पूर्वाग्रह

मैले ओठमा त्यसलाई नटाँस्दै उसले भन्यो- “मैले त सोचेको थिएँ, तिमीले कालो कप रोज्ने छौ । कालो तिम्रो फेवरेट कलर होइन र ?”

Coffee

यतिबेला मात्र मलाई याद भयो, उसको खराने रङ्गको नाइकको ट्रयाकसेटमा रातो लाइनिङ ! बेडको तन्नाको सेतो भुइँमा राता-निला बुट्टाहरु ! सिल्भर पर्दामा फूलिरहेका राता फूलहरु ! टेबलमाथि लेटिरहेका राता किताब ! बाल्ट्राको रातो इलेक्ट्रिक जग ! मेरो स्तब्धतालाई मौनता सम्झेर हुनुपर्छ उसले सोध्यो- “किन मौन ?”  छरिएको आफुलाई बटुल्दै सम्हालिने प्रयासमा थोरै मुस्काइदिएर मैले भनेँ- “सोच्दैथिएँ, किन रातो कप समाएँ भनेर !”  उसले उत्सुकता देखायो- “किन ?” किन भनौँ ? कारण जे थियो त्यो भन्न लायक नै कहाँ थियो ? स्थितीलाई टाल्नकै लागि फेरिपनि फिस्स मुस्काइदिएँ र कफी पिउने बहानामा भन्न सुहाउँदो केही सोच्ने समय लिएँ । मेरो मुस्कानलाई पक्डेर उसले फेरि सोध्यो- “किन ? हाँस्छौ मात्र, भन पनि केही ! किन समायौ रे रातो कप ?”   यतिबेलासम्म भन्न लायक केही फेला परिसकेको थियो, जवाफ होइन, बरु उल्टै प्रतिप्रश्न, त्यो पनि हाँसोसँगै ता कि उसलाई लागोस् म अघिदेखि केही सोचेजस्तो गरेर, आलटाल (कृपा)  गरेर उसैको मुर्ख्याइँ लुकाइदिन खोज्दैथिएँ- “तिमीले यसलाई रातो नै कसरी देख्यौ ?” ‘के भन्छे फेरि यो’ को पारामा उसले मुख खुम्च्यायो । अनुहारको त्यस पारालाई जवाफ दिँदै (दिई टोपल्दै, जुन उसलाई थाह थिएन) मैले त्यो रातो कपको कालो भित्रीतिर हेर्दै कत्ति नै दार्शनिक हुँ जसरी भनेँ- “हो, सतहबाट हेर्दा त रातो नै हो यो कप ! तर गहिराईबाट यो कालो हो ! अझ गहिराई खोतल्ने हो भने यो कालो पनि नभएर सेतो हुनसक्छ वा अरु नै केही । त्यसैलै, रङ्गसँग के को लगाव ? जुनमा अगाडि आँखा पुग्यो मैले त्यहि उठाएँ ।” मलाई जस्तो सायद उसलाई कहिल्यै प्रपञ्च रच्नु थिएन, पूर्वाग्रह पाल्नु थिएन । कपमा बाहिर-भित्रको दुवै रङ्ग देखेरै किनेथ्यो होला, त्यहि देखेकोले मन परेरै किनेथ्यो होला तर यसरी गहिरिएर सोचेको थिएन पक्कै । सोच्ने प्रयोजन नै के र ? कारण नै के ? न त मैले जस्तो पूर्वाग्रह पाल्नु थियो उसलाई न त रच्नु नै थियो मैलेजस्तो कोही निर्दोषमाथि प्रपञ्च, आफ्नै गल्ती र कमजोरीहरुको ढाकछोप गर्न ।

