पैसा भेटियो | SATURDAYकलम | काव्यालय-Kavyalaya

पैसा भेटियो…

हिँड्दा हिँड्दै जिन्दगीमा धेरै कुराहरू बाटोमै भेटिन्छन् । धेरै चिजहरू फुटपाथमा भेटिन्छन् । यसैले कोही खुशी किन्न फुटपाथ पुग्छन्।  कोही खुशी बेच्न फुटपाथ पुग्छन् । केही चिज सडकपेटीमा भेटिन्छन् । जिन्दगीको यो अनवरत यात्रामा केही चिज बाटोमा भेटिएर बाटोमै हराउँछन्। फेरि फर्केर कहिल्यै आउँदैनन्। चियाको कित्लीबाट उडेको बाफ जस्तै ।

एकपटक नाईट बसमा घर जाँदा एक जना अधबैँसे अंकलले सुनाएका थिए । उनको प्रेम कहानी । उनले आफ्नी श्रीमतीलाई यात्राकै क्रममा भेट्टाएको रे ! त्यही ‘बस यात्रा’ लाई नै पछि ‘जीवन सह-यात्रा’को नाउँ दिइयो रे । पान चपाउँदै बुढाले क्या मज्जाले आफ्नो कथा भनेका थिए । बडा रोमान्टिक र’छन् ती बड्डा !  

आज म  ‘म बाँचेको आजसम्मको समय’मा बाटोमा भेटिएका पैसाको गफ दिँदैछु । जिन्दगीका खुट्किला चढ्दाचढ्दै धेरै चिज भेटिए बाटोमा । साथीहरू । आफन्तहरू । शिक्षकहरू । जनावरहरू । खुशीहरू । दुःखहरू। फलफूलहरू । बाटोहरू । आदि आदि । यीमध्ये पैसा पनि एक हो । थोरै पैसा भेट्टाएँ होला तर त्यो पैसा नै त थियो । आखिर एक रुपैयाँ पनि रूपैयाँ नै त हो । मलाई आमा बारम्बार भनिरहनु हुन्थ्यो, “बाटोमा पैसा भेटिए खर्च गरिहाल्नु पर्छ । बाटोमा फलफूल भेटिए घरमा ल्याएर सजाउनु पर्छ । नत्र अनिष्ट हुन्छ ।”  यसैले पनि पैसा भेटियो की म लुखुर लुखुर पसल कुदिहाल्थे ।

समयको महत्व मलाई एक्जाम हलभित्र थाहा हुन्छ । एक सेकेण्डको पनि कति ठूलो हात हुने रहेछ । कहिलेकाहीँ ‘डाटा प्याक’ लिँदा एक रुपैयाँ पुग्दैन । त्यतिबेला मलाई एक रूपैयाँको महत्तव थाहा हुन्छ । स्कुल लेभलका ईक्जाममा साथीहरू एक नम्बरले फेल हुन्थे । त्यो बेला एक नम्बरको महत्तव ‘कोशी’ जत्रै लाग्थ्यो ल !  ‘थोपा थोपा मिलेर सागर बन्छ’, यसैले भनिएको होला ।

अस्ति एक जना साथीले सुनाउँदै थियो, ‘धेरै हावा हावा भन्दै नहिँड है । तँ बिरामी भएर अस्पतालको बेडमा पुगिस् भने त्यहाँ हावा पनि किन्नु पर्छ । महङ्गो पर्छ हावा पनि !” यस्तै यस्तै । ‘म भित्रको म’ ले भन्छ ‘हावा’ सबैलाई सम्बोधन गरिने शब्द होइन । यो ‘आफ्ना’ र ‘आफ्ना’ लागेकाहरूलाई सम्बोधन गरिने शब्द हो । सायद ‘यार’ र ‘हावा’ पनि ‘ब्रोदर्स फ्रम डिफरेन्ट मदर्स’ हुन सक्छन् !

