पराजित पारिजात

सडकछेउको शिरीषको बोटमुनी बसेर उनी टोलाइरहेकी थिइन्। सडकमा गाडीहरु गुडीरहेका थिए। आकाशमा बादलहरु उडीरहेका थिए। आकाश र उनको आँखा दुरुस्तै उस्तै लाग्दै थियो, वर्षन खोजिरहे जस्तै। मलाई दुवै वर्षासँग डर लाग्दै थियो। कतै उनी त्यही सडक किनारमै पोखिइ पो हाल्ने हुन् कि? र आकाश पनि घर नपुग्दै चुहिहाल्ने पो हो कि? शिरीषको बोट देख्दै पिछे मिलेसम्म त्यसको छहारीमा सुस्ताउनु उनको लागि नियम जस्तै भइसकेको थियो। तर आज शिरीषको छहारीमा उनी सुस्ताउन होइन अस्ताउन लागेझैँ देखिइरहेकी थिइन्। उनलाई अस्ताउन नदिन मैले उनलाई त्यहाँबाट घर लिएर हिँडे। उनी मान्दै मानेकी थिइनन्। मैलेपनि सुन्दै सुन्दिइनँ।

विद्रोही स्वभावकी उनी घर पुगुन्जेल पनि विद्रोह नै गरीरहिन्। विद्रोही मुजाहरु उनको निधारमा प्रस्ट देखिइ नै रहेथे। घर पछाडिको शिरीषको बोटमुनी उनलाई पुग्नै पर्यो। पानी पर्नै  लागेको कुरा बताउँदा पनि उनले जिद्दी छोडिनन्। मैलेपनि उनलाई पोखिनै दिने निर्णय गरेँ। पोखिइ नै हालेपनि आखिर, सडकमा जस्तो रमिता यहाँ बन्दैन पनि त थियो। उनलाई निलो छहारी मुनी नै छोडेर म घर तिर लागेँ। कफीको तलतल त मेटाउनै पर्यो।

एकजोडी कफी तत्काल तयार पारेँ र किस्तीमा चढाएर तिनलाई बगैँचा डुलाउन लगेँ। पुग्दा उनी उस्तै गम्भीर मुद्रामा टोलाइरहेकै थिइन्। पोखिन भ्याइसकेकी भने रहिनछिन्। सायद, घरसम्म आइपुग्दाको विरोधी मानसिकताले गर्दा आशुहरु कतै ओझेल परेका हुँदा हुन्। मैले उनलाई कफीको एक कप थमाएँ। सधाझैँ समाइन् तर सधैँ झैँ ओठतिर लगिनन्। बरु थपक्क भुइँमा राखिन्। हरिया दुवोको गलैँचामाथि बसेर कप निलो रुखतिर क्याफिनको धुवाँ उडाउँदै थियो। हात बाँधेर टोलाउन मस्त उनलाई सायदै कुनै दृश्यको हेक्का भइरहेथ्यो।

कफीको चुस्की लगाउँदै मैले सोधेँ-

 “आज धेरै टोलाउँदै हुनुहुन्छ। कुनै पुरानो स्मृतिले समात्यो कि?”

टाउको हल्लाएर ‘होइन’ को छोटो जवाफ दिइन्। ढिला नगरी फेरि सोधेँ-

  “के विषयमा गहिरिनु भएको त यसरी?”

बाँधेको हात बिस्तारै फुकाउँदै, लामो खुइय्य गर्दै भनिन्-

  “मैले जन्माएको छोरो बारे”

बाँधिएको हात फुक्नु सायद मनको गाँठो फुक्नुको संकेत हुनुपर्छ उनी खुल्न थालिन्। हुन त मान्छे उनी खुल्नै पर्ने, पोखिनै पर्ने भावुक स्वभावकी नै हुन्। उनको जबाफ सच्याइदिने भुल गरेँ मैले-

  “नजन्माएको छोरो पो होला त!”

  “होइन, ऊ अर्कै हो। उसको कुरो गरेकी होइन मैले”

  “भनेपछि अब नयाँ लेखनबारे चिन्तन?”

  “होइन, पुरानै”

  “पुरानो कुन?”

  “वीरको बारेमा सोच्दैछु”

  “को वीर?”

  “सुयोग”

  “ए ए, त्यो सिपाइ?”

  “होइन, सुयोगवीर”

  “त्यै त, त्यो शिरीषको फूलको मात्तिएको सिपाइ, होइन त?”

उनी केहि बोलिनन्। कफीको चुस्की लिइरहेकै छु म। फेरि सोधेँ-

  “के सोच्दै हुनुहुन्छ त्यस्तो मात्तिएको स्त्रीलम्पट बारे?”

उनी केहि बोलिनन्। उनका आँखा झन् गहिरा देखिए। मैले कुरा मोड्नुपर्ला जस्तो मानेँ। भनेँ-

  “कफी लिनुस् न, चिसो भइसक्यो।”

  “हुनदेउ, चिसै सुहाउँछ।”

सुहाउँछ? कफी पनि सुहाउने र नसुहाउने हुन्छ र? छक्क परेँ, कफीसँगै गम खाएँ। लाग्यो त्यो बादलु वातावरणसँग दाँजेर भन्या होला। तर त्यो पनि त कहाँ मिल्यो र? सोधेँ-

  “यो मौसम अनुसार त कोल्ड कफी कहाँ सुहाउँला र?”

  “म यो बाहिरी मौसमको कुरा गर्दै छैन!”

  “अर्को कुन मौसम?”

उनी फेरि बोलिनन्। आँखा चिम्लिइन् र एउटा लामो श्वास तानिन् र फ्याँकिन्। निकैबेर उनी उहि ध्यान मुद्रामै बसीरहिन्। मैले कफी खत्तम पारिसकेकी थिएँ। केहिबेरपछि आँखा खोल्दै उनले सोधिन्-

  “मानिसहरु उसलाई मात्तिएको सिपाही भनेर किन घृणा गर्छन्?”

  “उसको चरित्र नै त्यस्तै छ त, मान्छेले प्रेम-घृणा गर्ने नै चरित्रलाई हो, होइन?”

  “तर उसको चरित्र त्यस्तो हुनुमा उसको दोष?”

  “फेरि कसको छ त?

  “उसकी आमाको”

  “उसकी आमा? मैले १७ पटक दोहोर्याउँदा पनि, उसकी आमा त कहिल्यै भेटिनँ त? कहाँ थिई र उसकी आमा?”

