गैर-राजनीतिकको राजनीतिक चिन्तन | SATURDAYकलम | Kavyalaya - काव्यालय

गैर-राजनीतिकको राजनीतिक चिन्तन

म कुनै राजनीतिक कार्यकर्ता होइन, म त एउटा सामान्य जनता जसले देश बनोस्, हाम्रो एक मतले एउटा कर्मठ, सच्चरित्रवान व्यक्तित्व जसले आफ्नो सारा व्यक्तिगत जिम्मेवारीलाई विधिवत रूपले दाहसंस्कार गरेर आफ्नो समुदायका जनताको प्रतिनिधित्व गर्दै देशको जिम्मेवार पद र ओहदामा पुगेर देश बनाउन् भनेर मतदानकै लागि बसिबसाउ सहरदेखि धुलैधुलोको पहाडी भिरे बाटोमा अटेसमटेस भएर टनाटन यात्रु कोचिएको थोत्रो गाडीको यात्रा पछि घण्टौं पैदल हिँडेर मतदानको लागि मतदान केन्द्रसम्म पुगेको नागरिक हुँ ।

म त्यही सुशासन र समुन्नत देशको परिकल्पना गरेको नागरिक, आफ्नो मत प्रति मुक्तकण्ठले गर्व गर्ने मतदाता, आज देश प्याडल बिनाको डुङ्गा, बीच नदीमा डगमगाएझैं डगमगाउँदा, अटल आशा र भरोसाको चीत्कार सुन्न नसकेर नदीको बहावप्रति खबरदारी गर्न माध्यम खोजिरहेको, राजनीतिक पृष्ठभूमिको छायाँसँग मात्र पनि दूरदराजमा भेट्न नचाहने एक देशप्रेमी, देशको हालतप्रति हालाती बनिरहँदा भोलि जागिर कसको सिफारिसमा खाने, भाइलाई प्रहरी सेनामा कसरी घुसाउने भन्ने जस्ता डर देखिनु साह्रै बिडम्बनाको कुरा हो । कैयौं सपुतको रगतले लतपतिएको नेपाल आमाको चीर करुणाभन्दा पार्टी र संगठनलाई माथि राखेर दलीय र व्यक्तिगत स्वार्थका लागि पक्ष विपक्षमा उर्लनु सरासर देश र जनबलिदानप्रतिको गद्दारी हो । अब न यहाँ सार्वभौमसत्ता संसद विघटन गरेर देशले मुहार फेर्नेछ ,न खारेज ।

ओहदामा पुगेकाहरू पद र सत्ताको लागि तछाडमछाड गर्दैछन् त, नपुगेकाहरू दल र संगठनको लागि । यहाँ साच्चै देश र समुदायको लागि चिन्ता, चासो थियो भने विद्रोह आफ्नै दलभित्रबाट शुरु हुन्थ्यो, दबाब र खबरदारी आफ्नै पक्षका नेता र कार्यकर्तामा हुन्थ्यो । कसिङ्गर त यहाँ प्रत्येक पार्टीभित्र छ जसले देशलाई भित्रभित्रै दुर्गन्धित गरिरहेको छ । जबसम्म पार्टीभित्रैबाट आवाज उठ्दैन तबसम्म सुशासनको परिकल्पना गर्न सकिन्न । यो संविधान र संसद कसैका बाउको पेवा होइन, जतिखेर मन लाग्यो विघटन, जतिखेर मन लाग्यो संगठन । सरकार जिन्दावाद भन्नेहरू साच्चै देशप्रति अलिकति सहानुभूति छ भने यो प्रतिगमन र असंवैधानिक कदमको प्रतिवाद गरेर हेरौँ ।

यो कुनै किसानले मल नपाएर गरिएको विघटन होइन, कुनै नेपाली विदेशी भूमिमा पानी नपाएर छटपटाइरहेकोले भएको विघटन होइन, यो त सत्ता र पदको लालचले भएको विघटन हो । जनताको आँखामा धुलो उडाउने काम हो । अर्कोतिर प्रतिपक्षीले कसरी यस विषम परिस्थितिको फाइदा लिने भनेर चलखेल रच्दैछ । यहाँ देशले के पाउने होइन, बरु पार्टीले के पाउने, संगठनले के पाउने, अनि आफू कुन पदमा पुग्ने, आफ्नालाई कसरी सिफारिस दिलाउने यस्तै यस्तै ध्येयले आन्दोलनमा होमिँदैछन् ।

किन जनविरोध, किन नारा-जुलुस, किन मतभेदभन्दा पनि यहाँ धेरैलाई कसको आन्दोलन, कुन पार्टीको पक्षमा आन्दोलन मतलब छ चाहे त्यो जायज होस् या नजायज। जनतामा भएको भेडेपनको कमजोरीबाट फाइदा लिँदैछन् सत्ता र ओहदामा रहेका माहिर राजनीतिज्ञहरू । जनताको जनवाद, बहुदलीय जनवाद, नयाँ जनवाद यस्ता क्रान्तिका रणनीतिक लक्ष्यहरूले मात्र देश समाजवादतिर लम्किँदैन ।‌ यसका लागि पार्टीको कार्यदिशा, नीति र सिद्धान्तअनुरुप विश्लेषण र प्रशिक्षणतिर जन-आवाज उठ्नु पर्ने थियो तर बिडम्बना अनेक गुटबन्दी, अराजकताको यहाँ अभ्यास हुँदैछ । धराशायी हुँदै गरेको यस मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता अब धुजाधुजा भएर पतन भइरहेको दृश्य जो अब चाँडै नै देखिनेछ, बस् त्यसैको प्रतीक्षा गर्नुबाहेक विकल्प छैन । छ र ? 

Facebook Comments

You may also like

error: Content is protected !!