोडेपछि पहिलोचोटि तात्कालीन माम्खा मिडिल स्कूल (पछि हाईस्कूल) मा भर्ना हुँदा पाँच वर्षको थिएँ, अर्का वर्ष कवि शिरोमणी लेखनाथ पौड्यालको निधनमा स्कुल छुट्टी भएको थियो । मलाई क,ख र १,२,३ सिकाउने ‘चौधरी सर’ले परिचित कर्णबहादुर कार्की, मेरो पहिलो औपचारिक शिक्षा दिने सर हुनुहुन्थ्यो । मलाई ए बी सि डी सिकाउने शुभद्रा दिदी र हिसाब सिकाउने चौधरी सरको कान्छा छोरा काले दाइ र शम्भु सर मेरा स्मृतिबाट अझै बाहिरिएका छैनन् ।

 

            मलाई थाहा छ, माम्खाको सरकारी पँधेराको पारिपट्टि एकान्त पाखामा एउटा स–सानो झुप्रो थियो । झुप्रामा कसैको सरोकार र चासो नभएको एक गुमनाम स्वास्नीमानिसको बास थियो । जात र रोगबाट काढिएर एकान्तमा बसेकी ती स्वास्नीमानिसको कुनै नाम थिएन, बरु एउटा बदनाम थियो –कोर्याई सर्किनी । तिनी कुष्ठरोगबाट पीडित थिइन् र उसबेलाको चलनचल्तीमा कुष्ठरोगलाई कोर भन्दा रहेछन्, जो पूर्वजन्मको पापको रुपमा परिभाषित गरिँदो रहेछ र जसलाई सरुवा रोगको रुपमा पनि हेरिँदो रहेछ । म र म जस्ता थुप्रै बालबालिकाका कलिला दिमागमा थोपरिदिएको डर लाग्ने पात्रा थिइन् —कोर्याई सर्किनी । जब तिनको घरमुन्तिरको बाटोभएर म ओहोरदोहोर गर्थेँ, उनको नामको डर मैलाई ङ्याक्नै पो आइपुग्यो कि जस्तो लाग्थ्यो, अनि बेतोडले दगुर्थेँ र स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै निकै पर पुगेर एकछिन बिसाएर हेर्थेँ । आफूभन्दा माथिकाहरूले भरिदिएको डरसँग प्रतिप्रश्न गर्ने साहस र झुप्राको छेउमै उभिएर अडिने हिम्मत म आठ नौ वर्षे बालक– बबूराको मनमा कहिल्यै आउँदैनथ्यो पहाड बसुन्जेल । अनौठो थियो समाज, लगभग सिङ्गो गाउँ एकातिर थियो र कोर्याई सर्किनीको घर अर्कातिर । सङ्घर्षमा मौन आवाज बोकेर तैपनि बाँचिरहेकी थिइन् मैले गाउँ छोड्दासम्म तिनी । 

 

            मैले माम्खाको कुरा गरिरहँदा केही नामहरू, जो उल्लेख गरिनँ भने म एकलकाँटे हुन्छु भन्ने हेक्का छ, मलाई । राणा शासनकै हाइदुहाइमा भोजपुरमा बडाहाकिम भएका थिए गडुलध्वज कार्की । माम्खा, झगरेमा मैले देख्दा पनि झिंगटीले छाएको भव्य महल जस्तै लाग्ने दुईवटा घर मध्येको एक घर उनको थियो र त्यो नाम एक इतिहाससँग पनि जोडिएको थियो । ढिलै थाहा पाएको थिएँ, उनको कार्यकालमा योग साधिका योगमाया सहित अठसठ्ठी जना महिलाहरूले अरुण नदीमा सामुहिक जलसमाधि लिएका रहेछन् । ओहो, उहिल्यै थाहा हुँदो हो त अनेक अनुनय–विनय गरेर भएपनि ती इतिहास खोदल्नु हुन्थ्यो र बडाहाकिमकै मुखबाट घटनाको यथार्थ थाहा पाउनुहुन्थ्यो । थाहा पाउँदासम्म यो धराबाट बिदा लिइसकेका थिए उनले । प्रसङ्गवश कुरा आउँदा आमा भन्नुहुन्थ्यो – राणा शासनलगत्तै हजारौंको सङ्ख्यामा चारैतिरबाट मानिस बोलाएर अथाह चामल र घिउ खर्चिएर लघु (कि, अति ?) रुद्री लगाएका रहेछन् उतिबेला ।