  “त्यसैले त ऊ भन्छ मलाई, मैले नेपथ्यमा बसेर उसलाई अन्याय गरेँ रे”

  “ए, कुरा त्यसो पो? टोलाउनुको रहस्य बाहिर आयो नेपथ्यबाट”

  “हो, मैले ऊमाथि अन्याय गरेकै हुँ”

  “यसमा किन ग्लानी गर्नुहुन्छ? यो अन्याय भएपनि न्यायपूर्ण अन्याय हो।”

  “होइन, होइन! मैले उनलाई त्यस्तो तुच्छ भूमिका दिनुहुन्न थियो।”

  “नदिएको भए कथाको माग पूर्ण हुन्थ्यो र?”

  “ठिक भन्यौ, कथाको माग थियो, मैले पूरा गरेँ। कथालाई जतिसक्दो न्याय गरेँ तर उसलाई न्याय गर्न सकिनँ।”

यो भनिरहँदा उनी रुँला रुँला झैँ भइन्। वातावरण बिग्रदै जाँदै थियो। आकाशबाट सूर्य अस्ताइसकेको थियो। बेला-बेला मेघ र बिजुली आ-आफ्नो धर्म निभाउँदै थिएँ। उनी यसरी बच्चा जस्ती पहिले कहिल्यै थिइनन्। उनको अटेरी बचपनासँग मलाई रिस उठ्न थालिसकेको थियो। तरपनि सम्झाउन खोजिरहेँ-

  “एउटा उपन्यासको पात्रलाई लिएर यति धेरै भावुक हुन जरुरी छ र?”

  “तिमी सधैँ मेरो छाँया जत्तिकै साथमा छ्यौ। अँध्यारोमा त छाँयाले पनि साथ छोड्छ, तिमी त त्यो अन्धकारमा पनि साथमा छ्यौ। तिमीलाई त थाहै हुनुपर्ने यी सिर्जना नै मेरा प्राण हुन्। यी बिना म पारिजात नै हुइनँ।”

  “हो, थाहा छ। तर यी कृतिका पात्रहरुलाई तपाईं यति विघ्न प्रेम पनि नगर्नुस्। पात्रहरुलाई पात्र मात्रै सोचिदिनुस्।”

  “त्यहि सोचेर नै यो गल्ती हुन गयो म बाट। त्यहीँ नेर त म चुकेँ।”

  “खै, म त कतै चुकेको देख्दिनँ। झन शिरीषको फूल त यति सुन्दर र प्रिय लाग्छ मलाई! यसका हरेक शब्द-शब्द, पात्र-पात्र मेरो मनमा सदाबहार ताजा छन्। त्यसै मदन जितेको छ र यसले? तपाईंले यसरी चिन्ता लिनु आवश्यक नै छैन। नेपाली साहित्यको इतिहास पल्टाउँदा पनि तपाईं एक उत्कृष्ट उपन्यासकार हो। पारिजात भन्नु नै उत्कृष्टताको पर्याय बनेको छ।”

  “होला, पारिजात एउटी उत्कृष्ट साहित्यकार भई होला। ‘पारिजात’ शब्द पनि बन्यो होला उत्कृष्टताको पर्याय। तर म अब पारिजात नै रहिनँ, म त आजबाट पराजित भएकी छु।”

यति भनेर उनी रुन लागिन्। पोखिइन्। मलाई के गरुँ के नगरुँ भयो। मनमनै ईश्वरप्रति धन्य भएँ, ‘यस्तो दृश्य देखिनु रहेछ, धन्न सडक किनारमा कसैलाई देखाइदिएनौ’। प्रकृतिप्रेमी मान्छे रुँदा आकाश पनि रुँदो हो, सिम-सिम झरी छिट्याउन थाल्यो। उनलाई घरभित्र लाने प्रयासमा विफल भएँ, बरु आफुपनि भिज्न बाध्य भएँ।

झरीमा भिज्दै उनी भन्न लागिन्-

  “हिजो ऊ आएको थियो। आमा भनेर ग्वाम्ल्याङ्ग अंगालो हाल्यो। यो शरीरको गर्भमा न सहि तर यो मानसगर्भमा राखेर त्यस्तो प्रेमले स्याहार गर्दै मैले उसलाई उपन्यासमा जन्म दिएकी थिएँ। बडो स्नेहले रचेकी थिएँ मैले उसको भूमिका। मैले रचेको भूमिकामा उसले पनि कुनै नाइ नास्ती नगरी आफ्नो कर्तव्य निभायो।

कुनै कसर बाँकी राखेन उसले आफुलाई भूमिका अनुसार बगाउन। नेपथ्यमा बसेर म उसलाई इशारा गर्दै रहेँ। र मेरा प्रत्येक इशारालाई उसले अलिकति पनि नचुकाई कार्यान्वयन गर्यो। म धेरै खुशी थिएँ ऊ प्रति। मैले उसलाई एक उपन्यासकारले आफ्नो पात्रप्रति गर्नुपर्ने सम्पूर्ण प्रेम गरेँ। तर मैले बिर्सिरहेकी रहेछु कि ऊ मेरो पुत्र पनि हो भनेर। यो बिर्सिरहेकी रहेछु कि म उपन्यासकार मात्र नभएर एउटी आमा पनि हुँ।”

झरी झनै दर्केर पर्न थाल्यो। उनी पनि हिक्का छोड्न थालिन्। हामी दुवैजना निथ्रुक्क भिजिसकेका थियौँ। तर त्यसरी भिजिरहँदा पनि मेरा ओठ र तालु भने सुकिरहेका थिए। के भनौँ, कसरी सम्झाउँ? हतासिँदै पनि सम्झाउने प्रयास जारी नै थियो मेरो। उनी मलाई मेरो प्रयासमा सफल हुन दिइरहेकी थिइनन्। उनले आफुलाई पराजित साबित गर्न खोजिरहिन्, म इन्कार गर्दै रहेँ। यो कस्तो विरोधाभासपूर्ण प्रयास भइरहेथ्यो हामीबिच? उनी आफुलाई गलत साबित गर्न आफ्नै कुरा सहि प्रमाणित गर्न चाहन्थिन् र म उनलाई सहि साबित गर्न फेरि उनकै कुरा गलत प्रमाणित गर्न खोज्दैथेँ। हामीबिच अलि चर्काचर्की पर्न थाल्यो।

उनी बारम्बार भनिरहेथीइन्।

  “म पारिजात होइन, पराजित हुँ”

