प्रिय समय | SATURDAYकलम | Kavyalaya - कव्यालय

प्रिय समय

प्रिय समय

प्रिय समय, 
पिंजडाको चरीझैं
तिमीलाई थुन्न मिल्ने भए
तिमीलाई पनि कैद गर्ने थिएँ
हत्केलाका मुठ्ठीहरूमा
तर
तिम्रो यो धार त बहेर जानेछ, 
यो पल, यो क्षण पनि बितेर जानेछ
लाग्छ, तिमीलाई रोकिदिऊँ र…
पुगौँ शून्य समयमा
निस्कौँ समय यात्रामा
डुबौँ गहिरो ध्यानमा
खोलौँ समाधीको ढोका ।
म त मनको शान्ति खोज्न हिँडेको मान्छे ।
प्रिय समय यदि सक्छौ भने,
हटाइदेऊ मेरा नयनहरू
संसारको यो आडम्बरी दीप्तिबाट 
सिकाइदेऊ प्रायोगिक जीवन जीउन 
पुऱ्याइदेऊ अनन्तमा 
डुबाइदेऊ मनको गहिराइमा
दौडाइदेऊ तिम्रै गतिमा
नचाइदेऊ तिम्रै लयमा
जगाइदेऊ मेरो निद्रित चैतन्य चोला
र चिनाइदेऊ मलाई मेरै अन्तःकरण !

मृत्यु 

मृत्यु, तिमी जति सत्य छौ,
त्यति नै अनिश्चित ।
अझ भनौँ,
अनिश्चितताभित्रको निश्चित भविष्य हौ तिमी,
जति प्राकृतिक छौ,
त्यति नै अवश्यम्भावी ।
सायद तिमी एकतर्फी निर्णय लिन्छौ,
न कसैको पर्खाइको वास्ता गर्छौ, 
न कसैको इच्छा सुन्छौ। 
मृत्यु तिमी बडो रहस्यमयी छौ
बर्मुडा त्रिकोणझैं 
कालो छिद्रझैं !
न कसैको प्रेम महसुस गर्छौ,
न कसैको मायाको अनुभूति गर्छौ ।
कसैको जीवन पूरा हुन नपाउँदै 
तिम्रो आगमनले तिमीलाई क्रुर र निर्दयी बनाउँछ,
हुन त तिमीले रोग र पिडाले छट्पटाइरहेका 
रूग्ण शरीरहरूलाई राहत पनि दिन्छौ
त्यो पिडा फेरि कहिल्यै नहुने गरी,
कसैले त मनको भार थाम्न नसकेर तिमीलाई अंगाल्छन नि है ?
मृत्यु, सायद तिमी कसैका लागि प्रिय पनि छौ कसैका लागि अप्रिय पनि !

जीन्दगीको क्यानभासमा

अनन्त र निराकार आकाशलाई 
जब जून र ताराहरूले उज्वल जीवन दिन्छन्
बादलले रंगीन तुल्याउँछ
त्यतै कतै 
म खोज्छु  तिम्रो आकृति,
उडिरहेको यो
आवाजविहीन गतिशील हावामा 
जब नाचिरहन्छ एउटा सुकेको पात
म सुन्छु 
तिम्रो श्वासजस्तो एउटा पातलो ध्वनी,
जब बर्सिन्छन् वर्षामा बर्खे झरीहरू
म देख्छु
हात जोडेर रुझ्दै दौडिरहेको हाम्रो आकृति,
तिमी चुपचाप र दूर छौ यो संसारभन्दा
अथाह कल्पनामा डुब्न नसकी तैरिरहेको म
कोर्छु, 
एउटा संसार जिन्दगीको क्यानभासमा 
जहाँ,
ओइलाएको एउटा फूल, 
एक जोर आशातीत आँखाहरू र पर्खाइका पाइलाहरू !

Facebook Comments

You may also like

error: Content is protected !!