            प्रिय माम्खा, हरेक साँझ बाटो कब्जा गरेर देउरालीदेखि माम्खा हाईस्कूलसम्म ओहोरदोहोर गर्ने पहले दमाइ मेरो स्मृतिमा जहिल्यै अगाडि आएर बसिरहेका हुन्छन् । उनी एकल पुरुष थिए र मैले देख्दादेख्दै छोरा परदेशिएपछि घरको एक्लो सदस्य पनि । कुनै एक दिन अरुका लहलहैमा लागेर मातेका उनलाई, ‘पहले दाइ !’ भनेर मैले पहिलो सम्बोधन के गरेको थिएँ, ओहो ! मैले गरेको सम्बोधन त यति घातक भएछ, मेराउपर आधा घण्टाजति धाराप्रवाह गालीवर्षा गरे । गालीका नयाँनयाँ शब्द–सिर्जना गर्ने, वाक्यगठन गर्दा पनि कम्मरभन्दा मुनि झर्ने उनको कला रमाइलो लागेको थियो । नमातेका बेला उनी जत्तिको असल र इमानी कोही लाग्दैनथ्यो । 

           मेरा मानसपटमा कहिल्यै नमेटिने भएर बसेका दौलथ राई अर्का सौम्य मानिस लाग्थे । माम्खादेखि ओखलढुङ्गा सदरमुकामसम्म नेपाल परिवार नियोजनको विज्ञापनमा सुन्दर अक्षर अनि बाबु, आमा, छोरा, छोरीको चित्रमा उनकै सिप भरिएको हुन्थ्यो । साइनबोर्ड हेर्दै गर्दा मलाई पनि उनले लेखेजस्तै सुन्दर अक्षर लेख्ने र चित्र बनाउने औधि रहर लाग्थ्यो । सात, आठ वर्षको उमेरको मेरो बालढिपीलाई हार्नै नसकेर, कसैलाई सिलाइदिएका काँचो छालाका जुत्ता दिएर मलाई एकजुत्ता अल्गो पारी जीवनभरिका लागि आभारी बनाउने टाउके सार्की पनि माम्खाकै गहना थिए । आहा ! ‘चट्टै पारी सिइदेऊ दर्जी’ गीतसँग हुबहु मिल्ने भक्त दाइले मलाई भनेर सिलाइदिएका लुगा, मेरो घरमा औधि प्रिय थिए र सधैँ मुस्कुराइरहने भक्त दाइ पनि मेरालागि उत्तिकै प्रिय रहे ।

             अहिले सम्झन्छु, मानिसको परिचय मानिस मात्र नभएर जन्मिएको माटो र हिँडेको बाटो पनि रहेछ । बाल्यकालीन साथी धु्रब, लिङ्गे पिङ र चाकाचुली पिङ हाल्थ्यो दशैं तिहारमा । रैकरका सानुकान्छा र रमेश, स्कूलमास्तिरको इशुजङ्ग र मदनजङ्ग, आरुबोटेको नारद र रोहित, हामी सँगसँगै पढ्थ्यौँ र खेल्थ्यौँ पनि । सम्झना किन हराउँथ्यो र, चनौटेको विश्वकुमार, जोर्नालेकी शकुन्तला र वनथानमाथिकी चिनीमैयाँ सँगै बसेर सिलोटमा माटो भरेर, बाँसका डिकोले क,ख लेख्थ्यौँ र पढ्थ्यौँ । झगरेबाट आउने रुद्र र खम्बसिंह मेरा दौँतरी, खम्बसँगै, सेतो चन्दनमाथि रातो टीकामा उज्यालो निधार लिएर एउटा भाइ, तुङ्ग कार्की पनि आउँथे । एक दिन खम्बसिंह खसेको खबर हावाझैं एकैछिनमा गाँवैभरि फैलियो । मलाई मानिस खस्नु भनेको मर्नु भन्ने त्यतिबेला पनि थाहा थिएन, निकै दिन स्कूल नआएपछि मैले कहाँबाट खसेको रहेछ, हेरेर आउँछु भनेर आमालाई तङ गरेको थिएँ । आमा पनि मेरो मनोविज्ञान बुझ्नुहुन्थ्यो कि कसो, मर्यो नभनेर ऊ त माथि देउताको घर गयो, जानु हुँदैन भनेर मलाई आकाश देखाउनुहुन्थ्यो । मैले मेरो प्रिय साथी मरेको खबर पछि, अरु साथीहरूबाट सुनेर थाहा पाएँ । 

