प्रियंवदा

‘तपाईंको मस्तिष्कको नसा अलि कमजोर भएको देखिएको छ । प्रायःजसो मानिसहरूमा उमेरको वृद्धि हुनुका साथसाथै शरीरका अवयवहरू अलि दुर्बल हुँदै जानु स्वाभाविक नै हो, तर कसै–कसैमा भने यस्ता लक्षणहरू अलि चाँडै देखा पर्दछन् । तपाईंको सम्बन्धमा भन्नुपर्दा म के भन्न चाहन्छु भने तपाईंले आफ्नो मस्तिष्कलाई सधैँ सक्रिय राख्नका निम्ति कुनै नौलो कुरो, जस्तो–आफुले नजानेको कुनै भाषा सिक्न थाल्नुभयो भने मस्तिष्क सक्रिय रहन्छ र त्यसले तपाईंलाई फाइदा गर्छ ।’ प्रियंवदाको टाउकोको सि.टी. स्क्यानिङ गरेको रिपोर्ट हेर्दै डाक्टरले उनीसँग भने ।

‘के कुरा गर्नुभएको डाक्टर साप ? यो उमेरमा आएर नौलो भाषा सिकेर, मैले के गर्नु छ र ? रोग पनि कस्तो लागेछ भाषा सिक्नुपर्ने ?’ किञ्चित मात्रामा हाँस्दै भनिन् प्रियंवदाले ।

‘हेर्नोस् तपाईंले आफ्नो रोगलाई साधारण नठान्नुहोस् ! मैले भनेका कुरा मान्नुहोस् ! जतिसक्दो चाँडै एउटा नौलो भाषा सिक्न थाल्नुहोस् !’ डाक्टरले तटस्थ भएर भने ।’

‘होइन मलाई त्यस्तो के रोग लागेको छ र डाक्टर साप ?’ प्रियंवदाले सोधिन् ।

‘तपाईंलाई विस्मृत हुने रोग लागेको छ । समयमै यसलाई ध्यान दिएर सावधानी अपनाइएन भने मानिस पूर्ण रूपले विस्मृतिको गर्भमा पुग्दछ र आफ्नो अतीत, वर्तमान सबै बिर्सन्छ । तपाईंको विषयमा बढीभन्दा बढी आठ–दस वर्ष उस्तो ठूलो प्रभाव नपर्ला, तर ठोकेर केही भन्न सकिन्न ।’ डाक्टरले खुलस्त भने ।

‘ए त्यै भएर पो हिजोआज मैले धेरै कुरो बिर्सन थालेकी रहेछु । कहिले–कहिले त आफूले सधैँ भेटिरहेको, देखिरहेको मानिसको नामसमेत बिर्सिन्छु । एउटा काम गर्न सुरु गरेको मान्छे अलिबेरमा के हुन्छ कुन्नि, बीचैमा त्यो काम चटक्क बिर्सेर अर्कै कामको थालनी गरेकी हुन्छु । कतिपटक त म घरबाट एउटा निर्दिष्ट ठाउँमा जान भनी हिँडेकी मान्छे बिर्सेर अर्कै रुटमा चल्ने गाडी समातेर, अन्तै नौलो ठाउँमा पुगेकी हुन्छु । अहिले पो थाहा भयो– मलाई बिर्सने रोगले समातिसकेको रहेछ ।’ डाक्टरको कुरा सुनेर मनभित्र उर्लँदै गरेको वेदनाको लहरलाई दबाउने प्रयास गर्दै प्रियंवदाले भनिन् ।

‘अँ तपाईंको टाउको साह्रै नै दुख्यो भनेचाहिँ यो औषधि खानुहोला, तर यो औषधिले लट्ठ पार्छ र झुप्झुप्ती निद्रा लाग्छ ।’ डाक्टरले प्रियंवदाको निम्ति औषधिको नाम लेख्ने उपक्रम गर्दै भने ।

‘त्यस्तो लट्ठ पार्ने औषधि नलेखिदिनुहोस् डाक्टर साप ! छोराछोरी सबै बाहिर छन् । दमको रोगले गर्दा उहाँ धेरै वर्षदेखि ओछ्यान पर्नुभएको छ र घर सबै मैले नै हेर्नुपर्छ, यस्तो अवस्थामा म नै लट्ठिएर बसेँ भने के होला… ! भो कुनै सामान्य खालको औषधि लेखिदिनुहोस् !’ प्रियंवदाले भनिन् ।

