गुनासो छैन कि म लेख्न सक्दिनँ | SATURDAYकलम | Kavyalaya - काव्यालय

गुनासो छैन कि म लेख्न सक्दिनँ

लेख्न एकदमै मन परेपनि म आजभोलि धेरै लेख्दिनँ वा भनौँ धेरै लेख्न सकिरहेकी छैन । मलाई लेख्न मन पर्नुको कारण योपनि हुनसक्छ कि म मनमा कुरा राख्न सक्दिनँ र कतै/कसैलाई पोखिहालुँ जस्तो लाग्छ । तर लेख्न मन लाग्नु जति सजिलो छ त्यति सजिलो लेखिहाल्न भने पटक्कै छैन, भन्न खोजिएका कुरा हरेक पल्ट उस्तै उत्रिन्छन् नै भन्ने हुँदैन । यसको जिउँदो जाग्दो नमुना म आफै हो । कतिपल्ट के के लेख्न मन लाग्छ तर फिटिक्कै सक्दिनँ जस्तो कि खिर खाएर पाठकलाई भन्न सक्दिनँ त्यो कति मिठो लाग्यो मलाई, हावाले कपाल उडाएर जाँदा भन्न सक्दिनँ कि कसरी त्यसले मेरो आँङ सिरिङ्ग बनायो । यो पनि वर्णन गर्न सक्दिनँ कि शीतल र रक्तिम आकाशले के गर्छ मेरो हृदयलाई । न वर्णन गर्न सक्छु त्यो तुलसीको मठमा बालिएको धुप, दियो र फूलहरुको कक्टेल बास्ना जसले हरेक साँझ मलाई चौबाटोदेखि घरसम्म पछ्याउँछ ।

मलाई अचम्म लाग्छ, के यस्तो मलाई मात्र हुन्छ ? अरुले लेखेको देख्छु, कति सजिलै दुनियाँ/जगतका कुरा लेख्न सक्छन् । चाहे भोगेर वा नभोगेर, कालका, मोक्षका, जीवन आदिका कुरा लेख्न सक्छन् । के यो गलत हो ? लेख्नु गलत कसरी हुन्छ ! पक्कै पनि होइन तर के यसरी विना कुनै भोगाइ, विना कुनै भावना लेखिएका लेखहरू पढ्न योग्य हुन्छन् ? खास गरी तब, जब कुनै लेखले, लेखक र पाठकबिच एउटा पुलको काम गरिरहेको हुन्छ । कवि पारसमणि प्रधानले भनेको सम्झन्छु “कवि कविता होस्, कविता कवि होस्, तब पो हुन्छ, शब्द थुपारिकन के हुन्छ, भाव भए पो हुन्छ ।” तर जति जति यी भर्चुअल लेखकहरूको जमात बढ्दै गएको छ र उनीहरूको पाठक वा श्रोतासम्म जोडिने माध्यमहरु सहज हुँदै गएका छन् , त्यति नै माथि लेखिएको भनाइ फितलो हुँदै गएको छ । लेख्नेहरू भावना र लेखनप्रतिको इमानदारी छोडेर, जल्दोबल्दो घटना के छ ? कुन कुराले पाठकहरूलाई इमोस्नल्ली स्ट्राइक् गर्न सक्छ ? कुन कुरा चाहिँ अल्लि अलग, युनिक छ ? भन्ने विषयहरूबाट प्रेरित भइरहेको पाइन्छ जसको फलस्वरुप आज युनिक हुनेहरूको पनि ठूलो भिड जम्मा भइसकेको छ ।

खासमा हामी नै हौँ जो उनीहरूलाई यसरी लेख्न प्रेरणा दिन्छौँ र हामी नै हौँ जो ती विचरा युटुबका पत्रकारहरुलाई गाली गर्छौँ । मलाई लाग्छ आजको लेखन संस्कृतिमा पनि नजानिँदो तरिकाले नेपोटिजम, ग्रुपिजम, फेम र फेकनेसजस्ता कुरीतिले जरा गाड्न थालेको छ । नव लेखकहरू आफूले के भोगेँ, के महसुस गरेँ भन्दा पनि, पाठकलाई के ले लोभ्याउँछ, के लेख्दा चाहिँ धेरै ताली पाइन्छ, भ्यूज पाइन्छ भन्ने कुरालाई सबैभन्दा अगाडि राखेर चलेको देखिन्छ । आधुनिक युगका लेखकहरूले सामाजिक सञ्जालमा आफ्नो प्रतिभा देखाउनु र हाइ कम्पिटिसनमा लेखनलाई अघि बढाउनु एकदमै राम्रो हो भन्ने कुरामा सायदै कसैको दुई मत होला तर यो कम्पिटिसन, आजभोलि ग्रुपिजम र नेपोटिजमको रूपमा मौलाएको छ ।

