मुक्ति
अघोरीहरूको घनघोर ताण्डव
हुँदै गरेको एकरात
घाट नजिकै
महामृत्युञ्जयको
महा मन्त्रोच्चारण गर्दै गरेको
मार्च पासको दृश्य
कुनै दूतावासको भव्य भेटघाटको
दिइरहेथ्यो झल्को !
उत्सव भै’रहेथ्यो नटराजहरूको
अनिष्टलाई स्वागत गर्न
उनीहरू पटक्कै चाहदैनथे
– कसैको जीवन
– न त मोक्ष प्राप्ति नै
मंत्रोच्चारण हुँदै थिए केवल
आफ्नै जीवनको लागि !
【ॐ त्रयम्बकं याजामहे सुगंधिम पुष्टिवर्धनम ।
उर्वारुकमिव बन्धनान्मृत्यौ ( ‘र् मुक्षीय’ हटाएर ) मामृतात् ।।】
अघोरीहरू अवगत थिए,
देशको सिङ्गो शरीरको रक्षक ‘रुद्र’
स्वयं विषाक्त भएर छटपटाइरहेछ
सिंहदरबारको कैलाश कोठाभित्र !
आफ्नो अन्तिम राष्ट्रिय श्वासमा
फेरिरहेछ विषालु आश्वासनका
मिति पूरा भइसकेका
देशै खाने अर्ती उपदेशहरू
कुनै निश्चित चुनावी एजेन्डाजस्तै
औपचारिकता निभाइरहेछ,
आफ्ना अन्धा र बहिरा सेनानीहरूलाई
मात्र उनीहरुले बुझ्ने लिपिमा ।
कसरी थाहा पाउँछन् अघोरीहरूले
कसैको मृत्युको साइत,
कसरी आकाशबाटै सजिलै देख्दछ गिद्धले
लुकेर घिस्रिँदै गरेको सर्प,
किन मन पर्दैनन् अघोरीहरूलाई
अश्विनी र सञ्जीवनी ?
राहदानी विभाग बाहिरको भिडजस्तै
जिज्ञासाले काैतूहल बनेका नजरहरू
अपवित्र बनेर फर्किए,
जीर्ण र रुग्ण अघोरीहरू,
मुक्ति खोजिरहेका
घाँटीमा झुण्ड्याइएकाे
पार्टीको कंकालबाट !

Thrown Out
विषय नेपाली
उसलाई सब थाहा छ-
उसले विज्ञान पढेको छ
उसले गणित पढेको छ
उसले नैतिकमा त अत्याधिक
नतिजा ल्याएको रेकर्ड नै छ
ऊ विद्वान हो,
उसलाई सब थाहा छ !
सामाजिक-
यो त उसको चासोको विषय
अझ,
नक्सा बनाउन हुरुक्कै-फुरुक्कै हुने
आर्टिस्ट हो ऊ
अर्थशास्त्रमा अब्बल
भूगोलमा गोल्ड मेडलिस्ट
साहित्यमा ख्याति पाएको
लेखामा पनि खाई लाग्दो
अंग्रेजीको पेवर “सेक्सपियर”
राजनीतिको त ऊ (प्रा•डा•)
प्राध्यापक डाक्टर नै भै’सक्यो
ऊ विद्वान हो,
उसलाई सब थाहा छ!
उसलाई-
इतिहासका
गाता हराएका
अथाह कथाहरू समेत थाहा छन्
ऊ दुर्लभ इतिहासकार पनि हो
खेलकुदमा जमानादेखि नै
नकुदेरै उसले कैयौं किर्तिमान
कायम गरिसक्यो
ऊ खतरनाक खेलाडी पनि हो ।
उसलाई
धेरै भाषा बोल्न पनि आउँछ-
हिन्दी,
चाइनीज,
कोरियन,
अमेरिकन यस्ता कैयन !
“हि इज लाइक एन अल राउण्डर”
तर,
ऊ मौन छ !
कसैले
उसको देशलाई
जिस्काइरहेछ
सहनै नसकिने गरी
ऊ भने मौन छ !
उसलाई-
आफ्ना पब्लिकको
चिन्ता पटक्कै छैन,
ऊ त “शोल रिपब्लिक”को हेडफोनमा
“हे राम, हे राम” वाला
भजन सुन्दै पल्टिरहेछ,
तातो शहरको
झनै तातो नाम भएको
वालुवाटारको
कुनै चिसो तलाको झनै चिसो कोठामा
र गुनगुनाइरहेछ-
“हे राम”
“हे राम”
घरी – घरी !
घरी – घरी !
बाहिर चर्का स्वरहरू छन्,
बाहिर डरका स्वरहरू छन्,
बाहिर-
वर्षेनी आउने बाढीका दुःख
पहिरोमा पुरिने पहाडीका दुःख
पसिनाले पोलिरहने खाडीका दुःख
एसिडले जलिरहने नारीका दुःख
रित्तो पेटका भारीका दुःख
अन्न नापाएर ज्यान गुनाउनेका दुःख
अन्याय पाएर ज्यान गुमाउनेका दुःख
छल गर्ने छर छि’मेकीका दुःख
बाहिर दुखै दुःखका स्वरहरू छन्
तर,
मेरो देशको विद्वानले
केही पनि बुझिरहेको छैन,
खाली “हे राम” “हे राम” मात्र गुनगुनाइरहेछ ।
मलाई त लाग्छ
उसले पक्कै पनि
सबै विषय पढ्दै गर्दा
पढ्नै छुटाएछ “विषय नेपाली” !

Political Irony
चोर खल्ती
मलाई अहिले पनि राम्ररी सम्झना छ,
बुवाको पैंटमा एउटा चोर खल्ती हुने गर्थ्यो !
जहाँ,
लुकाएर राखेका हुन्थे
– केही पोका खुद्रा सपनाहरू
– केही थान कलिला मुस्कानहरू
– लाज छोप्नै छोपेका हुन्थे फाटेका नोटहरू
जब जब
साहुको साँवाले ब्याजको चर्को आवाज निकाल्थ्यो
बुवाले बनाइदिनु हुन्थ्यो साहुलाई बुद्ध त्यही चोर खल्तिले !
उः बेला म सोच्ने गर्थेँ,
बुवाको चोर खल्ती जस्तै मेरो पनि भ’को भए ?
“म पनि लुकाएर राख्ने थिएँ अलिकति खुद्रा पैसाहरु !”
र बनाइदिने थिए बुद्धु,
पैसा छ भनी मेरो खल्तीमा हात हाल्नेहरुलाई !
तब म बच्चै थिएँ
आज मेरा पनि बच्चा छन्,
र बल्ल सम्झिँदै छु,
रहरले होइन ‘चोर खल्ती’
बाध्यताले बनाउँदा रहेछन् !child care