             प्रिय माम्खा, माम्खा नामसँग जोडिएको अर्काे ख्याती कमाएको मानिसको नाम थियो –मुखिया ममकर्णध्वज कार्की । सामाजिक जीवनसँगै माम्खाको हाईस्कूल निर्माणमा उनको भित्री र बाहिरी लगानी थियो र मलाई लागिरहन्थ्यो, मेरो प्राथमिक शिक्षा आर्जनमा उनले गरेको त्यो लगानी पीना–मल हो मेरालागि । पछिल्लो पटक माम्खा पुग्दा स्कूलको एउटा सानो भाग, बाबुआमाबिनाको बेवारिसे शिशुझैं टामाटिमी परेर याचना गरिरहेको दृश्य कल्पना गर्दा मेरा हरि ठूल्दाजुले साविकको स्कुल भवन निर्माणनिम्ति तिहारमा रात, दिन नभनी द्यौसी खेल्दा लाटाको अभिनय गरेर आर्जन गरेको एक हिस्सा पनि नामेट भएको सम्झिइरहेँ । माम्खादेउरालीबाट चारैतिर हेर्दा जिल्लाभित्र देखिने गाउँलेलाई सित्तैमा रोगको उपचार गरिदिने र भाँचिएका, मर्किएका हाड जोड्ने लप्टन, तिलकध्वज कार्की माम्खालीका सहाय लाग्थे । त्यतिबेलाको पूर्व तीन नम्बर ओखलढुङ्गाको केन्द्रभागमा बसेर सामाजिक क्षेत्रमा उति सक्रिय नदेखिए पनि डिठ्ठा नन्दराज कोइराला र जसभागी राईलाई माम्खा आफ्ना गाउँले सम्भ्रान्त मानिसहरू भनेर सम्झिइरहन्थ्यो । हो, माम्खा इतिहास हेरेर वर्तमान बिर्सिन्थ्यो कहिलेकाहीँ । त्यही देखेर हुर्किएको गाउँको छोरो, प्राध्यापक सौभाग्यजङ्ग कार्की माम्खाबाट तर टाढा भएर गए । 

            प्रिय माम्खा, अलिकति माम्खाको राजनैतिक चेतको कुरा गर्छु । पन्ध्र सालको चुनावका एम पी अर्थात् प्रतिनिधि सभाका सदस्य पेशल पोखरेललाई जन्माउने माम्खाले समकालीन नेपाली राजनीतिको बाम धारमा उभिएर सशक्त आवाज उठाइरहेका र दरिलो हस्तक्षेप गरिरहेका ईश्वर पोखरेल र राम कार्की पार्थलाई पनि जन्माएको थियो भनेर कमैले थाहा पाउँछन् । त्यसो त एकाउन्न सालमै माम्खाले जन्माएका पुष्प पोखरेल पनि झापाबाट निर्वाचित सांसद भएका थिए । तर के गर्नु, कवि मीनबहादुर विष्टको कवितामाझैं मैले जसरी ‘साला पहाड में क्या है’ भन्दै सबैले भटाभट गाउँ छोडे, र माम्खालाई हतपती समाचारमा नआउने एकादेशको गाउँ बनाइदिए । 

            प्रिय माम्खा, पुर्खाका पौरखलाई वैभव ठानेर, माटोलाई अन्नपूर्णा मानेर, कोरोनाको यो विषम समयमा पनि देशको एक कुनाबाट तिमीलाई सम्झिरहेको छु । जहाँसुकै गए, भएपनि अन्ततः आफू जन्मिएको माटो प्रिय र पवित्र लाग्दोरहेछ र जन्मभूमिप्रतिको अपनत्व पनि नजानँदो बढ्दै जाँदोरहेछ । यतिबेला माम्खामा सार्वजनिक बाटो, पाटीपौवा बाहेक पाइताला राख्न आफ्नो स्वामित्वमा कुनै जमिन नभएपनि, गाउँमा पहिरो जाँदा सबैभन्दा पहिले आफ्नै छातीमा पहिरो गए जत्तिकै भएर मन दुख्दोरहेछ । उमेरले यतिको आयु व्यतित गरिरहेका बेला आफू जन्मिएको गाउँलाई सम्झनाका लागि भएपनि केही दिन नसकेको तीतो पोख्दै यो सानो लेखोट उतारेर पठाएको छु, यसलाई चटक्क गाउँ छोडेर हिँड्ने एक माम्खालीको ताजा सम्झौटो ठानिदिनू है ! 

 

 

Facebook Comments

You may also like

error: Content is protected !!