आकाश छेँड्दै | SATURDAYकलम | Kavyalaya - काव्यालय

आकाश छेड्दै

अग्नि सुख

तिमीसम्म पुग्न
आगोको बाटो देखाइदियो
चाहनाले मलाई

अनि, म हिडेँ ह्वारह्वार्ती बल्दै
मसँगै सल्किन थाले
मेरा तृष्णाहरु
उन्मादहरु
छटपटीहरु
होसहरु सबै जलिरहे
मेरा दिनहरु जले
मेरा रातहरु जले
मेरा क्षण-क्षणहरु जले
समयको समुंद्रै जल्यो मेरो
ओ मेरो प्रेम !
तिमीलाई भेट्ने लालसाले
इः यसरी आगोको बाटोमा
आफैँ आगो भएर हिँडिरहेँ म

जसै, पुगेँ म तिम्रो नजिक
ओ मेरो ईश्वर !
मैले छोइदेला
र आफूपनि जल्नुपर्ला
भन्ने डरले थरर्र काम्यौ तिमी
र ढुङ्गामा परिणत गर्यौ आफूलाई
तिमीलाई बताउनै पाइनँ मैले
आगोको बाटोमा हिँड्नुको मज्जा
यो सुखानुभूति बाँड्नै पाइनँ तिमीसँग
नडराए हुन्थ्यो नि तिमी
ओ मेरो ईश्वर !
कहाँ पोल्छ र आगोले, आगोलाई ?

प्रेम रहस्य

लाख प्रयत्न गर्दापनि
खोलिएन
चाहना, वासना र आकर्षणको चाबीले
त्यो तिलस्मी ताला
र उद्घाटित हुन सकेन कहिल्यै प्रेमको रहस्य

कुनै आदिम पोखरीमाथि
हरबखत लागिरहने
रहस्यमयी र मनोहारी कुहिरो हो प्रेम सायद
जो आफैमा दिग्भ्रमित छ
अझै उम्कन नसकेको हुनुपर्छ कि त त्यो
रहस्यै रहस्यको भूलभुलैयाबाट

म सशङ्कित छु
भेटिहाले पनि कतै
आफैले नचिन्ने हुँ कि
विना हुलियाको यो प्रेमलाई !

Eternal Live by Mina Dasani

आकाश छेड्दै

डाँडामाथिको मन्दिरमा
माया पुज्न हो कि
सिँढीहरू टेक्दै रहरको उकालो चढ्यौँ हामी
थाकेर खुट्टाले सुस्ताउन खोजेपनि
मनहरू त खुशीले कावा खाँदै
माथि-माथि उडी रहे
आकाशलाई छेडेर त्यतिबेला
कहाँ कहाँ पुगे मनहरू
हामीलाई मात्र थाहा भएको कुरा हो यो

प्यास लाग्थ्यो
पानी पिउँदा झन् तृष्णा जाग्थ्यो
बिस्कुट खुवाएर तिमीले मलाई
कुन भोक जगाइदिएकी थियौ
भनेँ भने लजाउँछौ तिमी

छटपटीको कोलाहलले आवाद त्यो एकान्त
उत्तेजनाका भीडले भरिएको त्यो निर्जन वन
म भन्न सक्दिनँ
कामूकता वनमा थियो कि मनमा ?

हुलका हुल उन्मादले
मेरो संयमतामा असहनिय प्रहार गरेपछि
बचेखुचेका जे जति सङ्कोच र त्रास थिए
सबै डुबाइदिएँ साँझको घामसँगै
विरोध गरुँ कि समर्थन
तिम्रो किंकर्तव्यविमूढताको फाइदा उठाउँदै
मैले अँगालोमा कसैको त्यो कम्पित देह
तिम्रै त थियो

नशा-नशामा तातो भएर
रगत
बग्दै थियो हतारसाथ छिटो-छिटो
मदहोसीको गहिरो गुफामा
पस्दै थिएँ म बिस्तारै बिस्तारै

तिम्रो अनुभूति कस्तो रह्यो कुन्नि ?
मैले त अनुमान मात्रै लगाउने न हो
यस्तै भो कि भनेर ।

He Said. She Said. BUT His Face Betrays Him by Saatchi

बोनस गजल

सपना त भ्रमको सुन्दर फूल रै’छ
बिपनामा टिप्न खोज्नु मेरो भुल रै’छ

वारि रहेँ म सधैँ उनी रहिन् पारि
मायाको नदीमा भत्किएको पुल रै’छ

हरेक रात पीडाले टन्न मातिएर
हल्ला गर्दै हिँड्नेहरू सपनाको हुल रै’छ

सुनेको थेँ भनेको मीठो हुन्छ सम्झना
काँडाझैं तर त्यो बिझाउने शूल रै’छ

आँखाभरि पानी यो काँ’बाट आयो सञ्जीव
छातीभित्र व्यथा रसाएको मूल रै’छ ।।

Crying Rose by Rafael Marte

Facebook Comments

You may also like

error: Content is protected !!