पुल

नयाँ ठाउँमा नयाँ काम पाएर आएको । काम गर्ने ठाउँ नजिकै पाएको हो डेरा पनि । तर राती राती खोलाछेउको बाटो भएर फर्किनु पर्दा दश मिनेटकै बाटो पनि धेरै लामो लाग्ने रहेछ । रात लामो त हिउँदतिर हुनपर्ने, तर अहिले त जेठको महिना, दिन जेठो-बाठो पल्टिने महिना, रातले छोटै हुनुपर्ने हो । तर खै किन किन बिहान आउँदा मिलिक्क कट्ने बाटो अँध्यारोमा दोब्बर पल्टिजान्थ्यो ।

सारा शहर रात ओढेर सुतेको थियो । टोलहरु चकमन्न भैसकेका थिए । कुकुरहरु पनि भुक्दा-भुक्दा थाकेर डल्लो परेर सुतिसके जस्तै लाग्थे । त्यति आवाज सुनिँदैन थियो । यस्तो मध्यरातमा म भने एक्लै हिँडिरहेको थिएँ त्यो डरलाग्दो बाटोमा । होटलको जागिर नै त्यस्तै । ड्युटी नै मध्यरातमा सकिने ।

अफिसमा जम्मा एउटा गाडी थियो । त्यही पनि अलि टाढा जाने स्टाफहरुलाई पुर्याउन जान्थ्यो । घर नजिक छ भनेर मलाई गाडीले बोक्दैन थियो । सधैँ हिँडेरै घर जानुपर्थ्यो, खोलाको बाटो भएर । तैपनि मलाई त्यो दश मिनेट सधैँभरी एक युग लाग्ने गर्थ्यो । अफिसमा डर लाग्छ भनेर गाडीमा पुर्याई मागौँ भने पनि ‘यत्रो मान्छेलाई त्यति हिँड्न नि डर लाग्छ ?’ भनेर हाँसोमा उडाउँलान् भन्ने पिर थियो । त्यही भएर रातको बाह्र बजेको समयमा पनि चुपचाप एक्लै हिँड्न कर लाग्थ्यो ।

खोला किनारको बाटो अनि मुटुको धड्कन ! त्यो चकमन्नमा समेत खोलाको सुसाहट सुनिन्न थियो । सुनिन्थ्यो त बस् आफ्नै मुटुको तेज धड्कन ! खास डर मलाई फटाहा र आवाराहरुको थियो । कुन कुनामा गाँजा खाएर बाटो ढुकेर बसेका होलान् ! फ्याट्ट केहि गरिदिन के बेर ! यहाँ मान्छेको जिउभन्दा ठूलो त मोबाइल हुन्छ, घडी हुन्छ, पैसाको पर्स हुन्छ ।

डरले गर्दा मनमा कुरा खेलिरहने चाहिँ त्यही बाटो नछिचोलुन्जेल मात्र थियो । घर पुगेर लामो श्वास फेरेपछि मन शान्त भै’हाल्थ्यो । आज पनि सकुशल घर आइयो भनेर दंग परिहाल्थेँ । यात्राको भय भुलिहाल्थेँ ।

शुरु शुरुमा भन्दा चाहिँ पछितिर डर अलि कम कम भएकै हो । कारण, खोलापारि पुलिस चौकी छँदै थियो । अझ वारि, आफ्नो टोलमा पनि अर्को चौकी थपिएपछि डर त घटेर आधा नै भएको थियो । गुण्डा, लुटेरा वा बदमासको डर त घट्यो । तर बाँकी रहेको त्यो आधा डरचाहिँ खास के को होला ? आखिर म केसँग डराउँथेँ त ? मध्यरातमा त्यो बाटो हिँड्दा ? त्यो रातको रङ्गसँगको डर हुन सक्थ्यो । सायद निरवताको भयले गाँज्थ्यो मलाई । त्यसैले नै सायद, त्यो निरवता भत्काउन म बोल्ने गर्थेँ आफैँसँग । मनमनै भएपनि, खलबल्याइदिन्थेँ त्यो त्रासद शान्तिको साम्राज्यलाई ।

