अमृता प्रीतमको 'याद' | नेपाली कागज | काव्यलय - Kavyalaya | मोहित जोशी

अमृता प्रीतमको ‘याद’

अमृता प्रीतमको परिचय कवि स्वयंले लेखेको पोर्ट्रेट कविताबाटै सुरु गरेँ।


अमृता प्रीतम

एक वेदना थियो—
जो सिगरेट जसरी मैले चुपचाप पिएकी हु
बस् केही कविता छन्—
जो सिगरेटबाट मैले राख जसरी झारेकी छु। ”


अमृता प्रीतमको जन्म सन् १९१९ मा पाकिस्तानको पंजाब प्रान्तको गुजरांवाला शहरमा भएको हो । पञ्जाबीको सबैभन्दा लोकप्रिय लेखकहरू मध्ये एक थिइन् । अमृता प्रीतमलाई पञ्जाबी भाषाको पहिलो कवियत्री मानिन्छ । उनले लगभग १०० पुस्तकहरू लेखेकी छिन् जसमा उनको चर्चित आत्मकथा ‘रसीदी टिकट’ पनि समावेश रहेको छ । अमृता  ती साहित्यकारहरू मध्ये थिइन् जसको कृतिहरूलाई अनेक भाषाहरूमा अनुवाद गरिएको थियो । उनलाई साहित्य एकेडेमी पुरस्कार र अन्तिम दिनहरूमा  भारतको दोस्रो सबभन्दा ठूलो सम्मान पद्म भूषण समेत प्राप्त भएको थियो । 

बिम्बात्मक कविता लेख्न रुचाउने अमृताको जीवनपनि एउटा सुन्दर कविताभन्दा कम छैन । जब जब उनको जीवनको चर्चा उठ्छ, तीन नाम छन् जो पनि यति अकाट्य छन् कि सँगसँगै उठिदिन्छन् । अमृताको ६ वर्षको उमेरमै विवाहको लागि कुरा छिनिएको थियो र ११ वर्षकै सानै उमेरमा उनकी आमाले उनलाई छोडिन् । १६ वर्षकै उमेरमा उनको विवाह प्रीतम सिंहसँग भयो जो एक सम्पादक पनि थिए, जुनै साल उनले आफ्नो पहिलो पुस्तकपनि प्रकाशित गरेकी थिइन् । अमृता बेहद भावुक थिइन्, तर त्यत्तिकै सुन्दरताका साथ उनलाई आफ्नो भावना र सम्बन्धकोबीच सामञ्जस्य मिलाउन आउँथ्यो । विवाह प्रीतम सिंहका साथ भएपनि उनले प्रेम आजीवन  साहिर लुधियानवीसँग गरिन् । साहिरसँगको प्रेम मनमा भएका कारण वैवाहिक जीवनबाट बाहिर निस्कन फैसला लिइन् र निस्किइन् पनि । तर फेरि साहिरले पनि उनको साथ छोडे । तर अमृताले साहिरलाई प्रेम गर्न छोडिनन् । खैर, आफूले प्रेम गरेको व्यक्तिको फैसलाप्रति स-सम्मान उनी त्यस सम्बन्धबाट पनि अलग भइन् । 

त्यसपछि उनको जीवनमा चित्रकार इमरोज आए । अमृताको जीवनमा इमरोज निकै ढिलो आएका थिए । कहिलेकाहीँ अमृता इमरोजसँग गुनासो गर्ने गर्दै सोध्ने गर्थिन्, ‘तिमीले मलाई मेरो जिन्दगीको साँझमा किन भेट्यौ, यदि भेट्नु नै थियो भने दिनमा भेट्नुपर्थ्यो’ । दुवैले एक साथ बस्ने फैसला गरेँ र पहिलो दिनदेखि नै दुवै एकै छानोमा अलग-अलग कोठामा बस्न थाले । जब इमरोजले अमृतासँग बस्ने चाहना व्यक्त गरे तब उनले भनेकी थिइन् सारा संसार घुमेर आऊ र फेरि पनि तिमी साथै बस्न चाहन्छौ भने म यही ठाउँमा तिम्रो प्रतीक्षा गरिराखेकी हुनेछु ।  तब कोठाको सात चक्कर लगाएपछि इमरोजले पनि भनेका थिए, ‘सारा दुनियाँ घुमेँ, म अझै पनि तिम्रो साथमै बस्न चाहन्छु ।’ यसरी उनीहरूले साथसाथ बस्ने फैसला लिए र भन्नुपर्छ यो साथ रहने फैसला सफलतासाथ सम्पन्न हुन गयो । अमृताले अन्तिम श्वास लिँदा पनि इमरोजको साथमै लिइन् ।

जब अमृता रातीको समयमा शान्तिसँग लेख्ने गर्थिन् तब इमरोज सुस्तरी चियाको कप उनको समीपमा राखेर जान्थे । र यो क्रम केही दिनलाई, महिना या वर्ष नभएर पुग नपुग पाँच दशकसम्म उस्तै चलिरह्यो । जब इमरोज उनलाई स्कुटरमा कतै लैजान्थे अमृताको औंलाहरु सधैँभरि इमरोजको पीठमा चलिरहन्थे, उनी केही लेखिरहन्थिन् । र यो कुरा इमरोजलाई पनि थाहा थियो कि उनले आफ्नो पीठमा लेखेको शब्द अरु केही नभएर ‘साहिर’ नै हो भनेर ।

