नोस्टाल्जिया

प्रवीणले मरिहत्ते गर्यो । कुनै लेख लेख्नुपर्यो भनेर ।
भनेँ “के लेखौँ”?
“जे सम्झन्छस्, त्यही लेख् ।”
मैले भनेँ “सम्झेका सबै कुरा लेख्न सकिँदैन । लेखेका सबै कुरा सम्झन लायक पनि त हुँदैनन् ।”
“त्यसो भए सम्झन लायक कुरा लेखुँ ।”

के लेखौँ ? अँह, मसँग कुनै आइडिया छैन । ल्यापटपका कृत्रिम खाली पन्नाहरु लिएर बसेको पनि घण्टौँ भइसक्यो । केही फुरेको भए त मर्नु । आधा बर्ष भयो होला कुनै लेख नलेखेको । लेखेको भए खारिन्थेँ हुँला । निखारिन्थेँ हुँला । केही न केही त पक्कै लेखिन्थ्यो होला । मेरो अल्छीपनाको उपज हो सबै ।

यो मैले भोगेको कथा हो । कसैले बुझ्न भनेर पनि लेखेको हैन । मेरो स्वतन्त्रताको कथा । कसैले पढिदिउन् भनेर पनि लेखेको हैन । म मेरा पुङ न पुच्छरका विचार पढाएर तपाईंको समय पट्यारलाग्दो बनाउन पनि त सक्दिनँ । कहिलेकाहीँ आनन्दका निम्ति लेखी टोपल्छु । कसैले फुर्क्याएर “ठिकै लेख्छस त,लेख् न !” भनिदियो भने लेख्छु । कसैले “झुर लेख्छस् यार, केही नलेख्!” भन्दा पनि लेख्छु । जाँगर चल्दा दिनभरी पढेर बस्छु । अल्छी लाग्यो भने महिना दिनसम्म पनि किताब पल्टाउदिनँ । यी सबै मेरा कुरा हुन् ।

जन्मेदेखी ७ बर्षसम्मका केही धमिला यादहरु भोजपुरमै छाडेर आएँ । ती स्मृतिहरु कुनै दिन गाँउ गएर टपक्क टिपेर ल्याउनेछु । र, सम्झेर पुरा कथा लेख्नेछु । मैले सम्झँदा सम्म घरको अवस्था दयनिय थियो । घरको चुहिने छानोबाट पानी झर्ने बलेसी, गोठमा एक हल गोरु, गढी भिरबाट आमाले ल्याएका भारीका भारी घास सम्झिन्छु ।

आकशमा उडिरहेको हवाईजहाज देखेर मैले एकदिन आमालाई सोधेको थिएँ “आमा, यो हवाईजहाज काँ जान्छ ?” आमाले यसो टाउको माथि पारेर हेर्दै भन्नुभयो “यो त, तेरा बा चढेर जाने हवाईजहाज हो । ‘बा’, चढेर जाने हवाईजहाज भन्ने थाहा पाएको दिनदेखि म ‘बा’को पछिपछि दगुर्न थालेँ । म हवाईजहाजको पछि पछि हुन्थेँ । श्रवण शक्ति कम भएको आभास दिँदै हवाईजहाज क्षितिजमा पुग्थ्यो । म खाल्डामा परेर लड्थेँ । दिनहुँको यात्रा यसरी नै टुङ्गिन्थ्यो ।

लेख्दा लेख्दै म बहकिएँ हगी ? कताको कुरा कता पो पुर्याएछु । बच्पन र हवाईजहाजको भेट भएपछि यसै बहकिइने क्या ! अब सुरु गरेँ है त ?

मधेश झरेपछिको कुरा हो । केहीका घरमा मात्र बिजुली थियो । अधिकांश घरमा त टुकी नै बल्थे । अहिले पनि सम्झन्छु । टुकीको मधुरो प्रकाशमा दुई एकान दुई कण्ठस्थ पारेका दिनहरु । अनौठो भूमिबाट आएका दिन थिए ती । गाँउमा त्यतिका विधि चिनजान थिएन । मेरा निम्ति सबै कुरा नयाँ थियो । बेलुका महाभारत, विष्णुपुराण जस्ता धार्मिक चित्र टिभीमा आउँथे । गाँउभरिका मान्छे भेला भएका हुन्थे ।

