प्रेमको होली

Young Girl Painting by Ravi Varma

Young Girl Painting by Ravi Varma

गंगी सत्र वर्षकी मात्र थिई, तर ऊ तीन वर्षदेखि विधवा थिई, र जान्दथिई कि ‘म विधवा हुँ, मेरो लागि संसारको सुखको ढोका बन्द भइसकेको छ’ । फेरि ऊ किन रुन्थी वा कल्पन्थी ? मेलाबाट सबैजना त मिठाईको टपरी र फूलको हार लिएर फर्कँदैनन् । कतिलाई त मेलाका सजाइएका दोकान र त्यहाँ उभिएर मोलमोलाई गरिरहेका महिला-पुरुषहरुलाई नियाल्नुमै मनोरञ्जन मिल्छ ।

गंगी खान्थी-पिउँथी, हाँस्थी-बोल्थी, कसैले उसलाई निन्याउरो अनुहार बनाई बसेको वा आफ्नो भाग्यलाई सरापेर रोएको कहिल्यै देखेन । झिसमिसे मै उठेर गोबर सोहोर्नु, गाईवस्तुलाई कुँडोपानी दिनु, गुँइठा पार्नु, उसको नित्य नियम थियो । त्यसपछि ऊ आफ्नो दाजुलाई गाई दुहुन भनी जगाउँथी । फेरि कुवाबाट पानी लिएर आउँथी, त्यसपछि, चुलो-चौकोको काम सुरु हुन्थ्यो ।

गाउँकी भाउजु ऊसँग हँसीमजाक गर्थी, खाली एउटा विशेष प्रकारको मजाक छोडेर । साथीहरु ससुरालीबाट आउँदा उसलाई आफ्ना सारा कहानी बेलिबिस्तार लगाउँथे, तर एउटा विशेष प्रसङ्ग बचाएरै राख्थे । जुन सानो गल्तीको लागि उसको भाउजुमाथि ठूलै संकट पर्थ्यो, उसकी आमाले गाली-गलौज सुन्नुपर्थ्यो, भाइले चुटाई भेट्थ्यो, ती गल्तीहरु उसका लागि भने क्षम्य थिए । जसलाई ईश्वरले नै सजाय दिएको थियो, उसलाई अरु कसैले के सजाय दियोस् ? जे कुरा उसका लागि वर्जित थिए, त्यसमा ऊ स्वयम् मन गर्दिनथी । मानौँ, उसका लागि ती कुराहरुको अस्तित्व नै थिएन । जवानीको त्यो टिलपिल सागरमा, मदहोशी लहर थिएन, न त भयानक गर्जन नै थियो, थियो त बस्, अटल शान्तिको साम्राज्य !

Widow Painting

Widow Painting from Pratilipi.com

होली आयो, सबैले गुलाबी साडी लगाए, गंगीको साडीमा भने रङ्ग थिएन । आमाले सोधी- “छोरी, तेरो साडीपनि रङ्ग्याइदिऊँ ?” गंगीले भनी- “नाइँ अम्मा, यस्तै ठिक छ ।” उसकी भाउजुले फागुको गीत गाइ । ऊ भने परिकारहरु पकाइरही । उसलाई यसैमा आनन्द आउँथ्यो । तेश्रो प्रहर पल्लो गाउँका मान्छेहरु होली खेल्न आए, यताका पनि त होली फर्काउन जान्छन् । गाउँको चलन नै यहि हो । मैकू महतोले भाङ बनाएर राखेको थियो, गाँजा, चरेश, मिठाई, सबथोक ल्याएका थिए । भाङ पिस्ने गंगी नै थिई । गुलीयो अलग्गै बनाएकी थिई, नुनिलो अलग्गै । पाहुनाहरुलाई पिलाउने भाइ थियो, हात धुलाउने गंगी थिई । जवानहरु चुपचाप शीर निहुराएरै पिइसक्थे र फर्कन्थे । बुढापाकाहरु भने जिस्क्याउँथे गंगीलाई- “छोरी, तँलाई आराम त छ ? कसरत धेरै गर्छेस् कि भाउजुले राम्रो खान दिन्न ! यति दुब्ली भइसकिस् !” गंगी बस् हाँसी मात्र रहन्थी । शरिर उसको वशमा कहाँ थियो र ? थाहाछैन ऊ किन मोटाउँदै जाँदै थिई ।