जब उनलाई राज्यसभाको लागि मनोनीत गरियो, हरेक दिन इमरोज उनीसँगै संसद भवन जान्थे र बाहिर बसेर अमृता नआाउन्जेलसम्म घण्टौं पर्खिराखेका हुन्थे । अक्सर मानिसहरू सम्झन्थे कि इमरोज अमृताका ड्राइभर हुन् । यति मात्र नभई इमरोजले अमृताका लागि आफ्नो करियरको साथ पनि सम्झौता गरे । उनलाई केही राम्रा अफर आए तर उनले अमृताको साथ रहनकै लागि त्यसलाई पनि त्यागिदिए । इमरोजलाई मनमुताबिक शर्त अनुसार काम गर्न पनि अफर आएका थिए तर अमृतालाई लाग्यो कि उनले पनि साहिरले झैं छाडेर नजाऊन् त्यसैले अमृताका खातिर उनले नजाने फैसला गरे । 

एक साहिर, जसलाई अमृता प्रेम गर्थिन् र एक इमरोज जो अमृतालाई प्रेम गर्थे । भनिन्छ, साहिर, इमरोज र अमृता एकैसाथ बसेरपनि घण्टौंसम्म वातचित गर्ने गर्थे । अमृताले हरेक सम्बन्धलाई आ-आफ्नै स्थानमा उच्चता दिइन् । उनले आफ्नो नामसँग जोडेकी आफ्नो पतिको नाउँलाई जिन्दगीभर नै राखिरहिन् । साहिरसँगको प्रेमलाई पनि उनले आफ्नो जीवनभर हृदयभित्र बोकेर हिँडिन्  र जुन दिनदेखि इमरोजलाई भेटिन् अमृताले आफ्नो जीवनको अन्तिम पलसम्म त्यो भेटलाई जीवन्त राखिन् । र अर्को जन्ममा पनि फेरि भेट्ने वाचाका साथ उनले आफ्नो अन्तिम कविता ( में तुम्हे फिर मिलाङ्गी ) इमरोजको नाममा लेखेर बिदा भइन् ।


उनका प्रमुख कृतिहरू यस प्रकार छन् :


उपन्यास:  
पाँच बरस लंबी सड़क
पिंजर,
अदालत,
कोरे कागज़,
उनचास दिन,
सागर और सीपियाँ,
नागमणि,
रंग का पत्ता,
दिल्ली की गलियाँ,
तेरहवाँ सूरज,
जिलावतन


आत्मकथा:
रसीदी टिकट (१९७६)


कहानी संग्रह:
कहानियाँ जो कहानियाँ नहीं हैं,
कहानियों के आँगन में


संस्मरण:
कच्चा आँगन,
एक थी सारा


कविता संग्रह:
अमृत लहरें (१९३६),
जिन्दा जियां (१९३९),
ट्रेल धोते फूल (१९४२),
ओ गीता वालियां (१९४२),
बदलम दी लाली (१९४३),
लोक पिगर (१९४४),
पगथर गीत (१९४६),
पंजाबी दी आवाज(१९५२),
सुनहरे (१९५५),
अशोका चेती (१९५७),
कस्तूरी (१९५७),
नागमणि (१९६४),
इक सी अनीता (१९६४),
चक नाबर छ्त्ती (१९६४),
उनीझा दिन (१९७९),
कागज़ ते कैनवास (१९८१)


प्रस्तुत छ यिनै बहुप्रतिभाशाली साहित्यकार अमृता प्रीतमको एउटा मीठो बिम्बात्मक कविता नेपालीमाः

याद

आज सूर्यले थोरै डराएर प्रकाशको एक झ्याल खोल्यो
बादलको एक झ्याल बन्द गर्यो अनि अन्धकारको भर्याङ ओर्लियो…

आकाशको भौंमा थाहा छैन किन पसिना आयो
ताराहरूको बटन खोलेर उसले चन्द्रमाको कुर्ता उतारिदियो…

म हृदयको एक कुनामा बसेकी छु, तिम्रो याद यस्तो तवरले आयो-
जसरी भिजेको काठबाट गहिरो र कालो धुवाँ उठ्छ…

साथमा हजारौं सम्झना आए जसरी कुनै सुकेको काठ
लाल आगोको लामो सास फेर्छ, दुइ’टै काठहरू अहिले निभाएकी छु…

वर्ष कोइला जस्तै छरिएका छन् केही निभिसके, केही निभ्नबाट रहे
समयको हात जब समात्न थालेँ औंलाहरुमा ठेला पर्यो…

तिम्रो प्रेमको हातबाट छुटिसके र जिन्दगीको हाँडी फुटिसक्यो
इतिहासको पाहुना मेरो भान्साबाट भोकै उठेर गयो…



 

Facebook Comments

You may also like

error: Content is protected !!