सङ्घर्षमा कलमद्वारा खुला कविता प्रतियोगिता आयोजना

सङ्घर्षमा कलम साहित्य समाजले खुला कविता प्रतियोगिता आयोजना गरेको छ । संस्थाले वार्षिक कार्यक्रमलाई भौतिक रुपमा निरन्तरता दिन नपाएकाले खुला कविता प्रतियोगिता आयोजना गरेको हो ।

‘अन्तरमनका भावहरूको बन्न खाज्दै मलम, समावेशी आवाज हो यो सङ्घर्षमा कलम’ उद्घोषका साथ २०६५ सालदेखि नेपाली वाङ्मयको श्रीवृद्धिमा निरन्तर क्रियाशील सङ्घर्षमा कलमले संस्थाको मुखपत्रसहित विभिन्न साधकका दुई दर्जन बढी कृति प्रकाशन, चर्चा–परिचर्चा गरी सकेको छ ।

वार्षिक स्रष्टा सम्मान अन्तर्गत १० शृङ्खलामा वाङ्मयिक साधक २० जना, १७ समाजसेवी र राष्ट्रसेवी सत्पात्रलाई संस्थाले सम्मान गरिसकेकोमा यस पटक उक्त सम्मान अर्पण गर्ने वातावरण नरहेकाले प्रतियोगिता आयोजना गरिएको संस्थाका महासचिव ओमकार लामिछाने बताउँछन् ।

प्रतियोगिताका सहभागीले कुनै माध्यमबाट प्रकाशन–प्रसारण नभएको बढीमा ३ सय शब्दको कविताको मौलिक भिडियोसँगै कविताको डिजिटल कपी, व्यक्तिगत विवरण, परिचय खुल्ने कागजको प्रतिलिपि र हालसालैको पासपोर्ट साइजको फोटो पठाउनुपर्ने जनाइएको छ ।

प्रारम्भिक छनौटमा परेका भिडियो संस्थाको आधिकारिक युट्यूब च्यानल ‘सक नेपाल’ मा अप्लोड गरिने र प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुनेलाई क्रमशः ११,१११।–, ५,५५५।–, ३,३३३।– नगदसहित प्रमाणपत्र र बाँकीलाई उत्कृष्टताको प्रमाणपत्र प्राप्त हुने संस्थाका अध्यक्ष कृष्ण रानाभाट सारथिले जानकारी दिए । वर्तमान असहजतालाई सहज होस् भन्ने उद्देश्यले संस्थाले कार्तिक ७ गते मात्रै सङ्घर्षमा कलमको आधिकारिक च्यानल सार्वजनिक गरेको थियो ।

प्रतियोगिताका लागि मंसिर २५ गतेसम्म संस्थाको इमेल ठेगानामा कविता पठाइ सक्नुपर्ने र प्रतियोगिताको निर्णयमा दर्शकको भियूज, शेयर, सस्क्राइब, लाइक र कमेन्टको ४० प्रतिशत भूमिका रहने संस्थाले जनाएको छ । निर्णायकबाट माघ १ गते उत्कृष्ट १० कवि र माघ १० गते अन्तिम नतिजा घोषणा हुने संस्थाका उपाध्यक्ष पूर्ण नेपाली बताउँछन् ।

Facebook Comments

You may also like

error: Content is protected !!