नवीन संवाद

१. पत्रकारिता, सम्पादन र कविताको क्षेत्रमा समेत सुन्दर काव्यकृति दिइसक्नु भएको छ । सबैभन्दा पहिला तपाईं कवि, पत्रकार या सम्पादक ?

⇒ म स्वभावको हिसावले कवि हुँ भन्छु । तर खासमा कवि हुन साह्रै गाह्रो कुरा रहेछ । कवि हुन अहिले बजारमा सबैभन्दा धेरै हल्ला गर्नुपर्छ (हा हा हा…) । जो म सक्दिनँ । तर जीवनको चेतना सुरु नहुँदै अक्षरसँग भएको अफेयर अहिले झन गहिरो भयो – छोड्नै नसकिने । त्यसैले देशको एउटा कुनामा बसेर चुपचाप कविताहरु पढिरहेको छु ।

यो पत्रकारिता र सम्पादनको जुन विषय छ, यो रोजीरोटीको विषयसँग मात्र जोडिएको छैन । साच्चै भन्नुपर्दा मान्छे बन्नका लागि म पत्रकारितामा आएको हुँ । मैले भोगेर आएको, बाँचेर आएको जुन समय थियो, चेतना थियो र जुन समाज थियो, त्यसले मलाई आफु मात्र सफल हुनुपर्छ भन्ने सिकाएन, समाजको परिवर्तनका लागि लड्नै पर्छ भन्ने महसुस पनि गरायो । लड्नको लागि न सत्ता, न शक्ति । त्यसैले, पत्रकारिता नै उपयुक्त देखेँ । १२ वर्ष पहिले रेडियो यात्राबाट सुरु भएको पत्रकारिता अहिले टेलिभिजन, अनलाईन सँगसँगै छापामा आइपुगेको छु । यो अनेक अनुहार लिएर बाँच्दै गर्दा पहिले म के हुँ ? भन्ने कुरा सायद प्रमुख रहेन ।

२. नेपाली साहित्यको गति-अवस्थिति कस्तो देख्नुहुन्छ ?

⇒ पाठकका लागि भन्दा बढि बजारका लागि साहित्य लेखिएको छ । पाठक र बजार फरक विषय हुन् । उपभोक्तावादले थिचेको नेपाली साहित्यमा सस्ता र हलुका कुराहरु बढि चल्छन् । कृत्रिम र बनावटी कुराहरु बिक्छन् । अहिले पाठकले खोजेको विषय पाइँदैन । बजारमा साहित्य थोपरिएको महसुश हुन्छ । प्रकाशकको डिजाईनमा लेखक लेख्न हतार गर्छ । त्यो पनि वर्षेनी पुस्तक निकाल्ने गरी । सामाजिक सञ्जालमा आएका सस्ता टिप्पणीको आधारमा पुस्तकहरुको व्यापार चल्छ । खाँटी साहित्य यो समाजका लागि आवश्यक छ, तर त्यो भने भित्र कतै हराए जस्तो देख्छु ।

३. उदाहरण समूह नेपालको आयोजनामा नेपालको सुदुर जिल्ला दाङमा लिट्रेचर फेस्टिवलको तयारी भइरहेको छ । उदाहरण समूहको मुख मानव र कार्यक्रम संयोजकको नाताले भन्नुपर्दा कार्यक्रमले नेपाली साहित्यमा के कस्तो योगदान पुर्याउन सक्ला ?

⇒ नेपाली कला, साहित्य र संगीतमा दाङले पुर्याएको योगदान अतुलनीय छ । त्यसकै शिलशिला मात्र यो फेस्टिवल हैन । असोज १८ गते फूलपातीको दिन मात्र आयोजना गरिएको यो कार्यक्रममा दाङबाट काठमाण्डौँ आएर पहिचान बनाएका कवि, साहित्यकारहरुसँग पनि बहस हुँदैछ । हामीले यो फेस्टिवल मार्फत साहित्यको केन्द्र काठमाण्डौँ भन्दा सुदुरमा बसेर कवि, कलाकार बन्न सकिँदैन त ? भन्ने विषयलाई जोडतोडले उठाउँदै छौँ । दाङ एक प्रतिनिधि पात्र हो । सुदुरमा बसेर केन्द्रिय राजधानी सँगसँगै काम गर्न के कुराले छेकेको छ ? हामी यसमा काम गर्दैछौँ । राजधानी बाहिर हुने गरेका यी उत्सवहरुले नेपाली साहित्यको सत्तालाई ठिक उल्टो बनाउने अभियान सुरु भएको छ । यो पक्कै पनि खुशीको कुरा हो !