र म यसको विरोधमा निरन्तर भन्दै थिएँ।

  “पारिजात कहिल्यै पराजित हुँदिनन्।”

धेरैबेरको वादविवादपछि उनले घरतिर जाने इच्छा गरिन्। म पनि यहि चाहन्थेँ। झरीमा त्यसरी भिज्दै बाझ्दै गर्नुभन्दा ओताउनै चाहन्थेँ म। उनको इशारामा म उनको बेडरुम पुगेँ। उनको शयन कक्ष, जतिपटक आउँदा पनि उस्तै नयाँ लाग्छ मलाई। सिंगमर्मरको गोलो टेबल, टेबलमाथि उडन बोल, त्यसमा निला शिरीषका फूलहरु ! उत्तरभित्तामा ठूलो चित्रपटमा कोरिएको शिरीष वन, वनमा बेपत्ताकी एउटी मुडुली स्वास्नी मान्छे, उसको हातमा एउटा चुरोट, चुरोटबाट उडिरहेको धुवाँ ! सधैँ झैँ उड्दै थिएँ त्यहि धुवाँसँगै अचानक उनले भनिन्-

 “विछ्यौनामा लेट र आँखा चिम्लिउ”

आश्चर्य! उनले यस्तो त कहिल्यै भन्थिइनन्। सोधेँ- “किन र?”

भनिन्- “तिमीलाई म मेरो स्वपनदर्शन गराउन चाहन्छु”

“स्वप्न दर्शन? यो कसरी?”

“पल्ट ओछ्यानमा र तयार होउ, म देखाउँछु”

होइन, यिनको अब मगजपनि गयो कि के हो? अजिब अजिब हर्कत, अजिब तर्कहरु गर्दैछिन् आज! एकमन त यस्तो पनि लाग्यो। तर अर्को मन लाग्यो, के थाहा हुनपनि त सक्छ, त्यसै बोल्ने मान्छे त होइनन्! म उनले भनेझैँ उनको विछ्यौनामा आँखा चिम्म गरेर पल्टिदिएँ र क्रमशः उनले भनेका कुराहरु गर्दै गएँ। मैले आफ्नो दिल दिमागबाट विचारका लहरहरुलाई हटाइदिएँ। लामो लामो श्वास तान्दै र छोड्दै रहेँ। मेरो निधारमा केहिको स्पर्श भयो, थाहा पाइरहेकै थिएँ तर कुनै प्रतिक्रिया व्यक्त गर्न इच्छा जागेन। म बिस्तारै लट्ठीएँ। लट्ठ भएँ। आनन्द महशुस भयो। खुला आकाशमा मानौँ म बगिरहेछु। बग्दाबग्दै एक्कासि म कतै डुबे भास्सिए जस्तै लाग्यो। उकुसमुकुस भयो। सहन नसकेर मैले आँखा खोल्दा मैले आफुलाई शिरीष पार्कको एउटा बेन्चमा फेला पारेँ। वरीपरीको वातावरण नियाल्न थालेँ। युवायुवतीहरुको भिड, कोहि एक्लै, दोक्लै र कोहि समूहमा पनि। एक्लै हिड्नेमा एकजना उनी पनि रहिछन्। मैले बोलाएँ- “पारिजात!” सुनिनन्। फेरि चिच्याएँ- “पारिजात! पारिजात!”

Landscape in Saitama | Japan

Image Source: Landscape in Saitama, Japan.

फेरिपनि सुनिनन्। कुन ध्याउन्नमा हिड्छिन् कुन्नी? म मनमन रिसाउँछु र उनलाई भेट्न भनी पछि लाग्छु। उनी सुनगाभा लगाइएका पर्खालतर्फ जाँदै थिइन्। दौडिएर भेट्टाएँ र सोधेँ- “त्यत्रो बोलाउँदा पनि सुन्नुहुन्न! ध्यान कता राख्नुहुन्छ तपाईँ? अघिदेखि बोलाएकी झन्” उनी फेरिपनि केही थाहा नपाएझैँ अघि बढिन् बिल्कुल प्रतिक्रियाहिन। लाग्यो,  मसँग रिसाएकी पो रहिछन् कि? अगाडि लागेर बाटो छेक्दै सोधेँ- “के मा रिसानी भयो र? किन बोल्नुहुन्न?” आश्चर्य! प्रतिक्रियाहिन उनी त मेरै शरीर छिचोलेर पो हिँडिन्। बल्ल पो झल्यास्स याद भयो, म त उनको सपनामा पो छु। त्यसपछि म उनलाई पछ्याउन थालेँ। आखिर उनी र त्यो सिपाहीबिच भएको रहेछ?

उनी सुनगाभाको बगलमा पुगिन्। ठ्याक्कै उस्तै सुनगाभा जो सकमबरीले विशेष ठाउँबाट मगाएर फूलाएकी थिई। यो सकमबरीको बगैँचा त होइन तर त्यसको प्रभाव भने यहाँ प्रस्ट देख्न सकिन्थो। यस पार्कको नाम नै शिरीष पार्क जो हो। अँ, उनको अगाडि एक्कासि एउटा पागल देखापर्यो। भयानकसँग बढेको जिङ्ग्रीङ्ग केश, उस्तै भयानक बढेको दाह्री र जुङ्गा। मैलो शर्ट, उस्तै मैलो पाइन्ट, शोल खिएर छाला खुइलिसकेको म्युजियम पिस जुत्ता, भ्याङ्ग्ल्याङ्ग लुगा लगाई। दायाँ हातमा रक्सीको बोतल, बायाँ हातमा गाता उक्किसकेको एउटा पुरानो किताब। लरबर लरबर गरिरहेका शराबी गोडाहरु। धेरै पढेर बहुलाएको हाम्रै टोलको डिग्री होल्डर पागलको जस्तै हुलिया। उनले त्यस पागललाई तलदेखि माथिसम्म नियालिन्। पागलले पनि उनलाई चिन्न खोजेझैँ नियालिरहेथ्यो। बुरुक्क उफ्रिएर आमा! आमा! भन्दै त्यसले उनलाई अंगालो हाल्यो। उनी जसोतसो फुस्किइन्। सायद रक्सी ह्वास्सै गन्हाएर होला साडीको आचलले नाक छोपिन्।

त्यस पागलले सोध्यो-

  “मलाई चिन्नुभएन आमा?”

सोधिन्- “को हौ?”

