नोस्टाल्जिया

म बाल्कोनीमा बसेर चुरोटको अन्तिम खिल्ली सल्काउँदै थिएँ । जाडोमा बाहिर बसेर चुरोट पिउनुको मज्जा सायदैलाई थाहा होला । सामान्य झैँ थियो, रातको त्यो सुनसान वातावरण । एक पफ धुवाँ छोड्दैगर्दा मैले पर्खालबाहिर यौटा मानवाकृति देखेँ, हातको इशाराले मलाई बोलाईरहे जस्तो । थोरै डर उब्जियो, मनमा । ‘यति राति को हुन सक्ला ?’

लगभग साँढे १२ भएको हुनुपर्छ । रातमा म घडी लाउन्नँ, फोनको पनि मतलब हुन्न चुरोट पिउँदा । एक्कासि प्रेतात्माको भय पस्यो र मन ढक्क फुल्यो । जति नै निडर छु भने पनि, यस्ता अप्रत्याशित अवस्थाहरुले नजानिँदो किसिमले मुटु हल्लाउने रहेछन् । आकृति गेटमै आएर मलाई ऊ भएतिर आउन इशारा गर्न थाल्यो । प्रेतहरु कहिल्यै देखेकी थिइनँ, देख्ने ईच्छा भए पनि । देखिहालेँ भने पनि यसरी डराउँछु भनेर त सोचेकै थिइनँ, तर डराएँ । खैर, मलाई यो अवस्थाप्रति भन्दा आफैप्रति विश्वास ज्यादा थियो । त्यसैले त होला डरमै पनि एक तरिकाको उत्साह थियो । प्रेतात्मालाई नजिकबाट देख्न मन भयो । धुवाँ फ्याँक्दै म गेटतिर बढेँ ।

उफ् ! मेरो अगाडि कुनै प्रेतात्मा नभएर, उही यौटा गुमनाम लेखक उभिएको थियो, जसलाई मैले पाठकपत्रको रुपमा अनगिन्ती प्रेमपत्रहरु पठाएकी थिएँ । जसले मेरो पत्रहरुको कहिल्यै जवाफ फर्काएन, ऊ आज यो मध्यरातमा मेरो सामु किन उभिन आयो ? केहीक्षण त मैले उसलाई हेर्न सकिनँ । नहेर्ने प्रयत्न धेरै अघिदेखि गर्दै आएथेँ, त्यसैले हुनसक्छ । तर बिस्तारै स्थितिले मलाई सामान्य बनाउँदै ल्यायो या त मैले स्थितिलाई सामान्य बनाउन खोजेँ ? जे होस् मेरा आँखाहरुले उसलाई पछ्याउन थाले । उसको हातमा किंगफिसरको यौटा आधा रित्तो बोतल थियो । केही सोध्न खोजेँ, उसले पनि केही भन्न खोजे झैँ गर्यो । तर हामीबिच कुनै वार्तालाप हुनु अगावै उसले मेरा औँलाहरु बीचबाट तानेर चुरोटलाई आफ्नो ओठहरुको बीचमा च्याप्यो । यो असामान्य स्थिति हुनसक्थ्यो, यदि मनलाई स्थितिकै वशमा छोडिदिनु हो भने । तर, आफैले वशमा राख्न खोजेर मन स्थितिलाई सामान्य तुल्याउन खोजिरहेथ्यो । आफ्नो भावमा नबगेर म उसको भंगिमा नियाल्न थालेँ । ऊ अति छिट-छिटो धुँवा फ्याँकिरहेथ्यो । नाक अनि मुखबाट । त्यस रफ्तार हेर्दा यस्तो प्रतित हुन्थ्यो कि मानौँ ऊसँग समय नै छैन, आधा चुरोट आरामले तान्नसम्म ऊसँग समय छैन ! तर आज ऊ मलाई भेट्न आएको छ । थाहाछैन मलाई भेट्न ऊ कुन समय लिएर आएको छ, त्यो पनि यो मध्यरातमा ….

उसलाई नदेखेको धेरै भइसकेको थियो । “आजकल उसले लेखहरू छपाउनै छाडेको छ” यस्तो सुनेकोपनि धेरै भइसकेथ्यो । हुन त मैले उसको खबर नै कहाँ राखेकी थिएँ र ? करिब १ वर्षदेखि म पनि त पलायनमा थिएँ ! पलायन ? यो शब्द नै मलाई लाग्छ म आफैमाथिको भद्दा मजाक हो । खैर, कतिपय स्थितिहरु आफ्नो वशमा हुँदैनन् । नचाहेर पनि म हुत्तिएँ उही नोस्टाल्जियामा ।

