भित्ताका कानहरू हुँदैनन्
निर्धक्क सुनाउनु भए धन्य हुने थियौँ महाराज
देश खाने कथा
निक्कै भाव भङ्गिमा वाचन गर्नुभए अनुगृहीत हुने थियौँ
जुग जाने कविता
हाउभाउमा दुरुस्तै उतारी दिनुभए अनुकम्पित हुने थियौँ
स्वाभिमानको मञ्चन
महाराज!
हजुरलाई खुबै सुहाउँछ
केटाकेटीहरूको आलो रगत लागेको श्रीपेच
गलाभरि जवानहरूको टाउकाको मुण्डमाला
छातीभरि वृद्धहरूको चमडाको रक्षाकवच
बरू यति धारण गरी कुनै शास्त्रीय धुनमा नाचिदिनुहोस्
र मुक्तिको मार्ग प्रदान गर्नुहोस्।
तपाईंले भन्नुहोस् मात्र
हाम्रा मुखहरू हुने छैनन्
हामी हाम्रा आँखाहरू चिम्लनेछौँ सधैँभरको लागि
हाम्रा खुट्टाहरू काटिदिनेछौँ अगाडि नबढोस् भनी
बरू हामीलाई इतिहासका लोहोरी सुनाइदिनुहोस्
र सुताउनुहोस् आफ्नै वरिपरि लट्ठ पारेर।
चार भित्ताभित्र हामी मात्रै छौँ
तपाईंका आफ्नै दासी
बाँकि रहे ती भित्ताहरू
ढुक्क हुनुहोस् !
यो मुलुकका भित्ताहरूले देखेर सुनेर
अहिलेसम्म कसैलाई सुनाएको इतिहास नै छैन।
यस्तो प्रेम गरौँ
आऊ हामी यस्तो प्रेम गरौँ
तिमीलाई तिमीमै छोडिदेऊ
मलाई ममै रहन देऊ।
जहाँ हामी दुई मिलेर – एक होइन
एक एक मिलेर – एक एक नै बनौँ।
तिमीले नसोध्नू मेरो ईश्वरको नाम
म नखोजूँला तिम्रो घरको आस्था
बरू हामी दुवैले हेरौँला हाम्रो रगतको रङ्ग।
म कुन बाटो हिँडेर यहाँसम्म आइपुगेँ हुँला
कुन धाराको पानी पिएर प्यास मेटेँ हुँला
कुन चौतारीको हावाले यो पसिना पुछेँ हुँला
नसोध्नू तिमीले
यहाँसम्म आउँदा
कुन ढुङ्गाले उप्काए ती तिम्रा नङहरू
कुन काँडाले चिथोरे ती खतहरू
कतिसँग जुधे होलान् नजरहरू,
ठोकिए होलान् कुइनाहरू
कतिले सुनाए होलान् जीवनको गीत,
कतिले सुसेले होलान् यौवनको प्रीत
कति हेरेर हाँसे होलान्, कति रोएर हाँसे होलान्
नसोधूँला मैले
हामी नखोलौँला हाम्रा विगत
नसोचौँला आगत, नसम्झौँला चाहत
जहाँ जोडिनेछन् हाम्रा दुई जोडी आँखा
त्यहीँ बाटै हेरौँला हाम्रो स्वच्छन्द सपना।
हामी नखाऔँला कुनै अफ्ठेरा कसमहरू
नबाँधौंला कुनै नफुस्किने बन्धनहरू
नराखौँला कुनै जून ताराका आशा
नदेखौँला कुनै दन्त्यकथाका पात्रको सपना
बरू रमाऔँला हामीले पाएको एकएक पलको लागि।
एक अर्काका पाइला पछ्याएर होइन
हामी सँगै हिडौँला अनन्त यात्रा
जहाँ पर्ला रात त्यहीँ हालौँला छानो
जहाँ लाग्ला भोक त्यहीँ भरौँला मानो।