ऊ ज्यान बटार्दै चिच्याउन पो थाल्यो-

  “मलाई जन्म दिने आमाले पनि मलाई चिनिनन्! ए, कोहि छ मलाई चिन्ने?”

ऊ लर्बराउँदै, डुल्दै चिच्याउन थाल्यो। पारिजातको मुहारमा त्यसप्रति दया उदाइरहेथ्यो। पार्कमा कति मान्छेहरुका लागि भने त्यो गज्जबको रमिता बनिरहेथ्यो। कोहि कोहि त मोबाइलमा त्यो दृश्य खिच्न पनि पो थाले। पारिजात भने अलमलमा परिन्। ऊ फेरि पारिजाततर्फ बढ्यो र बायाँ हातको गाता उक्किसकेको किताब उनलाई दिँदै भन्यो-

  “यो त याद छ नि आमा तपाइलाई?”

 

त्यो पातलो किताबको केहि पाना पल्टाएर तिनले हेरेझैँ गरिन् र एकदम आत्तिँदै त्यो पागललाई फेरि नियाल्न लागिन्। र एकाएक रुन्चे आवाजमा सोधिन्- “सुयोगवीर?” ऊ केहिपनि बोलेन। रुन खोज्दै मुख बिगारेर हातको बोतलबाट रक्सी घुट्क्यायो। पारिजात विव्हल हुँदै रुन्चे स्वरमा बोल्न लागिन्-

  “मलाई माफ गर, तिम्रो त हुलिया नै फेरिएछ, ठ्म्याउन सकिनँ। कसरी यो हाल बनायौ बाबु?”

ऊ थुचुक्क भुइँमा बसेर रुन लाग्यो बच्चाजस्तै। पारिजात पनि भुइँमा टुक्रुक्क बसिन्। उनी झन् भावविव्हल देखिइन्। उनले त्यो पागलको पाखुरा समाउँदै त्यसलाई बोलाइन्-“सुयोगवीर!” तर उनको हात झड्कार्दै त्यो मनुवा उठ्यो र अराजक तवरमा भन्न लाग्यो- “नबोलाउनुस्! नबोलाउनुस् मलाई त्यो नामले! मलाई चाहिँदैन त्यो सम्बोधन!”

पारिजातका आँखा बग्न थाले। उनी रुँदै उठिन् र भनिन्-

  “किन बाबु? तिमीलाई यो नाम मन परेन?”

राता राता आँखाबाट आँसु झार्दै त्यो मनुवाले भन्यो-

  “तपाइलाई मेरो थोरैपनि दया-माया लागेन है आमा? आखिर तपाइले नै जन्माएको तपाइकै छोरो हुँ नि! तर किन आमा? किन म माथि यस्तो अन्याय गर्नुभयो?”

पारिजात आत्तिइन्-

  “अन्याय? यो कस्तो कुरा गर्दैछौ बाबु? म कसरी अन्याय गर्न सक्छु आफ्नै सन्तानमाथि?”

  “घोर अन्याय गर्नुभयो आमा! तपाइले मलाई कहिल्यै आफ्नो सन्तान न्वि सोच्नुभएन। उपन्यासमा एउटा तुच्छ पात्र चाहियो तपाईलाई, त्यहि स्वार्थ पुरा गर्न मात्र मलाई जन्माउनु भयो तपाइले”

  “बाबु, यो के भन्दै छौ? तिमी तुच्छ नै कहाँ छौ? तुच्छ पात्र, त्यो त तिम्रो भूमिका मात्र थियो।”

  “खै त आमा, त्यो पाठकको जमातले बुझेको? खै तपाइले बुझाउनुभएको?”

पारिजात केहि बोल्न खोज्दै थिइन् तर त्यसले उनलाई बोल्ने मौका नै दिएन। आफै बोलिरह्यो-

  “मलाई तपाइले जन्माउँदै एउटा तुच्छ सिपाहीको रूपमा जन्माउनु भयो। कति निरीह हामी पात्रहरु जन्मँदै परिचय तय गरेर जन्मनु पर्ने। र त्यसमाथि पनि कति अभागी म? जन्मँदै  आमाबाटै तुच्छ भएर जन्मिएँ। म तुच्छ सिपाही भएर जन्मिनुमा मेरो के दोष आमा?”

पारिजात त्यसलाई पाखुरामा समात्दै रुन लागिन्-

  “छैन बाबु, यसमा तिम्रो केहि दोष छैन”

  “किन त आमा, सबैले मलाई घृणा गर्छन्? तुच्छ सिपाही, मात्तिएको बूढो सिपाही, स्त्रीलम्पट, किन आमा सबैले मलाई यसरी बुझ्छन्? म त तपाइको आज्ञा शिरोपर गरेर एउटा असल पुत्र बन्न खोज्दैथिएँ। तपाइले जस्तो भूमिका रटाउनु भयो म त्यस्तै निर्वाह गर्दै गएँ। आमाले देखाएको बाटोले मलाई यसरी कुख्यात बनाउँला? यो मैले कहिले पनि सोचिनँ आमा! बरी, सोम, मुजुरा सबैलाई राम्रो भूमिका दिनुभयो। ममाथि मात्र अन्याय गर्ने मन कसरी पलायो आमा तपाइमा?”

पारिजातको लागि यो घटना अप्रत्याशित थियो, म बुझ्न सक्छु उनको मनको त्यो बेलाको जिर्णता। शब्दहरुको नदि बगाउने उनले आज शब्दहरु नै भेटिरहेकी थिइनन्। त्यो मनुवा फेरि बोल्न लाग्यो-

  “आमाको मन त सबै सन्तानको लागि उस्तै हुनुपर्ने होइन र? मसँग मात्र यति कठोर कसरी हुनसक्नु भयो आमा, कसरी?”