भाङ पिएपछि मान्छेहरु फागु गाउन थाले । गंगी आफ्नो ढोकामा उभिएर सुनिरहेकी थिई । एउटा जवान ठाकुर गाइरहेको थियो । कति राम्रो आवाज थियो, कति मीठो ! गाना सुनेर गंगी आनन्द मानिरहेकी थिई । आमाले कत्ति पटकसम्म बोलाईन्- “सुन् त” । तर ऊ गइन । एकपटक गएकी त हो, तर हतारले फर्किएर आएकी थिई । उसको ध्यान गानातिरै थियो । थाहाछैन, उसलाई के कुराले तान्दथ्यो, के ले बान्दथ्यो, जवान ठाकुर पनि घरी-घरी गंगीतिर हेर्थ्यो र झन् मस्त हुँदै गाना गाउँथ्यो । उसका वरिपरि बसिरहेका सबैजना चकित भइरहेका थिए । यस्तो सिद्धि ठाकुरलाई कहाँबाट मिल्यो ! बिदा हुने बेलामा पनि गंगी ढोका मै उभिरहेकी थिई । जाँदाजाँदै, जवान ठाकुरले पनि ऊतिर हेर्यो र बिदा भयो ।

गंगीले आफ्नो बाबुसँग सोधी- “त्यो गाना गाउने को थियो बापु?”
मैकूले छोरीलाई जबाफ दियो- “कोठारको बुद्धूसिंहको छोरो हो, गरिबसिंह । बुद्धू आउने-जाने गर्थे रीति-संस्कारतिर । ऊ बितेपछि उसको छोरो आउने-जाने गर्छ ।”
गंगी- “यहाँ त पहिलोपटक आएको हो ?”
मैकू- “हो, मैले पनि आजै देखेको हुँ । तर स्वभाव जुन छ, ठ्याक्कै उसको बापुको जस्तै । घमण्ड त थोरै पनि छैन । बुद्धूको भण्डारमा अन्न राख्न ठाउँ हुन्नथियो, तर चमारलाई देखेपनि, पहिला हात ऊ आफैले उठाउँथ्यो । यसको पनि त्यस्तै छ स्वभाव !” गोरू आइरहेथे । गंगी दाम्लो लिन भित्रतिर दगुरी । त्यहि आवाज उसको कानमा गुञ्जिरहेको थियो ।

धेरै महिनाहरु बितिगए । एकदिन गंगी गोबर डल्याउँदै थिई । अचानक उसले देखी, त्यहि ठाकुर शिर झुकाएर ढोकाबाट फर्किरहेथ्यो । ऊ गोबर छोडेर झटपट उठी । घरमा कोही लोग्ने मान्छे थिएनन् । सबै बाहिर गएका थिए । ऊ भन्न चाहन्थी, ‘ठाकुर ! बस, पानी पिएर जाऊ ।’ तर उसको बोली फुटेन । उसको छाती जोरसँग धड्किरहेथ्यो । उसलाई एउटा अनौठो घबराहट महशुस हुन थाल्यो, ‘कसरी रोकुँ उसलाई ?’ ! गरिबसिंहले पुलुक्क एकपटक ऊतिर आफ्नो चोर-आँखा फ्याँक्यो र नजर झुकायो । त्यो हेराइमा के त्यस्तो कुरा थियो जसकारण गंगीका रोम-रोम ठाडा भए । ऊ दौडिँदै घरमा गई र आमासँग भनी, “अम्मा, त्यो ठाकुर गइरहेछ, गरिबसिंह !” आमाले भनी, “केही कामले आएको थियो होला ।” गंगि फेरि बाहिरै फर्किई तर त्यसबेलासम्म ठाकुर गइसकेको थियो । ऊ फेरि गुँइठा बनाउन थाली । तर गुँइठाहरु फुट्दै गइरहेथे । उसका आँखाका अघि अझैपनि त्यहि हेराइ थियो । आखिर के जादु थियो त्यसमा ? के मोहनी थियो त्यसमा त्यस्तो ? उसले आफ्नो मौन भाषामा केही भन्यो, गंगीले पनि केही सुनी । तर के सुनी ? यो ऊ जान्दिनथी, तर त्यो हेराइ उसको आँखामै बसिदिएको थियो ।