खोला लमतन्न परेर सुतेको सर्पजस्तै देखिन्थ्यो । उस्तै देखिन्थ्यो त्यही खोलासँगै लमतन्न परेर सुतेको बाटो । त्यही बाटो भएर हिँडिरहँदा पहिलो पुल आइपुग्यो । मलाई त्यो पुल तर्नु थिएन । म तर्ने पुल तेस्रो थियो । खोलाको छेउ हुँदै हिँडिरहनु थियो अझै केहिबेर । ढुकढकी बढिरहेकै थियो । अनेक तर्कनाहरुले सर्पले रुखलाई बेरे झैँ मनलाई बेरिरहेका थिए । घर-घरका बत्तिहरु अघि नै निभिसकेका थिए । आकाशमा एउटा बत्ति बल्ने गर्थ्यो । त्यो पनि औंसीमा बल्दैन थियो । औंसी रहेछ भन्ने थाहा पाउनासाथ मनमा चिसो स्याँठले हान्न भ्याइसकेको थियो । मोबाइलको सानो बत्तिले म आफूलाई डोहोर्याइरहेको थिएँ । जानुपर्ने अगाडी नै थियो तर बारम्बार ध्यान पछाडी फर्किन खोजिरहेको थियो । जरुरी थिएन सम्झेर त पक्कै होइन, तर कुन्नी किन ? पछाडी फर्किने साहस जुटिरहेको थिएन । अघि बढ्ने साहस पनि त लड्खडाउँदै हिँडिरहेको थियो । जे छ पछाडी छ, पछाडी बाटै हो कसैले पछ्याउन सक्ने सोचेर मुटुको धड्कन जस्तै तेज गतिमा पाइला सार्दै थिएँ । नदेखेकै कुरासँग डराइरहेको थिएँ । अचानक, अलि पर केही पाइलाको दूरीमा एउटा कालो छायाँ सुतिरहेको देखेँ । मेरो हंसले अब साच्चै ठाउँ छोड्यो । आखिर बाटोको मध्य भाग मै यसरी लमतन्न परेर को सुतिरहेछ ? को हुन सक्ला ? सायद कुकुर ? आफैँलाई सान्त्वना दिने उपाय खोज्न थालेँ । म अझै नजिक पुगेँ । त्यो चल्मलाउन थाल्यो । म त जड नै भएँ । मेरा पाइलाहरु रोकिए । श्वास पनि झण्डै रोकियो । अति धिमा भयो ।

अहँ, त्यो स्वरूप कुकुरको हुँदै हैन । यत्ति जान्नुले मलाई झन् त्रस्त बनायो । अब के गरुँ ? के नगरुँ ? यतिका दिन यो बाटो हिँडेको थिएँ । तर कहिल्यै कुनै डरलाग्दो चिजसँग यसरी साक्षात जम्काभेट भएको थिएन । भलै मन डराउँथ्यो, अलग कुरा हो । तर आज अचानक यो, मध्यम कदको मानव झैँ देखिने आकृति, जो मध्य सडकमा चल्मलाउँदै सुतिरहेको थियो, त्यसले मेरो सातो उडायो । मान्छे नै हो भने पनि, यो मध्यरातमा खोलाको बाटो, त्यो पनि बिच सडकमा कस्तो मान्छे सुत्दो हो ? वा त्यो मान्छे नै हो भन्ने पनि के ठेगान ?

जेसुकै होस् । हिम्मत बटुलेँ । मलाई फर्केर कुद्नुभन्दा त्यसैको आडबाट कुद्नु मनासिब लाग्यो । भलै यो धेरै सोचबिचार गरेर आएको आइडिया थिएन । सोचविचार गर्ने त केही नदेखुञ्जेल रहेछ । देखेपछि त सोच्न दिमागले काम नै कहाँ गर्दोरहेछ र ? मनले हठात् त्यही ठान्यो । म हठात् कुदेँ । पछाडी नहेरी कुदेँ । त्यो आकृति उठ्यो । यो पनि मैले पछाडी नफर्केरै ठम्याएँ । मेरो पदचापसँगै उही तालमा अर्का जोर खुट्टाहरु कुदेको आवाज मेरा कानमा टड्कारै सुनिन थाल्यो । म झन् आत्तिएँ । मुटु पनि मानौँ धड्किन छोडेर कुदिरहेकै छ ।