पारिजात फेरि थुचुक्क भुइँमा बसिन्। आँखाबाट आँसु बगे। म छेउमै बसेर हेरिरहेथेँ यी सारा दृश्यहरु। त्यस्तो सुन्दर वातावरणमा त्यस्तो भयावह स्थिति देख्दा पार्क स्तब्ध भएको थियो। सुरुवातको जस्तो हल्ला, वार्तालाप, हँसीमजाक अहिले केही थिएन। सबै मूर्तिवत उभिरहेथे। सबका आँखा एउटै विन्दुमा केन्द्रीत थिए। मोबाइलबाट भिडियो खिच्नेहरुका पनि आँखा टिलपिल देखिन्थ्यो।

म सब हेरिरहेथेँ पारिजातको स्वप्नदृश्य। त्यो सारा दृश्य नियालिरहँदा मलाई लाग्यो कि सपनाले पनि कथाले जस्तै कथार्सिस जन्माउँदो रहेछ। र पारिजात त्यसैको सिकार भएकी रहिछन्। सपना पनि कहिलेकाही यति रियलिस्टिक हुन सक्दोरहेछ। म यस्तै महशुस गर्दै त्यो दृश्य नियालिरहेथेँ। अँ त, अब दृश्यकै कुरा गरौँ। केहिबेरको सन्नाटापछि पारिजात पुन: अर्को कोशिस गर्न लागिन्। केहिबेरको मौनताबिच उनले सायद केही शब्दहरु जम्मा गर्न भ्याइछिन्।

“बाबु, तिम्रो पीडा म बुझ्न सक्छु। आमाको माया सबै सन्तानलाई उत्तिकै हुन्छ। जति म बरीलाई माया गर्छु त्यति नै तिमीलाई पनि गर्छु। तर सबैलाई उस्तै भूमिका म कसरी दिन सक्थेँ, भन त तिमी नै? तिमी यसमा मन नदुखाउ, दुनियाँले तुच्छ भन्नु, घृणा गर्नु त्यो तिम्रो कमजोरी होइन बाबु, बरु तिनीहरुकै समझको अभाव हो। तिमी तिनीहरुलाई मूर्ख सम्झेर जान देउ छोरा। उनीहरुको मुर्ख्याइको अघि तिमी यसरी विचलित नहोउ।”

“आमा, दुनियाँको बेवास्ता गर्न सकिन्छ तर आफैले आफैलाई बेवास्ता गर्न सकिन्न रहेछ। मलाई यतिबेला पश्चाताप र ग्लानीको आगोले भित्रभित्रै जलाइरहेछ। म आफैपनि कहाँ चाहन्थें र आमा ती सबै तुच्छ, पापी हर्कतहरु गर्न। म कदापि चाहन्न थिएँ फूलजस्ता ती चेलीहरुको बलात्कार गर्न, निर्मम हत्या गर्न। म चाहँदै चाहन्न थिएँ प्रेमको नाटक गरेर माफीको पनि नालायक विश्वासघाती हत्यारा बन्न। आमा तपाइले त मलाई मान्छेको भेषमा थोरैपनि मान्छे बनाउनु भएन आमा, थोरैपनि।”

त्यसको कुरा सुनेर पारिजात काँप्न थालिन्। पार्कका अरुसबै पनि हिउँ भएर जमेका थिए। पारिजातका आँसुले पनि बग्न बिर्सिए। उनी होश पनि छ, छैन जस्तै भएकी थिइन्। मनुवालाई अझै धेरै कुरा भन्नु रहेछ। यसपटक उसको स्वर रुन्चे थिएन। पीडा त पक्कै थियो तर पीडा भन्दा ज्यादा उसको आवाजमा यतिबेला आक्रोश सुनिन्थ्यो। 

“सबैभन्दा ग्लानी त मलाई यसमा हुन्छ कि बरीलाई त्यो विषालु चुम्बन नै किन गरेँ? थाहा छ आमा, म बरीलाई प्रेम गर्थेँ। मलाई उसको शरीरसँग कुनै आकर्षण थिएन। खासमा मलाई कसैको पनि शरीरसँग आकर्षण कहिले पनि थिएन। तपाइले जे जे म बाट गराउनु भयो ती केहिमा पनि मेरो चाहना थिएन। तर म विवश थिएँ। स्वचालित यन्त्रभन्दा ज्यादा म के नै थिएँ? म मेरी सकमबरीलाई उसको इच्छा विपरीत छुन समेत चाहन्न थिएँ। तपाइले चुम्बन गर्न लगाउनु भयो। त्यो पनि भ्रमर चुम्बन, विषालु चुम्बन। आफुले प्रेम गरेको मान्छेको हत्या म आफैले गर्नुपर्यो।”

पीडाले अनियंत्रित भएर उसले हातमा समाइराखेको रक्सीको बोतल छ्वैको बेन्चमा जोडसँग बजार्छ। उसको हर्कतले मानिसहरु हलचल गर्न थाल्छन् तर पारिजात मूर्तिवत नै थिइन् मानौँ उनी त्यहाँ छँदै छैनन्। मलाई पारिजातको त्यो हालत देखेर अति नै नमीठो लागिरहेथ्यो। साथै त्यो मनुवाउपर पनि दया पलाइरहेथ्यो। वातावरण नै त्यस्तो थियो अघि कुनबेलादेखि म पनि बग्न थालिसकेकी रहिछु। आँसु पुछिराख्न मन भएन। अब अगाडि के हुने वाला थियो, वश यसैको कौतुहलताले म व्यग्र थिएँ। अब पारिजातले के भन्लिन्? त्यो मनुवाले अब के गर्ला? खास ऊ कहाँबाट यहाँ आइपुग्यो। यो ठाउँ, यो स्वप्नस्थल नै कहाँ छ?  के स्वप्न मञ्चन हुने पनि कतै दुनियाँ छ? नत्र यी दृश्यहरु कसरी छन् अस्तित्वमा? के सपना भनेको मान्छेको मगजको भ्रम मात्रै हो त? वा कतै घटित सत्यको बाछिटा हो सपना भनेको?

त्यसो त जीवन पनि त सपना जस्तै नै त हो। जीवनमा पनि त हुने कुरा यस्तै हुन्। सबैको आ-आफ्नै भूमिका हुन्छ। र सबैलाई आफ्नो भूमिकाप्रति सन्तुष्टि कहाँ हुन्छ र जीवनमा पनि। जीवन पनि त उपन्यास र सपनाभन्दा कहाँ फरक छ र? फरक यति नै त हो, हामीलाई हाम्रो जीवनको भूमिका लेख्नेको कुनै अत्तोपत्तो हुँदैन र हामी चुपचाप मञ्चन भइरहन्छौँ। यदि यसैगरी हामीले पनि जीवनको रचयिता भेट्यौँ भने? के गर्दा हौँ हामीहरु? कोखबाट जन्माउने आमा छोडेर हाम्री पनि त अर्कि आमा होलिन् जसले हामी, हाम्रो मञ्च, हाम्रो भूमिका, हाम्रो कथा, सारा कुराहरुको परिकल्पना गरेकी हुँदिहुन्। ती आमा को होलिन् जो मेरी र मेरी आमाकी पनि आमा हुन्। हामी सारा सजीव-निर्जीव, कसका मानस सन्तान हौँ? अहो! यो जगत, यो सृष्टि, विश्व-ब्रह्माण्ड, कति विराट? कसैको कल्पनामा पनि नअटाउँला जस्तो! यो स्वप्नजगत जहाँ म आज पारिजातको सपना नियालिरहेछु यो पनि त उहि कल्पनातित ब्रह्माण्डको एउटा सुक्ष्मभन्दा सुक्ष्म अंश हुन नसक्ला र? म यो स्वप्नलोकबाट पुन: बाहिर निस्किउँला त? कि अबदेखि यहीँ नै मेरो जीवन निरन्तर हुन्छ? के यो पनि जीवन हो र? होइन भने किन म उस्तै जीवन्त छु? यो सपना पारिजातकै हो त? या मेरै हो यो सपना? पारिजातलाई डुलाउन लैजानु, घर पुगेर भिज्नु, कफी पिउनु, हाम्रो वादविवाद चल्नु, के यी सब पनि सपना त थिएनन्?

