भूपिनको दशैं र तिहार

भूपिनको दशैं र तिहार

भूपिन

वि.स. २०३० साल चैत्र ३० गते बाग्लुङ नगरपालीका- १४, बलेवा, नारायणस्थानमा पिता सर्वजित खड्का र माता बशुन्धरा खड्काको सुपुत्रको रुपमा जन्मिएका कवि/निबन्धकार/उपन्यासकार एवं लेखक भूपिन स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । लामो समय नेपाली साहित्य जगतमा समय खर्चिएका खड्काले आफ्नो लेखनलाई निकै फराकिलो बनाउँदै लगेका छन् ।

उनका क्षतिग्रस्त पृथ्वी र मूल सडक (कविता संग्रह- २०५३), हजार वर्षको निद्रा (कविता संग्रह-२०६६), चौबिस रील (निबन्ध संग्रह- २०६९), सुप्लाको हवाइजहाज (कविता संग्रह-२०७२), मैदारो (उपन्यास-२०७५) सहित विभिन्न पत्रपत्रिका फुटकर रचनाहरू प्रकाशित भइसकेका छन् ।

प्रथम ( खुल्ला मुक्तक प्रतियोगिता, पृथ्वी नारायण बहुमुखी क्याम्पस-२०५३),
प्रथम( बृहत प्रतियोगितात्मक कवि सम्मेलन, सूर्यचन्द्र युवा क्लब, पोखरा),
प्रथम-स्वर्ण पदक( राष्ट्रिय साहित्य सम्मेलन- गण्डकी बाङ्मय प्रतिष्ठान, दमौली-२०५३);
कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार, ( २०६७),
चितवन साहित्य परिषद (हजार वर्षको निद्राका लागि),
अभिव्यञ्जना साहित्य सम्मान (अभिव्यञ्जना साहित्य प्रतिष्ठान- २०६७),
समता काव्य सम्मान (पोखरेली युवा सांस्कृतिक परिवार-२०६७),
नेपाली अन्तराष्ट्रिय साहित्य समाज पुरस्कार-२०११, अमेरिका, (हजार वर्षको निद्राका लागि),
उत्तम शान्ति पुरस्कार- २०६९ (चौबिस रीलका लागि),
मदनमोहन जोसी स्मृति साहित्य पुरस्कार-२०७१, (साहित्य संगम चितवन),
रत्न श्रेष्ठ पुरस्कार-२०७३, रत्न श्रेष्ठ पुरस्कार गुठी, बाग्लुङ, (चौबिस रिलका लागि),
पर्वत साहित्य संगम पुरस्कार, कुस्मा-२०७३,
निलकण्ठ पौडेल स्मृति राष्ट्रिय साहित्य पुरस्कार- २०७४,
चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार-२०७५ (मैदारोका लागि),
कविडाँडा अविनासी उत्कृष्ट कृति पुरस्कार २०७६ (मैदारोका लागि),
सहिद शिव पौडेल स्मृति राष्ट्रिय पुरस्कार-२०७६ (मैदारोका लागि)
लगायत पुरस्कार, अभिनन्दनबाट सम्मानित भूपिन नेपाली साहित्याकाशमा भूपिन एउटा स्थापित नाम हो ।


 

प्रस्तुत छ, दशैंको मुखमा उनै बहुप्रतिभाशाली भूपिनका दशैंका कविता र तिहारको गीत ।

दशैं: दुई कविता

हिँड्ने रूखको कथा

दशैंमा गाउँ जाँदा

गाउँले भन्ने छ-

‘तिमी त सहरवासी भइसक्यौ

धापे खोलामा आउने आकस्मिक बाढीजस्तो

तिमी दशैं मनाउन मात्र गाउँ फर्किन्छौ ।’

आमाले भन्नुहुनेछ

‘यो घरको ढोका

तिम्रो यात्राको बिसौनी हुन सकेन

उतै सहरमा

रत्यौली नाँच्न पनि नदिएर बिहाबारी गर्यौ

घरजम जमायौ

तिमी त सहरवासी भयौ ।’

काली गण्डकीले भन्नेछ

‘मेरो सौन्दर्यको गहिराइमा डुबेर

माया गर्ने कवि हरायौ ।’

आमा समूहले बनाएको पुलले सोध्नेछ

बाबालाई जलाएको घाटले सोध्नेछ

एक्लो चौतारी र हात पर्खिएका खोरियाले सोध्नेछन्

बालककालमा पौडिएका

लेउ लागेका दहहरूले सोध्नेछन्

‘तिम्रै सहरतिर सिरानी फर्काएर सुत्दा पनि

किन हामीलाई लाग्न छाड्यो बाडुल्की ?’

