दौडिन्छु, बस् दौडिन्छु ! – नदीश नदीश (अनुभूति,यात्रा )

ओ नदीश!
तँ मुला अल्छी, यहीँ बस् थेचारिएर। म त जान्छु, दौडन्छु। म झुत्ती खेल्छु हावासँग, तँ निलेर बस् आफ्नै श्वासको दुर्गन्ध। मानसमा दिनभर थुप्रिएको धुलो छ। एउटा अर्को दिनले जीवनको एक भारी बोझ थपेर गएको छ। शरीरभरि आजको  मयल जमेको छ। तँ बिसा, विश्राम गर् । भोलि, थुप्रिएको धुलोसँगै उठ्,  पुराना बोझहरूसँगै उठ्, विगतका मयल कन्याउँदै  उठ्। भोलि, धुलोमाथि अरु धुलो थप्,  बोझमाथि अर्को भारी बोक्, मयलमाथि अझ मयल लेप्।

तँ बिसा, विश्राम गर् । म दौडन्छु, गडप्-गडप्-गडप्-गडप्। नदीको किनारै किनार। जंगलै जंगल। बग्दो जीवनको बीचोबीच। मेरो मानसबाट वेगले उड्दछ थुप्रिएको धुलो, मेरो हर उफ्राइमा टक्कटिएर झर्छ बोझको भारी, कोषकोषबाट फुट्दछ पसिना र बगेर जान्छ  शरीरउपर जमेको मयल। दौडिसकेपछिको प्वाँखजस्तै हल्का शरीरमा कस्तरी लुक्दछ विश्रामको स्वर्ग। शुन्य आकाशमा फूरफूर फूरफूर कस्तरी उड्दछ आनन्द। विश्रामको मजा विश्राममात्रै गर्नेहरूलाई म कसरी बताऊँ।

तँ बस्। बाझिबस् तेरा यार समस्याहरूसँग, बैठक कोठाको सोफाउपर। तँ पल्टिराख् चिन्ताको काखमा अडेस्याएर आफ्नो टाउको। निराशाहरूसँग भिडियो च्याट गर् सामाजिक सञ्जालहरूमा । विचरण गर एकबित्ते भर्चुअल दुनियाँभित्र। तसँग तेरो जिन्दगीभर साथदिने प्रियसी छ अल्छीपन, एकअर्काको ढाडमाथि आआफ्नो ढाड अड्याएर प्रेमका कुरा गर्, संघर्षका कुरा गर, गतिशील जीवनको अनि सुन्दर जगतको वर्णण गर्। कि सँगालेर आफ्ना ताता अहमहरू बाथटबभरि, डुबाइबस् आफ्नो शिथिल काया। प्यालामा भर विचारको ककटेल र मातिबस् आफ्नै बोक्रे विद्वत्वमाथि आफै। म पनि चाखिहिँड्छु रुखका पात पातहरूबाट अफिम्, फुलका थुङ्गाहरूबाट निकोटिन्। म पनि हेरिहिँड्छु मष्तिस्कको निधारबाट बाफ बनेर उड्दै गरेको विद्वत्वको विकार।

ओ नदीश!
तँ जान्नस् हैन? बस् यहीँ बस् थेचारिएर, इर्ष्यालाई अङ्गालेर, वियोगका गीत सुनेर। म त जान्छु, दौडन्छु। आफ्ना पाइतालाबाट निस्कने पत्करको संगीत सुन्छु। सल्लाका सुइराबाट निस्कने बतासको सुसेली सुन्छु। तँ कुँदेर बस्, आसनमाथि आफ्नै नितम्बको गहिराइ; म बाटोभरि छापेर आउँछु आफ्ना पाइलाका बुट्टाहरू!

कस्तरी उड्दछन् आँखै अघिल्तिरबाट चराहरू भुर्भुर भुर्भुर..। कस्तरी बाटैभरिको चिर्बिरचिर्बिरले हौस्याउँछन् शरीरको वेग। कस्तरी हल्लाउँछन् हात बाटोछेउमा लहरै उभिएका रुखहरूको लहर। कस्तरी बजाउँछन् थपडी पातपातहरू। माऽऽऽथि आकाशमा क्यामेरा बोकेर पछ्याइरहन्छ चिल। अगाडि अगाडि बाटो खाली गर्दै उफ्रन्छ फट्यांग्राको हुल।

दौडेको छस् घाँसका नरम हत्केलाहरू छुँदै? मिलाएको छस् मुटुको धड्कनसँग पाइलाको ताल? चुमेको छस् तँलाई छुन भनी बाटोसम्मै निहुरिएका हाँगा? सुँघेको छस् झारहरूले बाटैभरि विछ्याएको अत्तर? देखेको छस् धुपीसल्लाहरूको सुफी नाच?

