स्रोडिन्जरको निकम्मो बिरालो
म थुन्न चाहन्छु आफूलाई
आफ्नो साँघुरो अस्तित्वलाई झनै खुम्च्याएर
रित्याएर
यतै भासिन चाहन्छु
गाडिएर आफै नासिन चाहन्छु ।
मेरा ढोकाहरूमा ताल्चा लाइदिने कोही छैन
म आफूलाई थुनेर भित्रबाट
कसरी थुनिन्छु आफैबाट ?
म बन्दी हुँ आफ्नै लाचारीपनको ।
मलाई लगाउनु छ आफ्नै
ढोकामा ताल्चा बाहिरबाट
थुनेर आफैलाई भित्रपट्टि
र
फ्याँकिदिनु छ साँचो
सेफ्टि टंकीको नालीमा
तर कसरी राखूँ एकै समय
भित्र र बाहिर आफूलाई ?
कसरी पुगूँ न स्रोडिन्जरको कल्पनामा
र बनूँ बिरालो ?
कसरी आफूलाई मुक्ति दिएर
आफैलाई बन्दी बनाऊँ ?
यो कस्तो स्तन्त्रताको भ्रम पालेर बसिरहेछु म,
हाय !
म निकम्मो आफूलाई कैद गर्न पनि सक्दिनँ ।।
जेनेरेसन्स् अफ गुलाफ
निर्मम हातहरूले,
कति टिपे
कति च्यापे
कति फ्याके
कति उने
आफै ओइलाएर झर्न नपाउनुको विवशताबिच,
फुलिरहे फक्रिरहे फूलहरू
जस्तो आफ्नै अनुहार नदेखिनुको पीडामा हुर्किरहन्छ ऐना ।
सबै कुण्ठा हो ।
सब काँतरता हो ।
मनुष्य मात्र प्रयोग गरिरहन्छ,
आफैलाई मेट्न
आफैलाई जित्न
आफैलाई हराउन ।
समयचेतले समयविद्रोहको लालसामा,
एउटा नव्य सृष्टिको आशामा,
तोडेर प्रकृति र प्रकृतिका अवयव
फूलहरूले पनि विकसित गरे
आफ्नो नयाँ पिँढी
फुल्न थाले काँडाहरूको बिच ।
आफैलाई सुरक्षित ठान्छन्
जस्तै काँडेतारले बेरिएको घरभित्र बसेका मानिसहरू।
अब कुण्ठा पोख्न,
हामीलाई पटक पटक पीडित हुनुपर्छ
रगत बगाउनुपर्छ
रातो टाटो बसालेर फूलहरू हुर्किँदै गर्दा,
छिटा छिटा हाम्रो जीवनभरि
कुनै घाउको पुरानो सूचना बनेर बसिदिन्छन् ।
अचेल फूलहरू राता मात्र फुल्छन् !
धेरै फूलहरू !
अचेल फूलहरू फुल्दैनन् !
काँडाबिच फुल्दा फुल्दा,
फूलहरूको एउटा नयाँ पुस्ता विकसित भएको छ ।
युद्धभूमिमाँझ जन्मिएको बालक
आतंककारी (दुवै थरीको !)
भएर निस्किन सक्छ ।
अचेल काँडाहरू मात्र फूल्ने गर्छन्, फक्रिने गर्छन्
मर्छन् तर ओइलाउँदैनन् ।
थाहा छैन,
ती फूलहरू जो कुनै समय
(प्रेमको कट्टर प्रतिक थिए)
ले- अब कस्तो नयाँ पिँढीको विकसित गर्नेछन्,
जब,
यी काँडाहरूले पनि
अस्तित्वका लागि संघर्ष गर्नुपर्नेछ
र
त्यो नयाँ पुस्ता
के को प्रतीक कहलिनेछन् ?