उत्तरहीन प्रेम
रातमा आकाशलाई जति हेर्छु
त्यती नै धेरै ताराहरु देख्छु
–के प्रेम दोस्रो पटक हुन सक्छ ?–
म यै प्रश्नको उत्तरको खोजीमा थिएँ
दाइले म्यासेजमा पठाइदिनु भएको
उक्त प्रश्नको उत्तर दिन सकिरहेको थिइनँ
आफैँ प्रेम पीडित भएको बेला
प्रेम बारेमै उत्तर कसरी दिन सक्थेँ ?
तर, बालिएको मैनबत्ती टिपि लान
खोज्ने किराहरु जस्तै म
उत्तर खोज्न असफल
प्रयास गरिरहेको थिएँ
रातमा अन्धकार चिर्न मैन बालिन्छ
वरपर किराहरु झुम्मिन्छन् र,
मैन लान खोज्छन् तर, केहि बेरमै
ती जलेर मैनकै मुन्तिर प्राण त्याग गर्छन्
ठीक त्यसरी नै म पनि
प्रेमको उत्तर खोजिरहेथेँ
प्रेमको उत्तर खोज्न
लम्किरहेथेँ — किराहरु जसरी
तर, त्यही प्रेमले मलाई जलायो/सतायो
म मृत्युको मुखनेर पुगेर आकाश हेर्दै छु
लाग्दैछ प्रेमबारे उत्तर दिनु ताराहरु गन्नु नै हो
किराहरुले मैनबत्ती लानु नै हो
त्यसैले मृत्युमा प्रवेश गर्न अघि
“उत्तर दिन सक्दिन दाइ !”
लेखि उत्तरहीन प्रेम प्रश्न सोध्ने
दाइलाई म्यासेज पठाइदिनु छ

Image Source: All Of The Live Forever by Duy Huynh
घैंटो
छेवैमा घैंटो छ
तिर्खा के लागेथ्यो
त्यसमा हात हुलेँ
अपसोच !
त्यहाँ पानी थिएन
थियो त शब्दहरु
मलाई ग्लासमा कसैले
ती शब्दहरु थापेर पिलायो
म पुतली बनेँ
कारण, पहिले
झुसिलकिरो थिएँ
भुर्र उड्छु आकाशमा
हल हेर्छु
ऊ मुस्कुराइरहेछ
ऊ अर्थात
मलाई शब्दहरु पिलाउने
अरे !
उसको हातमा त टेलिस्कोप पो छ
लौ !
माइक्रोस्कोप पनि
सानासाना पखेटा फट्फटाउँदै म
घैंटो नेर पुग्छु
मलाई शब्दहरु पिलाउने व्यक्ती
किसान पनि हो क्यारे !
कारण उसँग कृषि औजारहरु छन्
आँट गरेर सोध्छु
–को हो ?–
–यी सामानहरु किन ?–
ती मनुवा बोल्छ :–
“टेलिस्कोप टाढाटाढाका
शब्दहरु खोज्न
अनि, माइक्रोस्कोप
शब्दहरु गहिरिएर नियाल्न
शब्दहरुको गोडमेल गर्न चैं
कृषि औजारहरु ।”
ऊ थप्छ :–
“फिल्टर छ — शब्द छान्न
जालो छ — शब्द जालमा पार्न
खुकुरी छ — शब्द काट्न
इलेजर छ — शब्द मेट्न”
अकमक्क पर्छु म,
हेर्छु उसलाई
लाग्छ,
उसमा सुर्य आएको छ
हिरामोतीहरु/इन्द्रेणी/झरना
सब आएका छन्
सोध्छु पुनः
–को हो ?–
उसले संसार पगाल्ने
मुस्कान फाल्दै भन्छ :–
“कवि अर्थात
कविताको पुजारी”

Image Source: Butterfly by Duy Huynh
संकटयुक्त राष्ट्रियता
ऊ हिड्ने गोरेटो, गोरेटो रहेन
उहिले बोकिने ढाकर/डोको
चलाउने कँचिया/कोदालो
पानीघट्ट/ढिकी र जाँतो
सबै भुलिन्दै छ
उसको सोच –अत्याधुनिक– होला
यदि यस्तो हो भने पक्कै लात परम्परालाई हान्दै छ
गोरेटो भत्काएर बाटोबाट सडक बनाइयो रे !
ऊ गुन्द्रुक, खोले र पिठेभात सुन्न साथ मुख बिर्गाछ
तर, उसलाई के थाहा !
यी खाएर नै उसका बा र आमा बाँचेका÷हुर्केका हुन्
काष्ठमाण्डप, काठमाडौँ हुँदै केटिएम रे !
कक्षामा विद्यार्थीले –नेपाली– बोल्दा सजाय दिइन्छ
कस्तो विडम्बना !
देश नेपाल, राष्ट्रियता नेपाली
तर राष्ट्रियता देखाउन खोज्दा सजाय दिइन्छ
त्यसैले त ऊ राम्ररी नेपाली लेख्न जान्दैन
सँगित बाह्य राष्ट्रको सुन्न खोज्छ
कारण उसलाई राष्ट्रियता जोगाउन सिकाइएन
ऊ र उसकीले दौरा सुरुवाल
र गुन्युचोली दराजमा थन्काएर राखेका छन्
नेपाली भाषालाई पाखा लगाइन्दै छ रे !
भक्खर पढ्न थालेकाहरुलाई अंग्रेजी
सिकाउँदा जान्ने हुन्छ भन्ने सोच छ
–गुरु भन्दा हाँस्छन्, सर – पो
भन्न पर्छ भनेर सम्झाउछन्
उसले यहि सिक्यो/सिकाइयो
र, उसले आफ्नो सन्तानलाई
पनि यहि सिकाउँछ अनि
कसरी बाँच्छ राष्ट्रियता !

Image Source: Duality by Nela Dunaio