राती जब ऊ ओछ्यानमा पल्टिई, तबपनि, त्यहि हेराइ उसको आँखा अघि आयो । सपनामा पनि त्यहि हेराइ उसले देखी । त्यसपछि केहि महिना सामान्य बितीगए । एकदिन साँझको समय मैकू दैलोनेर बसेर आलस कातिरहेको थियो । गंगी आँगनमा बसेर गाईवस्तुको लागि कुँडो पकाइरहेकी थिई । एक्कासि ठाकुरलाई देखेर गंगी चिच्याउँदै उठी, “बापु, बापु, ठाकुर !”
मैकूले जसै आफ्नो शिर उठायो, गरिबसिंह त्यहि बाटो हुँदै कतै जाँदै गरेको उसले देख्यो । मैकूले खुशी हुँदै गरिबसिंहलाई बोलायो, “कहाँ गरिबसिंह ? बस एकैछिन, पानी पिएर जाऊ ।”
मैकूलाई देखेर गरिबसिंह आँगनको एउटा मेचमा गएर बस्यो । ऊ थकित देखिन्थ्यो । बिरामी परेजस्तो ! मैकूले सोधिहाल्यो, “कुनै बिमार पर्यौ कि के हो ?”
गरिब- “छैन त बापु ।”
मैकू- “अनुहार त खस्केको छ, के हो, साउँ-ब्याजको चिन्तामा फसेर त होइन ?”
गरिब- “तपाईं हुन्जेल त मलाई के को चिन्ता बापु ?”
मैकू- “बाँकी, पाइसक्यौ होइन ?”
गरिब- “अँ बापु, सबै चुक्ता भइसक्यो ।”
मैकूले गंगीसँग भन्यो- “जा छोरी, ठाकुरको लागि पानी लिएर आइहाल । दाजु छ भने चिलम पनि दिन भन् ।”
गरिब- “भइहाल्यो बापु, चिलम रहन दिनुस् । म पिउदिनँ ।”
मैकू- “अरे, आफ्नै घरमा बनाएछु, स्वाद त लिएर हेर । पिउन त पिउँछौ, थाहा छ ।”
गरिब- “यति बेतमिज न बनाउनु बापु । काकाको अघि कहिल्यै त्यसमा हात लगाएको छैन । तपाईंलाई मैले त्यहि स्थान दिएको छु ।”

बोल्दाबोल्दै ठाकुरको आँखा भरिएको देखेर मैकूको हृदय पनि गर्वले भरिएर आयो । गंगी हातमा टोकरी लिएर मूर्तिजस्तै उभिरहेथी । उसका सारा चेतना, सारा भावना, गरिबसिंहको कुरामा अल्झिएको थियो । उसले अरु केही सोच्न, अरु केही गर्न सकिरहेकी थिईन । आहा ! कति विनम्र ! कति सज्जन ! कति संस्कारी !
मैकूले गंगीलाई अझै त्यहीँ देखेर भन्यो- “छोरी, सुनिनस् कि के ? जा गएर पानी लिएर आइहाल ।”
बाबुको आवाजले गंगी झसङ्ग भई । दौडिँदै भित्र गई र कचौरा माझी, त्यसमा थोरै मिश्री निकाली । फेरि लोटा-गिलास माझेर शर्बत बनाई । आमाले सोधी, “को आएको छ, गंगि ?
गंगी- “त्यहि ठाकुर, गरिबसिंह ! दुध त रहेनछ आमा, शर्बत बनाएँ, भएको भए मलाई मिसाइदिन्थेँ ।”
आमा- “छ, किन छैन ? हाँडीमा त हेर् ।”
गंगीले दुधलाई फटाकसे फटाई र त्यसको सारा मलाई झिकेर उसले रसमा मिलाइदिई । गंगी लोटा-गिलास बोकेर बाहिर निस्किई । ठाकुरले गंगीतिर हेर्यो । गंगीको शिर आफसेआफ झुक्यो । उसलाई किन यसरी लाज लागेको हो ?

