आफ्नै मृत्युको रहस्य

हो, म मरेकी हुँ । नेपालीको औसत आयुभन्दा धेरै कम उमेरमै । यति चाँडै मरुँली भन्ने मलाई कहिल्यै लागेकै थिएन, न त कसैले सोचेकै थियोे । तर, कसैले मर्छ या आफैले मर्छु भन्ने स‍ोच्नु नसोच्नुले मृत्युलाई के फरक पर्दो रहेछ र ? मरेपछि त सक्किगो नि ।

म मर्नु अप्रत्याशित मात्र थिएन, रहस्यमयी पनि थियो । म मरेको भोलिपल्ट सबैलाई थाहा भयो । घरमा रुवाबासी चल्यो । नमरुन्ज्याल मरेपछि जे नहोस् सोच्थेँ, त्यहि गरियो मसँग । कारण थियो, अप्रत्याशित मृत्यु । सञ्चै खाना खाएर सुत्न गएकी छोरी बिहानै कसरी मरेकी भेट्टिई ? कुनै चोट या आत्महत्याको कुनै संकेतबिनै । तर, त्यो रात पूर्णिमाको रात थियो । र छतमा २ कप डार्क कफी आधा-आधा बाँकी थियो । अनि किचेनमा कफी पाउडरको बट्टा खाली थियो, बस् !

धेरैले सोचे, कफीको ओभरडोजले मरी । तपाईंले कहिल्यै सुन्नु भएको छ, कफी पिएर मान्छे मरेको ? हुन त क्याफिनको प्रभावले प्रेसर लो भएर ढल्न सक्छ । खैर, यहि भनेका हुन् भनेर मान्दिउँ । कसैले यस्तो पनि सोचे कि, पूर्णिामाको त्यो रात कोही मेरो घरमा आयो, कफीमा पोइजन मिसाइदियो र त्यो पोइजनस कफी आधा पिउँदा नपिउँदै म मरेँ । कतिपयलाई थाहा थियो, ६/७ महिनादेखि म इन्सोम्नियाको पेसेन्ट थिएँ, कफी र औषधीको रियाक्सनले मरेँ, यस्तो पनि सोच्न भ्याए कतिले । हो, यी सब सोच्नु स्वभाविक पनि थियो, किनकी यी सबै मेरो मृत्युका लागि बलिया सम्भावनाहरु थिए ।

मलाई बाँचुन्ज्याल लाग्थ्यो, मरिसकेपछि मेरो लासलाई चिरेर सिलाउन नपरोस्, याने पोस्टमार्टम गर्न नपरोस् । तर पर्यो नै त्यस्तै । खैर, रिपोर्टमा त्यस्तो केही देखिएन, किड्नीमा अलिकति क्याफिन र फोक्सोमा अलिकति धुँवाबाहेक । कपको बाँकी कफीको पनि ल्याब टेस्ट भयो तर, रिपोर्टले पोइजनको नाम कतै लिएन । अन्ततोगत्वा मेरो मृत्युको कारण खुलेन तर, एउटा कारण त जसैगरी भिराउन थियो, भिराइयो ‘कफीको ओभरडोज’ ! मलाई मेरो आँखा, मुटु, मृगौला लगायतका अङ्गदान गर्ने ईच्छा थियो, अप्रत्याशित मृत्यु भएको कारण अङ्गदान गर्नपनि मिलेन ।

मरिसकेपछि म स्वतन्त्र भएँ । तर, स्वतन्त्र आत्माहरु पनि कहाँ एक-अर्कालाई यस्सै बोलाउँदा रै’छन् र ? मसँग कोही बोलेनन् । म एक्लै परेँ । म फ्रेसर थिएँ, न मलाई कसैले बोलाए न म कसैसँग बोलेँ । मैले पहिलो र अन्तिमपटक जीवन र मृत्युको परिभाषालाई फरक नजरले देखेँ । जीवनलाई भ्रम र मृत्यु मात्र सत्य भनेर अर्थ्याइबसेको मैले मृत्युलाई पनि भ्रमभन्दा ज्यादा केही देखिनँ । मैले पनि सोचेथेँ, म मरेँ, म सिद्धिएँ तर, शरीर मर्नु भनेको आत्मा मर्नु होइन । शरीर मर्नु भनेको त, आत्मा स्वतन्त्र हुनु मात्र रहेछ । त्यसैले, हो म मरेकी हुँ । तर, म मरेकी होइन, मरिसकेकी छैन ।

