ओए अर्फेन

ओय अर्फेन

ऊ यसरी हुर्किँदैछ
घरमाथिको ठूलो चिलाउनेको रूखमा
तामे ढुकुरको गुँड हेरेर
जहाँ क्षण क्षणमा आमाले
चारो खिलाउँछिन् बचेराहरूलाई
मायाले नाङ्गा शरीरमा बचेराको
आफ्नो छातीको न्यानो प्वाँखले
ढाक्छिन् बेला बेला
आकाशमा कालो बादल मडारिँदा
आमा हतार हतार गुँड फिर्छिन्
बचेराहरूलाई ओत दिन
उसको जिन्दगीमा
कति कालो बादल मडारियो

तर
उसकी आमा कहिल्यै फर्किनन्
उसलाई न्यानो ओत दिन
ऊ हुर्किँदै छ
आकाशमा चिल, बेसारा र बाज बेग्गिँदा
घुरेननेर
तिते करेलाको झ्याङमुनि
पखेटा फिँजाएर
चल्ला छोपी सुरक्षा दिने
छिप्प्रे पोथी हेरेर
उसको जीवनमा
कैयन् चिल, बेसारा र बाज बेग्गिए
शिरमाथि

तर
उसकी आमा कहिल्यै आइनन्
उसलाई सुरक्षा दिन
ऊ यसरी हुर्किँदै छ
चर्को घाममा उभिएर
सानो बुकुने पाठोलाई
दुई घुँडा टेकाएर थुन चुसाउने
बाख्री हेरेर
जिन्दगीमा उसलाई
कति भोक लाग्यो
प्यास लाग्यो
उसकी आमा कहिल्यै आइनन्
उसलाई स्तनपान गाराउन

ऊ यसरी हुर्किँदै छ
बाँदरले बच्चा छातीमा बोकेको हेरेर
सिंहले बाछो लखेट्दा
माली गाईले आफ्नो ज्यान आहुति दिएर
बाछो बचाएको हेरेर
हो, उसले यस्तै हेरेर
मातॄप्रेमको अनुभूति गरिरहेको छ
ऊ यस्तो सोचेर हुर्कँदै छ
मेरी आमा
तामे ढुकुर जतिको मायालु रहेन छिन्
छिप्प्रे पोथी जतिको मायालु हैन रहेछिन्
बाख्री जतिको दयालु पनि हैन रहेछिन्
झन् बाछो बचाउन ज्यान दिने माली गाई जस्तो त
हुनै सक्दिनन्
अचेल सोच्दा पनि उसलाई महान आमा शब्द त
मुटुमा बिझ्ने आरो बनेको छ
धनुषको ताँदोमा तनक्क तन्काएर
आफै तर्फ दागेको वाण जस्तै भएको छ

किन कि
६ वर्षअघि
उसको बाबा खाडी गएका थिए
उतै बिते
एकै शब्द आमा भन्न नपाउँदै
आमाले छोडेर गइन्
पेनगोइनको भालेले
सानो दुई पखेटा फिँजाएर कराउँदा
हुरिएर जाने पोथी पेनगोइनझैं
उसको मगजमा
यस्तै कुरा मडारिन्छ
जसै कसैले आमा भनेको सुन्छ
बरु उसको नाम के हो ?
उसलाई थाहा छैन
उसलाई नाम जस्तै लाग्छ
जब सबैले उसलाई भन्छन्-
” ओए अर्फेन !”

 

Facebook Comments

You may also like

error: Content is protected !!