अलक्क
शर्मा जीले आज लड्डु बाँड्दैछन्
देब्रे हातले सेतो धोती
माथि सार्दैछन्
सुन्दैछु, भित्र जोडी हाँस पाक्दैछन्
सोध्न मन भो उपलक्ष्य
नसोध्दै थाहा भैगयो रहस्य
देख्छु, उनको मोटरगाडी
रङ्गिएको अबिर अक्षताले
सजिएको ध्वजा पताकाले !
लड्डुको समाचार टोलभर फिटिएछ
जोडी हाँसको झ्याली पनि राम्रै पिटिएछ
भएभरका भुराको त्यही आँगनमा जमघट
‘अरे, हट ! हट !! मोरा लम्पट !!!’
त्यही भिडमा उनले एउटा बालमोरालाई भने-
“अलि अलक्क थाप !”
कुन मोरा रहेछ त्यो अलक्क थाप्नुपर्ने ?
को लम्पट रहेछ त्यो पर हट्नुपर्ने !
कौतुहल लागेर हेर्छु, मोराको अनुहार
बोलिरहेछ अनुहार- “म हरि वि.क. को छोरो”
कठै !
त्यो सानो वि.क. बबुरो !
अलक्क थाप्दै छ
शर्मा जीको हातबाट
विश्वकर्मा पूजाको प्रसाद
र म
छेउमा उभिएर हेर्दै छु
टुप्पीवाल शर्माले
चुप्पीलाल वि.क. बाबाको
अलक्क पूजा गरेको !
अलक्क धर्म गरेको !!
अलक्क पूण्य गरेको !!!Caste Discrimination Demotivation from Huffpost