Mystic Echoes | SATURDAYकलम | Kavyalaya - काव्यालय

मिस्टिक इकोज

अगस्ट महिनाको १० तारिख, सन् २०१९’ मा म ६ घण्टे ड्राईभ बिर्सिएर निरौला निवासमा पुगेको छु । त्यहाँको पाहुना सत्कारपछि आँगनमा उभिएर आँखा अघि मानव निर्मित बादलको एउटा दृश्य हेरिरहेको छु । मिस्टिक इकोज! मनमा काफी कौतुहलता छ । मष्तिस्क तरङ्गित भइरहेको छ- मिस्टिक इकोज, यही नाम । कति अनौठो छ मिस्टिक र इकोजको शब्द संयोजन । यो सोच्दै गर्दा बादलको दृश्य मलाई कति पनि अनौठो लाग्दैन ।

साँझको समय, निरौला निवासको आँगनमा उभिएको छु । तर सोचाइमा – बफेल्लो स्टेट कलेज पुगेर अनौठो आकारको बादलजस्तै मिस्टिक इकोज नामक कार्यक्रम यी जोडी आँखाले हेर्न तत्पर छन् । त्यहाँको सजावट कस्तो होला ? कस्तो होला प्रस्तुति ?  के- के देखाइएला मञ्चबाट ? म अनवरत सोचिरहेछु !

मेरो अघिका वक्ता चुरोट पिइरहेका छन् । दायाँ हातका उनका दुईटा औंला बिचबाट फिल्टर मुखमा पसी नाक र मुखको प्वालबाट धुवाँ बाहिर आइरहेको छ । त्यो चुरोटको धुवाँ हावाले उडाएर मतिर ल्याइरहेको छ । म त्यसलाई बेवास्ता गर्ने कोसिस गरिरहेकोछु ।

‘कार्यक्रम शुरु हुन कति समय छ बाबु?’ 
अकस्मात प्रश्न सोधिएको थियो । ठिक स्थान र ठिक समयमा सोधिएकाले म खुशी हुन्छु । चुरोटको धुवाँ बेवास्ता गर्दै झटपट्टे उत्तर दिन्छु।
‘एक घण्टा’

फेरि आँखा अघिकै दृश्यमा फन्को मारिरहेको छु । सोच्न लाग्छु,  संसारमा एक घण्टामा मान्छेले कति चुरोट सल्काउँददा हुन् ? कति चुरोटले मानव निर्मित बादल लाग्दो हो । तर खुशीको कुरा,  त्यहाँ एउटा चुरोटमै आगो निभ्छ । त्यो चुरोट भुइँमा झरी,  खुट्टाले कुल्चिएको ठुटो हेरी म झट्ट विगतमा पुग्छु । कुनै समय म यी वक्ता जस्तै ज्यादै चुरोट पिउँथेँ । चुरोटको धुवाँ फोक्सोमा पुग्दा मात्र दिन या रातको शुरुवात भएको जस्तो लाग्थ्यो । सायद उनलाई पनि त्यस्तै रमाइलो अनुभूति हुँदो हो ।

प्रिय पाठक, म इमान्दारीपूर्वक लेख्दैछु । यो लेख्न मलाई लाज लागेको छैन । टाइप गरुञ्जेल डर पनि छैन । एउटा लेखकलाई आफ्नो विचार र अनुभूति इमान्दारीपूर्वक बोल्न किन डर या लाज लागोस् । किन डर या लाजले छेकोस् । पक्कै छेक्दैन,  छेक्नु हुँदैन । यहाँ मलाई समर्थन गर्नुहुन्छ नि होइन ?

निरौला निवासमा दिउँसोका खाना खाई कार्यक्रम स्थानतिर हिँडेका छौँ ।  साँझ परेकै छैन,  समर सिजनको अस्ताउँदो घाम अझै केही घडी बाँकी छ । बफेल्लो स्टेट कलेज,  मन अघिदेखि पुगेको ठाउँ हामी भौतिक रूपमै उपस्थित हुन कार्यक्रम स्थल पुग्छौँ । हामी ? ती दुईमा म एक भएँ र अघिका वक्ता, भक्त घिमिरे हुन् । यी वक्तालाई म सर भनेर सम्बोधन गर्छु । उनी मलाई भतिज भन्छन् । उनको यो सम्बोधनमा छोराको भावनात्मकता झल्कन्छ । त्यसैले, मैले खुशीसाथ स्वीकारेको छु ।