अब म सुनाउँछु बाटोमा भेटिएका पैसाको कुरा । पाएका खुशीहरूमाथि अन्याय गर्नु भएन । मैले पैसा पाएँ पनि, गुमाएँ पनि । गुमाएका पैसाका बारेमा कुनै दिन सुनाउँला । आज पाएका पैसाका बारेमा सुनाउँछु । मेरा अनुभव र अनुभूतिहरू यस्ता छन् ।

घटना नम्बर : ०१

सात-आठ पढ्दा ताकाको कुरा हो यो । किशोरावस्थाका पखेटाहरू भर्खर भर्खर पलाउन थालेका थिए । गुँडमा हुर्किएका बचेराका प्वाँखजस्तै । सायद म पनि ‘आमा-बा’ नामको गुँडको बचेरा थिएँ। छिटै उठ्थेँ त्यो बेला । रातो घाम पारि डाँडाको झ्यालबाट गाउँ हेर्दै थियो । बिस्तारै घामका पाइलाहरूले गाउँको पछ्यौरीमा टेक्दै थिए । म आँखा मिच्दै मिच्दै  उठेँ। सिधै आँगनको डिल हुँदै शौचालयतिर सोझिएँ ।

कता कता मैले पढेको थिएँ । यौन पछिको दोश्रो आनन्द ‘दिशा-पिसाब विसर्जन’ हो रे । मैले दोश्रो आनन्द प्राप्त गरेँ। शौचालयदेखि घरको आँगनसम्मको बाटोमा सानो सिस्ने झाडी थियो । हरियो हरियो-सेतो सेतो कागजमा घामका पाइला टेक्दै थिए। त्यो कागज बिस्तारै टल्किँदै टल्किँदै गइराथ्यो । तेल सकिन लागेको दियोमा तेल थप्दै गर्दा चमक बढ्दै गएजस्तो । 

आँखाको नजर सिधै कागजमा पर्यो । नजिक गएर कागज स्पर्श गरेँ। कहाँको कागज हुनु त्यो त रूपये रहेछ । सय भारू । हत्तपत्त स्वाट्टै टिपेर खल्तिमा घुसाइहालेँ । 

अर्को दिन बिहानै उठ्दा थाहा भयो । त्यो सय भारू अंकलको रहेछ । बुढाले टन्न जाँड खाएर घर फर्किनु पूर्व शौचालय जाँदा कागज सम्झेर खल्तिबाट हुत्याएका रहेछन् । जसरी हामी चटपटे बेरेको कागजको टुक्रो डस्टबिनमा हुत्याउछौँ ।

घटना नम्बर: ०२

प्लस टु पढ्ने बेलाको कुरा हो यो । एघार क्लासको फर्स्ट टर्म एक्जाम सकेर दशैं बिदा सुरू भयो । हुन त कलेजतिर, टोलतिर, ईक्जाम सुरू हुनुपूर्व नै ‘दशैं-तिहार फ्लेवर’को बास्ना आइसकेको हुन्थ्यो । 

त्यो बेला हामी हात्तीवन ललितपुर बस्थ्यौँ। घर जानलाई अंकलले टिकट काटेर हातमा थमाइदिनुभयो । बच्चालाई चकलेट दिनु र दशैंमा घर जान टिकट ल्याइदिनु बराबरै हो ।

हात्तीवनबाट सातदोबाटो चोक सम्म प्रायः सधैँ हिँडेरै गइन्थ्यो । पच्चिस मिनेट लाग्थ्यो । अंकलहरू अलि अगाडि हिँड्दै थिए । म पछाडि पछाडि । एक जना अंकल बराबर उमेरको केटो मान्छे पल्सर बाइक कुदाउँदै हिँड्यो हाम्रै अगाडि । सायद उसलाई कतै पुग्न हतार थियो । निकै रफ्तारमा कुद्यो । बाइक कुदायो । बिस्तारै बिलायो । जसरी साँझ पर्नु अघि डाँडोमा सूर्य बिलाउँछ ।