४. डराइरहने दाङ, कराइरहने काठमाण्डौँ जस्तो साहित्यिक बहसको शिर्षकले दाङ र काठमाण्डौँबिच साहित्यको मार्ग विस्तार गर्न खोजेझैँ प्रतित हुन्छ । यस्तो उदाहरणीय कार्य-प्रयत्नको पछाडि कारण वा पृष्ठभूमि कस्तो छ ?

⇒ अहिलेको साहित्य काठमाण्डौँ केन्द्रित छ । अर्थात साहित्यको सत्ता काठमाण्डौँ नै हो । अझै पनि काठमाण्डौँ बाहिर बसेर न कवि बन्न सकिन्छ, न कलाकार । डा. अमर गिरीलाई दाङमै बसेर कवि बन्न साह्रै गाह्रो हुन्थ्यो । रमेश क्षितिजको मामिलामा पनि त्यहि नै हो । पछिल्लो पुस्तामा विष्णु सन्न्यास, नविन शर्मा जस्ता कविहरुले दाङमा कविता लेखे तर त्यसको औचित्य भएन । किन की उनीहरु सुदुरमा थिए । तर उनीहरु नै काठमाण्डौँ आए भने राष्ट्रिय कवि बन्न दुई महिना लाग्दैन ? यस्तो किन हुन्छ ? यसको पछाडि धेरै कारणहरु छन् । एउटा हो, केन्द्रिय मानसिकता साहित्यमा जर्जर अवस्थामा छ । यो बढो डरलाग्दो हुन्छ । हामीले त्यसैलाई हिर्काउन खोजीरहेका हौँ । मुलतः हामीले खोजेको साहित्यको सत्ता हो कि शक्ति ? शक्ति सहितको सिर्जना हुँदाहुँदै पनि मोफसल किन साहित्यको सत्तासम्म पुगेको छैन ? हामीसँग त्यस्तो के छैन ? जो हामी डराउनु परोस् ।

५. साहित्यमा मनपर्ने विधा ? किन ?

⇒ प्रायः म सबै विधा पढिरहेको छु । र कविता मेरो खास विधा हो भन्छु । यसको पछाडि ठ्याक्कै कारणहरु छैनन् । तर मेरो समुदायमा मभन्दा अघिल्लो पुस्ताले कविताको पहुँचमा पुग्न सकेन । कविता, अक्षरहरु निश्चित जाति, समूदायको कब्जामा थियो । यो भनिरहनु परेन । मेरो समुदायले पढ्न थालेको कतिनै भएको छ र ? त्यसैले साहित्य के हो ? कविता के हो ? सानैदेखि रुची भन्दा पनि जिज्ञासाको विषय बन्यो मेरो लागि । जीवनको धेरै वर्षसम्म मैले कविता भनेको हामीले लेख्ने, पढ्ने विषय हैन भन्ने सोच्थेँ । किनकी कविता वाचन गर्न निश्चित जातिको हुनुपर्छ भन्ने बालमनोविज्ञानमा छाप बसेको थियो ।

अर्को कुरा, कवितामा अटाउनु निक्कै जोखिमपुर्ण छ । संसारकै श्रेष्ठ मानिस र मानिसमा पनि सर्वप्रिय कवि नै लाग्छ । तर एउटा मानिसले जीवनभर कविता मात्रै लेखेर बस्न नसक्ने हुँदो रहेछ । तर त्यहि कवि मन बोकेर उस्ले अन्य विधा समाएर पनि फेरि कविता नै लेख्ने रहेछ, कविताको भाषाभन्दा मीठो अर्को कुन भाषा होला ? अहिले साहित्यका अन्य विधामा समेत कविता पढ्न पाइन्छ । यो त साह्रै मज्जाको विषय भएन र ? यो कविताको सर्वव्यापकता देखेर मलाई कवितादेखि टाढा हुन मन छैन ।

६. के यो जरुरी छ, मनपर्ने श्रष्टा र कृतिबिच सम्बन्ध हुनैपर्छ ?

⇒ त्यसो हुन सक्यो भने राम्रो । अहिले पनि प्राय हामीले मन पर्ने श्रष्टाको सबै सिर्जना राम्रो भनिरहेका छौँ । उत्कृष्ट लागेको कृतिको लेखक प्रिय सम्झिरहेका छौँ । यो स्वभाविक कुरा हो ।

७. मनपर्ने साहित्यकार ? किन ?