यो मेरो साथी, यसले मेरोमा कमेन्ट, लाईक गर्छ , मैलेपनि गर्नुपर्छ भन्नेजस्तो अवस्था बन्न थालिसकेको छ ।

हुनसक्छ यसको कारण, इतिहासले छाडेका ती नमिठा स्मृतिहरू हुन् , जसले लेखकहरूलाई आफू कतै पछाडि परिने, छुटिने, लोप हुइने डर पहिल्यै देखाइदिएको छ । सायद आफू जबरजस्ति देखिन नखोजे आफ्नो पालामा नगनिएका, नदेखिएका, र पुरस्कृत नभएका भूपि र देवकोटाजस्तै भइन्छ भन्ने डरले पो हो कि ? नत्र आखिर के कुराले यस्तो विचार भावको सृजना हुँदै छ नव-लेखकहरूबिच ?

मैले यसो भन्दै गर्दा, मै हुँ हनुमान र मैले नै लङ्का जलाएकी हुँ भन्न भने खोजेकी होइन । यो लेख्नु भनेको मैले सडकमा गएर, लुगाभित्र शरीर नाङ्गो छ है भन्नु सरह हो । तर पनि म यो नलेखिरहन सकिनँ किनकि यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर मैलेपनि भोग्नु परिरहेको छ । म एउटा सिकारु लेखक हुँ जसलाई सोचेर, धेरै विचार विमर्श गरेर, काटेर, छाँटेरभन्दा पनि सादा भाषामा हृदयका र भोगेका कुरा लेख्न मन लाग्छ । भनौँ यही नै मेरो विकासको प्रक्रिया हो । तर यस्तो अवस्थामा जहाँ पाठकहरू हरेक दिन लेखनमा ड्रामा/ तड्का / ट्विस्ट खोज्छन् र सिधा साधा लेखनलाई लेख्न नजानेको उपमा दिन्छन् त्यहाँ धेरैपल्ट मैले आफूलाई निमोठिन लागेको मुनाजस्तै पाएकी छु ।

रफ्तारमा दौडिरहेको, कराइरहेको ठूलो भिडसँग भाग्न, चर्को बोल्न नसकेर थाकेको, निसास्सिएको, हारेको भरियाजस्तो महसुस गरेकी छु । यसले कतिदिन मलाई मानसिक सँगसँगै भावनात्मक तनाव पनि दियो । धेरै समय लाग्यो, यति मात्र बुझ्न कि हरेकपल्ट रेसमा भाग लिनु जरुरी छैन र यी सबले केही फरक पनि पार्दैन । म लेख्न सक्दिनँ । जोर जबरजस्ति, कनिकनि, मनमा कुनै चासो नभई, भावना नभई, न म जीवन एकदम राम्रो छ भनेर लेख्न सक्छु, न साह्रै नराम्रो छ भनेर लेख्न सक्छु । म देशप्रेममा ओतप्रोत भएको कविता/कथा लेख्न सक्दिनँ जबसम्म म साच्चिकै हुँदिनँ । म मनभरि रिस पालेर प्रेमको गीत लेख्न सक्दिनँ । न त मनभरि प्रेम राखेर गालीका दुई नारा लेख्न सक्छु । म एउटा भोगी भएर योगका, साधनाका, सन्यासका ढोङ्गी कविता लेख्न सक्दिनँ । मन नपरी नपरी ‘वाह’ लेख्न सक्दिनँ । र यदि यही नै लेख्न नजान्नु हो भने, कुनै गुनासो छैन कि म लेख्न सक्दिनँ ।

कुनै समर्थन छैन यो कुरामा कि लेखकहरूको एक अर्का प्रतिको माया र सद्भावले कुनै लेखलाई राम्रो बनाउँछ ।

Facebook Comments

You may also like

error: Content is protected !!