ईश्वर, आऊ बन्दुकको खेल खेलौँ | Saturdayकलम | काव्यालय-Kavyalaya

ईश्वर, आऊ बन्दुकको खेल खेलौँ  !

 मस्तिष्कमा पैताला उम्रिएको छ । पक्का छ, यो मस्तिष्कको अन्डस्थुलन सिवाय अर्थोक केही होइन । हृदय हत्केलामा चटपटाइरहेको छ । पक्का छ, यो श्रापित इतिहासको गङ्गा दशहरा स्नान बाहेक अर्थोक केही होइन ।

 

कविवर रनपहेंली जि, आँसु उँधो नै बगिरहेको छ । गोड्से र जोन बुथले फ्याकेनन् पेस्तोल । गरेनन् अंकमाल गान्धी र लिंकनसीत । म त ढुंगाकै आकाश भएँ क्यार । फलामकै ग्रील भएँ क्यार । क्लड इथर्ली भएँ क्यार म त, आकाशबाट सकिनँ बर्साउन फूल, एटम बम नै बर्साएँ । ईश्वर, हिरोसिमाबाट तिमीले डेरा सरेका हौ ? कहाँ छौ तिमी यतिखेर ?

 

पग्लनु र जम्नु, बरफ हुनु । फैलनु र खुम्चिनु, सडक हुनु ।  टुक्रिनु र जोडिनु न हो । भत्कनु र सम्मिलित हुनु न हो । बाँसघारीका सारौंझैं ऐंठनहरू सल्याङबल्याङ गरिरेहका छन् ! गीतका घाउहरू उप्किरहेका छन् । तर पनि सन्त्रासका विणाहरूहरूमा कुनै हृदयविदारक सुस्केरा छैनन् ! यो कस्तो अद्भूत शान्ति, उज्यालो अस्थिरपंजर मुसारिरहँदा कतै अँध्यारो छैन !

 

होस पन्छाएर, ठट्यौलीहरूसँग दूरी बढाएर यतिखेर म तासको घर बनाइरहेको छु !  खोयाको ९ तले दरबार निर्माण गरिरहेको छु । होला, यो एउटा केटाकेटीपन ! होला, यो एउटा भात पकाइ खेल ! तर यहि मज्जा ! तर यहि सुस्वादिलो !

 

पैतालाको डोबहरूमुनि जुनकिरीका चाकहरू बल्न छाडेका छन् । खुट्टाका बुढी औंलाका कापकापबाट पुतलीहरूको चिच्याहट गुञ्जिरहेछ । एक असिमीत तृप्ति ! 

 

ईश्वर, तिमीले खैंजडी बजाउनै छोड्यौ ।  के तिमी गङ्गा किनारमा अझसम्म मुन्टो डुबाइरहेकै छौ ? छोड, ‘शिश्ने देवा:’ जपिरहेका द्रविडनाडूहरूको फेसबुक प्रोफाइल तिमीलाई देखाउन्नँ । ‘महिषासुर सहादत दिवस’का फोटा यो पाली देखाउन्नँ । तिमीले खुत्रुकेमा जोगाइराखेका तिम्रा खुशीहरूमा ‘लाई’ लागेको हल्ला छ ? के म चिहानसम्म पुगेर एक बटुको खरानी ल्याउँदै गरौँ ?

 

मैले धुपीसल्लाको रुख कोट्याएर तिम्रो नाम लेखेको छैन । न भू-धरातलमा झाडी पन्छाएर तिम्रो अनुहार कोरिरहेको छु । ईश्वर, म तिम्रो ढाडमा उक्लिएर सुर्यास्तको गोधूली क्षितिज पनि नियाल्न चाहन्छु । कति अभूतपूर्व हुँदो हो त्यो दृश्य ? ईश्वर, तिमी हराएको खबर छ । के तिमी असंख्य छालहरूबीच ढलपल ढलपल गरिरहेको डुंगामा तन्काउँदै आफ्नो शरीर, पिठ्युँ सेकाइरहेका छौ  ?