कलेजअघि गाडी पार्क गरी बाहिर निस्कन्छौँ । हाम्रा अघि तीन वक्ता गफ चुटिरहेका छन् । कविहरू नविन प्राचिन, रूपेश ढुंगाना बेन्चमा बसेका छन्। त्यसकै छेउतिर एक १२ वर्षिय जतिका बालक छन् ।

हामी नजिक पुग्दा रूपेस र नवीन हामीलाई फर्किएर हेर्छन् । तब मात्र देखिन्छन् घाम तापेर बेन्चमा लडेका दाह्रीवाल उमेश आचार्य,  जो छेलिएका रहेछन् । यसरी हेर्दा उनीहरू तीन होइन चारजना रहेछन् । छोटो औपचारिकता पछि हामी आलोपालो केही सामूहिक तस्वीर लिन्छौँ । कवि आचार्यसँग मेरो खास दोस्ती छैन । म रूपेस र नवीनजीसंग यसै क्याजुल कुरामा भुल्लिन्छु । ती प्राचीन भर्खरै फेसबुके माध्ययमबाट चिनिएका कवि हुन्, यसबाहेक प्रतक्ष्य भेट थिएन ।

दश मिनेट जतिको गन्थन, फोटो खिचाइपछि भक्त सर र म भित्र जान्छौँ । कार्यक्रमका मुख्य आयोजक लमिनजी र उनको टिमले दोश्रो तलाको मूल ढोकामै सत्कार गर्छन् । प्रिय पाठक, यहाँले याद गर्नुभयो होला लमिन नामका पछिल्तिर जी सम्बोधन राखेँ । जी सम्बोधन राख्ने मेरो एउटा आत्मिय बानी हो, जसरी भक्त सरले मलाई आत्मीयताले ‘भतिज’ भन्नु हुन्छ, त्यस्तै !

मुख्य ढोकाको एउटा टेबलमा केही पुस्तक र सिडी राखीएका छन् । टेबलमा मेरो आँखा कविता कृतिहरू; बुढो रूख र सान्नानीको इन्द्रेणी,  उभिएर एक्लै  र रुवाई संग्रह; त्रिवेणी संयुक्त रूपमा धर्मेन्द्र, डिपी र मैले लेखेको देखा पर्छन् । म्युजिक एल्बमहरू ;  मेरो सारंगी,  रचना,  एउटा कहानी,  दि ब्लु एन्जल, अध्यात्म, अनायास, जुनिभरिलाई साथै भजन एल्बम आराधना र प्रभु नाम पनि टेबुलमाथि श्रोताको पर्खाइमा देखिन्थे ।

अघिदेखि मेरो मष्तिस्कले बफेल्लो सिटीको ‘मिस्टिक इकोज‘; यही फरक धारको ‘कार्यक्रमको नाम’ले नै फन्को मारिरहेको थियो । सोचिरहेको थिएँ त्यहाँ हेर्नु छ – आँखाभरि गायन,  सुन्नु छ कानभरि कविता र रंग्याउनु छ मष्तिस्क आर्टले । त्यसैले, हतार हतार गरी केही साथीहरूसँग हात मिलाउँदै लमिनजीलाई पछ्याउँदै, कतै हात जोड्दै,  दोश्रो तलाको ढोकाबाट भित्र स्टेज हेर्न प्रवेश गर्छौँ ।

कार्यक्रमलाई सहयोग गर्न मित्रद्वय पर्शु र हातमा क्यामरा लिएर काँसी वरपर हिँडिरहेका छन् । तिनीहरूसंग पनि हात मिलाउँछौँ । कार्यक्रम शुरु हुन अझै दश मिनेट जति बाँकी छ । ‘कार्यक्रम भव्य र सभ्य हुने छ’ अनुमान गर्छु । एउटा उत्सुक दर्शकले अनुमान त छ गर्नसक्ने,  अरू के हुन्थ्यो ! भक्त सर, उक्त कार्यक्रमममा लमिनजीको निमन्त्रणामा पुगेका हुन् । तर म ? उनको ड्राइभर भएर त्यहाँ पुगेको थिएँ । प्रिय पाठक, यही हो वास्तविकता जसलाई म जस्ताको त्यस्तै राख्दैछु ।

