परदेशमा देश

एक साँझ साथीहरुले आयोजना गरेको नेप्लिज डान्स फेस्टिवलको अन्तिम पर्फमेन्स “यो मन त मेरो नेपाली हो….” गीत सकिएपछि हातमा एउटा चुरोट र एक केन वियर बोकेर बाहिर निस्किएँ । जति चुरोट र वियरको नशाले मलाई हल्लायो त्यो भन्दा कयौँ गुना ज्यादा यो गीतले रन्थन्यायो । हुन त यो गीत पहिलो पटक सुनेको भने हुँदै हैन, तर अस्तव्यस्त परदेशी जीवन, त्यहि बखत रक्सीको नशाले झुम्म भएसँगै यो गीत ! यो भन्दा ठूलो मिश्रण के नै चाहिने रहेछ देश सम्झिन ? म त्यहाँबाट निस्किएँ, कानभरी त्यहि गीत गुञ्जिरह्यो भने मनभरी देशको याद नाचिरह्यो ।

मैले परदेश आएपछि केही खत्रा इमोसनहरु देख्न र भोग्न पाएँ । खासै देश सम्झिने फुर्सद नभएको दैनिकी बाँचिरहेका यहाँ टिनेजरहरु कोठा र घरको भित्तामा नेपालको झण्डा राखेकै हुने । कर्कशपूर्ण फिरङ्गी गाना मुबाइलमा बोकेर सो अफ गर्न खोज्ने अधिकांशले रक्सी खाएर मातेको वा अग्यार्निक भएको बेला कोठामा युटुवमा नारायण गोपाल र रामकृष्ण ढकालका ढिलो बग्ने गीत सुनेर ढिलो सम्म ननिदाउने । वाह !

वियरको केन रित्तियो चुरोट सकिएको अघि नै, वरीपरी डस्टविन हेरेँ, अलि परतिर बाटोको छेउको डस्टविनमा लगेर ठुटो चुरोट र खाली केन राखिदिएँ । अनि देशको सम्झना आइहाल्यो, देशमा भएको भए म बाटोमै मिल्काइदिन्थेँ । हामी यहाँ आएर सभ्य भएको भन्दा ज्यादा सभ्य हुने अभिनय गर्छौँ नभए त खाएको भन्दा बढी दस्तुर मिल्काएको तिर्नुपर्छ । होस्, यो कुरा छाडौँ, मज्जा आएन । नजिकैको रेल स्टेशन पुगेर रेल चढेँ । बाटाभरी मैले देशको केके सम्झिन्छु भनेर सोचेँ, धेरै याद आयो, केही याद आएन ।

मैले आफैँलाई केही खल्ला प्रश्नहरु गरेँ र उत्तर खोजेँ, आखिर एउटा परदेशी युवाले के के सम्झन्छ त ?
गर्लफ्रेन्ड ? – अल्छी लागेको बेला मात्र ।
आमा? – खाना बनाउन झ्याउ लागेको बेला अनि बनाइहाले पनि मिठो भएन भने ।
बुवा? – फि तिर्ने बेला, वालेट रित्तिएको बेला ।
भाइबहिनी? – कोठामा एक्लै भइयो भने ।
साथीभाई ? – यहाँ पनि छन्, खासै के सम्झिनु र ? तर कहिलेकाहीँ फोन गरेर सम्झेको छु भनेर फेक याद देखाइदिन्छु ।
आखिर के सम्झिन्छु त ? – धेरै छन् तर खै केही याद छैन ।

मातृभूमि, मातृभाषा र मातृत्व प्रेम कत्ति खतरा हुने, अझ परदेशी भएपछि यी कुराले जति अरु केहीले पनि बाँध्दैन रहेछ । देशमा रहुन्जेल बरु विदेशी भाषा र संस्कृतिको बोक्रे अनुसरण गरि आधुनिक भइपल्टिने हामीमा परदेश पुगेपछि भने राष्ट्रप्रेम उम्लिएर आउने । खाना खान नेपाली रेस्टुरेन्ट, ग्रोसरी किन्न नेपाली ग्रोसरहरु, प्राय कार्यक्रमहरुमा नेपाली पोशाकमा सजिएर हिँड्ने प्रवृत्ति, नेपालीहरुबिचको अपनत्व यहाँ परदेशमा ज्यादै देख्न भोग्न पाइन्छ । कोही विदेशीसँग बोल्दा हामीले सोध्ने पहिलो प्रश्न प्राय ‘डु यो नो नेपाल ?’ नै हुन्छ । उसले ‘एस’ भनिदियो भने कत्ति खुसी । ‘नो, सरी’ भनिदियो भने, हामी सुरु गरिहाल्छौँ, नेपाली मेटाफोर ‘बुद्ध, माउन्ट एभरेस्ट अनि गोर्खाज्’ ।

