पोखरी

जस्तो कि पोखरीलाई तरङ्गित पार्दै
हलचल गरिरहेछन् स-साना माछा
भ्यागुताहरू बुर्कुसी मार्दै उफ्रीरहेका छन् ।

म पत्थर हान्दै
आनन्द लिइरहेको छु
माछाको दु:खको आनन्द,
भ्यागुताको छटपटीको आनन्द,
तरङ्गको क्षणिकताको आनन्द ।

आनन्द आफ्नै निकम्मापनको ।

पोखरी गतिशील छैन
त्यसैले माछाहरू दुखी छन्
जति उफ्रिएपनि पोखरीको सिमा नै हो,
भ्यागुताको सिमा ।

म रमाइरहेछु हेरेर
दु:ख, छटपटी
म छटपटाइरहेछु
देखेर आफ्नै आनन्द ।

Boy at the Lake by Mike Theuer

Image Source: Boy at the Lake by Mike Theuer

मैन: एक प्रेमिल क्रान्ती

एउटा तारा फेरि अस्तायो आज क्षितिजमा ।
तर पनि उज्यालो हराएको छैन
मैन बत्तिको सानो प्रकाशमा
म आफुलाई प्रज्जवलित बनाइरहेछु ।
यो जलन अर्कै छ
यो पोलाइ अर्कै छ
यो दिप्ती, यो चमकको
छुट्टै आनन्द छ
आनन्द छ यसरी आफुलाई पोख्नुमा
आनन्द छ सानो झिल्को बनी सल्किनुमा
अनि फैलिनुमा ।
यो त्यो ज्वाला होइन
जसले सबथोक जलाएर खरानी बनाउने छ
यो त्यो आगो होइन
जहाँबाट फेरि सभ्यता धुँवा भएर उड्ने छ ।
यो आगो हो उज्यालोको ।

अँध्यारो पनि कालो होइन,
कालो पनि नराम्रो होइन
मात्र एउटा डर हो,
आफ्नै भित्रको निर्वातको डर ।
डर केही नहुनुको
डरले बाँधिदिएको हो आँखामा पट्टी
खोले देखिएला विचित्रको एउटा रङ्ग
जससँग वर्षौँको सम्बन्ध भएर पनि
परिचयविहिन छौँ हामी ।

यो त्यही रङ्ग हो,
जसले छोपिदिएको थियो हामीलाई;
यो त्यही रङ्ग हो,
जसको होली खेल्दै आयौँ हामी हजारौँ वर्षदेखि;
यो त्यही रङ्ग हो,
जसले रङ्गाएको थियो परिवर्तनलाई र परिणत गरिदिएको थियो एउटा रङ्गिन क्रान्तीमा ।
यो रङ्ग जो सँग त्रसित छ सत्ता ।

हो यो त्यही रङ्ग हो जुन
पोतिएको छ मेरो, तिम्रो हामी सबको अनुहारमा
आँखा खोली हेर आफुला
पहिचान आफ्नो वास्तविक रङ्ग ।

मैन पग्लेर सक्की सक्यो
सकिएन आनन्द अझै,
तिम्रो मीठो कल्पनामा हराइरहनुको आनन्द ।
मैनको आगोमा तिमिलाइ
देखेर रमाउनुको आनन्द ।
यो आनन्द हो
तिम्रो अस्तित्व सँग साक्षात्कार हुने
जिवनको लालसाको,
यो आनन्द हो,
कविता-क्रान्ती-विचार-उज्यालो
भन्दै तिम्रो नजिक पुग्नुको आनन्द ।

र यो आनन्द पनि एकदिन
यसैगरी समाप्त हुनेछ,
मैनसरी
तर त्यस बखतसम्म
केही क्षण तिमी पनि
मेरो यो सन्तुष्टिको आनन्द देखेर
एकैछिन रमाउनेछौ
अनि आनन्दित भई विलाई जानेछौ
क्षितिजको लाली जसरी ।
तर पनि
आनन्द हराउने छैन
मुस्कान बनेर अनुहारमा
आदिम सभ्यतासँगै रमाइरहनेछ ।

I Have Fire In Me by Wojtek Kowalski

Image Source: I Have Fire In Me by Wojtek Kowalski

एक निंदको यात्रा

टनटनाउँदो घाममा हिँडिरहेको
कुनै यात्री जस्तै थिएँ म,
तिमी कुनै आँपको रूखजस्तै
मलाइ छाँया दिन आइपुग्यौ ।
त्यही छाँयामुनि,
आँखा चिम्लिएर मैले
एउटा निंद पूरा गरेँ ।
त्यस निंदमा मैले,
हजारौँ सपना देखेँ
लाखौँ रहर हुर्काएँ ।
जब आँखा खोलेँ त
थाहा छैन,
कति समय बितिसकेको थियो
सबै फल झरी सकेका थिए,
पातहरू खसिसकेका थिए,
रूख सुकिसकेको थियो ।
वर्षौँदेखि
जस्तै कसैले उसलाई
देखेको नै छैन ।

यामहरू बदलिसकेका थिए,
तिमी रूख थिइनौ सायद
न त तिमी फल नै थियौ
न पात थियौ ।
तिमी त त्यो छाँया थियौ
जो हरेक बिहानको
सूर्यसँगै आउँछ
र अस्ताएर जान्छ साँझको घामसँगै ।
म त यात्री थिएँ,
गर्न सक्दिनँ थिएँ प्रतीक्षा त्यो दिनको
जुन दिन तिमी फेरि फर्की आउनेछौ ।

The Painter on His Way to Work | Van Gogh

Image Source: The Painter on His Way to Work | Van Gogh

Facebook Comments

You may also like

error: Content is protected !!