एकदिनको कुरा हो । कथा भने जस्तो त सुनिएन नी ? ल, ठिक छ त्यसोभए ।

सानो थिएँ । त्यस्तै नौ/दश बर्षको थिएँ कि ? गाँउका केही घरमा मात्र टिभी थिए । भिसिडी त क-कस्कोमा पो थियो, याद छैन । बेला-मौका पारेर हामी घर-घरमा टिभी हेर्न पुग्थ्यौँ । ‘तितो सत्य’, ‘मेरी बास्सै’ जस्ता हास्यव्यङग्य हाम्रा रोजाइमा पर्थे । कसैका घरमा गएर फिल्म हेर्न पाउनु भनेको महाभारतको युद्ध जिते सरह हुन्थ्यो । मैले त्यतिबेलासम्म भुवन के.सी.को ‘नेपाली बाबु’, राजेश हमालको ‘मङलशुत्र’ र दिलीप रायमाझीको ‘बन्धकी’ हेरिसकेको थिएँ । त्यतिबेला क-स्कोमा के-के हेर्दैछन् भनेर हामी खुबै चियोचर्चो गर्थ्यौँ ।

एकदिन एउटा साथी घरमा आयो । उसले गाँउमा निखिल उप्रेतीको नयाँ चलचित्र लाग्ने चाल पाएछ । हामी दुबै फुर्किँदै गयौँ । गाँउको सानो अँध्यारो कोठामा हाम्रो सिनेमा घर थियो । गाँउका सबै केटाहरु भेला भएका रहेछन् । महिला भने कोही थिएनन् । मेरो उमेर समूहका भने हामी दुईजना मात्र थियौँ । सबै मुसुमुसु हाँस्दै चलचित्रको प्रतिक्षामा थियौँ ।

हिरोजस्तो देखिने दाइले चक्का पुछेर (डि.भि.डि) डेगमा हाल्नु भयो । चलचित्रको सुरुमा नाम दिएन । नायक नायिका को हुन् भनेर पनि चाल पाइएन । कसले छायाँकन गरेको त झन् किन पो देखाउँथ्यो र ? एक्कासि चलचित्र सुरु भयो । एक-सय-एक नै पुरुष आँखाहरुका आगाडि सुरुमै एकजना महिला देखापरिन् । स्क्रीनमा देखा परेकी ती महिला आफ्नै कर्ममा व्यस्त भइन् । त्यस्को एकछिनपछि पुरुष पनि त्यहाँ देखा परे । अनि त,के-के हो के-के !
ए, आम्मा ! मलाई त डर लागेर पो आइहाल्यो । कानका लोती राताराता भए । जिउ पसिनैपसिना भयो । महिला पुरुष त देखिरहेकै भएपनि त्यो दृश्य मेरा लागि बिल्कुल नौलो थियो । नौलो हुनु मात्र डरलाग्दो हुनु त पक्कै हैन होला । कि नौलोपनको पनि किसिमहरु हुन्छन् ? हुन्छन् भने त्यो कुन किसिमको नौलोपन थियो ? केही भेउ नपाइरहेको हायलकायल म चप्पल ओछ्याएर भुँइमा टुक्रुक्क बसेको थिएँ । बिस्तारै ! हातमा चप्पल घुसारेँ, किन घुसारेँ थाहाछैन । आखाँ यताउता दगुराएँ, किन दगुराएँ त्यो पनि थाहाछैन । सबै चलचित्रमा मस्त थिएँ, म भने कुन्नि किन अस्तव्यस्त थिएँ । उठेर यसरी कुदेँ कि सबै दाइहरु छक्क परे । पछाडिबाट कोही चिच्याउँदै थियो “केही हुँदैन, केही हुँदैन, आइज बस्”। तर केही त भइसकेको थियो । तर के ? खै, के-के ! घर नपुगुन्जेल गोडा रुकेनन्, मुण्टो बटारिएन । पुग्दा मेरा गोडा र मुटु दुवै लुगलुग काँपिरहेका थिए । त्यसपछिका यादहरु धमिला लागिरहेछन् । त्यसपछि के भयो ? कसरी म शान्त भएँ ? दृश्य सङ्लिएर आए पक्कै लेखिएला कि ?

बोर नमानी पढिदिनु भयो । धन्यवाद है सबैलाई ! लेख मन परे “फेरि लेख्” भन्नुहोला । मन नपरे “आइन्दा नलेख्” भन्नुहोला । हस् त म अब कामतिर लागुँ !

Image Source: The Loop

Facebook Comments

You may also like

error: Content is protected !!