ठाकुरले रस लिँदै भन्यो- “राम राम” गंगी मुसकुराई ।
मैकूले गरिबसिंहलाई हेरेर फेरि भन्यो- “कति धेरै दुब्लाएको गरिबसिंह ?”
गंगीले पनि मौकामा मनको उत्सुक्ता पोखी- “बिराऊमी छौ कि?”
जबाफ मैकूले नै दियो- “चिन्ताले हो, अरु त के छ ? एक्लो मान्छे, अनि, ठूलो गृहस्थी ! के गर्नु !”
गंगीलाई रातभर निंद्रा परेन । उसलाई के चिन्ता रहेछ ? बापुसँग पनि केही भनेन । किन त्यस्तो हिचकिचाइ रहेथ्यो ? अनुहार पनि कति निन्याउरो भइसकेको छ । ऊ रातभर गरिबसिंहबारे सोचिरही ।

बिहानै गंगीले आमासँग भनी, “गरिबसिंह आजभोलि धैरै दुब्लाइसक्यो त अम्मा ।”
आमा- “अब ऊ पहिलाजस्तो बेफिक्री कहाँ छ छोरी ? बापु हुँदा खाने, खेल्ने मात्र काम थियो, अब त घर सबै उसकै टाउकोमा छ ।”
गंगीलाई आमाको जबाफले सन्तुष्टी दिएन । बाहिर गएर फेरि मैकूसँग भनी, “बापु, तपाईंले गरिबसिंहलाई सम्झाउनु भएन चिन्ता नगर्न ?”
यस्तो कुरा सुनेर मैकूले आँखा फाँडेर गंगीतिर हेर्यो र भन्यो- “जा, आफ्नो काम गर् ।”

गंगीमाथि मानौँ भर्खरै बज्रपात भइदियो । त्यो कठोर जबाफ, त्यो पनि बापुको मुखबाट ? हाय ! बापुलाई पनि उसको केही चिन्ता रहेनछ । अब उसलाई कसले सम्झाइदिन्छ ? अब ऊ आयो भने म आफै सम्झाउँछु, गंगीले मन बनाई । गंगी हरेक दिन ऊ आउँछ होला भन्दै बाटो हेर्दै बसिरही । तर ऊ कहिल्यै आएन । दिन बित्यो, हप्ता बित्यो, महिनौँ बित्यो । फेरि पनि होली आयो । गाउँमा फागुको रौनक सुरु भयो । उसका साथीहरुले फेरि गुलाबी साडी लगाए । फेरि रङ्गहरु घोले, मैकूले यसपाली पनि भाङ, चरेस, गाँजा मगायो । गंगीले फेरि पनि गुलीयो र नुनीलो भाङ बनाई । ढोकानेर गुन्द्री ओछ्याइयो । मान्छेहरु आउन थाले । तर कोठारबाट कोहीपनि आएन । साँझ पर्यो । कसैलाई थाहा थिएन । तर गंगी छटपट थिई । कहिले ऊ भित्र जान्थी, कहिले बाहिर आउँथी । भाइसँग सोध्थी- “कोठारवालाहरु आए ?” भाइ जबाफ दिन्थ्यो- “आएका छैनन् ।” बापुसँग सोध्थी- “भाङ त सकियो बापु, कोठारवाला आए भने के पिउँछन् ?” बापु भन्थ्यो- “अब यति राती को आउँछ ? नजिकैको गाउँ छ, आउने भए दिउँसै आउने थिए ।”

