प्रिय मान्छे

प्रिय मान्छे

​मेरो प्रिय मान्छे,
सिङ्गो दिन छ दिनमा आउनु नि
घरीघरी रातमा आएर मेरो निद्रा भङ्ग नगरिदिनुस्
मेरो प्रिय मान्छे,
मध्यरातमा सपनामा आउनुहुन्छ
काँधमा राखेर पहाड चढाउनु हुन्छ
सगरमाथाको शिखर पुर्याउनु हुन्छ
अनि माथिबाट खसाल्नुहुन्छ
कहिल्यै न उठने गरि
अनि भन्नू हुन्छ मैले सगरमाथाको उचाई नापेँ भनेर
यस्तो अनौठो खेल खेलेर के पाउनु हुन्छ ?

प्रिय मान्छे,
सधैँ आउनुहुन्छ जिन्दगीको यात्रामा
सँगसँगै हिड्न भन्नुहुन्छ
अनि नदीको मझधारमा बिचल्ली पारेर छोड्नु हुन्छ
आफैँ एक्लै नदी तर्नु हुन्छ
अनि भनुहुन्छ मैले त नदीको गहिराई नापेँ भनेर
यो कस्तो नाटक हो ?
सधैँ अनौठो खेल खेलेर के पाउनु हुन्छ प्रिय मान्छे ?

कहिले आफैँ आउनु हुन्छ
कहिले हावाको झोंकासँगै याद पठाउनु हुन्छ
निद्रामा ऐंठन पार्नु हुन्छ
न बोल्न दिनुहुन्छ न चल्न चटपटाउन दिनुहुन्छ
कहिले अँगालो मारेर
पछाडिबाट छुरा धस्नु हुन्छ
अनि यो प्रेम हो भन्नु हुन्छ
यो कस्तो खेल खेल्नु हुन्छ प्रिय मान्छे ?
घरीघरी रातमा आएर मेरो निद्रा नबिथोल्नुस् मेरो प्रिय मान्छे !

भन्नुस्, के समस्या छ ?
म सुन्न चाहन्छु, म बुझन चाहन्छु
तर आधी रातमा आएर आधा सपना देखाएर
सपना कहीँ पूरा हुन्छ र ?
प्रिय मान्छे
सिङ्गो दिन छ, बरु दिनमा आउनुस्
घरीघरी रातमा आएर मेरो निद्रा भङ्ग नगरिदिनुस्..
मेरो प्रिय मान्छे !

भोको बालक

एक भोको बालक
बिहान मन्दिरको सिँढीमा बसेर
फूल, अक्षता, दूध ​चढाएको हेर्दै
कुन स्वादमा आफ्नो हात चाट्दै
भोक मेट्ने प्रयास गर्छ ​।

जो देश पढ्न हिँडेको ​अर्को बालक
देशकै नक्साको केक काट्दै खाँदा पनि किन असन्तुष्टि राख्छ ?

फरक यति मात्र हो
एउटै कोखबाट दुई फरक विचार जन्मिएका छन्
एउटै आमाबाट दुई फरक सन्तान जन्मिएका छ्न्

अन्धकार रात चिरेर बिहानीको प्रतीक्षा गर्दै
मन्दिरको ढोकामा घण्टी बजाइरहेछ
र ब्यूँझाइरहेछ हजारौं देवताहरूलाई
देवताहरू ढुङ्गामा रुपान्तरित भएर चुपचाप सुनिरहेछन्
अनि ऊ सुनाइरहेछ आफू भोको हुनुको कथा
निरन्तर……
एक भोको बालक !

हामी

तँ, तपाईं, तिमी भएर नै
हामी भएका हौँ
हामी एक ढिक्का हौँ
हामी बरफ पनि हौँ
पग्लिन्छौँ पनि हामी
बादल भएर उड्छौँ माथि-माथि
अग्लो अग्लो पहाडमा ठोकिँदै फेरि
झर्छौँ पानी भएर
तर कहिल्यै नभुल्नु, एक शून्यपनि हौँ हामी
हामी भएनौँ भने कुनै ​अस्तित्व रहँदैन
अनि फेरि किन अह्मको सगरमाथा चढेर
घमण्ड गरिरहेका छौँ ?
किन अह्मको पर्खाल चढेर
शासन चलाइरहेका छौँ ?
फेरि किन अरुलाई दमन गरिरहेका छौँ ?

जब भोलि खरानी हुनु छ, हामी
जब भोलि माटो हुनु छ, हामी
जब भोलि गिद्दले नखाने सिनो हुनु छ, हामी
अनि फेरि किन एक चिम्टी माटोको लागि
‘हामी’ नै
लुछाचुँडी गर्छौँ गिद्दले सिनो तानेझैं ?

हामी, हामीलाई नै भत्काइरहेका छौँ
टुक्राटुक्रा बनाइरहेका छौँ मनलाई
फुटाउछौँ कहिले सम्बन्ध नजोडने गरी
बस् एक चिम्टी माटोको लागि
किन यतिबिघ्न ‘हामी-हामी’मै घमण्ड ?
किन यतिबिघ्न ‘हामी-हामी’मै अह्म ?
हामी नै नरहे के को अस्तित्व रहला ?
अनि फेरि किन अह्मको सगरमाथा चढेर
घमण्ड गरिरहेका छौँ ?
किन अहम् को पर्खाल चढेर
शासन चलाइरहेका छौँ ?
फेरि किन अरुलाई दमन गरिरहेका छौँ ?

कहिल्यै नभुल्नु एक शून्यपनि हौँ हामी
कहिल्यै नभुल्नु
हामी
तँ, तपाईं, तिमी भएर नै
‘हामी’ भएका हौँ !

Facebook Comments

You may also like

error: Content is protected !!