त्यो मान्छेको पेन्टको पछाडिको गोजीमा राखेको पर्स ह्वात्त भुईंमा झर्यो । पाकेको मेवाको रूखबाट एक दानु मेवा झरेजस्तै । पर्सको हुलिया ठूलै थियो । यसो जिप खोलेर हेर्दा निकै ‘हात्तीहरूको अनुहार, गैँडाहरूको अनुहार, छेऊ कुनातिर बाघको अनुहार’ देखिन थाल्यो । लाग्यो यो पर्स होइन चिडियाखाना या त राष्ट्रिय निकुञ्ज हो । अलि पर सातदोबाटो चोक आउँछ।  त्यहाँ अघिको बाइक वाला मान्छे जाममा बसेको थियो । हामीले सरासर त्यो पर्स फिर्ता गर्ने निधो गर्यौँ ।  बिचरा ! बहुत खुशी भयो । हजारको नोट नै दिन लागेको थियो तर हामीले अस्वीकार गर्यौँ। 

घटना नम्बर: ०३

स्कुल लेभलको हाजिरी जवाफ प्रतियोगितामा एउटा प्रश्न सधैँ दोहोरिरहन्थ्यो । “विश्वको एक मात्र त्यस्तो एउटा नदी जुन दक्षिणबाट उत्तरतिर बग्दछ, त्यो कुन नदी हो ? कुन जिल्लामा पर्दछ ?” यसको सही उत्तर हो :- ‘कर्मनाशा नदी, ललितपुर जिल्ला’ ।

म गाउँबाट काठमाण्डौँको चित्र कोर्थेँ । काठमाण्डौँ देख्ने सपना बुन्थेँ  । सोच्थेँ, “एकपटक म जसरी पनि कर्मनशा नदी हेर्छु” । त्यहाँको पानी हेर्छु ।

नभन्दै समयले यस्तो ठाउँमा ल्याइदियो कि पहिलो पटक काठमाण्डौँ आउँदा नै ‘कर्मनाशा’ नदीको छेउतिर बस्नु पर्ने भयो । म सधैँ दिन ढल्नै लाग्दा सूर्यमाथि फुलचोकी डाँडामा भोलि फेरि फर्किने गरी बास बस्न जानै लाग्दा ‘इभिनिङ वाक’ मा निस्किने गर्थेँ । कर्मनाशा नदीका छेऊ किनारका दुबो चौर हेर्नु । कर्मनाशा नदीमा  बल्छि थापेको हेर्नु । एकछिन दुबोको मौलाउँदो बैँसको वक्षस्थलमा पल्टिनु । कान्तिपुर इन्जिनियरिङ कलेजको आँगनीमा बसेर टाढा टाढाका डाँडाहरू, हिमालहरू नियाल्नु । खेतको आलिमा बसेर गाउँको कान्लोमा बसेको महसुस गर्नु । नदी किनारका हाँसहरूसँग लडिबुडी गर्नु । चलेर मज्जा लिनु । मेरा दैनिकी बनिसकेका थिए । त्यो समयका । यिनीहरू नै मेरा अविष्मरणीय सारथी बनेका थिए ।

एकदिन मसँगै अंकलले पनि ‘इभिनिङ वाक’मा निस्किने विचार व्यक्त गर्नुभयो । मेरा खुट्टाहरूले कर्मनाशा नदी र मेरो रूमको दूरी नापेको धेरै भइसकेको थियो । त्यो दिन संयोगले अंकल पनि सारथी हुनुभयो ।

कर्मनाशाको छेउतिर हुर्केको दुबोले अंकललाई बहुत लोभ्यायो । फिल्मतिर हुर्किँदै गइरहेकी हिरोइनले हिरो लोभ्याएजस्तै । अंकलका पैतलाहरू छिटो छिटो कुद्न थाले । म भन्दा अंकल छिटो हिँड्न थाल्नुभयो । मेरा पैतलाहरू बिस्तारै हिँड्नुमा अभ्यस्त थिए । मेरा पैतलाहरूलाई हतार थिएन । दुबोको छाती स्पर्श गर्दै हिँडिरहेका थिए । साँझको समय अरू मानिस पनि ‘इभिनिङ वाक’ मा निस्किने भएकाले सवारी साधन अलिक बढी नै हुन्थे । त्यही भएर बडा सजग र चनाखो भएर हिँड्नु पर्थ्यो । एकोहोरो बाटोको आँखामा आफ्नो आँखा मिलाउनु पर्थ्यो । यसैले म एकोहोरो हिँडिरहेको थिएँ । एक ठाउँमा गएर टक्क रोकिएँ।  