 

चट्याङ परेर एउटा खर्सेतोको रुख सुकेको छ । त्यसैको हाँगोमा छ्यान्नब्यान्न परेको गुँड नियाल्दै एउटा ढुकुर विरहको कविता पढिरहेको छ । मलाई ऊ दुई मुखे भारुन्ड चराजस्तो लागिरहेको छ । ईश्वर, नरसिंह अवतारको आगमनको सजावटजस्तो साँझ र रातको दशगजामा म तिम्रो प्रतीक्षा गर्दै छु । तिमी बाटो सोध्दैखोज्दै यतैकतै ढुनमुनाएजस्तो लाग्छ । ईश्वर, तिमी साच्चै आएका हौ र ?  

 

के तिमीले काफ्काको मेटामोर्फेसीस पढेका हौ ? भुइँभरि  लतपतिएका यी र्याल सिँगान तिम्रै हो ? ईश्वर, नाकको टुप्पोमा डण्डीफोर आएको छ यार, निचोरीदिने हो ?… मलाई तिमीसँग उटुन्ग्या कुराहरू गर्नु छ ।

 

मुटु एउटै हो । आज विरह छचल्कियो । टाउकोको नशा बटारिएको छ । हिजो पनि पीडा पोखिएको थियो, टाउकोको अर्को नशा बाउडिएको थियो । ईश्वर, तिमी त मेरो लागि वैद्य पनि हौ, आउँदाखेर ओखतीमुलो खोजेर आउनु नि । म बख्तियार खिल्जी होइन, किताब चाटेर निको हुनेखालको मेरो रोग पनि होइन । हाकाहाकी मलाई मुखबाटै ओखती निल्नु छ ! तिमी चाहन्छौ मेरो मस्तिष्कको दाँत फुक्लियोस् ? कन्पारो सन्न हुन छोडोस् ? यो सन्निपात निको होस्  ? यो विषमज्वार निको होस् ? खैर, तिमीजस्तै छाँटको देखिन मलाई तिम्रो नीति, पद्धति र सिद्धान्तले प्रेरित गर्यो ! पक्का छ, तिमी चाहन्नौ मेरो ज्वरो निको होस् ! जान्दछु म, हातमा सुर्दर्शन चक्र (एटम बम) समाउनेको नै गीता (लोक हितकारी संहिताहरू) सुनिने गर्दछ ! 

 

गन्ती भुलेको छ यतिखेर, एक दुई तीन.. कति ? संख्या भुलेको छु यतिखेर, एक दुई, तीन ..कति ? क्रम भुलेको छ यतिखेर, एक दुइ तीन, कति ? तिमी तेत्तिस करोड, तिमी एक र अनादि । तिमी पालनहार, तिमी सर्वनाशी, तिमी भक्षक र रक्षक दुवै । 

 

***

बुल्डोजरहरूको नाङ्गो नाच आँगनमुनि छिन्कटो हानिरहेका छन् । हाइड्राका टेन्टाकल्सले घाँटी अँठ्याएको छ । साह्रो छ । पीर परेको छ । मन अतालिएको छ । हतारिएको छ ।

 

ईश्वर, म तिम्रो मृत्युको सङ्खघोष गर्दै आँसुका ज्वालामुखी ओकल्ने पहाडहरूमाथि उभिरहेको छैन यतिखेर । म त तिम्रै प्रतीक्षामा छु ! मलाई थाहा छ जराहरू किमार्थ मर्दैनन् । बरू कोही अर्कोको घाँटीमा बेरिन्छन्, आङमा अल्झिन्छन् । 

तिमी जरा, तिमी हाँगा, तिमी पात, तिमी एक सिंगो रुख ।

 

ईश्वर, तिम्रो हुलिया अनुमान गरिरहेको छु म । जंगबहादुरको शालिकबाट अवतरित होलाऊ कि ? भीमसेन थापाको लासले घाट नपाएको इतिहासको पदचाप पछ्याउँदै अरुणको भेल हुँदै आइपुग्लाऊ ? 

 

खादीको कछाड बेरेर देखिएलाऊ कि थोरै जुँगा राखेर ? नाङ्गो शरीर ‘कैवल्य प्राप्ति’का आचारसंहितासहित  बर्बराउँदै आइपुग्लाऊ ? हतियार मिल्काएर अहिंसा अङ्गिकार गरेका तिमी कस्ता भयौ होला अहिले ? नदेखेको कति भयो, नभेटेको कति भयो ! भेटूँ भेटूँ भा’छ, बोलूँ बोलूँ ला’छ !