उसको लेखकीको फ्यान म । ईमेल चलाउने भए पनि म उसको लेखहरुको प्रतिक्रिया चिठीबाटै दिन्थेँ । कुन्नी किन ? तर उसलाई कलमले लेखेर पठाउनुमा वेग्लै आनन्द भेट्थेँ म । अचानक एकदिन, ऊ विवाहित र बच्चाको बुबा हो भन्ने थाहा पाएपछि मन यस्सै यस्सै विरक्तिएको थियो । कलमले लेख्नुको आनन्द कतै तुहिएको थियो । उसले मेरा पत्रहरुको जफाव नफर्काउनुको जफाव मैले पाइसकेकी थिएँ, जो सहन मैले आफुले घृणा गरेकै बाटो रोज्नु परेको थियो, पलायनको बाटो ! सायद म उसको शब्दहरू सँगसँगै उसैलाई प्रेम गर्न थालिसकेकी थिएँ । ति शब्दहरु कसले लेख्थ्यो ? विवाहितले या अविवाहितले ? यो सोच्ने कुरा थियो कि थिएन, तर मैले सोचिनँ । कहिलेकाहीँ यस्तै नसोचेका कुराहरु नसोच्नुले नै दुर्घटना निम्त्याउन सक्दारहेछन् । म दुर्घटित भएकी थिएँ, उसका बारेमा नसोचेको यथार्थ थाहा पाएर । उसको लेखहरु पढेँ भने प्रतिक्रिया लेख्न मन लागिहाल्थ्यो । त्यसैले पढ्नै छाडिदिएँ ।पछिपछि पढ्ने मन पनि क्रमशः मर्दै मर्दै गयो ।

अँ त, ऊ जोड-जोडले चुरोट पिइरहेको थियो, चुरोट सकेर कतै उडिहाल्नु छ जसरी । सोचेँ, ‘बौलाएछ क्या हो?’ फेरि हुलिया हेरेँ, ठिकठाक थियो । १ वर्षअघि जस्तो देखिन्थ्यो, उस्तै थियो । अन्तिम सर्को तानिसकेर चुरोटको ठुटा फ्याँक्दै उसले भन्यो ‘तिमीलाई धेरै खोजेँ बरी मैले । मैले आश्चर्यको दृष्टि फ्याँक्न नपाउँदै उसैले भन्यो फेरि उस्तै हतारो अन्दाजमा ‘किन ? कसरी ? भनेर पछि सोध है ! अैले म तिमी सँगसँगै पिउन चाहन्छु । नाइँ नभन है ? प्लिज !’ आधाभरी किंगफिसर उसले मतिर बढायो । यतिखेरसम्म हामी फलैँचामा बस्न भ्याइसकेका थियौँ । उसको रफ्तारमा मैलेपनि आफ्नो गति मिसाइदिएकी थिएँ, सायद नजानेरै, सम्मोहित झैँ ! उसले बढाएको किंगफिसर लिएर मैले घुटुक्क निलेँ, फेरि घुटुक्क निलेँ अनि घुट्घुट् निलेँ, मुख बिगार्दै । कडा किंगफिसर घाँटी, आमाशय, आन्द्रा पोल्दै पोल्दै पेटसम्म पुग्यो । मलाई पानी प्यास लाग्यो । हिक्क हिक्क बाडुल्की लाग्न थाल्यो । उसलाई बोतल थमाएर म पानी लिन भित्र गएँ । अनि दुवै मिली पानी मिसाई मिसाई आधा रित्तो किंगफिसरलाई पुरै रित्याईदियौँ ।

ऊ फेरि भन्न थाल्यो ‘म धेरै अघिदेखि तिमीलाई प्रेम गर्छु बरी । सायद ! तिम्रो पत्र आउँदादेखि नै । हो, तिम्रो कुन‌ै आकृति त थिएन मेरो दिमागमा, तर तिमीप्रति लगाव थियो ।’

लाग्दै थियो ऊ सायद झुक्कियो या त रक्सी चढ्यो उसलाई । तर, नाम त मेरै लिइरहेछ । ऊ बोल्दै थियो, तर बिचमै मैले भनेँ ‘तिमी त मलाई चिन्दैनौ पनि, म त तिम्रो लागि एक पाठक न थिएँ । यसरी हाम्रो भेट कहिल्यै भएको पनि त थिएन । फेरि प्रेम कसरी ? अनि किन भन्दै छौ मलाई यो सब ?’
-‘तिमी मलाई प्रेम गर्छौ अनि म तिमीलाई ! म सोच्छु, प्रेममा कुनै कुरा लुक्नु हुँदैन ।’
-‘ओ लेखक! ओ लेखक!! तिमी भ्रममा छौ । म कसैलाई प्रेमस्रेम गर्दिनँ।’
-‘तिमी चाहिँ बरु सत्यलाई भ्रम मानेर बस्ने कोसिस गर्दै छ्यौ बरी । मैले बुझिसकेको थिएँ तिमी मलाई प्रेम गर्छौ भनेर । मैले पनि तिमीलाई सायद प्रेम नै गरेँ तर, त्यतिखेरसम्म मेरो विवाह भइसकेको थियो र सायद तिमी जान्दछ्यौ उनीसँग मैले प्रेमविवाह गरेको हुँ।’