हजार रूपैयाँको नोट हावामा पौडी खेल्दै थियो । भुइँको धुलोसँग फिरफिर भइराखेको थियो । नोटको एउटा कुनो भने दुबोको बोटमा अल्झेको थियो । सायद जवान केटाहरू युवतीको पछ्यौरीमा यसै गरी अल्झिँदा हुन् । हत्तपत्त खुट्टोमा घाउ भएको नाटक मञ्चन गरेँ । अनि एक हातले नोट समात्दै गोजीभित्र हात हालेको जस्तो गरेँ।  हात गोजीबाट बाहिर निकाल्दा पैसो गोजीभित्रै राखेँ ।  रंगमञ्च त्यही बाटो थियो । जहाँ मैले हिरोइन होइन ‘हजार रूपैयाँ ‘ भेट्टाएको थिएँ। कसैले देख्यो कि भन्ने काँडा मनमा बिझिरह्यो । रूम नफर्किँदासम्म । रूम आएपछि मैले सबै सिलसिला अंकललाई सुनाएँ।  केही पाए जस्तो केही गुमाए जस्तो आभास भइरह्यो । आजसम्म भेटेको सबभन्दा ठूलो पैसा त्यही थियो । अझै पनि त्यो चित्र झल्झल्ती याद आइरहन्छ । मेरा नजरको क्यामेराले त्यो हजारको नोटको फोटो खिचेर दिलको फ्रेममा राखेको छ । हृदयको ग्यालेरीमा राखेको छ ।

घटना नम्बर: ०४

प्लस टू पढ्दा म ब्याडमिन्टन अत्याधिक खेल्थेँ । जहिल्यै कलेज शुरू हुनुभन्दा अगाडि नै कलेज पुगेर ब्याडमिन्टन खेल्थेँ । कलेज पुग्नुअघि कति खेर कलेज पुगौँ र ब्याडमिन्टन खेलौँ हुन्थ्यो । जस्तो डेटिङ जाँदा प्रेमिका कतिखेर भेट्ला भइराख्दो हो प्रेमीलाई । घाम पानीले ब्याडमिन्टनलाई असर गर्दैन थियो । किनकी कलेज भित्र ठूलै हल थियो । हामी त्यतै ब्याडमिन्टन खेल्थ्यौँ। ब्याडमिन्टन खेल्दा त आफ्नै पसिनाको गन्ध पनि मिठै लाग्थ्यो । टिफिन टाइममा सबै खाजाघर कुद्थे । हामी दुई-चारजना लाइब्रेरीतिर । ब्याडमिन्टन खेल्नु अगाडि एकपटक लाइब्रेरी छिरेर सबै पत्रिकाका अनुहारहरू सरसर्ती हेर्थ्यौँ पनि । पत्रिकाहरूले पनि हामीलाई हेर्थे सायद । पत्रिकाहरूसँग हामी अभ्यस्त थियौँ। त्यसपछि हामी ब्याडमिन्टन खेल्ने हाम्रो हलतिरको दूरी नाघ्थ्यौँ । हाम्रो एउटा छुट्टै ग्रुप थियो त्यो ।  भन्नेहरूले यसलाई ‘ग्रुपिज’ भन्थे पनि । 