पुलिस चौकीको बाटो हुँदै कुदिरहेँ । मलाई त चौकीमा सुन्नेगरी कराऊँ, गुहार मागौँ, यो पनि ख्याल भएन । मानौँ कसैले गला च्याप्प पारेर अँठ्याइदिएको थियो । बोली घाँटीबाट माथि आउनै सक्दैन थियो । दोस्रो पुल पनि मेरो आडबाट गुज्रियो । आज आशंकाका आँखाहरु त्यता डुलाइरहन जरुरत परेन । म बस् दायाँबायाँ नहेरी कुदिरहेँ । अब भने मैले आफ्नो पैतालाको हस्याङ-फस्याङ बाहेक अर्को आवाज सुनिनँ । एकछिन मात्र त दौडिएको थिएँ । तर लाग्थ्यो म्याराथन पुरा गरिसकेँ । श्वास स्वाँ-स्वाँ गरेर फुल्न थाल्यो । बिस्तारै पाइलाको रफ्तार कम भयो । पछाडीबाट आवाज नसुन्न थालेपछि थोरै साहस फर्के झैँ भयो र मुन्टो पनि पछाडी फर्काउन सकेँ । ल्या ! कोही छैन त ! अचम्म !

कोही त छैन पछाडी । आखिर म के देखेर, को आयो भन्ठानेर यसरी कुदेँ ? आफैँलाई हाँसो लाग्यो । छेउको खोलामा अँध्यारो हो कि पानी हो, बगिरहेको थियो । पर पर कुनै कुनै घरमा मात्र पिलपिल बत्ति बलिरहेका थिए । कतै केही थिएन । आफू दौडेर आएको बाटोमा पनि त केहि थिएन ।

त्यसो भए म के देखेर तर्सिएँ ? बाटोमा सुस्तरी हिँड्दै हिँड्दै पर अघिको आकृति सुतेको ठाउँतिर हेरेँ । केही थिएन । मलाई सायद भ्रम भयो । डर, अब अर्कै किसिमको डर भयो । यो डरै डरको अनवरत श्रृङ्खला छिचोल्ने प्रयासमा अगाडी हेरेर हिँड्न खोज्दा अचानक….. मेरो अगाडी एउटा ठिटो पो देखा पर्यो, अघि लागेर हिँडिरहेको । अन्दाजी, चौध पन्ध्र वर्षको ठिटो ! कहाँबाट टुपुल्कियो एकाएक मेरो अघिल्तिर ? के अघि पछाडीबाट मलाई खेद्ने यहि थियो त ? कसरी पछाडीबाट अचानक अगाडी आइपुग्यो ? यो मान्छे नै हो कि मान्छेको भुत ? मेरो होसहवास गुम भयो । अब कता कुदौँ ? कुद्ने उर्जा नै कहाँ बाँकी थियो ? यत्तिकै मुर्तिवत् उभिएँ । श्वास पनि सक्दो बिस्तारै छोड्दै उभिएँ, ता कि केटोले नसुनोस् । एउटा कलिलो, आफूभन्दा लगभग आधा उमेरै सानो फुच्चे केटोसँग म डराइरहेको थिएँ । कहिलेकाहीँ परिस्थिती यस्तो भयानक विवशता बोकेर पनि आउँदोरहेछ । अब के हुनेवाला छ, म बिल्कुल अञ्जान थिएँ । काँपिरहेको मेरो मनले ठहर गर्यो, यो भुत नै हो । ओठ-तालु सुक्न थाल्यो । मान्छे अटल हुँदाहुँदै पनि कायर हुनसक्दो रहेछ । म त्यसलाई काँतर आँखा नझिम्क्याई हेरिरहेको थिएँ । केटो अलि पर पुग्यो । र रोकियो । डरले म बेहोसजस्तै हुन लागेँ ।

‘दाइ किन उभिनु भा’को ?’ फरक्क फर्केर केटोले सोध्यो ।
लुगलुग काँपेका खुट्टाहरु दह्रोसँग टेकेर म उल्टो पाइला पछाडी फर्किएँ । र अघि आएतिर हान्निएर कूदेँ ।
‘दाइ… दाइ…’ केटो कराउँदै थियो । मलाई उसको आवाज पनि अस्वाभाविक लाग्यो । मान्छेले हैन, रोबर्टले पनि हैन कुनै अर्कै चिजले बोलेजस्तो ।
कुदेर फर्किंदा अघिकै दोस्रो पुलमा पुगेँ । पुलछेउमा एउटा मान्छे उभिएको देखेँ । कतै त्यही अघिकै भुत त हैन ? नियालेर हेरेँ, पुलिस रै’छ । धन्न श्वास आयो । तबला बजे झैँ मुटुको धड्कन घटेर मादल बजे झैँ हुँदै गयो ।
‘किन दौडिनु भा’को ?’ पुलिसले सोध्यो ।
‘त्यहाँ… त्यहाँ..’ मैले फुलेको श्वासमा तेस्रो पुलतिर देखाएर यति मात्र भन्न सकेँ ।
‘के छ र त्यहाँ ?’ पुलिसले पनि त्यतातिर हेर्दै सोध्यो ।
‘त्यहाँ त्यहाँ’ उफ् ! त्यो क्षण… त्योभन्दा बढी वाक्य नै फुट्न सकेन । नाम मात्र लिँदापनि त्यो केटो फेरि यहीँ नै आइपुग्लाजस्तो !
‘के भो र भाइ ?’ पुलिसले सोधिरह्यो ।