  “आमा”

उफ्! यो पागल मनुवा! कुन दुनियाँमा हराइरहेथेँ झसङ्गै बनाइदियो। फेरि के भन्दै छ? 

  “म मुक्ति चाहन्छु। सक्नुहुन्छ भने यति गरिदिनुस्। आफ्नै मनको ग्लानी र दुनियाँको धिक्कारले म बाँचेपनि मरेतुल्य छु। हेर्नुस् त मेरो हाल आमा, म आफै मर्न पनि सक्दिनँ।”

जे हुनु थियो त भइसकेको थियो। उसले बाँचेको सत्य एउटा भ्रम, कल्पना नै भएपनि त्यसको आफ्नो एउटा वेग्लै अस्तित्व बनिसकेको छ। जो कहिल्यै मेटिनेवाला छैन। हुनसक्छ समयको कुनै सुदुरविन्दुमा पुगेर त्यो अस्तित्व युगको स्मृतिचेतनाबाट कुनै अँध्यारोमा ओझेल पर्न सक्ला। युगौँ युग पछिका मानिसहरुबाट त्यसको खोजी नहोला, बिर्सिन सक्लान् तर इतिहासको अस्तित्वमा लेखिएको सत्य मेट्न वा फेर्न असम्भव छ। त्यसको जुनैपनि बेला पुनर्जागरण हुन सक्छ। त्यस्तो सत्यको अस्वीकार गरेर त्यसबाट भाग्नुको कुनै सार छैन। त्यसको स्वीकार गर्नुको विकल्प नै छैन। तरपनि ऊ त्यो सत्यलाई अस्वीकार गरिरहेछ, आफ्नै अस्तित्वबाट भाग्ने विकल्प खोजिरहेछ।

खैर, मपनि उसको ठाउँमा हुन्थेँ भने नभएकै विकल्पको लागि यसैगरी युगयुग भड्की पो हिँड्थेँ कि? मान्छे हरेक समस्याको समाधान मृत्युमा देख्दो हो र त केहि सीप नलागेपछि उसले पनि आफ्नो मृत्युको याचना गर्दैछ। भन्दैछ-

  “बरु शिरीषको फूल त्यसरी अमर नभइदिएको भए मैले पनि अमर हुनु पर्दैन थियो होला। पाठकले पढिसक्दा बिर्सिदिएको भए यो अपमान सहेर मैले युग युग यसरी तड्पिरहनु पर्दैन थियो होला। उपन्यास अमर भइदियो र मैले पनि यसरी अस्वत्थामा जस्तै पापी भएर अनन्त अनन्त अपमानित भएर बाँचिरहनु परेको छ। तपाइले मलाई अजम्बरी बुटी खुवाइदिनु भयो आमा। नेपथ्यमा बसी बसी तपाइले ममाथि यो अन्याय गर्नुभयो। मेरो सृष्टिकर्ता तपाईं, म आफै मर्न पनि सक्दिनँ बरु मेरो संहार पनि तपाइले नै गरिदिनुस् आमा! बिन्ती, मलाई मुक्ति दिलाइदिनुस् आमा! सबै संहार गरिदिनुस् आमा, यो पश्चाताप र अपमानको पिंजडाबाट मुक्ति दिलाइदिनुस्! बिन्ती!”

ऊ घुँडा टेकेर, दुईहात जोडेर पारिजातका पाउमा घोप्टिरहेको छ। तर पारिजातबाट उसलाई मुक्ति त के सान्त्वनाका शब्दहरु पनि निस्किएनन्। उनी निरुत्तर टोलाइरहेथिइन्। बिल्कुल ढुङा जस्ती भएर मूर्तिवत। सायद, मन्दिरभित्र राखिएका मूर्तिहरुको हाल पनि यस्तै हुँदो हो। त्यसैले त भक्तको आर्तनादमा पनि ती टोलाइरहन्छन्। हुने हार दैव नटार भन्ने उखान त्यसै बनेको होइन रहेछ। पारिजात बिल्कुल भक्वनाशून्य देखीइरहेथिइन् मानौँ त्यसको याचना उनले सुन्दै सुनेकी छैनन्। मानौँ उनी साच्चै नै ढुङ्गाकी मूर्ति हुन्। निकैबेरसम्म पनि उनमा कुनै प्रतिक्रिया नदेखिएपछि त्यसले पारिजातका गोडा छुँदै ढोग गर्यो र त्यहाँबाट हिँड्यो। वातावरण त्यतिबेला मौन थिएन स्तब्ध थियो। यो भयानक दृश्य देखेर मलाई भाउन्न भएर आइरहेथ्यो। निकै मिहेनतले आफुलाई सम्हाल्दै थिएँ। कसैको कब्जामा जिउनु वास्तवमै एउटा सकस नै त हुन्छ। उपन्यासको मात्रै के कुरा, यथार्थ जीवन नै पनि कसैद्वारा यदि शासित छ भने त्यस्तै छटपटी त हुन्छ। त्यसैले त मानिस सधैँ स्वतन्त्रताको चाहना गर्छ। उसको आफ्नै भावना अनुसार जिउन खोज्छ। त्यसमा ऊ सफल कति हुन्छ, त्यो बेग्लै कुरा तर प्रयास ऊ अवश्य गर्छ। नभएपनि चाहना त गर्छ नै गर्छ। आफ्नै स्वभावमा बाँच्न खोज्छ। अरु कसैको स्वामित्वमा बाँच्नु त पिंजडा भित्र फगत श्वास मात्र फेर्नु न हो। श्वासप्रश्वासको प्रक्रियाभरी  मात्रै सिमित हुन्छ र जीवन? 