‘ठीक छ, म यहाँ एउटा सामान्य औषधि लेखिदिन्छु, टाउको दुखेको बेला खानुहोला, तर हेर्नोस् ! विस्मृतिका निम्ति अहिलेसम्म त्यस्तो कुनै औषधि बनेको छैन । यसबाट बच्नका निम्ति तपाईंले मस्तिष्कलाई सक्रिय राख्ने कोसिस गर्नुपर्दछ ।’ डाक्टरले फेरि पनि दोहो¥याएर उही कुरा भने ।

‘हस् त डाक्टर साप नमस्कार !’ डाक्टरले दिएको पुर्जा हातमा लिँदै भनिन् प्रियंवदाले ।

त्यस दिन डाक्टरकहाँबाट घर फर्किने क्रममा प्रियवंदाको हृदयमा वेदनाको आँधीबेरी चलेको थियो । उनी बारम्बार आँखाको डिलसम्म आइपुगेका आँसुको भेललाई हत्केलाले पुछ्दै पाइला चालिरहेकी थिइन् ।

घर पुगेपछि प्रियंवदाका पति गोविन्दराजले उनीसँग डाक्टरको प्रतिक्रियाबारे जिज्ञासा राखेका थिए ।
‘त्यस्तो खास पीर गर्नुपर्ने केही रहेनछ । धेरै टेन्सन नलिनू, मस्तिष्कलाई सक्रिय राख्नू भने । औषधि पनि सामान्य दिएका छन् ।’ तथ्य कुरोलाई लुकाएर प्रियंवदाले भनिन् ।
‘त्यो त मैले पनि तिमीलाई भनिराखेकै कुरो हो । तिमी बिनासित्तिमा चाहिने, नचाहिने कुरोमा पीर गछ्र्यौै’ गोविन्दराजले भने ।

बेला–बेलामा असहनीय तरिकाले टाउको दुख्ने गरेको हुनाले त्यसको निदानका निम्ति डाक्टरकहाँ पुगेकी प्रियंवदाले जब आफ्नो रोगबारे मूल कुरो थाहा पाइन्, तब त्यसैक्षणदेखि उनको छातीमा पीडाको मुस्लो उठेर उनलाई आलसतालस पार्न लागेको थियो । पछिका दिनहरूमा प्रियंवदाले आफूलाई सक्दो रूपमा सचेत राख्ने प्रयत्न गर्न थालेकी थिइन् । नौलो भाषा सिक्नका निम्ति उनले बजारबाट एउटा पुस्तक ल्याइन् जसमा सरल तरिकाले जापानी भाषा सिक्नका लागि पाठहरू तयार पारिएको थियो । हुन त प्रियंवदाले आफ्नो तर्फबाट निकै सचेतता अपनाउँदै थिइन्, तर पनि कहिलेकाहीँ उनलाई अकस्मात् कुनै अदृश्य छायाले छोपेजस्तो हुन्थ्यो र क्षणभरका निम्ति उनी विस्मृत अवस्थामा पुग्थिन् ।

त्यस्तै विस्मृत अवस्थामा पुगेको कुनै एक क्षणमा उनीबाट भएको गल्तीको कुराले गर्दा कहिलेकाहीँ घरमा केही क्षति पनि हुने गर्दथ्यो । पछि होसमा आएपछि आफूले गरेको गल्तीको कारणले निम्त्याएको हानि सम्झेर भित्रभित्रै साह्रै नै लज्जाबोध गर्थिन् प्रियंवदा । तर के गर्नु निरुपाय थिइन् उनी । उनको वशमा केही थिएन ।
एकदिनको कुरो हो । त्यो दिन लोडसेडिङ भएको हुनाले बेलुका ६ बजेदेखि नै बिजुली बलेको थिएन । कोठामा अँध्यारो छिर्न लागेपछि प्रयंवदाले बैठककोठामा राख्नका निम्ति मैनबत्ती बालिन् । बत्ती लिएर बैठककोठातिर जाँदाजाँदै उनले सुर हराइन् र बैठककोठामा राख्न भनी लगेको मैनबत्ती शयनकक्षमा लगेर ओछ्यानमाथि राखेकी थिइन् । धन्य त्यसैबेला गोविन्दराजको दृष्टि त्यसमा प¥यो र मात्र, नत्र महाअनर्थ हुने थियो ।