के भनौँ के भनौँ भएर म चुपचाप नै उभिरहेँ । सलक्क परेको पुलिस सफा युनिफर्ममा मेरो अघिल्तिर उभिएको थियो । अगाडी उभिनेको हुलियाले पनि कत्रो फरक पार्ने मान्छेको मनलाई ! मलाई बल्ल हलुका महशुस हुन थाल्यो । श्वास फेर्न सहज जस्तो हुन थाल्यो । अघि मलाई तर्साउन खोज्ने कोहि जीवित बदमास नै भए पनि अब भने मलाई यो पुलिसको आडभरोसा मिलेको थियो ।

‘आत्तिएको जस्तो देखिन्छ नि ?’ उसले अझै सोध्यो ।
‘अँ, अघि त्यहाँ….’ अझै पनि मैले बाँकी बोली ओकल्नै सकिनँ । के भनौँ, एउटा बच्चा देखेर डराएँ भनौँ ? भुत भनौँ सिधै ? मजाक उडाएर उल्टै एक्लै धपाइदेला भन्ने पिर !
‘ल हिँड्नुस् । अब डराउनु पर्दैन । म छु नि यहाँ । पर पुलसम्म छोडिदिन्छु ।’ पुलिसले थाहा पाएजसरी भन्यो । खोजेको पनि त यही नै थियो । हुन त मलाई अघि जाँदा र फेरि फर्किंदा दौडिएको याद गरेको हुनु पर्छ । मलाई त अघि पुलिसको सम्झना नै भएनछ । हामीले सुस्तरी आफ्ना पाइलाहरु चाल्यौँ ।

‘तर तपाईं एक्लै ?’काँतरपनले अझै छोडेको रहेनछ, यताउता हेरेँ । ऊ बाहेक अरु कोही पुलिस देखिनँ ।
‘त्यही भन्या । हाम्रो बिटमा दरबन्दी नै कम छ । अनि यति राती पनि एक्लै ड्युटी गर्नु पर्छ । तर पुलिस आफैँ डराए जनता कसरी ढुक्कले निदाउन सक्छन् त । हैन र भाइ ?’ ऊ मुसुक्क हाँस्यो । हँसिलो पुलिसको अनुहार स्निग्ध अँध्यारोमा पनि उज्यालियो ।
‘पुलिस डराउनु हुँदैन । त्यो त स्वाभाविक हो । तर तपाईं पनि त एउटा मान्छे हुनुहुन्छ । ठूलो हतियारधारी समूहसँग जम्काभेट भए एक्लै के गर्न सक्नुहुन्छ र ?’ मैले उसको क्षमता र ताकतमा शंका गरेको थिएँ । तर यो जिज्ञासा त स्वाभाविक नै थियो । डराइरहेको मानिसले सायद अरुलाई पनि डरपोक नै देख्दोरहेछ । वा देख्न खोज्दो पो हो कि ?
‘यो के हो त भाइ ?’ उसले कम्मरमा भिरेको पिस्तोल देखायो । ‘बाँकी फोर्स चाहिए यो छँदैछ’, कम्मरको अर्को छेउमा भिरेको वाकीटाकी पनि उसले देखाउन भ्यायो ।
उसले छाती तनक्क तन्काएर भन्यो, ‘खासमा भाइ प्रहरी भनेको मृत्युसँग पनि डराउनु हुँदैन । यो त मरेपछि पनि सुरक्षा गर्ने जात हो ।’
मैले ‘ए ए’ भनेर मुन्टो हल्लाएँ । हामी हिँड्दै हिँड्दै तेस्रो पुलनेर आइसकेका थियौँ ।
‘कता हो भाइ जानु पर्ने ?’ पुलिसले सोध्यो ।
‘ठ्याक्कै पुलपारि । दुई मिनेट हिँडेपछि बाटैको निलो घर’, मैले भनेँ ।
‘ल मेरो ड्युटी यहिँसम्म हो’, पुलिसले भन्यो । म वाल्ल परेको देखेर होला अझै थप्यो, ‘पारि अर्कै पुलिस बिट छ ।’
‘हस् धन्यवाद सर ।’ डरैडरमा पनि थोरै हाँसेर मैले भनेँ ।

