मेराे प्रश्न तिमीलाई?

मेराे प्रश्न तिमीलाई?

पसलमा सजाईएकी -गुडिया
ग्राहककाे मन तान्ने -आकर्षण
नसम्झ मलाई
म वस्तु हाेइन ।

कति किन्छाै
ए मालिकहरू ! कति खरिद्छाै ?
वारि र पारिसिमा
किन चाहन्छाै – सस्ताे मिठाई
अनि
रस झरेकाे खाेक्राे फाल्ने
डङ्गुरमा फ्याँक्छाै सजिलै
म कुहिएकाे भण्डार हाेइन ।

न उठाऊ डङ्गुरबाट मलाई
नगलेका पलास्टिक सम्झी
नबनाऊ खेलाैना
नथाप पसल मेराे
म बेचिएकी पुतली हाेइन ।

काेठाकाे दराजभित्र
नसजाऊ मलाई
थुनिएकाे माया हाेइन
सक्छाै भने
तिमीभित्र रहेकाे
मनकाे प्रेमिल डाेरीले बाँध
नफुकाऊ डाेरी
अलपत्र पारी मलाई
म रङ्गमञ्च हाेइन ।

हेर त !
सहयात्राकाे दशकाैं बितिसकेछ!
मेराे एउटा प्रश्नन तिमीलाई ,
मलाई चिन्याै ?
बिरामी पातमा पनि चेप्टिरहने
झुसिल्किराझैं
तिम्राे चेप्टाईकाे-अघात प्रेमले
म घाइते भएकी छु ।

तिम्रा नजरकाे पर्खाललाई
अब, मैले पनि बेस्सरी माया गर्नु छ,
आऊ,  मैदानमा !
मेराे स्पर्शले तिमीलाई खाेजिरहेछ

मेराे शरीरबाट –
ताताे -राताे- निर्दाेष -साहसी -परिवर्तनकाे रगत सुस्साइरहेछ,
तिमीले सुन्याै ???

 

म तिम्राे काे हुँ ?

मायाले भरिएका वचनका छालमा
घृणाले त बास कहाँ पाउँथ्याे र,
मनमा वचनले घाेचेर बोल्दा पनि
याे मन कहाँ मुस्कुराउँथ्याे र !
बनावटी नाता अनि देखावटी व्यवहार
छलकपटी मनले कहाँ संसार चल्छ ?
वास्तविकता त्यहाँ छ साथी
जहाँ मनकाे मिलन हुन्छ
मित्रताकाे भाव हुन्छ
अनि त्यागकाे कल्पना हुन्छ ।

विश्वासकाे बन्धन साथै
जीवन समेतकाे समर्पण 
म कहाँ भुल्न सक्छु र त्याे पल
जहाँ मित्रताकाे नाता थियाे
मायाकाे भाका थियाे
साथै लाेभिने आँखा थियाे 
जहाँ तिम्राे खुशीकाे बाेट पलाउँथ्याे साथी
त्यहाँ म ध्यान दिएर हिँड्थे
कतै मेराे पाउले त्याे बाेट नकुल्चियाेस्
अझ भनाैँ,
म त्यसमा जलमल दिने प्रयास गर्थेँ ।
तर मैले बुझ्न सकिनँ तिमीलाई!
के मेराे व्यवहारबाट तिमी खुशी हुने सम्भावना छ त ?
म नजिक हुन खाेज्छु
तिमीलाई टाढा भएजस्ताे लाग्छ ,
म तिम्राे बाटाेमा फूल बनी फुल्न चाहन्छु
तर,
साथी तिमीलाई काँडा भएजस्ताे लाग्छ।

म बलियाे सम्झन्थे मेराे भाग्य रेखा
तर म साह्रै अभागी रहिछु
न त असल साथी बन्न सकेँ
न त असल साथी बनाउन नै
के तिमीलाई याे बुझ्ने समय छ ?
तिमीलाई मेराे मित्रताकाे भावनालाई
कदर गर्ने फुर्सद समेत छैन 
सायद तिमीलाई साथीकाे महत्व थाहा छैन
या भनाैँ,
साथी त पटक-पटक पाउन सकिन्छ
याे कुनै चिन्ताकाे विषय नै हाेइन
तिमीले यति साेच्दा-साेच्दै पनि
मलाई तिम्रै विजय चाहिन्छ
मलाई तिम्रै खुशी चाहिन्छ 
अनि म त्यहाँ रमाउँछु
जहाँ साथीकाे महिमा गाइन्छ 

अब भन, म तिम्राे काे हुँ ?
के म तिम्राे असल साथी बन्न लायक नै छ‌ैन ?
या भनाैँ
असल साथी बन्न सक्नै म मा कुनै गुण नै भएन ?

रंगहीन संसार

सम्झिरहेछु तिमीलाई
दुनियाँको रंगहीन यो कुनामा बसेर ।

कुल्चिएपछि यो माटो
लेखुँला भनेकी थिए – केही कविताहरू
पठाउँला भनेकी थिए – तिमीलाई कोशेली
अहाे ! वर्ष बितिगएछ,
मेरा शब्दहरू यही सहरमै अलमलिएछन् ।

साँच्चै !
सृष्टिकै एक उपहार
यो जीवनकाे असाध्यै माया लाग्छ,
त्यसैले बाध्य छु म सपनाहरू देखिरहन ।

यही जीवनलाई बिगार्ने
र सपार्ने जीवन देख्दा अचम्म लाग्छ
मान्छेकाे परिचय भुल्ने
मान्छे पनि मान्छेकै पछाडि लागेको देख्दा अचम्म लाग्छ ।

जन्मलाई पेवा
र मृत्युलाई दाइजाे सम्झनेकाे लाम देख्छु
दयाको भारीले थिचिन्छु
आफै, आफै बाँचेको बिर्सिन्छु ।

धर्तीमा पाइला टेकेकाे समयदेखि
जीवनमा पाएकाे र गुमाएकाे
हिसाब निकाल्ने फुर्सद छैन मसँग
‘जीवन’ बाँच्नुको सम्झौता गरेर
त्याे हिसाबकाे सुत्र प्रेमले सुम्पिएकी थिएँ
मेरो जिन्दगीको एकएक अध्यायको
अनुसन्धान उसैले नै गरोस् भनेर ।

मेराे लागि त्याे समय रापिलाे थियाे
जिन्दगी सुनाखरी जस्तै लाग्थ्याे
मन गुराँस जस्तै फुल्थ्याे
सगरमाथा चढेजस्तै लाग्थ्याे
याे संसारकाे जम्मै खुसी आफ्नै बरन्डामा परे जस्ताे लाग्थ्याे ।

सधैँ हाम्रो मुठ्ठीभित्र मात्रै रहिरहेन समय
बाधा र अवराेधले पूर्व र पश्चिम बनायो हामीलाई ।

यो दुनियाँको अर्को कुनामा रहिरहँदा पनि
कहिलेकाहीँ सम्झना र खुसी उपहारमा पठाउन मन लाग्छ,
तर म पनि तिमी जस्तै दुःखकाे सहरमा छु
जुन सुदुरको चश्माले हेर्दा रंगैरगंहरूको चित्र देखिन्छ

तर मेराे लागि रंगहिन छ यही संसार
कि सबै रंगहरूको नाम ‘तिमी’ मेरो आँखामा छैनौ ।

Facebook Comments

You may also like

error: Content is protected !!