खासमा चार महिनाकी छोरी च्यापेर श्रीमतीलाई माइत पठाएपछि घरमा म एक्लो सदस्य थिएँ । यो एक्लोपनमा भक्त सरले मिस्टिक इकोज कार्क्रममा जाने प्रस्ताव राख्नु भयो । मैले सोझै हुन्छ म तयार छु भनी सहर्ष स्वीकार गरेँ । त्यसरी म विना निमन्त्रणा त्यहाँ पुग्नु,  मेरो लागि साहित्यिक माहोलले तान्नुबाहेक अरू केही होइन ।

दश मिनेट बित्न कति पनि समय लाग्दैन, कार्यक्रम शुरु हुन्छ । मैले चिनेका कलाकारहरू जगदिश समाल र श्याम नेपालीलाई देखेँ । कविहरू लिला निशा,  उमेश आचार्य,  रूपेस ढुङ्गाना र नविन प्राचीनजी थिए । यी बाहेक पनि अन्य कलाकारको उपस्थिति थियो । मैले फेरि पनि समकालीनलाई जी सम्बोधन गरेँ। किनकी जी अहिले मेरो प्रिय शब्द हो । खासमा यो लोककै प्रिय शब्द पनि हो । त्यसैले, नामका पछिल्तिर झुण्डिन्छ ‘जी’ ।

मेरा अन्य दोस्त टेक,  शशी, दिललाई पनि त्यहीँ भेटेँ । मेरा आत्मीय मित्र टेक क्यानेडाबाट आएका थिए । उनीसँग नौ वर्षपछि भेट भएको थियो,  हामी खुशी हुँदै गला लाग्यौँ । दोस्तमा समकालीन या प्रौढ भए पनि सम्बोधनमा फरक दृष्टिकोण छ । म उनीहरूलाई सर भनी बोलाउँदिनँ । त्यसको सट्टा नामका पछिल्तिर ‘जी’ झुण्ड्याउँछु ।

दायाँतिर दिलको छेउमा नयाँ अनुहार देखेर उनीसँग पनि हात मिलाएँ । उनको नाम हस्त तामाङ, परिचय भयो । पुराना साथीहरूसँग भेट भएकोमा खुशी त थिएँ नै । हस्तजीसँग नयाँ मित्रता बन्न पाएकोमा अझ दंग भएँ । आफू बसेको स्टेट बाहिर न्युयोर्क आई थप साथी जोड्न पाउँदा मलाई एउटा फरक खुशीयाली मिलेको थियो ।

बफेल्लो स्टेट कलेजको एउटा प्राविधिक कोठाबाट स्टेजतिर लाइटको फोकस जान्छ । तब स्टेजको सिलींङका लाइटहरू धमिलो हुँदै जान्छन् । नेपथ्यमा बाँसुरी,  भायोलीन,  सारङ्गी र गीतारको धुनबाट कार्यक्रम शुरु हुन्छ । त्यो बजेको धूनमा कविले आफ्ना पहिलो चरणका तीन कविता सुनाउँछन् । कविहरू स्टेजमा विना सम्बोधन,  विना औपचारिकता कविता वाचन गरी फुत्त निस्कन्थे । यो कविता वाचनकै क्रममा ईफका भूटानका चित्रकार देव राई र अन्य कलाकारहरूले स्टेजको ठिक अघि दायाँतिर लाइभ आर्ट गरिरहेका हुन्थे । यसरी हेर्दा एकसाथ तीन दृश्य प्रस्तुत थिए ।

संगीतकारहरू गीतारमा विजय थुलुङ, दिल राई, पियानोमा डेबिढ ढकाल,  तबलामा ईन्द्र लामिछाने र सारङ्गीमा श्याम नेपाली र बाँसुरीमा सुशिल विश्वकर्माको उपस्थिति थियो । सुमधुर संगीतको साथमा बीचबीचमा कविता वाचन हुँदा एउटा लाइभ कार्यक्रम यस्तो रोचकिलो पनि हुनसक्छ । ओहो ! मैले त्यसै दिन मात्र नजिकबाट अनुभूत गरेँ । कार्यक्रम यसरी चलिरहेको थियो,  मलाई केही छुटाउन मन थिएन; त्यसैले, आँखा झिमक्याउनु नपरोस् भन्ने लागिरहेको थियो।