हाल केही समययतादेखि चाहिँ प्रियवंदाको मानसिक स्थिति सामान्य रहँदैआएको हुनाले उनले आफुलाई निकै स्वस्थ अनुभूत गर्न थालेकी थिइन् ।
गएको हप्ता गोविन्दराजकी ठूलीदिदी नर्मदाले आफ्नी कान्छी छोरी कृपाको बिहेको उपलक्ष्यमा भाइ गोविन्दराज र बुहारी प्रियंवदालाई केही दिनका निम्ति कृष्णनगर निम्त्याएकी थिइन् । गोविन्दराज चाहँदाचाहँदै पनि स्वास्थ्यको कारणले गर्दा भाञ्जीको विवाहमा जान सकेनन् । त्यसर्थ प्रियंवदा एक्लै कृष्णनगर गइन् ।
बिहेमा कृष्णनगर पुगेका सबै निम्ताहरूलाई खानपिनको व्यवस्था नर्मदाले आफ्नै घरमा गरेकी भए तापनि सुत्ने व्यवस्थाचाहिँ घरनजिकैको एउटा होटेलमा गरिदिएकी थिइन् ।

कृष्णनगर पुगेपछि आफ्नी आमाजू नर्मदा र अन्य आफन्तजनहरूसँग भेट भएपछि प्रियंवदालाई निकै खुसी लागेको थियो । कतिपय आफन्तजनहरूसँग प्रियंवदाको भेटघाट नभएको धेरै समय बितिसकेको थियो । त्यसैकारण पनि भाञ्जीको बिहेको अवसरमा उनीहरूसँग भेटघाट गर्न पाएकीमा उनी निकै उत्साहित भएकी थिइन् ।
प्रियंवदा कृष्णनगर पुगेको अर्को दिन बेहुलीको तर्फबाट बेलुकीपख भोजको आयोजना गरिने भएको थियो । यसर्थ दिउँसो प्रायः सबैजसो निम्तारुहरू कोही आराम गर्न, कोही गफ गर्नमा लागेका थिए ।

प्रियंवदालाई भने दिउँसो एकैछिन भए पनि बढनी बजारसम्म गएर किनमेल गरेर आउने मन थियो । बढनी बजार र कृष्णनगरको माझमा दशगजा जमिनको मात्र अन्तर भएको हुनाले प्रायःजसो नेपालीहरू दशगजा पार गरेर भारतीय भूमिमा पर्ने बढनीमा गएर किनमेल गर्ने गर्दथे ।

बढनी जानुभन्दाअघि प्रियवंदाले टाढाकी नाता पर्ने एकजना महिलासँग ‘मसँग बढनीसम्म जान्छ्यौ कि… ?’ भनेर सोधेकी थिइन्, तर बिहे घरको रमाइलो वातावरणलाई छोडेर बढनी जान उनी राजी भइनन् । त्यसर्थ अरू कसैलाई पनि आफुसँग जान कर नगरेर प्रियंवदाले रिक्सा लिइन् र बढनीतिर लागिन् ।
बढनीमा पुगेर रिक्साबाट ओर्लेपछि रिक्सावालालाई पैसा दिनका निम्ति प्रियंवदाले आफुले काँधमा झुन्ड्याइराखेको ठूलो ब्यागभित्रबाट अर्को एउटा सानो ब्याग निकाल्ने क्रममा एउटा सानो कागजको टुक्रा भुइँमा खस्यो ।

