राष्ट्रकवि सधैँ सम्झनामा

नेपाली साहित्यका राष्ट्रकवि, आदरणीय माधव प्रसाद घिमिरेको निधन भएको खबर प्राप्त भएको छ । वि. सं १९७६ साल असोज ७ गते लमजुङमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेले आज मंगलबर १०१ वर्षको उमेरमा कपुरधारास्थित आफ्नै निवासमा अन्तिम श्वास फेर्नुभएको हो ।

विगत २ वर्षदेखि स्वास्थ्यमा निरन्तर समस्या देखापरेको साहित्यकार घिमिरेलाई नेपालको ग्राण्डीदेखि लिएर भारतको मेदान्त अस्पतालसम्म भर्ना गरिएको थियो । ग्यास्ट्रिकको लक्षणबाट सुरु भएको वहाँको अस्वस्थता उच्च आन्तरिक रक्तश्राव हुँदै पछिल्लो समय श्वासप्रश्वासमा पनि समस्या देखापरेको थियो । केही समय अस्पतालमा उपचार गराइसकेपछि विगत चार महिनादेखि घिमिरेको स्वास्थ्योपचार घरमै निजी चिकित्सक राखेर गरिँदै आएको थियो ।

जीवनभर साहित्यमा अविराम लाग्नुभएका घिमिरे अस्वस्थताका बाबजुद नयाँ महाकाव्यको लेखनमा कलम चलाइरहनुभएको थियो । “कसैको बारेमा मैले कुविचार गरेँ भने त्यसको छाँया ममा पर्छ र त्यसले मलाई खलबल गर्छ।” भन्ने घिमिरे मानिसले जीवनमा सधैँ सद्विचार कायम राख्नुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो । जीवनको उत्तर कालखण्डमा वहाँले लेख्दै गर्नुभएको सदप्रेरणामुखी महाकाव्य “ऋतम्भरा” पूर्ण रह्यो वा अपूर्ण , थाहा भइसकेको छैन । तर वहाँले बाँचेको सम्पूर्ण समय साहित्यप्रति समर्पित थियो भन्नेमा पक्कै दुई मत छैन ।

‘अविरल बग्दछ इन्द्रावती’ भनेझैं राष्ट्रकवि घिमिरे नेपाली साहित्य धरामा त्यस्तै अविरल बग्ने सिमित इन्द्रावती मध्ये एक हुनुहुन्थ्यो र सम्भवतः यस वेगमा बग्ने नविन इन्द्रावती नेपाली साहित्यले पुनः पाउनु असम्भवप्राय देखिन्छ ।
‘गाउँछ गीत नेपाली’, फूलको थुङ्गा बहेर गयो’, ‘आजै र राती के देखेँ सपना’ जस्ता कालजयी गीतका गीतकार समेत रहनुभएका राष्ट्रकवि घिमिरेले ‘वैरागी शतक’ नामक कविताबाट आफ्नो साहित्यिक यात्रा सुरु गर्नुभएको हो । वहाँले १०१ वर्षको उमेरबिच करिब दुई दर्जनजति कृतिहरू दिएर जानुभएको छ ।

वहाँका कृतिहरू:

नवमञ्जरी - कविता संग्रह (१९९४)
नागनन्द - नाटक (अनुवाद) (२००२)
घामपानी - बाल-कविता संग्रह (२०१२)
नयाँ नेपाल - काव्य (२०१३)
गौरी - शोककाव्य (२०१५)
राजेश्वरी - काव्य (२०१७)
वाला लहरी - गीत (२०२६)
रजेश्वरी र पापिनी आमा - काव्य (२०२७)
राजेश्वरी-पापिनी आमा सहित - काव्य (२०३० मा परिमार्जित संकरण)
राष्ट्र - निर्माता - काव्य (२०३०)
किन्नर किन्नरी - गितहरू - (२०३३)
शकुन्तला - नाटक (२०३७)
पच्चीस वर्षका खण्डकाव्य - काव्य (२०३९)
मालती मङ्गले - गीति-नाटक (२०४२)
आफ्नो बाँसुरी आफ्नै गीत - निबन्धसङ्ग्रह (२०४९)
विषकन्या - गीति-नाटक (२०५०)
अश्वत्थामा - गीति-नाटक (२०५३)
सुनपङ्खी चरी - बाल-गीतसङ्ग्रह (२०५३)
हिमालपारि हिमालवारि - गीति-नाटक (२०५४)
इन्द्रकुमारी - काव्य (२०५७)
चारु चर्चा - निबन्धसङ्ग्रह (२०५८)
दुर्गा-सप्तशति - काव्य (२०५९)
चैत-वैशाख -कविता संग्रह (२०६०)
बिजुले र बिजुला - बाल-कविता संग्रह (२०६३)

National Poet Madhav Pd Ghimire

National Poet Madhav Pd Ghimire

 
Facebook Comments

You may also like

error: Content is protected !!