जसै त्यो मनुवा पार्क परिसरबाट कतै अलप भयो यता पारिजात वेहोश भई ढलिन्। मेरै शरीर छिचोलेर गएका कुनै एक जोडी युवा युवतीले उनलाई उठाए र छेउकै शिरीषको बोटमुनि लमतन्न परिबसेको एउटा बेन्चमाथि लगेर सुताइदिए। होहल्ला सँगैको निकैबेरको जल प्रक्षेपणपछि उनी ब्युँझीन्। यता उता केही खोजेझैँ गरिन्। उहि गाता उक्किएको पातलो किताब बाहेक केहि भेटिनन्। खोजेको सायद अर्कै कुरा थियो तर त्यहि किताब टिपिन् र त्यसलाई बडो स्नेहसँग मुसार्न लागिन्। मानौँ त्यो किताब नभएर उनको कोखबाट भर्खरै जन्मिएको नवजात शिशु हो। त्यहिबेला अलि परबाट केश छोटो गरि काटेकी एउटी युवती बडो गदगद हुँदै पारिजात नजिकै आई, लगभग उफ्रिदै।

उत्साहित लवजमा बिरालाका जस्तै चुलबुले आँखा नचाउँदै उसले पारिजातलाई सोधी-

  “तपाई शिरीषको फूलको उपन्यासकार जस्तै देखिनुहुन्छ नि, तपाईं नै हो त?”

नबोलेरै उनले ‘हो’ को टाउको हल्लाइन्। 

  “के यो त्यही उपन्यास हो, तपाइको हातको?”

उनले फेरि उसैगरी टाउको हल्लाइन्।

केटिले आफ्नो पछाडि भिर्ने ब्याग खोल्दै त्यसबाट एउटा गाता सहितको शिरीषको फूल निकाली। गाताको हुलिया नौलो लाग्यो। सायद, नयाँ संस्करणको हुनुपर्छ किताब, अनुमान गरेँ। किताब देखाउँदै केटीले भनी-

  “यी हेर्नुस् त, म तपाइकी ठूलो फ्यान हुँ नि, मेरी मम्मी पनि तपाइकी ठूलो फ्यान हुनुहुन्छ। म यो उपन्यास जहाँ गएपनि आफुसँगै लिएर हिँड्ने गर्छु। मलाई यसमा तपाइको अटोग्राफ दिनुस् न है।”

ब्याग खोतल्दै उसले भनी- “पख्नुस् है, म पेन निकाल्दै छु”

केटीले त्यो पेन र किताब पारिजातलाई दिई। पारिजातले हस्ताक्षर गर्दैगर्दा केटीले भनी-

  “म आर्टिस्ट हुँ नि, मैले तपाइको पोर्ट्रेट पनि गरेकी छु।”

पारिजातले केटीलाई उसको किताब फिर्ता दिइन्। अटोग्राफ हेर्दै केटी बुरुक्क उफ्रिई र पारिजातलाई अंकमाल गर्दै भनी-

  “थ्याङ्क्यू, थ्याङ्क्यू, थ्याङ्क्यू सो मच पारिजात। यू आ माय फेवरेट राइटो”

यतिखेरसम्म पारिजातसँग अटोग्राफ माग्नेको एउटा भिड नै जम्मा भैसकेको थियो। उनले ती सबैलाई गाता उक्किसकेको त्यही शिरीषको फूलको पत्ता क्रमशः च्यात्दै हस्ताक्षर गर्दै दिँदै भिडलाई घटाउन थालिन्। अटोग्राफ पाएर भिड तितरबितर हुँदै थियो। कोहि अटोग्राफ पाएको पानालाई खल्तीतिर राख्न थाले, कोहि डायरी निकालेर पानाहरुको बिचतिर जतन गर्न लागे। कोहि भने अटोग्राफ हेर्दै स्पेलिङ मिस्टेक भएछ है? भन्दै खिसखिसाउन थाले।

त्यही बेलामा कतैबाट कानै खाने गरि तीखो आवाज आयो। झसँग हुँदै म आवाज आएतर्फ फर्किएँ।

  “उफ्! अलार्म पो रहेछ। होइन, कत्ति छिटो बज्छ के ५ पनि? कत्ति छिटो बिहान हुन्छ। कस्तो मीठो सपना देख्दै थिएँ। जहिल्यै यस्तै हुन्छ। सपना कहिल्यै पुरा हुँदैन।”

पल्लो कोठाबाट उसकी आमा आइन्। कोठाको बत्ति बालिदिँदै सोधिन्-

  “के भो नानु? बिहान बिहानै के को गुनासो गरेकी?”

  “के हुनु नि हेरिस्यो न मामु, एउटा कस्तो मीठो सपना देख्दैथेँ पुरा हुन नपाई यो अलार्म ले ब्यँझाइ दिई हाल्यो।”

  “के देख्दै थियौ र मीठो सपना त्यस्तो?”

  “सपनामा म २०औँ शताब्दीमा पुगेकी रहिछु। त्यहाँ एउटा शिरीष पार्क रहेछ। कौतुहलले म त्यहाँ छिर्दा त! क्यान यू गेस मामु? मैले कसलाई देखेँ त्यहाँ?”

  “शिरीष पार्कमा कि त पारिजातलाई देख्यौ कि सकमबरी या दुवैलाई देख्यौ होलि नि।”

  “ओह्! द्याट्स ह्वाय यू आ माय स्मार्ट मम्मा, पारिजात!, पारिजात रहिछिन् त्यहाँ एउटा बेन्चमा बसिरहेकी, उनको छेउमा अस्ति पत्रिकामा फोटोमा देखेको उनकी बहिनी जस्तै कुनै लेडिज पनि थिइन्। अनि परैबाट चिनिहालेँ। दगुर्दै गएँ अनि सोधेँ तपाईं पारिजात हो? भनेर। उनले हो भनेपछि मैले उनलाई सब भनेँ। मैले यहि सधैँ बोक्ने फुच्चे ब्याग बोकेकी रहेछु, शिरीषको फूल ब्यागमै रहेछ, झिकेर देखाएँ अरे है अनि अटोग्राफ मागेँ अरे त्यसैमा। अनि थाहा छ मामु मैले उनको पेन्टिङ गरेको नि सुनाएछु। म पनि तपाइको फ्यान मेरी ममी पनि फ्यान भनेँ अरे! अंगालो पनि मारेछु मैले त”

(त्यसो भन्दै ऊ खित्का छोडेर हाँस्छे)

  “अनि, अटोग्राफ लिछ्यौ, अंगालो मारिछ्यौ, बोलिछ्यौ, प्रत्यक्ष देख्न, भेट्न पाइछ्यौ। त्यो पनि २०औँ शताब्दीमा पुगेर! फेरि पनि अलार्म सँग किन चित्त दुखाइ? लु उठ उठ फ्रेस होउ, अनि आऊ किचेनमा म कफी रेडि गर्दै गर्छु।”

  “अझै अलार्म नबजेको भए म सेल्फी पनि त खिचाउथेँ होला नि उनीसँग!”