हो, त्यसपछि म एक्लै भएँ । मैले मेरा एकएक साथीहरुलाई सम्झिन थालेँ । पहिला मैले मेरो बचपनको यारलाई सम्झिएँ, ऊसँग मैले ४ वर्ष भाँडाकुटी खेलेकी थिएँ । सोचेँ, ऊसँग गएर कुरा गर्छु तर, ऊ निदाइरहेको थियो । मैले स्कुलताकाको साथी सम्झेँ, त्योसँग मेरो कत्ति कुराहरु सेयर हुन्थे । कसलाई मैले मन पराएँ, त्यसको कोसँग ब्रेकअप भयो देखि लिएर स्कुलपछि के पढ्ने, कहाँ जानेसम्मका कुराहरु गर्थ्यौँ हामी । प्रायःजसो एक-अर्कालाई उडाउँथ्यौँ र उत्प्रेरणा पनि दिइरहन्थ्यौँ । एस.एल.सी दिने बेला म त्यसकै घरमा बसेर ट्युसन पढ्दै थिएँ । त्यसपछि हामी चौबिस घण्टै सँगै हुन थाल्यौँ झन् कति कुराहरु सेयर हुन्थे, पूर्णिमाको रात हामी झ्यालमा बसेर जून हेर्दै कुरा गरिबस्थ्यौँ राति अबेरसम्म । म भन्थेँ, “म त मरेपछि किच्कन्नी हुन्छु अनि राम्रा-राम्रा केटाहरुलाई तर्साउन जान्छु, यस्तै जुनेलीमा सेतो सारी लगाएर गीत गाउँदै हिँड्छु” । अनि हामी क-कसलाई तर्साउने लिस्ट बनाउँथ्यौँ । दिनमा त्यो पारिपट्टि देखिने डाँडालाई देखाउँदै ऊ भन्थी, “म त त्यो डाँडामा चढेर आई लभ्यु फलानो…भनेर कराउँछु” भन्थी । एस.एल.सी पछि त्यो डाँडामा जाने प्लान थियो, तर के भयो के भयो, जान पाएनौँ ।

त्यसपछि हाम्रो भेट नै कहिल्यै भएन । मरिसकेपछि मलाई त्यसको खुब याद आयो । त्यसले त फेसबुकमा मृत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली दिएकी थिई । म त्यसलाई भन्न चाहन्थेँ, ‘म मरेकी हुँ तर, म मरेकी छै‌न यार । त्यो मृत आत्मा भन्ने लाइन हटाइदे । बरु एक पेज लामो श्रद्धाञ्जली कापीमा लेखेर ल्या, मेरो चिहानमा आइज अनि पढेर सुना मलाई ।’ अनि मृत्युका अनुभूति सुनाउन चाहन्थेँ किनकी कुनैबेला त्यसले भनेकी थिई, “ओई, मृत्युको अनुभूति कस्तो हुन्छ होला है ?” मैले हाँस्दै भनेथेँ, “तँभन्दा अघि मरेँ भने सुनाउन आउँला ।”

त्योसँगको दुई सालको दोस्ताना एक जुनीसम्म कुरा गरे पनि नसक्किने रहेछ । त्यसको यौटा सिक्रेट डायरी थियो, जुन उसले मलाई समेत नपढ्न भनेकी थिई । नगर्न भनेको कुरा नगरी बस्न कहाँ मान्थ्यो र मन ? मनले लगाम तोड्यो, मैले वचन तोडेँ । त्यो नभएको मौका पारीपारी लगभग पूरै पढ्न भ्याएकी थिएँ । मैले सुनिसकेका केही र कतिपय त मलाई पनि नसुनाएका टप सिक्रेटहरु त्यसमा लेखेकी रहिछ । सबै पढेपछि मलाई त्यो केटी मैले चिनेभन्दा अलि बढी बदमाश खराब र मसँग देखाउनेभन्दा अझै ज्यादा हक्की लाग्यो । त्यो मैले पढेकी छैन भन्ने भ्रममा होली अझै, कता-कता मनमा सरी भन्न पनि जाऊँजाऊँ लाग्यो ।