एकदिन ब्याडमिन्टन खेल्दाखेल्दै मैले हानेको सट फिर्ता आएन । जानी जानी साथीले सट रिसिभ गरेन । सट उठाउनुको सट्टा ऊ कुनातिर भाग्यो । कागजको डल्लो जस्तो देखिने चिज हत्तपत्त खल्तिभित्र हाल्यो उसले । सायद यसले पैसा भेट्यो भनेर म पनि ब्याट छोडेर ऊ भएकैतिर दौडिएँ । मैले अड्डी कसेँ, ‘कि मलाई पनि भन् । के भेटिस्, कति भेटिस् ? नत्र गएर प्रिन्सिपल सरलाई भन्दिन्छु।  यसले पैसो भेट्यो भनेर !’… पछि कसैलाई नभन्ने तर मिलीजुली पानीपुरी चटपटे खाने निर्णय हामी दुईजना सदस्यहरु सम्मिलित बैठकले पास गर्यो । त्यो पनि बहुमतले । नेताहरूले मिलिजुली सरकार चलाएजस्तै हामीले मिलिजुली खाने निधो गर्यौँ।  ठ्याक्कै कति पैसो थियो त्यो मलाई  थाहा भएन तर त्यो साथीले त्यही पैसाले दुई दिन पानीपुरी र चटपट खुवायो ।

पछिल्लो दिन थाहा भयो । त्यो हलमा BHM पढ्नेहरूको ‘वेलकम एण्ड फेरवेल प्रोग्राम’ भएको रहेछ । कसैको गोजीको ढोका खोलेर पैसो फुत्त बाहिर निस्कियो होला । हुल र भिडमा पैसोलाई गोजीभित्र बस्दाबस्दा गर्मी भएको हुँदो हो सायद ।

घटना नम्बर:- ०५

प्लस टू पछि एमबिबिएसको तयारी ट्युसन कक्षा लिन सबेरै उठिओरी गाडी चढेर पुतलीसडकको बाटो तताउनु पर्थ्यो । अँध्यारोले धर्ति छोड्न नपाउँदै मैले ओछ्यान छोड्नु पर्थ्यो । रूम छोड्नु पर्थ्यो । पुस-माघ तिरकोकुरो हो यो । “विवाहितलाई लोग्ने स्वास्नी प्यारो, अविवाहितलाई ओछ्यान प्यारो” भन्ने उखान जस्तै मलाई ओछ्यान बहुत प्यारो लाग्ने, छोड्नै मन नलाग्ने । तर नछोडेर पनि सुख थिएन । गाडी चलाउने ड्राइभरकै हत्केलामा अड्किएको हुन्थ्यो हामी यात्रुहरूको जिन्दगी । पिडालुको पातमा अड्किएको शितजस्तै । बाटोभरि हुस्सु लागेर अँध्यारोको अनुहारमा ‘सुनमा सुगन्ध थपिएको’ हुन्थ्यो । हात्तीबाट गाडी चढेर भद्रकाली झरेर फेरि अलिकति हिँड्नु पर्थ्यो ।

भद्रकाली झरिसकेपछि मात्रै उज्यालोले भुइँ छुन्थ्यो । धर्तिको चिसो छातीमा उज्यालोले स्पर्श गर्थ्यो । पूर्वी-उत्तरतिर रातो सूर्य भर्खरै उठेको जस्तो देखिन्थ्यो ।

गाडीबाट ओर्लेर यस्तै चालिस पचास पाइला हिँडेको थिएँ । दुई, तीन’टा हरियाजस्ता देखिने नोटहरू एक माथि अर्को खप्टिएका थिए । नोटहरूलाई पनि चिसो हुँदो हो त्यो विन्टरको समय ! अलिक टाढाबाट ठ्याक्कै कतिको नोट पत्ता लगाउन नसकिने अवस्था थियो । म नजिकै गएर च्याप्प समातेँ नोटहरूलाई । वर्षौँअघि मेलामा हराएको साथी फेरि भेट्टाएँ जस्तो लाग्यो। तीनटा पचास-पचासका नोटहरू रहेछन् । गोजी भित्रका दश-बिस रूपैयाँका नोटका नयाँ सारथी पनि गोजी भित्र अटाए ।

 – भेष राज बुढाथोकी, डोगडी, बाजुरा

 

 

Facebook Comments

You may also like

error: Content is protected !!