⇒ साहित्यकार, कवि, कलाकारहरु व्यक्तिगत रुपमा मन पर्नु यसको प्रधान विषय हैन होला । खासमा म मान्छेहरुलाई प्रवृत्तिगत रुपमा स्वीकार गर्न मन पराउँछु । जस्को लेखन र जीवन एउटै छ, त्यस्तो कवि, कलाकार, साहित्यकार मन पर्छ । लेख्नु त के ठुलो कुरा भयो र ? रुपान्तरण, समानता र सक्षमताका तमाम विषयहरु माथि लेखिन्छ, लेख्न सकिएला । तर त्यो प्रवृति व्यक्तिमा छैन भने त्यसको औचित्य नै के रह्यो र ? युवा र प्रौढ उमेरमा क्रान्तिकारी विचारको साहित्य लेख्ने र वृद्धावस्थामा पुग्दा त्यो विलिन हुने ! त्यस्तै थुप्रै उदाहरणहरु छन् । विचारले अग्रगामी र परिवर्तनलाई स्वीकार गर्ने तर घरमा छोरीको महिनावारीमा चुलो बार्ने लेखकको के अर्थ ? त्यसैले, लेखन जस्तै जीवन शैली बनाउन सक्ने समाजको रोल मोडल लाग्छ ।

८. मनपर्ने पुस्तक ? किन ?

⇒ जीवनमा धेरै पछि आए पुस्तकहरु । तर मलाई ति पुस्तकहरु अहिले पनि धेरै मन पर्छ, जसले जीवनमा पहिलो पटक अक्षरहरु सिकाए । मैले भनुँला फूलहरु मन परे, तर जरालाई कसरी विर्सनु ? साढे दुई दशक पहिले पहिलो पटक अक्षर पढेका पुस्तकहरु नै बढि प्रिय थिए ।
म प्राय सबै खालका पुस्तक पढ्छु । नयाँ पुराना लेखकहरु पढेको छु । तर पुराना लेखकमा एउटा दम थियो भन्ने लाग्छ । हुन सक्छ, अहिलेको समय समाजको प्रत्यक्ष दर्शक भएका कारण पनि पुरानो समयको कुराहरु मन परेको हो ।

९. उदाहरण समुह नेपाल साहित्य क्षेत्रमा कहिलेदेखि सक्रिय छ, र के कस्ता कार्यक्रममा आफ्नो दस्तखत गरेको छ ?

⇒ पश्चिम नेपालको सुन्दर जिल्ला दाङमा हामी कान्छो पुस्ता हौँ लेखनमा (हालसम्मको) । नयाँ पुस्ता, नयाँ सोच सहित हामीले सुरुवात गर्न खोज्दा निक्कै गाह्रो महसुश भयो । हाम्रो कुरा सुनिदिने कोही भएन । कलेजमा पुग्ने र विद्यार्थीहरुसँगै कविताको बारेमा बहस गर्ने, सुन्ने सुनाउने योजनाको साथमा हामीले कलेज कविता अभियान भनेर २०७१ सालको बैशाखबाटै सुरु गर्यौँ । दुई वर्ष हामी साविक राप्ती अञ्चलका विभिन्न जिल्लामा पुगेर त्यहाँका कलेज, स्कुलहरुमा पुगेर विद्यार्थीसँग कविताबारे छलफल गर्यौँ । त्यसले हामीलाई सिर्जना गर्न, बहस गर्न र संगठनात्मक रुपमा सञ्चालित हुन सिकायो । त्यस अभियानमा हामीले हामी जस्तै धेरै साथीहरु भेटेपछि अभियानलाई परिवर्तन गरेर उदाहरण समूह, नेपालको नामले काम गर्न सुरु गर्यौँ ।