मबाट छुट्टिएर फर्किरहेको पुलिसलाई पुल तर्दै गर्दा मैले यसो फर्किएर हेरेँ । पुलिस पुलमुनि ओर्लिंदै थियो । सायद पिसाब फेर्न ओर्लियो होला भन्दै पुन: आँखा अगाडी सोझ्याउँछु त अघिको केटो अलि पर उभिरहेको पो रहेछ ! लौन यो के हुँदै छ ? मैले केही सोच्नै सकिनँ । श्वास घाँटीमा आएर अडियो । अब त भाग्ने ताकत पनि बचेको थिएन । पानीमुनि हाम फाले पनि भेटेरै छोड्ला जसरी केटो मलाई पछ्याइरहेको थियो । यो तब कहाँ थियो होला जब मेरो साथमा पुलिस थियो ? मेरा गोडाहरु क्रमशः शिथिल हुन थाले ।

‘आउनुस् दाइ, सँगै जाउँला । कति डराको के । म मान्छे नै हो भन्या !” केटोले भन्यो ।

डराई डराई पनि उसको नजिक गएँ । हुन त अब आफ्नो टोल आइसक्यो । यो भूत भएको भए बस्तीमा किन आउँथ्यो र ? आफूलाई कुनै पनि हालतमा ढुक्क पार्ने कोसिसमा थिएँ म सायद ।

“झन् साथी हुन्छ भनेर अघिदेखि सँगै आउन खोजेको, मान्छे त उल्टै मैसँग पो तर्सेर भागेको भाग्यै”, उसले घतलाग्दो कुरा गर्यो । ऊ साच्चै मिलनसार हो वा मात्र देखिन खोज्दै छ ? मनको भित्र कतै डर त अझै बाँकी नै रहेछ । ऊ अझै बोल्दै थियो, “यहाँ अलि अस्ति नै तिर मान्छे मारेर फ्याँकेको कुरा दाइले पनि सुन्नु भा’हो ?” उसको प्रश्नले म स्तब्ध भएँ । निकैबेर सन्न बनायो मन-मस्तिष्क सबै ।

यस्तो भयानक घटना घटेको बेला अघिको पुलिस कहाँ थियो होला ? किन बचाउन सकेनछ ? पछाडी फर्केर पुलतिर हेरेँ, पारि-पारिसम्मै । सायद, उहि पुलिसलाई खोजेको हुँदो हुँ । तर पुलिस देखिएन । मलाई मौन देखेर होला केटो आफैँले बेलिबिस्तार लगाइदियो, “दाइलाई थाहा छैन जस्तो छ, त्यो अघिल्लो पुलमा पाँच महिना अघि ट्यापेहरुले पुलिसलाई काटेर फ्याँकेका थिए । त्यसैले, बेला-बेलामा यो बाटोमा तर्साउँछ भन्छन् । सँगै आउन खोजेको त्यही भएर त हो नि दाइ ।”

उफ् ! कस्तो हैरान बनाउने कुरा ? म साच्चै स्तब्ध भएँ । तर यसपटक मनमा डर होइन, बरु अर्कै किसिमको बेचैनी व्याप्त भयो । मेरा कानमा पुलिसले भनेका कुराहरु दोहोरिए झैँ बज्न थाले,”खासमा भाइ प्रहरी भनेको मृत्युसँग पनि डराउनु हुँदैन । यो त मरेपछि पनि सुरक्षा गर्ने जात हो ।”

पछाडि फर्केर हेर्दा पुलमुनिबाट खोलामा सेलाएको दियोजस्तै केहि उज्यालो वस्तु बग्दै बग्दै दोस्रो पुलतिर जाँदै थियो ।

Facebook Comments

You may also like

error: Content is protected !!