 

बतास र फूलका पनि आ-आफ्नै दुःखमर्का होलान्, यता किन आउँथे ? आएनन् । नआउन् । बादल र बालुवाका पनि आ-आफ्नै प्रेम-विछोड होलान्, यता किन विरही सारंगीको धुन सुनिन्थ्यो ? सुनिएन । नसुनियोस् ।

 

ईश्वर, काँगियो फूलमुनि बसेर तिमी यतिखेर आफ्ना बाक्ला, काला, घना, कपालहरू कोरी मागिरहेका हौला । मलाई तिम्रो खाँचो परेको छ कस्सम ! तिम्रै कस्सम । म घैंटोभित्रको रात जस्तो निसास्सिरहेको छू, दिशाहीन छु । पुरातत्व र म्युजियमका भित्ताहरूजस्तो लावारिस छु । तिम्रो आगमनले मात्र पनि मेरा पखेटाहरू पलाउनेछन् । तिम्रो आगमन मेरो लागि आत्मगौरवको विषय हुनेछ । प्रतिष्ठाको लब्धांक हुनेछ ।

 

देशको तमाम दु:ख कष्टदेखि टाढा रहेर कायाकल्पको कल्पनामा भौंतारिरहेको छु । धार्मिक सम्प्रदायहरूको एक नित्य धारावाहिक कर्मजस्तो म, जतिखेरै खण्डित छू, रक्त्योल छु । नित्य अखबारका शान्त अक्षरहरूले बोकी ल्याउने नरसंहारका खबरहरूजस्तो मेरो दैनिकी, सालनालसितैको बालकजस्तो रक्तिलो छ । पालनपोषण र स्याहारसम्भार पर्खिरहेको छु । 

 

हुरीले छुरी चलाएको छैन । यसैले त छाला सग्लो छ, हृदय अचानो । अब यो अचानो कहाँ कटुस ? अब यो अचानो कहाँ नरिवल ? अब यो अचानो कहाँ ओखर ? यो अचानो बस्, एक बचेरा- जसको खुट्टा र प्वाँख काटिएको छ । भुत्ल्याएर मिल्काइएको भंगेरोजस्तो, अब मेरो उफ्राइ बस् एक रगडाइ, बस् एक ‘गोरु जुधाइ र दुबो मिचाइ ।’

 

ईश्वर, घडीफूलमा समयका काँटाहरू दगुरिरहेका होलान् है ?  तर मेरो आँखा थकित छ । पाइलाहरू सिथिल छ । परेला चिसा छन् । शहरमा जाडो बढेको खबर छ । आगो ताप्न मन छैन । ईश्वर, तिम्रो आगो चोर्न प्रमिथस आउँदै होला । मलाई मेरै हिउँ ठिक छ । तिमी उसलाई सिरक दिएर पठाउनु । 

 

देउरालीमा सिस्नु पलाएछ । तिमी त्यो बाटो नआउनु । भञ्ज्याङमा तिम्रा मूर्तिहरू तोडिएका छन्, तिमी त्यता नपुग्नु ।  अङ्कुशेले तानौँ कि झटारोले हानौँ ? ईश्वर, भन तिम्रो यो बोझिलो पर्खाइलाई म कसरी पोषित गरौँ ? 

 

प्रेयसीको अँगालोजस्तो आत्मीय आतिथ्यता पस्कने छु तिमीलाई । च्याडु दोबानमा डुबिरहने खुर्पेटो जूनझैं डुबेँ क्यार म तिम्रो मायामा । ‘तिम्रो मायाले बाँधेर राख, मेरो सिरानी होस् तिम्रो काख.. ।’

 

***

भुइँकुहिरोहरू धुम्मिएका छन् । बादलहरूले डढेलो सल्काएका हुन् र ? आँसुका भेलहरू बढेका छन् । नदीहरू देश बगाउन निस्केका हुन् र ?

