कलम-कुची संवाद विथ रसिक राज

१) के मा बढी आनन्द, कलममा कि कुचीमा ?

⇒ कलम र कुची माध्यम मात्र हुन् । दुबै माध्यमबाट म आफूलाई प्रश्न गरिरहन्छु ! र प्रश्नहरुले मान्छेलाई एक ठाँउमा बसिरहन दिँदैनन् ।

२) गजलको आफ्नै नियम भएतापनि कविताकै एक किसिम भनिन्छ, भिन्नता/समानता के-के देख्नुहुन्छ ?

⇒ दुबैको उद्देश्य समान छ ! र पुग्ने लक्ष्य पनि ! केही फरक छ भने, त्यो हो हिड्ने बाटो!!

३) कविता र चित्रकला बिच कस्तो सम्बन्ध हुन्छ ?

⇒ चित्रकला र कविता दुबै अस्तित्वमा रहेदेखि एक अर्कालाई प्रेरणा दिद‌ै आइरहेका छन् । यी दुबै कलाका फर्म(form)हरुबाट हामीले केहि न केही प्राप्त गर्दछौँ, सामान्यतया कुनै प्रकारको भावना वा अभिव्यक्ति ।

४) एउटा कलाकारको आँखाबाट हेर्दा कस्तो देखिन्छ जीवनको रङ्ग ?

⇒ इन्द्रेणी जस्तो छैन!! तर फिक्का पनि हैन । भुत, वर्तमान र भविष्य यी तीन प्राईमेरी कलरको समिश्रण हो जिन्दगी । कुनसँग कति के मिलाउँदा, के बन्छ त्यो थाहा पाउनु भयो भने जिन्दगी थोरै भएनी तपाईंले कल्पना गरे जस्तो बन्छ ।

५) तपाईंले धेरै पढ्ने विधा ?

⇒ निबन्ध ! र मलाई फिटिक्कै मन नलाग्ने चै आत्मकथा !

६) सृजना गर्नु कस्तो कुरा हो ?

⇒ मन र मस्तिष्क स्वस्थ्य बनाउने प्रक्रिया हो । योग हो ।

७) फुर्सदमा के गर्नुहुन्छ ?

⇒ यहाँ किनेबेच हुन्छ समयको र सबै भन्दा दुखी हुन्छन् फुर्सदिला मान्छे । त्यसैले सके सम्म व्यस्त रहने प्रयास गर्छु ।

८) कलामा ईश्वरको बास हुन्छ भनिन्छ नि ?

⇒ यस मानेमा कलाकार ईश्वर हो !

९) रियलिस्टिक र अब्स्ट्र्याक्ट बिचको भिन्नता ?

⇒ यथार्थवादले वास्तविक व्यक्ति, ठाउँ र चीजहरूको प्रतिनिधित्व गर्दछ । कलाकारहरूले वस्तुहरू, मानिसहरू, जनावरहरूलाई वास्तविक जस्तै देखाउने प्रयास गर्छ भने, अमुर्त कलामा कलाकारले कलाको तत्व र डिजाइनका सिद्धान्तहरू प्रयोग गरेर विचार वा भावना व्यक्त गर्दछ । र दर्शकले यस्तो काममा कुनै अर्थ फेला पार्न वा नपार्न पनि सक्दछन् ।

१०) गजल लेख्नुहुन्छ, कविता रच्नुहुन्छ, चित्र कोर्नुहुन्छ, संगीत सिक्न भनि राजधानी आइपुग्नु भएको मान्छे, कहिलेकाहीँ ‘आफू के को लागि जन्मिएँ’ भन्ने प्रश्न आफैसँग गर्नुभएको छ ?

⇒ म कहिले काँही सोच्छु, मानौ एक दिन म निद्राबाट बिउँझे झैँ जिन्दगीबाट झल्यास्स बिउँझिए भने- त्यतिखेर म सँग सुनाउनलाई के-के हुनेछन् ? हो म यतिखेर त्यसबेला सुनाउने कथाहरु संकलन गर्दैछु ।

११) अन्तिममा एउटा बोनस प्रश्न, कुनै एउटा सेर सम्झिदिनुस् न !


म एक कहिल्यै रहिनँ सदा सर्वदा बाँडी न‌ै रहेँ
मरे पछि पनि आधा धुवाँ आधा खरानी भए ।।

रसिक राजका केही चित्रकलाहरु

 

Facebook Comments

You may also like

error: Content is protected !!