लेखकद्वय कोबे ब्रायन्ट र पाउलो कोएल्होले संयुक्त रुपमा एक बाल पुस्तकमाथि काम गरिरहेका थिए, तर ब्रायन्टको आइतवार ४१ वर्षको उमेरमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि कोएल्होले यो पुस्तकको लेखिएजति सम्पूर्ण अध्याय मेटाएका हुन् ।
सोमबार ७२ वर्षीय उपन्यासकारसँग एसोसिएटेड प्रेसले गरेको कुराकानी अनुसार सन् २०१६ मा ब्रायन्टले राष्ट्रिय बास्केटबल संघबाट २० वर्षसम्मको कार्यकालपश्चात सेवानिवृत्त भएपछि, उनीहरुले यस बारेमा छलफल गर्न थालेका थिए । केहि महिना अघि मात्र लेख्न सुरू गरेका उनीहरुले ऐकिन कति पृष्ठ लेखी भ्याएका थिए वा पुस्तकको शीर्षक के थियो, अथवा पहिले नै तय थियो कि थिएन भन्ने कुरा भने उनले खुलासा गरेनन् ।
ब्रायन्टको मृत्युको खबरपश्चात केही घण्टामा नै कोएल्होले ट्विटमार्फत घोषणा गरे कि ‘पाँच पटकको राष्ट्रिय बास्केटबल संघका च्याम्पियनबिना पुस्तक-लेखन समाप्त गर्नुको सट्टा ड्राफ्ट मेटाउनेछन् ।’
“मैले यो ड्राफ्ट डिलीट गरेँ, किनभने अब यसलाई उनीबिना प्रकाशन गर्नुको कुनै औचित्य रहनेछैन ।” कोएल्होले जेनेभाको आफ्नो घरबाट फोन गरेर भने,“यसले उनी र उनको परिवारसँग कुनै प्रसङ्ग राख्दैन ।”
“यसले मलाई कुनै भावी दिनमा कोबेबाट सिकेका चीजहरू र उनी कति महान मानिस थिए भन्ने कुरा लेख्नबाट रोक्ने छैन ।” कोएल्होले थपे, “तर हामी दुई मिलेर लेखिरहेको बच्चाहरूको पुस्तकले भने अब कुनै खास अर्थ दिँदैन ।”
कोएल्होको यस निर्णयले ब्रायन्टका धेरै प्रशंसकहरूलाई निराश तुल्याएको छ । यी ब्राजीलका लेखकलाई किताबको ड्राफ्ट नमेटाउन आग्रह गर्दै सोसल मिडिया च्यानलमा बाढी नै आएको थियो ।
You were more than a great player, dear Kobe Bryant. I learned a lot by interacting with you. Will delete the draft right now, this book has lost its reason pic.twitter.com/pZWyT8xObw
— Paulo Coelho (@paulocoelho) January 26, 2020
ब्रायन्ट, कोएल्होको फ्यान थिए र उनले “दि अल्केमिस्ट” आफूलाई मनपर्ने पुस्तक भएको कुरा पनि व्यक्त गरेका थिए ।
ब्रायन्टको आफ्नै ग्रेनाटी स्टुडियोबाटपनि मध्यम वर्ग र युवा, वयस्क लक्षित उपन्यासहरू प्रकाशित भएका थिए । त्यसका साथसाथै, खेलाडीहरुका जीवनीहरुपनि त्यसबाट प्रकाशित हुने गर्दथे । जस्तो, सन् २०१८ मा स्टुडियोले “The Mamba Mentality: How I Play” नामक पुस्तकमार्फत एउटा खेलाडीको आत्मकथा निकालेको थियो ।
कोएल्होले भने- “मैले उनीसँग प्रशस्त भेटघाटहरु गरेँ, यो जान्नका लागि कि उनको दिमागमा खेलका अलावापनि अरु केही कुरा छन् या छैनन्, किनभने, हाम्रो सहकार्यको विषय कुनै प्रतियोगिता थिएन ।” र यो पनि थपे कि- “खेलखुदका अलावा पनि उनमा धेरै गुणहरु थिए । ती शेष विषयमा हामी धेरैवर्षसम्म उनकामाथि छलफल गर्ने नै छौँ ।”
स्रोतः द हलिवुड रिपोर्ट
अनुवादः राज