तर प्रभाव भन्ने कुरा पनि कति जाली ? ऊ मेरो तारिफ गर्दै थियो; मेरो तर्कशक्ति, गहिरिन सक्ने क्षमता, दार्निशक अन्दाज, कुन्नी के-के पो हो ! उसको व्यक्तित्वलाई नाङ्गो देख्न उत्सुक भएर आएकी म आज पहिलोपटक आफ्नै नाङ्गोपनासँग लज्जित हुन पुगेकी थिएँ । लाज भन्ने कुराको सम्बन्ध भौतिक अङ्गसँग हुन्छ भन्नु पनि सायद मजस्तै एउटा भ्रम मात्र हो । म भास्सिरहेकी थिएँ, आफुले ओढिरहेको आदर्श र बोकिरहेको चरित्रबिचको खाडलमा म क्रमशः खस्दै गइरहेकी थिएँ । हरेक गहिराईहरु वजनदार किन हुन्छन् र ? यतिबेला, अलि अघिसम्म ऊतर्फ फर्केर अन्तर-हुँकार गरिरहेको अट्टहासले अचानक मतिर आफ्नो भग्न अनुहार फर्काइदिएको थियो । र त म गिर्दै थिएँ आफ्नै नजरमा यसरी, यो आदर्श र चरित्रबिचको खाडलमा ! र आज यो सब लेखिरहनुको कारण पनि सायद, हुनसक्छ म चोखिन चाहन्छु आफ्नै नजरको अघि, स्वीकारेर आफ्नो ढोंगी रुप, पूर्वाग्रहले उचालिदिएको अहम् को चुली, घमण्डको साम्राज्य, अरुमाथि थोपरेको निन्दा र प्रपञ्च ! स्वीकारेर आफ्नो खोक्रो आदर्श र भद्दा चरित्र ! थाह छैन, धेरै सोच्ने बानी छ, कतै यो सोचाइ पनि, एउटा कलममाथिको पूर्वाग्रह त होइन ?

Diary and Coffee

तिन दिन अघिको मात्र कुरा हो ।

बाहिर चिसो झरी परिरहेकै थियो । झरीकै बहानामा उसले मलाई आफ्नै हातको कफीको लागि निम्तो गरेको थियो । कफी त म कोठामै दिनमा चार-पाँच पटकसम्म पिउँछु र अफिसमा गनेर दुईपटक । ऊसँग पनि नपिएको होइन, यो तिन महिनाको अन्तरालमा ४ पटक त हामीले खुब कफी पिउनु पर्ने दुवैको साझा लतकै कारण पनि साथमा पिइसक्यौँ । तर म उत्सुक थिएँ, कफीको लागि होइन, बरु एउटा अल्लारे केटोको भान्छा कस्तो हुनसक्ला भनेर जान्न म उत्सुक थिएँ । मलाई जान्न मन थियो बाहिरबाट यति आकर्षक देखिने ठिटो कस्तो छ भित्र ? म नाङ्गो देख्न चाहन्थेँ उसको व्यक्तित्वलाई !

ढोकाबाट छिरेर दाँया हेर्नासाथ देखिने लो-बेड । त्यसमाथि, तनक्क तन्काइएको तन्ना, बिचतिर अलिअलि खुम्चिएजस्तो ! अनि, बेडको बगलमा स्टडी टेबल, दुरुस्तै मेरो कोठाको जस्तै ! सायद यो मान्छेसँग केही मेल खाएको यो नै पहिलो पटक हो । तर होइन, दोश्रो हो पक्कै । पहिलो त यो कफीको लत पो हो, जसकारण नै म यहाँ निम्त्याइएकी हुँ । टेबलमाथि केही किताबहरु; मोक्षान्तः काठमाण्डु फिभर,   काफ्का अन द शोर, र अर्को एउटा कुन्नी कुन थियो, नाम छेकिएकोले किताबको रङ्ग रेड-एण्ड-ह्वाइट थियो, बस् यति नै भन्न सक्छु । झ्यालमा मसिना राता फूलजस्ता बुट्टाले बोर्डर सजाएको टलक्क टल्कने खराने रङ्ग अर्थात् चाँदी रङ्गको पर्दा टाँगेको थियो । म सुनभन्दा चाँदीको गहना रुचाउने भएपनि, मेरो कोठाको झ्यालमा भने सुनौलो रङ्गको पर्दा लगाएको छु । कुन्नी किन ? आफैलाई थाह छैन ! अनि, सुत्ने कोठा हुँदै पुग्नुपर्ने किचन, सानो सानो स्ल्याब सहितको । दुईजना बस्न मिल्ने डाइनिङ टेबल पनि । त्यो त झन् सानो !  हेर्दा त भाँडाकुटी खेल्नको लागि भनेर बनाइए झैँ, तर बस्दा आरामै मिल्ने । सजिलो शब्दमा भन्नुपर्दा ठ्याक्कै ऊभन्दा विपरित !