परम्परागत शैलीभन्दा फरक रुपमा विभिन्न दिवस, सन्दर्भमा कार्यक्रम गर्ने, नियमित योजनाहरु बनाउने भए । ‘गणतन्त्र र कविताहरु’, ‘५० नाघेका कवि र कविताहरु’, ‘चुल्हो नाघ्दै आगोका कविताहरु’, ‘भिडियोमा कविताहरु’ लगाएत दर्जन बढि बृहत कार्यक्रम मात्र भएनन्, दाङमै पहिलो पटक ब्ल्याक बक्समा नाटक मञ्चन पनि यसै समूहको पहलमा भयो । दर्जन बढि एकल वाचन, पुस्तक समीक्षा, विमोचनका कार्यक्रम गर्दै आएको उदाहरण समूह नेपाल कला, साहित्य र संगीतमा मात्र सिमित नभई एक सामाजिक संस्थाको रुपमा सक्रिय छ । हाल ८० भन्दा बढि युवाहरु यो अभियानमा प्रत्यक्ष रुपमा आवद्ध भई साहित्य, कला, संगीत, नाटक, नृत्य र सामाजिक कार्य लगाएतका विभागमा काम गर्न सुरु गरेका छन् ।

१०. साहित्यको माहोल यतिबेला दाङमय छ, फेरि दाङकै कुरा गरौँ । दाङका केही श्रष्टा र वहाँहरुका साहित्य सिर्जनाका बारे केही उल्लेख गरिदिनुस् न !

⇒ दाङमा राम्रो भएको छ । युवाहरुको जागरण छ । नेपाली साहित्यको चेत स्कुल कलेज स्तरमा फैलिएको छ । यो बिचमा केही साहित्यिक संघसंस्थाहरुले काम गरे । धेरै समस्याहरु हुँदाहुँदै पनि देखिएको नयाँ लहरले युवाहरुमा गजल कविताप्रति मोह बढेको छ । दाङको साहित्य लेखनमा अहिले ४ वटा पुस्ताले सँगसँगै काम गरिरहेका छन् । २००४ साल भन्दा अगाडीदेखि लेखन सुरु गर्नुभएका वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा अहिले पनि लेखनमै हुनुहुन्छ । मात्र काठमाण्डौँले सुन्दैन । काठमाण्डौँले देख्दैन । काठमाण्डौँले सुन्नको लागि काठमाण्डौँ नै पुग्नुपर्छ ।

११. साहित्यमा मोफसल र केन्द्र हुन्छ भन्ने पनि छन्, हुँदैन भन्ने पनि छन् । यसमा यहाँको धारणा के छ ?

⇒ पछिल्लो समयमा कम छ, त्यति चाहिँ मान्न सकिन्छ । यो स्वभाविक विषय भयो । यहाँ अस्वभाविक विषय त काठमाण्डौँमा लेखेको स्तरिय र राम्रो र मोफसलमा लेखिएको स्तरहिन भन्ने जुन मुल्यांकन छ, त्यो खतरनाक छ । मलाई त लाग्छ, अहिलेको साहित्यको सत्ताले सिर्जना हैन, लेखकलाई मात्र चिन्छ । यस्तो लेखक जस्ले बढि हल्ला गर्छ । किनकी उपभोक्तावादले गाँजेको बजारमा हल्ला चाहिन्छ । बोल्नेको पिठो बिकेपछि कुरो फाइदाको हुन्छ । भन्नेहरुले भन्लान्, अहिलेको साहित्य केन्द्रले धानेको छ । यसको मसँगै केही जवाफहरु छन्, कुनै दिन छलफल गरौँला ।

१२. जाँदाजाँदै अन्त्यमा, आगामी दिनहरुमा उदाहरण समूहबाट नयाँ के कस्ता उदाहरणहरु अपेक्षा गर्न सकिएला ?

⇒ हामी साहित्यमा मात्र सिमित हुन खोजिरहेका छैनौँ । संगीत र कला छुटिरहेको छ । यसलाई सँगसंगै लैजान निक्कै गाह्रो भएको छ । दाङमा पहिलो पटक हामीले ब्ल्याक बक्समा नाटक मञ्चन गर्यौँ । त्यसले उत्साह थपेको छ । दाङका कवि, कलाकारहरु साहित्यकारहरुलाई काठमाण्डौँ पुर्याउने, र काठमाण्डौँका कवि, साहित्यकारहरुलाई दाङ लगेर विश्वकै अग्लो त्रिशुल सँगसँगै साहित्यको उचाई देखाउनु छ, थारु बस्तीको कलासँस्कृति देखाउने मात्रै हैन, परिकार खुवाएर परम्परागत गीतहरुमा नचाउने योजनाहरु छन् । काम हुँदै गर्ला । त्यसको लागि काठमाण्डौँले हामीलाई पत्याउनु पर्यो ( हा हा हा …) ।

Facebook Comments

You may also like

error: Content is protected !!