नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि आवेदन खुला

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१ जुन १८ देखि २० सम्म आयोजना हुने भएको छ । वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको आयोजकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र ,छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने छन् । नेपालबाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।

वासिङ्गटन डिसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न हुँदै आएको ‘डीएमभी क्लोजअप’ प्रदर्शनी यस पटक थप प्राथमिकता दिने पनि विज्ञप्तीमा जनाइएको छ । महोत्सवको सुरुआतदेखि नै ‘ग्लोबल पिस फिल्म फेस्टिबल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका चलचित्रहरु आगामी वर्ष पनि समावेश हुनेछन् ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेका मध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । महोत्सव अवधिभर चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन् । महोत्सवमा चलचित्र प्रदर्शनपछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि राखिनेछ ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था ‘नेपाल-अमेरिका फिल्म सोसाइटी’ ले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । कोभिड-१९ को महामारीका कारणले सन् २०२० को संस्करण स्थगित गरिएको थियो । यसैबीच उत्तर-अमेरिकाका ७ वटा दक्षिण एसियाली चलचित्र महोत्सवहरुको साझा पहलमा ‘कोसाफ’ सम्पन्न भएको थियो ।

चलचित्रको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ । चलचित्र आवेदन सम्बन्धी विवरण तथा नियमहरु संस्थाको वेबसाइट “https://nafilmsociety.org/” मा उपलब्ध छन् ।

Facebook Comments

You may also like

error: Content is protected !!