‘माताजी, ए आप का कागज ?’ टिपेर कसैले प्रियंवदालाई दियो । प्रियंवदाले हेरिन् ।
त्यो कागजको टुक्रामा प्रियंवदाको र उनको पतिको नाम, थर, उमेर र टेलिफोन नं. लेखिएको थियो ।
कागजमा लेखिएको विवरण पढेर प्रियंवदाको ओठमा अनायासै मृदुमुस्कान देखापर्यो, अनि उनले गोविन्दराजको मायालु अनुहार सम्झँदै उनले त्यो कागज ब्यागमा राखिन् र रिक्सावालालाई रिक्सा भाडा दिएपछि बढनीस्थित विभिन्न पसलहरूमा किनमेल गर्न थालिन् ।
डेढ घण्टासम्म प्रियंवदाले किनमेल गरिन् । त्यसपछि आफुले किनेका सामान राखेर झोला लिएर उनी कृष्णनगर फर्किनका निम्ति रिक्सा खोज्न थालिन् ।
अलिक परतिर एउटा खाली रिक्सा देखेपछि प्रियंवदाले हातको इसाराले रिक्सा डाकिन् र बाटोको छेउमा उभिइरहिन् ।
त्यसैबेला कताबाट हो कुन्नि, एउटा आठ-दस वर्षको बालक भाँडामा केही लिएर आयो र प्रियंवदाको अघि आएर ठोक्कियो अनि उसले हातमा बोकिराखेको भाँडो उछिट्टिएर प्रियंवदाको गोडामा लाग्यो ।

‘के गरेको यो… हरे ! सबै तरकारी मेरो खुट्टाभरि पोखियो । कस्तो आँखै नहेरेर कुदेको… ?’ गोडाभरि झोल तरकारी पोखिएर सारीमा समेत लागेको देखेर अनायासै क्षुब्ध भएर भनेकी थिइन् प्रियंवदाले ।

‘हरे ? अब के गरेर सफा गर्नु यो…’ भन्दै प्रियंवदाले आफ्ना गोडा र सारी टकटक्याउँदै गरेको बेला त्यो केटोले भुइँमा खसेको भाँडो ट्याप्प टिप्यो र दौड्यो एउटा गल्लितिर ।

‘ए… भाइ ! यता कतै पानीको धारो छ ?’ प्रियंवदाले नजिकैको पसलेसँग सोधिन् ।
‘छ उता अलि दूरमा एउटा पानीको ट्याङ्की छ । वहीँ धारा पनि छ ।’ पसलेले परतिर इङ्गित गर्दै भन्यो ।

पसलेले देखाएको दिशातिर बढ्दै जाँदा नभन्दै प्रियंवदाले त्यहाँ एउटा पानी ट्याङ्की र धारो देखिन् । धारोमा पहिल्यै नै एउटी आइमाईले बाल्टीमा पानी भर्दै थिई । पानी भरेपछि त्यो आइमाई बाल्टी बोकेर गई । प्रियंवदाले हातमा झुन्ड्याइराखेको झोला धारोनजिक राखिन्, अनि काँधमा झुन्ड्याएको ब्याग काखीमा च्यापिन् । त्यसपछि प्रियंवदाले गोडा पखालिन् र सारीमा लागेको दाग मिच्दै सफा गर्न लागिन् ।

निक्कै बेर लगाएर गोडा र सारीको फेर पखालेपछि उनले काखीमा च्यापिराखेको ब्याग हातमा लिइन् र ब्यागमा लगाइराखेको चेन खोलिन्, अनि खुला ब्यागलाई धारोको मुन्तिर थापिन् । केही बेरसम्म त्यसरी नै ब्याग थापेपछि प्रियंवदाले ब्यागभित्र हात पसालिन् र ब्यागभित्र भएका सामानहरू मिची–मिची धुन लागिन् ।

केही बेरपछि ब्यागभित्रका सामानहरू मिचेपछि उनले ब्यागलाई उल्टो पारेर धुन लागिन् । ब्यागभित्रका सामानहरू सबै भुइँभरि छिरिलिए, तर प्रियंवदाले ती सामानहरूको वास्तै नगरेर एकोहोरो भएर ब्याग पखालिरहिन् । त्यसपछि प्रियंवदाले ब्याग सुल्टो पारिन् र त्यसमा पानी भरिन्, अनि पानीले भरिएको ब्याग काँधमा झुन्ड्याएर आफ्नो सामान राखेको झोला त्यहीँ छोडेर बिस्तारै–बिस्तारै पाइला चाल्दै उनी दक्षिण दिशातिर लागिन् ।

Facebook Comments

You may also like

error: Content is protected !!