नेपालीहरुले काम गर्ने ठाउँमा अरु खैरे पनि थुप्रै नेपाली शब्दहरु सिकिसकेका हुने । अप्ठेरो गरी, ‘नमस्टे, सन्चै हुनुहुन्च ?’ त कमन नै भयो, झन प्राय अश्लिल शब्द त सिकिहाल्छन् । नजान्ने मान्छेले बोलेको अश्लिल पनि श्लिल लाग्ने रैछ । यहाँ आएपछि देशप्रेमसँग जोडिएका कत्ति सानाभन्दा साना कुराहरु देख्न पाइयो । नेपाली फेस्टिवल्सहरु खासगरी होली, तिहार, दशैँ, साकेला, उद्यौली, उभौली आदिमा विदेशीमुलका मानिसहरु सहभागी भई सिक्न चाहेको देख्दा आफ्नो देश नेपाल सम्झेर गर्वले छाती फुलेर आउँछ । बरु देशमा पो हामी आफ्ने कला र संस्कृतिलाई भुलिरहेका छौँ भन्ने चिन्ता । देशमा हुँदा म आफै कहाँ सम्झिन्थेँ र ? दशैँ भनेको दक्षिणाभन्दा ज्यादा कहिल्यै लागेन देशमै हुँदा । परदेशिएपछि थाहा हुँदो रहेछ आफ्नो संस्कृतिको महत्व, मूल्य र मान्यता !

अहो, धेरै पो सोच्न थालिएछ । गार्ड एनाउन्समेन्टबाट वाटरफलतिरको रुट जाने यात्रुले अर्को स्टेसनबाट ट्रेन चेन्ज गर्नु भन्ने जानकारी गरायो । ट्रेन फेर्ने क्रममा र्याम्पमा एकजना ६० वर्ष जतिका फ्रान्समा जन्मिएका अष्ट्रेलियन नागरिकसँग भलाकुसारी भयो । म नेपाली भएको कुरा मैले भनेपनि उनि उत्साहित देखिए । १९६८ तिर आफ्ना अभिभावक सहित अष्ट्रेलिया आएका उनि मीठो अंग्रेजी लवजमा उनले दुइ दशक अघिको नेपाल यात्राका केही मीठा अनुभव सुनाए । १५ वर्ष जति भूगोलशास्त्रको प्रध्यापकको रुपमा काम गरेका उनले विश्वका धेरै मुलुक भ्रमण गरेको तर नेपाल उनलाई धेरै नै मन परेको बताए । नेपाल मनपर्नुका कारण पनि खास रहेछन् । औद्योगिक क्रान्तिपछि युरोपमा प्रदुषित सहरिया जीवनशैलीको विकास भएकोले जीवनयापन सकसपूर्ण भएको ठान्ने उनले नेपालको स्वच्छ पर्यावरणको खुब प्रशंसा गरे । उनलाई हिमाली यात्रा औधी मन परेको रहेछ । उनीसँग छुटिएपछि एक भारी नेपाल सम्झेर लामो श्वास फेरेँ ।

इमिग्रेन्टको रुपमा यता आएर नेपाली नागरिकता त्यागेर यहीँको सिटिजनसिप लिएका एक नेपाली अष्ट्रेलियनको ग्रोसरीसप अगाडि पुगेपछि उनैलाई सम्झिएँ । नेपालबारे कुरा गर्न रुचाउने अधबैँशे उनी सधैँ प्राय फुर्सदमा वात मार्न मलाई बोलाउँछन् । एकदिन गफकै सिलसिलामा उनले सामान्य सुनिने गहकिलो भाव व्यक्त गरे, ‘आफूलाई त आफ्नै देश (नेपाल) जान पनि भिजा लगाउनु पर्छ, भाइहरुले पर्मानेन्ट रेसिडेन्सी सम्म लिनु तर देशको नागरिकता नै चाहिँ न त्याग्नु है’ । मलाई सल्लाहले भन्दा उनको भावले ज्यादा गम्भिर बनायो । यसरी देशको नागरिकता छाड्ने हजारौँ नेपालीहरुको जति सुकै सफल जीवन भए पनि कताकता उनीहरुभित्र देश दुखिरहँदो रहेछ ।

कत्ति अभिभावकहरुले आफ्ना नानीहरुले नेपाली भाषा बोल्न नसिकेको प्रति गुनासो गर्नुहुन्छ, कत्तिले आफ्ना सन्तानलाई नेपाली संस्कार सिकाउन नसकेकोमा । जे होस्, वायुमण्डलको जुनसुकै तहमा उभिएपनि नेपालमा जन्मिएकाहरुलाई सगरमाथा र सैपाल हिमाल हुँदै बहने नेपाली हावाले छोइरहने रहेछ । मैले देखेको र बुझेको ।

कोठामा पुगेपछि फेसबुक खोलेँ, एकजना भाइलाई यु.एस.को भिजा लागेकोमा बधाइको ओइरो देखेँ । उसको इनबक्समा गएर भनेँ ‘कँग्राचुलेसन, तिमीलाई र देशलाई एकअर्काको खाँचो परिरहनेछ ।’

Facebook Comments

You may also like

error: Content is protected !!