म त्यहि फुच्चे डाइनिङको फुच्चे कुर्सीमा बसेँ । ऊ आफ्नो कफी कर्मतिर लाग्यो । नलागोस् पनि किन ? कफी ट्रेनिङ लिइरहेको ठिटो, चाँडोभन्दा चाँडो शहरको कुनै एक कुनामा बाँस र बेत मिलाएर एउटा (उसकै भाषामा भन्नुपर्दा) टिपिकल क्याफे खोल्ने सपना जो बोकेको छ ! बाल्ट्राको रातो इलेक्ट्रिक जगमा उसले पानी उमाल्न बसाल्यो । आधुनिक जुगको आधुनिक ठिटो ऊ । भित्तामा जडित सिङ्गमर्मरको कालो सल्याबमाथि, रातो छातीमा सेता अक्षरले नाम लेखाएको निस्काफे कप घोप्टिरहेको थियो, सोचेँ, झरीको मन्द झरझर सुन्दै ऊ (कप) सुस्ताइरहेको हुँदो हो । यो पनि सोचिभ्याएँ कि ऊ (केटो) निस्काफेको फ्यान हुँदो हो । अँ त, निस्काफे कपको मीठो निंद सायद उसले विथोल्न मन गरेन या ऊ नयाँ पाहुनालाई आफ्नो भान्छाको बृहद दर्शन दिन चाहन्थ्यो ? जे होस्, उसका हातहरु पछ्याउँदै, उत्तर भित्तातर्फ टाँगिएको उस्तै सानो कपबोर्डमा मेरो नजर पुग्यो । सेरामिक्सको कप-एण्ड-कित्लीको दुई/दुई सेट ? राता काला ! डाहै लागेर आयो । आफुले कहिलेदेखि त्यस्तै एक सेट जोडौँला भनेको, कहिले के कहिले केमा बजेट सकिएर आजसम्म सपनै भएको थियो । केटाहरु बजेट व्यवस्थापन गर्न जान्दैनन्, घरमा चाहिने सर-सामान जोड्न जान्दैनन् भन्ने बकवास थाहछैन आजसम्म कसले फैलाइरहेको थियो । तर त्यो पत्याइरहने एउटा पटमुर्ख भने म पनि रहेछु । हुनपनि, झट्ट हेर्दा यस्तो लाग्छ, केटीहरुको दाँजोमा केटाहरुलाई कमै मिल्छन् शिर्षक पनि, खर्च गर्नलाई । लिपिस्टिक, पाउडर, क्रिम, नङपालिश, अनि, परी-परीका वस्त्र, आभुषण ! यी शिर्षकहरुमध्य पछिल्ला दुई शिर्षकमा त म पनि राम्रै दख्खल राख्छु । तरपनि, चित्त बुझाउने ठाउँ नभेटेर म अझै तिनै सेरामिक्सका कपसेटहरुमा आँखा गाडिरहेकी थिएँ । निश्चयपनि, लोभी आँखा !

