१२ असोज, काठमाडौं – यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रित र पद्मश्री पुरस्कार ‘हंस’ उपन्यासका लागि सञ्जीव उप्रेतीलाई दिने निर्णय आइतबार आयो । पुरस्कारको राशी ३/३ लाख रुपैयाँ रहेको छ ।
तर उपन्यासकार उप्रेतीले यौन हिंसाको आरोप लागेका प्रश्रितसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन गाह्रो हुने अभिव्यक्ति सार्वजनिक गरेपछि विवाद सिर्जना भएको छ । नेकपाकी कार्यकर्ता शारदा भुसालले पुस्तकै लेखेर प्रश्रितले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् ।
यो सन्दर्भमा सोमबार प्रश्रितको हस्ताक्षरमा एउटा विज्ञप्ति सार्वजनिक भयो, जसमा पद्मश्री सम्मान नलिने उल्लेख थियो ।
विज्ञप्तिमा भनिएको छ– “खेम हरिकला सामाज कल्याण परिषदले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकामा संस्थाप्रति आधार प्रकट गर्दछु । यो समाचार प्रकाशित भएपश्चात अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु ।”
तर मिडियमा भने प्रश्रितले पुरस्कार वितरण पछि सार्न आयोजकसँग आग्रह गरेको बताए । उनले भने, ‘उहाँहरुले दुवैजनालाई बोलाएर पुरस्कार दिने योजना बनाउनुभएको थियो, एक जनाले नलिने भनेर बबण्डर गरेपछि अहिले कार्यक्रम नराखौंँ भनेको हुँ ।’
साहित्यकार प्रश्रितसँगको कुराकानी:
तपाईंले पुरस्कार नलिने घोषणा गर्नुभएको हो ?
उहाँहरूले जुन पुरस्कार राख्नुभएको छ नि, उता पूर्वतिरको एकजनाले त्यो पुरस्कार सुरस्कार केही लिन्नँ भनेर बबन्डर गरे क्यारे । मैले आज (सोमबार) बिहान फोन गरेपछि उहाँहरूले अब के गर्ने भन्नुभयो । मैले मेरा विरुद्ध कुरा गरेका छन्, अहिले कार्यक्रम स्थगित गरौँ, पछि राम्रो वातावरण भएपछि राखे भइहाल्यो नि भनेँ ।
यस विषयमा कोसँग आयोजकसँग सल्लाह गर्नुभयो ?
रवीन्द्रजीसँग । रवीन्द्रजी पनि त्यसमै हुनुहुन्छ नि ।
को रवीन्द्र ?
रवीन्द्र पाण्डे (खेम हरिकला सामाज कल्याण परिषदका सदस्य सचिव) ।
तपाईंले पुरस्कार लिए भइहाल्थ्यो नि होइन र ?
मलाई बेस्सरी के के गाली गरे । यही बेला म त्यहाँ जानु ठीक भएन । उसले के रिस पोख्यो, के भन्यो मैले केही सोधिनँ । अहिले पर्यावरण चाहिँ राम्रो भएन । त्यसैले अहिले नगरौँ भनेको ।
आयोजकले के भन्नुभयो ?
ठीकै छ, बेकारमा अरुले कच्याङ कुचुङ गर्छन् भने किन गर्ने, पछि राम्रो वातावरण भएका बेला गरौँला भन्नुभयो ।
पुरस्कार दिने घोषणाप्रति त सम्मान नै हो नि तपाईंको ?
उनीहरू (सञ्जीव उप्रेती) को अर्को के–के छ योजना । पहिलेदेखि मेरो विरोध अभियानमा लागेका छन् केही मान्छे । कारण त केही देख्दिनँ ।
वातावरण सहज भएपछि पुरस्कार लिनु हुन्छ नि ?
उहाँहरूले दिने कुरा गर्नुभएको रहेछ । अर्कोले आएर बबन्डर गर्यो । पुरस्कार दिन खोजेको हो कि के हो, मैले सबै बुझिसकेको छैन । म काठमाडौं बाहिर थिएँ, आउँदा कचकच कचकच भएछ ।
यो मैले मागेको पनि होइन । उहाँहरूले एउटा लेखकलाई माया गरेर दिन खोजेको बेला भाँड्न खोजेका छन् । खै के हो, के हो । क–कसका के–के स्वार्थ छन् मैले बुझ्न सकेको छैन ।
स्रोतः अनलाइनखबर