प्रेमको यात्रा
पुग्नुपर्ने कतै छैनझैं गरेर
मन्दिरका प्रत्येक खुट्किलाहरू गन्दै हिँडेका छौँ
पुछिदिएको छ बतासको नरम हत्केलाले
निधारमा उठेका पसिनाका उदेक अक्षरहरू !
टाढा कतै थियो चौतारी
पोलिदेला घामले भनेर पठाइदिएको छ छायाँ
तिर्खाउलान् भनेर बाटोसम्मै आइपुगेको छ नदी
र, दुख्ला पैताला भनेर झारिदिएको छ रूखले
— कलिला पातहरू !
बादल छ— बादलहरूकै सङ्गतमा
जून छ— ताराहरूको सामिप्यतामा
पँधेरो छ— अनेकौं युवती तिर्खाहरूको प्रतिक्षामा
म छु—
नथाक्दै जीवनको अन्तिम खुट्किलामा
उनी छिन्—
भर्खरै इन्द्रेणीमा नुहाएर घाम तापिरहेको
एउटा सुकिलो आदिवासी आकाशझैं !

Alone Under Tree
पहिलो प्रेम
जोगिनी चौतारो/बुढी कुवा
मैबलडाँडा/मर्स्याङदी नदी
चुदी खोला/ बाङ्गेरह
गाउँका साथीहरू/ गाउँका गोरेटाहरु
सम्झिरहन्छु—
देउरालीमा अल्लारे बतासले गाएको प्रेमिल गीत
र, बाटोभरि कसैलाई सम्झिहिँडेको प्रेयसी साँझ
हिउँदे जाडो लुकाएर गोजीमा
झुल्के घाम मुस्कुराउने गाउँ सम्झन्छु
राती अबेरसम्म घर नफर्किएको
आफ्नै अनुहारजस्तो अतीत सम्झन्छु
खोलावारि रोकेर मलाई
पारिबाट चुडाउने कोही थियो प्रेमको तुइन
अहिले सम्झन्छु—
खोला जत्तिकै / गाउँ जत्तिकै— त्यो पहिलो प्रेम !

Country Lane Shadows Jack Brauer
उकाली
म उकाली चढ्न मन पराउँछु ।
उकालीमै भेटिन्छन्—
स-सना नानीहरूले स्कूलको प्राङ्गणमा
फूलका गुच्छाहरू लिएर उभिएजस्ता पहाडहरु
र, हिमाललाई छोएर हतार—हतार फर्किएजस्तो
हत्केलाभरि गुराँसका फूल बोकेका बतासहरू ।
उकालीमा हिँड्नुको सुख उकालीमै भेटिन्छ
जीवन नबुझेका अल्लारे समयहरूलाई
उकालीले नै बुझाउँछ धैर्यका परिभाषाहरु ।
उकालीमै भेटिन्छन्—
देउरालीमा बटुवालाई पर्खिबसेका चौतारीहरु
जूनलाई साक्षी राखेर प्रेमालाप गरिरहेका चराहरू
र, नदीको देहमा औलाको निब चोबेर
धर्तीमा घामले लेख्दै गरेको सुनौला बिहानीहरु ।
सबै सबै भेटेर पनि
मात्र तिमी भेटिएकी छैनौ उकालीमा
यदी यहीँ उकालीमा तिमी भेटिँदो हौ त
उकाली झन् कति सुन्दर हुन्थ्यो होला ?

Hill Top from Gallerist