खेतहरूले भन्नेछन्

गौचरनले भन्नेछ

भीरमा अड्किएको पुरानो सम्झनाले भन्नेछ

‘स्मृतिको बगर छोडेर गाउँमा

तिमी त सहरमा हरायौ ।’

गाउँलाई सन्चो बिसन्चो सोधिहिँड्दा

सधैँझैं म सोचिरहनेछु आफूलाई

द्विविधाको टापुमा बाँचिरहेको एउटा रूख ।

हो, म हिँडिरहने एउटा अग्लो रूख

न गाउँमा फर्किन सक्छु

जहाँ मलाई अड्याउने जराहरू छन्

न सहरमा सुखले बस्न सक्छु

जहाँ केवल भाँचिएका हाँगा र चुँडिएका पातहरू छन् ।

दशैंमा गाउँ जाँदा

गाउँले भन्ने छ-

‘तिमी दशैं मनाउन मात्र गाउँ फर्किन्छौ ।’

 ***

दशैंमा परदेशी सम्झेर

तिमी खाडी उडेपछि

अष्टमीको दिन काटिएको खसीझैं

छटपटाइरहेछु

सिकुवामा उम्रिन नसकेको जमराझैं

चाउरिएकी छु

विधुवाको निधार पर्खिएको सेतो अक्षताझैं

बेरङ्ग भएकी छु

मेरो खसम !

यसपाली त सँगसँगै मनाऊँला भनेको दशैं

तिमी उडेपछि

जुठो बारिएको घरझैं

उदास भएकी छु ।

सम्झिरहेकी छु

मान्छे बेच्ने कम्पनीको टिसर्ट लगाएर

जब तिमी उडेका थियौ

खाडीको आकाशतिर

मेरो सिमखेत आँखामा धेरैबेर

ती बाह्र नेपालीहरूको तस्बिर नाचिरहेको थियो

जो बिना कुनै कसुर

मारिएका थिए

इराकको तातो बालुवामा ।

त्यहाँ सेरिएको

घाँटी मेरै थियो

र गोलीले छेडेको एउटा लास तिम्रो थियो ।

हामी त त्यही दिन

मरिसकेका थियौँ विमानस्थलमा

तिमी मरेका थियौ

दशैंको च्याङ्ग्राझैं बेचिएर

म मरेकी थिएँ

तिम्रो उडानलाई रोक्न नसकेर ।

मेरो खसम !

महङ्गीको मालश्री गाउँदै

पसेको छ दशैं सधैँझैं गाउँमा ।

सधैँझैं रातो माटो र कमेरो छ्यापेर

मैले घर चोख्याइसकेकी छु

तर कस्सम् !

मेरो आँखामा कुनै सुन्दर सपना छैन

तिमी उडेपछि

तिम्रो घरमा कुनै ढुकढुकी छैन ।

सिथिल भएको छ गाउँको पाखुरा

विरुप भएको छ गाउँको सौन्दर्य

बुढाबुढीहरू भन्दै छन्,

तिमी उडेपछि

केटीचौरको लट्ठेपिङ छिनेर

भाँचिएको छ गाउँको मेरुदण्ड ।

तिमी उडेपछि

जुठो बारिएको घरझैं

उदास भएकी छु ।



तिहार गीत

टिकट काटी राख्नु दाजै उडी आउनु यसपाली

तिमी बिना तिहारहरू बितिगए खाली खाली

मेरो लागि दाइजो केही पर्दैन भो कमाउन

जानेकी छु अब मैले पीरमा पनि रमाउन

कति बस्छौ विदेशमा खाँदै फिरङ्गीको गाली

टिकट काटी राख्नु दाजै उडी आउनु यसपाली

सातै रङ्गको टीका तिम्रो निधारमा लगाएर

देउसी खेल्न मन छ तिम्रो हात प्यारो समाएर

आउनु तिमी बादलझैं क्षितिजबाट हाम फाली

टिकट काटी राख्नु दाजै उडी आउनु यसपाली

टिकट काटी राख्नु दाजै उडी आउनु यसपाली

तिमी बिना तिहारहरू बितिगए खाली खाली



साहित्यकार भूपिन सोसियल मिडियामा यता हुनुहुन्छः 
FAcebook : https://www.facebook.com/bhupeen.bhupeen.5



 

Facebook Comments

You may also like

error: Content is protected !!