“पागल केटी, सपनाको सेल्फी के काम? यथार्थको भित्तामा सजाउन मिल्ने भए पो? लु लु उठ। चाँडो फ्रेस होउ”

तर ऊ अझैपनि सपनाकै ह्याङओभरमा थिई। सोची, फ्रेस भई भने त ह्याङओभर ओभर हुन्छ र उसले यति मीठो सपना त भसक्कै बिर्सिन सक्छे। ऊ फ्रेस हुनु अघि नै डायरीमा लेखिराख्ने भई आज देखेको सपना। राम्रा राम्रा रोचक सपनाहरु उसले लेखेर राख्ने गरेकी छे।

फुच्चे ब्याग तानी र डायरी निकाली। पेन निकाल्न खोज्छे, भेट्दिन, खोज्छे पुरै ब्यागभरी भेट्दिन, अझै खोज्छे, ब्यागबाट सबै सामान निकालेर खोज्छे तर अहँ पेन भेट्दिन। 

  “होइन, ड्याडीले अस्ति भर्खर बर्थ डेमा गिफ्ट गरिसेको पेन थियो। हिजो डेली अपडेट लेखेर यहि ब्याग मै त राखेथेँ। कत्ति राम्रो लेख्थ्यो। उफ्! कहाँ पर्यो होला?”

तनाव लिन्छे। उफ्! फेरि ह्याङओभर! फ्ल्यास ब्याक टु द ड्रीम! पारिजात! अटोग्राफ! शिरीषको फूल! पेन!

  “पेन? कतै सपनाकी पारिजातले त लगिनन्?”

शंका गर्छे।

  “लौ, त्यस्तो पनि कहिँ हुँदो हो? म जे पनि सोच्छु, पागल केटी म!”

आफैलाई जिस्काउँछे।

  “तर के? संसारमा अनौठा अनौठा घटना घटिरहेकै हुन्छन्। कति अविश्वासिला कुराहरु पुष्टि पनि त भइरहेकै हुन्छन्। हुन पनि त सक्छ नि, जे पनि हुन सक्छ!”

सपनामै पेन छोडिएको शंका उसलाई अझै छ।

  “तर जे पनि हुनसक्छ भन्दैमा कसरी पत्याउँ? बिना प्रमाण! आ.. होइन होइन, मैले अन्तै कतै राखेर बिर्सेँ होला।”

मन दोमन हुन्छ। सिंगमर्मरको गोलो टेबलमाथि उडन पेन होल्डर छ। सबै पेन छान मार्छे अहँ भेट्दिन। अझै राम्रोसँग सम्झिन खोज्छे। दिमागमा जोड दिन्छे।

  “मैले ब्याग मै हालेकी हुँ। प्रस्ट छ मलाई।”

  “अनि के त त्यसोभए? सपनामै छुटेकै हो त?”

  “प्रमाण के छ?”

उफ् ह्याङओभर! सपना! पारिजात! शिरीषको फूल! पेन! अटोग्राफ!

  “अटोग्राफ? येस! लेट्स चेक अटोग्राफ!”

शिरीषको फूलको गाता पल्टाएर हेर्छे। आश्चर्य!

  “उफ्! कसरी हुनसक्छ यो?”

ह्याङओभर! झन् ठूलो ह्याङओभर!

भान्साबाट आमाको आवाज आउँछ-

  “नानु, चाँडो आऊ। कफी सेलाइसक्यो”

उसलाई कफीको मतलब छैन आज। उसले संसारको आठौँ आश्चर्य भेट्टाएकी छे। तर उसलाई अझै पुष्टि गर्नु छ। ऊ किताबमा गरिएको हस्ताक्षरलाई गौर गरी नियाल्दै छे।

  “लौ, पारिजात होइन, पराजित पो लेख्या रहेछ त! नाइन्थ ओन्डर? के हो यस्तो?”

  “कोहि मसँग मजाक गर्दैछ?”

  “होइन होइन, कसले गर्ला त्यस्तो? यो किताबमा हिजो बेलुकासम्म पनि केही लेखिएको थिएन। यो सपनामै लेखिएको हो।”

ऊ अझै मजाले अक्षर नियाल्छे।

  “यो मेरै पेनले लेखिएको अक्षर हो। म चिन्न सक्छु।”

उसलाई आत्मविश्वास छ आफुमा। तर अझै केही कुरा छन् जसकारण ऊ द्विविधामा छे।

  “यो पारिजातले गरेकै हस्ताक्षर हो भने, उनले पारिजातलाई पराजित किन लेख्छिन्?”

  “अरु कसैले गरेको हो भने? कसले? बेलुकासम्म थिएन, राति मेरो कोठामा को आउँछ?”

“ड्याडी होइसिन्न। मामुले किन गरिसिन्छ? तैपनि यो राइटिङ ड्याडी-मामु दुवैसँग मिल्दैन। बिल्कुल फरक छ।”

“उसोभए सपना सत्य नै हो त?”

“ह्या! म पनि! सपना पनि कहिले सत्य हुन्छ?”

“तर फेरि… यो अटोग्राफ ?”

नेपथ्यमा मामुको आवाज सुनिन्छ-

“कफी दुईपटक तताइसकेँ। आउँदिन त यो केटी!”

उसलाई काम पुगिसकेको छ।सपनाको ह्याङओभर उसको दिमागबाट उत्रीन सकेको छैन। उसको मन घडीको पेण्डुलमझैँ द्विविधाको फेदमा अल्झिएर घरी यता घरी उता पिङ्ग खेलिरहेछ।

“पारिजात!”

“पराजित?”

“पारिजात!”

“पराजित?”

Facebook Comments

You may also like

Leave a Comment

error: Content is protected !!