यतिबेलासम्म उसले एउटा कालो र अर्को रातो कप झिकेर त्यसमा कफीको धुलो राख्न भ्याइसकेको थियो । म अब त्यता तानिएँ । उसले रातो कप कसलाई सम्झेर तान्यो ? अनि कालो कप ? ऊ पनि पक्कै त्यहि सोच्दो हो, जो सबैजना सोच्छन् । रातो, गुलाबी, प्याजी; स्त्रीलिङ्गी रङ्गहरु ! कालो, खैरो, खराने; पुलिङ्गी रङ्गहरु ! म एक्कासि हाँस्न पुग्छु । बिना प्रयत्न फुस्किएको मेरो हाँसो त्यो शान्त कोठाभरि छरिन्छ । तातो पानी कपमा खन्याइरहेको ऊ पुलुक्क हेर्छ मतिर, आँखामा आश्चर्य र ओठमा मुस्कान स्वतः लिपिएको थाह हुन्थ्यो । उसको ओठको मुस्कान नबिथोलियोस् भन्ने सतर्कतामा म उसको आश्चर्यलाई (यदि, त्यसलाई जिज्ञासा भन्न मिल्छ भने) एउटा धोका दिन्छु, सायद कफीको बाफसँगै उडिरहेको उसको सोचजस्तै, मिहिन धोका ! भनिदिन्छु- “एउटी केटी मान्छे, एउटा केटा मान्छेले कफी बनाएको टुलुटुलु हेरिरहेकी छे, हात बाँधेर !” र फेरि हाँसिदिन्छु, यसपटक प्रयत्नवश, ताकि ऊ पत्याइदियोस् कि म वास्तवमै त्यहि सोचेर हाँसिरहेकी हुँ । “यसमा के खराबी छ ?” ऊ सहजै भनिदिन्छ । मभित्र एउटा अट्टहास विस्फोट हुन्छ ।

ऊ चम्चीलाई कफीमा चोपेर चलाइरहेछ ।
जो रङ्गहरुमा समेत लिङ्ग र योनि देखिरहेछ, ऊ यति सजिलै स्त्रीको लागि कसरी उदार हुनसक्छ ? के उसले देख्न सकिरहेको छैन ? मेरो सानो रातो दुपट्टाको मुनि सिङ्गो आङ ढाक्नेगरि लपेटिएको कालो कोटभित्र कालै कुर्ता र कालै सलवार ? बाहिर फुकालेको कालै हिल ! मेरो भिजेको छाता बरण्डामा सुक्न भनेर राखिदिने ऊ नै थियो । त्यसको रङ्गपनि कालो नै थियो उसले याद गरेन ? खैर, उसको पनि के दोष, यो समाज नै त्यस्तै छ । ऊ पनि त्यसै मध्यको एक न हो ।  

Dark Umbrella by Alex Ketz

Dark Umbrella by Alex Ketz

दुवै कपलाई उसले ट्रेमा चढायो र त्यसलाई डाइनिङको टेबलमाथि ल्याएर राख्यो । मैले आफ्नो सोचको श्रृंखला बन्द गर्न थोरै मिहेनत गरेँ । अघिल्तिरको कुर्सीमा बस्दै उसले भन्यो- “ल, लेडिज फस्ट !” अट्टहासको अर्को पटाका मनभित्रै फुटिदियो । ओठमा मुस्कान फुलाइदिएर स्वभाविक देखिने चेष्टा गर्दै मैले रातो कप समाएँ । मैले ओठमा त्यसलाई नटाँस्दै उसले भन्यो- “मैले त सोचेको थिएँ, तिमीले कालो कप रोज्ने छौ । कालो तिम्रो फेवरेट कलर होइन र ?” मनमा फुटिरहेको अट्टहास अचानक स्तब्ध भयो । “कसरी थाह पायौ?” यो सवाल गर्ने हिम्मतपनि जुटेन म मा । किनभने, यतिबेला मेरो हातको रातो कप काँपिरहेको थियो ।

Facebook Comments

You may also like

error: Content is protected !!