प्रतीक्षालय
भ्रुण संसार हेर्ने प्रतीक्षामा।
दुधे बालक दाँतको प्रतीक्षामा।
थोती फुच्ची दाँतकै प्रतीक्षामा ।
तर नयाँ ।
गाइने गितको प्रतीक्षामा।
प्रेमी प्रीतको प्रतीक्षामा।
कवि कविताको प्रतीक्षामा।
शत्रु रमिताको प्रतीक्षामा।
नाटककार कथाको प्रतीक्षामा।
गर्भवती व्यथाको प्रतीक्षामा।
चित्रकार रङ्गको प्रतीक्षामा।
चरा मानिस पंखको प्रतीक्षामा।
मूर्ख ज्ञानीको प्रतीक्षामा।
लोभी दानिको प्रतीक्षामा।
व्यापारी देह खरिददार देहको प्रतीक्षामा।
तिर्खालु मन प्रेमिल पेयको प्रतीक्षामा।
– बाबु, यहाँ सबै प्रतीक्षामा छन।
– अनि अब यहाँ हामी के गर्ने ?
– प्रतीक्षा ।
– म कसको प्रतीक्षा गरौँ ? तपाईं कसको प्रतीक्षा गर्ने ?
– आइज यहाँ चौतारीमा बसौँ । आ -आफ्नो उमेरलाई बिसाऔँ ।
अब,
तँ जवानीको प्रतीक्षामा।
म मृत्युको प्रतीक्षामा।
Facebook Comments