तँ जान्दछस् कमजोर हुँदै गइरहेका आफ्ना खुट्टाहरूको सामर्थ्य? तँ देख्दछस् के आफ्नै फोक्सोको मरन्च्यासे अनुहार? तँ सुन्दछस् तेरो मुटुको आर्तनाद? तँ गर्छस् के महसुस् तेरो मगज खाइरहेका खुम्रेक्रिरा? तँ बुझ्दछस् तँ विरुद्ध तेरो आन्द्राहरूको आन्दोलन? तँ बस् भुनभुनाउँदै झिँगाजस्तै आफ्नै अहङ्कारको गुहुमाथि। म उवाएर आउँछु एकफेर झ्याउँकिरीहरूको धुन। 

साँच्चै जान्नस्?
म जान्छु दौडन्छु। बिथोल्न सक्तैनस्, तैँले मेरो वेगलाई। तँलाई थाहा छैन त्यो पीडाको स्वाद, जब छ्याङ्ग नाङ्गिन्छ बाटो घाँसे मैदानमा र उत्तेजनामा बहकिएको घामले बेस्सरी टोकिदिन्छ अनुहार। तँलाई थाहा छैन त्यो अँध्यारोको सुन्दरता, जब छिर्दछ बाटो वारिपारि झ्याङ्गिएका विशाल रुखहरूले बुनेको अँध्यारो सुरूङ्भित्र र अड्किन्छन् रुखका छिद्रा छिद्रामा फुटेका घामका टुक्राहरू।  

म कुद्छु-  खुर्र बाटो काटिदिन्छ लोखर्के र गिज्याउँछ- ‘सक्छस् म जत्तिकै दगुर्न?’  
म कुद्छु-  टाढाबाट चनाखो नजरले हेर्छ मृग र गम्छ- ‘कसले लखेटिरहेछ यसलाई?’

व्यर्थै भो यो किराको जूनी भनिकन मेरो अनुहारभरि ठोकिएर आत्महत्या गर्छन् भुसुनाहरू। पूर्ण भो यो जोवन ठानीकन मेरो रगत चुसेर कुलेलाम ठोक्छन् लामखुट्टेहरू। म बहकिएँ? बहकिन दे, नदीको आत्मालाई म बहकिएकै मन पर्छ। ढोङ् मन पर्दैन। म हावा भएँ? हुन दे, जङ्गलको विशालतालाई म हावै भएको मनपर्छ। बरु धुवाँ मन पर्दैन। म निष्ठुर भएँ या बेफिक्र भएँ संसारका यावत घटना विचारहरूसँग एकैछिन्? ठीक छ, धर्तीको धुलोलाई मेरा ती निष्ठुर पाइतालाहरू मनपर्छन्। तँ सोचिबस्, संसारभरका तमाम समस्याहरू तेरै थाप्लोमा अटाई नअटाई छन्, तिनीहरूलाई अझ कुहिन दे। तँ घोत्लिबस्, तँ निस्केन्जेल एकैछिन तेरो विद्वत्वविना कसरी बाँच्ला यो प्राणी जगत, भो बाहिर ननिस्की।

ओ नदीश!
के सोच्तैछस्? रिसाइस्? म सँगपनि टाँसिएकै छन् समस्याहरू, तनावहरू। जहाँ जहाँ जान्छु पछि लाग्छन् बस्। जबर्जस्तीका यारहरू। म दौडँदा यिनीहरू पनि दौडन्छन् सँगै। तर यी अल्छी छन्, कमजोर छन्, रोगी छन्।

म दौडन्छु- समस्याहरू वरै छुट्न थाल्दछन्।
म दौडन्छु- दिक्दारीले लामो समय पछ्याउनै सक्दैन।
म दौडन्छु- तनाव एकैछिनपछि थाकेर बाटोछेउमा कतै सुस्ताउन थाल्दछ।
म दौडन्छु- खिन्नताको दम बढेर बाटोबीचमै रोकिन्छ।
म दौडन्छु- रिस मलाई उछिनेर अगाडी पुग्छ र एकैछिनमा लल्याकलुलुक भई फर्किन्छ।
म दौडन्छु- अवसाद खुट्टा मर्केर भुइँमा पछारिन्छ।

तँ बेकाम पनि बसिदिन्छस् के दिनभर उँघेरै, आलस्यता आउँछ अनि तेरो काखमा रोगको पछ्योरी ‌ओढेर निदाउँछ। तँ उठ्, दौडी, आ अनि बस्- थकानले आनन्दलाई बोलाउँछ। आनन्दका स्वस्थ हत्केलाले तेरो छाती सुम्सुम्याउँछ। दौडाइमा तैँले  देख्छस् आफ्नै जीवनभित्र लुकीबसेका प्रिय स्वप्निल यारहरूलाई। स्फूर्ति तेरो पाइला पाइलामा साथ मिलाउँदै दौडन्छ। खुसी तँलाई बाटो देखाउँदै अघि अघि लागिरहन्छ। दौडिहेर् त! तैँले बुझ्न थाल्नेछस् प्रकृतिको भाषा। तँ पनि सुम्सुम्याउन थाल्नेछस् रुखका लाछिएका हाँगा। फूलहरू तँलाई देखेर मुस्कुराउनेछन्। मौरीहरू तेरो सुगन्धमा भुनभुनाउनेछन्। तँसगै गीत गाउँदै उड्नेछन् चराहरू। तँसगै बेग मार्नेछ बतास्।

तँ दौडिरहँदा- समय पनि टक्क रोकिएर बाटो किनारमा एकैछिन हेर्नेछ तँलाई। तँ दौडिरहँदा- तेरो आँखामा तुफान नाच्नेछ। तेरो नशा नशामा छङ्छङ् बग्नेछ खहरे उन्माद। तेरो वेग ठोकिएर पहरामा जिन्दगीका इन्द्रेणी लहरहरू उठ्नेछन्। तँ हुनेछस् बग्दो खोलाजस्तै कञ्चन कञ्चन। तँ सँगै दौडनेछ सिङ्गो युगको जोस्। 

ओ नदीश !
म त जान्छु, दौडन्छु। झुत्ती खेल्छु हावासँग…

 

 

Facebook Comments

You may also like

error: Content is protected !!