त्यसको कोठामा पुग्न लागेकी थिएँ, त्यो मलाई नै सोचिबसेकी रै’छे । तर, मलाई देख्नेबित्तिकै त्यो आत्तिई, चिच्याई, जस्तो भूत देख्दा कोही तर्सेर चिच्याउँछ । मैले त्यसलाई सम्झाउन खोजेँ तर, मेरो सुन्दै सुनिनँ, अझ तँ त सुसाइड गरेर किच्कन्नी बनेकी होस्, मलाई तर्साउन आएकी होस् भनी त्यसले । म एकएक गर्दै दिमागमा आएका सबै साथीकोमा पुगेँ, सबैले मलाई भूत भने र भट्केको आत्मा भनेर मेरो नाममा पूजापाठ गर्न थाले । त्यसपछि दिक्क भएर म कसैकहाँ जानै छोडीदिएँ । दु:ख, लोभ, क्रोध, डर, ईर्ष्या आदि ईत्यादी कुराहरुको जञ्जीरले बाँधिएर बाँच्न अभ्यस्त यी डेड् मानवहरु स्वतन्त्र हुनुलाई मर्नु भन्दा रहेछन् ।

अब म मृत्युको रहस्य सुनाउँछु । त्यस रात मैले सुतेपछि सपना देखेँ । सपनामा म मरेकी रहिछु र म्यापलको बाक्लो जंगलभित्रको चिहानघारीमा म आफ्नै चिहान खोज्दिरहिछु । मेरा आफन्तहरु मलाई नजा, फर्की भन्दै पुकार्दारहेछन्, म आफ्नै तालमा उडी हिँड्दिरहिछु । एकएक रुखमुनिको चिहानमा आफ्नो नाम खोज्दिरहिछु । तर, आफ्नो चिहान नभेटेरै ब्युँझेछु म । यस्तो अजीव सपनाबाट ब्युँझिएपछि मलाई कफीको तलतल लाग्यो । आधा रातमा २ कप कफी बनाएँ, डार्क बनाएँ, अझ डार्क बनाएँ । बट्टाको सबै कफी पाउडर सक्कियो । दुईवटै कप बोकेँ र छतमा निस्किएँ, मन भरिउन्ज्याल जून हेरेँ । सपना सम्झेँ सोँचेँ, काश मेरो मृत्यु त्यस्तै भए… ।

अचानक, मृत्यु मेरो सामने आयो । हात मिलायो र भन्यो, “हे डेड् गर्ल । क्यान आई ह्याभ् अ कप अफ् योर कफी ?” “अफ्कोर्स !” मैले भनेँ र थपेँ, “बट् आम् नट् डेड् येट् । आम् अलाइभ् ब्रो” तर उसले भन्यो, “काम, क्रोध, लोभ, ईर्ष्या, डर..ऐजन ऐजन कुराहरु मनभरी बोकेर बाँचेकी यु आर् अलरेडी डेड्, गर्ल ।” मेरो अन्तरिम इच्छाबारे सोध्यो, मैले यहि भनेँ कि, “तिमीसँग छतमा डार्क कफी पिएर बात गर्दागर्दै मरम् ।” यति भनिसक्दा नसक्दै मैले बाँकी कफी पिउन सकिनँ ।

अब भन, के मैले आत्महत्या गरेँ ? के यो कफीको ओभरडोज हो ? औषधी र कफीको रियाक्सनले हो ? कसैले विष पिलायो ? या के ? ? ?

आजकल मलाई फेरि कफी पिउन मन लाग्दै छ । यदी तिमी चिहानघारी प्रेमी हौ भने २ कप डार्क कफी लिएर डेड् सिटीको गुलमोहरको जंगलभित्रको ग्रेभयार्डमा आउनु, त्यहाँ गल्ली नं. २३ को चिहान नं. ११ मा म हुनेछु । नत्र यो पूर्णिमाको रात, कफी पिउन मन भयो भने २ कप बनाउनु । म तिम्रो अजनभी सा कमरामा हाजिर होइजान्छु । मियाऊँ !

Facebook Comments

You may also like

error: Content is protected !!