दोश्रा कविले त्यसै गर्थे । त्यसपछि जगदिश समालको गायकी सम्झँदा अझै ‘आहा’ लाग्छ । मिस्टिक इकोज कार्यक्रम आफैंमा एउटा पोट्रेट हो । एबस्ट्र्याक्ट हो । त्यो कार्यक्रम मात्र थिएन,  त्यो एउटा आर्ट थियो । कला साहित्य र संगीतलाई एक ठाउँमा जोड्ने प्रशंसनीय काम थियो । मेरा लागि एउटा काव्यिक कार्यक्रम हेर्ने रहर यहाँ आएर पूरा भएको छ । म त्यहाँ पुग्न पाएकोमा,  त्यो पल आँखैले देख्न पाएकोमा अझै दङ्ग बन्छु । जुन कार्यक्रम मैले अक्षरमा उतार्ने प्रयास गरिरहेको छु ।

बीचमा आधा घण्टाका लागि कार्यक्रम रोकेर खाना वितरण गरिएको थियो । म लाइन लागेँ । अरू साथीहरू, कार्यक्रममा उपस्थित अभिभावक र बालकहरू पनि लाइनमा लागे । ‘अरे सुमी तिमी !’  सुमी मेरो श्रीमतीकी साथी, पारीवारिक साइनोमा म उनलाई बहिनी भन्छु । उनीसँग लाइन विस्तारै अघि सर्ने क्रममा छोटो गफमा हालखबर बुझियो।

सबै दर्शकले आफ्नो टेबलअघि कार्यक्रम स्थलमै खाना खायौँ । पछि शशीले जिस्काउँदै,  ‘म तँलाई तँ भन्छु जे एन,  माइण्ड नगर् है’ भन्दै मुस्कायो । म धेरैपछि साथीहरू भेटेकोमा दङ्ग थिएँ । शशीको कुरा सुनी मुस्काएँ मात्र । उसले हातमा मिठ्ठा पान राखिदियो । खाना सकेपछि यसरी पान आउँछ भन्ने कल्पनै थिएन । पान चपाउँदै कार्यक्रम हेर्न खुब मज्जा भयो । साहित्यलाई नेपथ्यबाट दिएको संगीतको धुन र आँखामा नवीन र आकर्षक दृश्य देखिन्थ्यो । उक्त कार्यक्रम प्रत्यक्ष्य हेर्ने दर्शकलाई लाइभ पेन्टिङ, कविता वाचन र संगीत प्रिय लागिरहेको अनुमान गर्न सकिन्थ्यो ।

चार कविका धारावाहिक कविता वाचन जसमा सभापतिको चयन भएन । विशेष अतिथिको आवश्यकता परेन । उपस्थित कवि, संगीतकर्मी र चित्रकार मित्रहरू कसैले लामो भाषण गरेनन् ।  कसैले हाई काढ्ने गरी समय लिई लामो कार्यपत्र प्रस्तुत गरेनन् । त्यसलै त कार्यक्रमको नाम नै ‘मिस्टिक इकोज’ !

एकपछि अर्को गर्दै आँखामा मिस्टिक इकोजका सांगीतिक कार्यक्रम अघि बढ्थे । प्रत्येक सृजना निक्कै आकर्षक,  भावुक र प्रोट्रेट थिए । कवि, गायक, संगीतकार र चित्रकार समग्रहमा ‘कलाकारहरू’ एकै ठाउँमा यसरी उभ्याउनु कार्यक्रमकै सबैभन्दा सुन्दर पक्ष थियो ।

साँझ त्यसरी बित्यो। भोलिपल्ट लमिनजीसँग बिदा लिएर हिँड्यौँ । म दाहाल पुत्र ड्राइभ गरिरहेको छु । घिमिरे सरलाई त्यो कार्यक्रम अत्यन्त मन परेको कुरा बताउनु भयो । ‘साहित्य, संगीत र चित्रकारीताको त्रिकोणात्मक कार्यक्रम भूटानी समाजले पस्किएको थिएन, यो फरक स्वादको रहेको’ भनी मान्नुभयो । द्वय बफेल्लोबाट हेरिस्बर्ग फर्कंदा बाटोभरि कार्यक्रमकै कुरामा गफिंदै घर पुग्न लागेका छौँ । गाडीको अगाडि वीण्डसील सिसाबाट आकाशमा बादलको दृश्य कालो बन्दै गरेको देखिन्छ । यो कालो बादलचाहिँ मानव निर्मित हो या होइन छुट्याउन नसक्दा अनौठो लाग्दछ । आजसम्म बडो अनौठो लागिरहेकै छ !

Facebook Comments

You may also like

error: Content is protected !!