नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा फागुनको १ गतेदेखि तेश्रो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (NIFF) हुने निश्चय भएको छ । ‘फिल्म-मेकिङ; इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकमा राष्ट्रिय सभागृहमा हुने वर्कशपमा हलिउडका फिल्ममेकर्स सँगै नेपाली फिल्ममेकर्सले पनि आफ्नो अनुभव सेयर गर्नेछन् ।
हलिउडबाट ल्यारी कासानोफ, ज्याक स्टेन्ज र जोयलोन होफ आउने पक्का भएको फिल्म फेस्टिवलका निर्देशक केपी पाठकले बताए । ल्यारी कोफ, ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता सशक्त हलिउड फिल्मका निर्माता हुन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन : फस्ट क्लास, थोर, कोडी ब्यांक्स लगायतका सफल फिल्म निर्माण गरेका छन् । जोयलोन होफ भने नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रुपमा काम गरेका व्यक्ति हुन् ।
उनीहरु तीनै जनाले स्ट्रिमिङ साइटका बारेमा जानकारी दिने निर्देशक पाठकले बताए । ‘स्ट्रिमिङ साइटलाई केन्द्रमा राखेर तीनैजनाले विश्वको अनुभव नेपाली फिल्ममेकरलाई बाँड्नु हुनेछ । नेपालमा सक्रियतापूर्वक काम गरिरहेका लेखक, निर्माता, निर्देशकले यो वर्कशपबाट धेरै फाइदा लिनुहुनेछ भन्ने विश्वास छ,’ पाठकले भने ।

3 Hollywood Film Makers preparing for NIFF, 3rd Session, organized by Nepal Film and Culture Academy
फिल्म फेस्टिवलको अन्तिम दिन फाल्गुन ५ गते भने लाजिम्पाटको र्याडिसन होटेल मा विशेष कार्यशाला हुने तय भएको छ । अन्तिम दिन, फिल्म मेकिङको विभिन्न पाटोमा प्यानल डिस्कसन सहित विभिन्न शिर्षकमा फिल्म प्रतियोगिता पनि हुने भएको हो । फिचर फिल्म कम्पिटिशन, शर्ट एनिमेटेड फिल्म कम्पिटिशन, शर्ट नेपाली फिल्म कम्पिटिशन र नेपाली फिचर फिल्म कम्पिटिशन गरी चार शिर्षक अन्तर्गत प्रतिस्पर्धा चल्ने छ । प्रतिस्पर्धाको निर्णायक भूमिकाको लागि विभिन्न देशबाट जुरी मेम्बरहरु चुनिएका छन् । जसमध्य, फिचर फिल्मका लागि नेपालबाट अभिनेत्री गौरी मल्ल, सिनेमेटोग्राफर मञ्जु कुमार श्रेष्ठ, सिंगापोरबाट फिल्म निर्माता युनी हाडी, पोर्चुगलबाट प्राविधिक फिल्म निर्देशक जो पल मासेडो भारतबाट फिल्म निर्माता प्रकाश झा चुनिएका हुन् भने शर्ट फिल्मका लागि नेपालबाट फिल्म सम्पादक एवं थ्रि डी एनिमेटर करुण थापा र फ्रान्सबाट लिटरेचर, फिलसफी एवं सिनेमा ग्राजुएट थिबत ब्राक रहेका छन् । समग्र जुरीको नेतृत्व भने भारतका फिल्मक्षेत्रका बहुप्रतिभा, निर्माता, निर्देशक, स्कृप्ट राइटर एवं अभिनेता समेत रहेका प्रकाश झा ले सम्हाल्ने छन् ।
प्रतिस्पर्धाका अलावा हुने प्यानल डिस्कसन, फिल्म मेकिङ; एन एज अफ स्ट्रिमिङ र टेलिङ लोकल स्टोरी टु अ ग्लोबल अडियन्स दुई शीर्षकमाथि हुने छ भने अन्त्यमा ज्याक स्टेन्जले अमेरिकन एक्सन मुभी लेखनबारे मास्टर क्लास दिने भएका छन् । फेस्टिवलको एउटा सेशनमा हलिउडका फिल्ममेकर्स र नेपाली कलाकारहरु निश्चल बस्नेत, नकिम उद्दिन र नम्रता श्रेष्ठ बिच स्थानीय फिल्मले विश्वबजारमा पुग्न खेपिरहेका चुनौती विषयक बहस रहनेछ । दिनभर चल्ने सबै सेशनका सहजकर्ता फिल्ममेकर किरणभक्त जोशी रहेका छन् । जोशी हलिउड स्टुडियो वाल्ट डिज्नेमा टेक्निकल डाइरक्टर को रुपमा काम गरेका फिल्ममेकर हुन् । वर्कशपमा सहभागी हुन वा भोलुन्टरिङमा इच्छुकले नाम दर्ताको लागि निवेदन बुझाउनु पर्ने छ भने छानिएका निवेदकहरुले मात्र वर्कशपमा सहभागिता पाउने व्यवस्था रहेको छ । निवेदन अनलाईन बुझाउन सकिने व्यवस्था छ ।