मैले थाहा पाईसकेकी थिएँ, उसको प्रेमविवाह भएको हो र उसकी श्रीमती अति सुन्दर छिन् भनेर । मेरो पलायन हुनुको कारण पनि त यही थियो ।
-‘तिमी…! तिम्रो पहिल्यै प्रेमविवाह भइसकेको छ । फेरि तिमी मसँग न कहिल्यै भेटियौ, न त मेरो पत्रको प्रतिक्रिया नै दिन्थ्यौ ! यो प्रेमस्रेम क्यै पनि होइन।’
-‘प्रेम हुनलाई के गर्नुपर्छ ? के गर्नुहुँदैन ?’
-‘तिम्रो विवाह होइन, प्रेमविवाह भएको हो । फेरि अरु कसैसँग कसरी प्रेम हुनसक्छ ? यौटा प्रेम हुँदाहुँदै अरु कसैसँग प्रेम हुन्छ भने, त्यो प्रेम होइन, आकर्षण मात्र हुन्छ । जीवनमा प्रेम कतिपटक हुन्छ ?’
-‘त्यसको उत्तर त मसँग छैन । मैले आफैलाई यसको उत्तर दिन सकेको छैन । तर, प्रेम एकजनासँग मात्र हुन्छ या हुनुपर्छ भन्ने म मान्दिनँ।’
-‘तिमी त आफ्नो सिद्धान्तको कुरा गर्दै छौ । तर, यो कसैको लागि धोखा प्रतित हुन्छ । तिमी भ्रममा छौ लेखक ।’
-‘यो धोखा होइन । मैले उनलाई प्रेम गर्न छाडेको छैन । तिमीलाई प्रेम गर्छु भन्दैमा उनलाई गर्ने प्रेम घटिहाल्छ भन्ने म सोच्दिनँ । प्रतिक्रियाको सवालमा पहिलो पत्रकै प्रतिक्रिया लेखेर पनि पठाउन सकिनँ ।’
-‘किन?’
-‘म चाहन्थेँ, तिमी कुनै विवाहित पुरुषको प्रेममा अल्झेर आफ्नो यात्रामा ढिला नहोऊ ।’
-‘अहिले चाहिँ अविवाहित भयौ ? तिमी यो बुझ कि मान्छेहरु सिर्फ प्रेम मात्र होइन साथ पनि चाहन्छन् । कसैलाई प्रेम गर्छु भन्नु र प्रेम गर्नु फरक कुरा हुन्।’
-‘मैले भन्न खोजेको त्यस्तो होइन। म तिमीसँग प्रेमको नाउँ चढेर दूरदेश जान चाहन्छु । तिमीलाई प्रेमको यकिन सायदै दिन सकुँला तर, साँच्चै प्रेम गर्छु तिमीलाई। प्लिज् लभ मी बरी ! तर, प्रेम गर्नु नगर्नु तिम्रै हातमा छ ।’

दूरदेश ! मैले उसको आँखामा हेरेँ, प्रेमजस्तो केही चिज देखेजस्तो भयो र मभित्रको प्रेमिका मन पग्लिन खोज्यो । यतिखेरसम्म म सोच्थेँ, मैले उसलाई प्रेम गर्न छोडिसकेकी थिएँ तर, घृणाजस्तो पनि त क्यै गर्दिनथेँ । ऊ सँगसँगैँ उड्ने सपना भने मरिसकेको थियो या म आफैले मारेकी थिएँ । उसकी श्रीमती र छोरीको बारेमा सम्झाउन जसै उसको काँधमा हात राखेँ, उसको शरीरमा कम्पन भयो । उसले निमेषभर आँखा चिम्लियो अनि खोल्यो । मैले उसको आँखामा म होइन, उसकी सुन्दर श्रीमती र मायालु छोरी देखेँ । म प्रश्नशृङ्खलाहरूसँग ठिङ्ग उभिरहेँ, ऊ मेरो करिब आयो । अङ्गकमाल गर्यो अनि ओठमा ओठैले हलुका छोयो ।

त्यसपछि, मतिर हेर्दै नहेरी ऊ अँध्यारोमा अँध्यारै बनेर विलायो । म ठुटे गुलमोहरको रुखमुनि उस्तै ठुटो भएर ठिङ्ग उभिएँ । मेरो आँखाबाट प्रेमजस्तो केही चिज बग्न थाल्यो । वर्षौँदेखि भित्रभित्रै दबाएर राखेको सायद आज आँखाको बाटो गरेर निकाल्नलाई रहेछ । छेउको पहेँलो गुलाफलाई हेरेँ, त्यसले पनि मलाई नै हेरेजस्तो लाग्यो । मलाई चुरोटको तलतल लाग्न थाल्यो । जसै कोठातिर जान पाईला सार्दै थिएँ, एक्कासि चक्कर आयो । म ढलेँ । भोलिपल्ट मलाई कसैले उसकै बारेमा भन्दै थियो, ‘‌महिना दिन जस्तो अघि त्यो लेखकको त, उसकी श्रीमती र छोरीसहित पुल्चोकबाट महाराजगन्जतर्फ जाँदै गर्दा गाडी दुर्घटनामा परेर मृत्यु भयो रे !’

PinImage

Facebook Comments

You may also like

error: Content is protected !!