Widow's Dream Anup Roy

Widow’s Dream Painting by Anup Roy

रात पर्यो, तर गंगी अझै आश गरेर बसिरहेकी थिई । ऊ मन्दिरको माथि चढेर कोठारतिर चिहाउन थाली । कोही पनि यता आइरहेको थिएन । अचानक उसले त्यतै सिमानातिर आगो जलिरहेको देखी । हेर्दाहेर्दै त्यो ज्वाला दन्किन थाल्यो । यो के ? उता आज भर्खर होली जल्दै छ ? होली त हिजै जलेको थियो ! को जानोस्, सायद त्यहाँको पण्डितले होली जलाउने साइत आज बताइदिए होला ! तब त तिनीहरु आज आएनन् । त्यसोभए, तिनीहरु अब भोलि आउलान् !

गंगी मन्दिरबाट ओर्लिएर घर गई र बापुलाई सब कुरा बताई- “ बापु, कोठारमा त आज होली जल्दै छ, त्यसैले तिनीहरु आएनन्, भोलि आउनेछन् ।”
मैकूले हाँस्दै भन्यो- “थत् पग्ली ! होली सबतिर हिजै जलिसक्यो ।”
गंगी आफ्ना आँखाले देखेको कुरामा जिद गर्न लागि- “तपाईं मान्नुहुन्न, मैले मन्दिरबाट आफैले देखेर आएको छु । नपत्याए हेर्न त आउनुस्, मै देखाइदिन्छु ।”
मैकू- “ठिक छ, लौ हेरौँ के रहेछ । थाहा भइहाल्छ !”
मैकू पनि गंगीसँग मन्दिरको छतमा गएर हेर्न थाल्यो । एक मिनेटसम्म ध्यान दिएर हेरिराख्यो र चुपचाप तल ओर्लियो ।
मैकू चुप भएको देखेर गंगीले खुशी हँदै भनी- “हो कि होइन रहेछ, मैले त भनेकै थिएँ, तपाईं मान्नुहुन्न थियो ।”
मैकूले फेरि उस्तै गरी भन्यो- “होली होइन पग्ली, चिता हो । कुनै कोठारवाला मरेजस्तो छ, त्यसैले त आज त्यहाँबाट कोहीपनि आएन ।”
बापुबाट यस्तो नसोचेको कुरा सुनेर गंगीको मुटु धड्कन तेज भयो । यत्तिकैमा कसैले तलबाट उसको बापुलाई बोलायो- “मैकू महतो, कोठारवाला गरिबसिंह मरेछ !” खबर सुनेर मैकू हतार-हतार मन्दिरबाट ओर्लियो । तर गंगी अचानक खम्बाजस्तै जड भई । उसले केहीपनि बुझ्न सकिन । उसले सबै कुरा बिर्सिई । म को हुँ, कहाँ छु, केही होश रहेन उसलाई । उसलाई बस् यस्तो लाग्यो कि त्यो जलिरहेको चिताबाट निस्केर गरिबसिंह उसलाई त्यहि नजरले हेर्दै छ । उस्तै हेराइ ! उस्तै अनुहार ! ऊ कसरी बिर्सिन सक्थिई गरिबसिंहलाई ? उसले कहिल्यै बिर्सिन सकिन । त्यस दिनपछि ऊ कहिल्यै गईन होली हेर्न । होली त हर साल आउँथ्यो । उसैगरी ऊ भाङ बनाउँथी हर साल । फागु हरेक साल गाइन्थ्यो, अबिर र रङ्गहरु हर साल हावामा उड्थे । तर गंगीको जीवनबाट होली सधाको लागि गइसकेको थियो ।

Fire

Fire

(भारतीय उपन्यास सम्राट मुन्सी प्रेमचन्दको हिन्दी कथा “प्रेम कि होली” बाट नेपालीमा श्रीजु सरलद्वारा अनुसिर्जित ।)

Facebook Comments

You may also like

error: Content is protected !!