ईश्वर, तिमीले आँसु र रगतको दोभानमा हृदय डुबिरहको मेसो पाएका छौ ? आँसु जमेर मैन बने हेर। अब बारुद भरिएको सलाई कसरी पो कोरौँ यो अन्धकारमा ?

 

प्रेम र सौन्दर्यका श्लोकहरू, भजनहरू सुनिन छोडेको छ यतिखेर गङ्गा-मैदानमाथिको आकाशमा । गौरवमय परम्पराको ध्वजापतकाहरू डोरी बेगर चंगाभाँती उडिरहेका छन्, सिन्धुघाँटीको अन्तिम किनारसम्म । ईश्वर, तिमी त आकाशको मानचित्रभन्दा पनि परको बासिन्दा । के तिम्रो स्वर्गमा आँगनमुनि कुटमिराको रुख छ ? हेर त, त्यहाँ एउटा कालो काग सफेद आवाजमा कराइरहको होला,..काँ काँ… ? ***

 

लौ, तिमी आएनौ मकहाँ । मै आइपुगेँ । मेरो सरप्राइज कस्तो लाग्यो तिमीलाई ? 

ठिक छ । तिम्रो मुहारमा खुशी छाएको छ । यो भयानक हाँसो कति सुहाएको तिमीलाई ? तानाशाहहरूको बचपनको फोटोजस्तो ।

 

खै छाड, नसोध मलाई प्रधानमन्त्रीको जुँगाको लम्बाइ र सगरमाथाको उचाइको नाप । म देशप्रेमको चिसो छिँडीदेखि धेरै परको मान्छे, मलाई के पत्तो लिम्पियाधुरामा भदौरे घाम लाग्दा, सिंहदरबार भित्री कोठामा संघियाताको रक गीत घन्कँदा, गणतन्त्रले कसरी कम्मर मर्काउँछ ? नसोध, राष्ट्रको नाममा सम्बोधनको क्रममा राष्ट्रपतिको अनुहारको कोठी चिउडोतिर सर्किन्छ कि गालाको मुजाबीच हराइजान्छ ? मलाई घडी भए पुग्छ, समयको के वास्ता ? यो बताएर जिब्रोलाई किन दुःख दिऔँ ? कालापहाडका कहानी र कर्णालीका कछाडका उखानहरू राष्टवादका सुपुरडुपरहिट पप गीतहरू हुन् मेरो देशको । यो कुरा तिमीलाई पनि त ज्ञात नै छ ।

 

***

 

खबर सोध्यौ । ‘ठिक छ ।’

 

घाउहरू त सदैव पुरिँदै आएका छन् । खाटाहरू दुधसँग बग्न कहाँ सके र ? अक्षता र फूलपातिमा टाँसिएर घर दैलो र निधारसम्म आइपुगे । जहाँ बसे त्यहीँ घाउँ बनाएँ ।  

 

ईश्वर, तिम्रो सुनाउ बरू । आफ्नो गौरव र वीरताको दन्त्यकथाहरूको आभामा अर्धमुर्छित होइरहँदा रगतका दियोहरूमा अल्झिएर ठेस लागेर लड्न पुगेका थियौ क्यारे ।  त्यो निको भयो ? 

 

हेर, मौसम सुहाना छ । शीतको चस्मा खोल । हिउँका फूलहरू छोड । थोरै अल्कोहल ल्याऊ । एक प्लेट छोयला परपरी भुट, मानव कलेजोका । खाइवरी देशदेशाहर डुलौँ । समयलाई दरबान राखेर निस्कौँ, यो तिम्रो भव्य दरबारको । बार्दलीमा बसेर खोकिरहने वयोवृद्धजस्तो कहाँ बन्न सुहाउँछ तिमीलाई ? अक्षांश र देशान्तरहरू तन्काएर एउटा गलैँचा बुनौला । त्यसकै सवारी लिउँला । उडौँला माथिमाथिसम्म..परपरसम्म ।

 

उठ त सहि, हिँड त सहि ! चौरास्तामा उभिएर कोणसभा गरुँला । मानवताविरुद्ध प्रेस विज्ञप्तिहरू निकालौँला । धैर्य र स्वतन्त्रताको भलाकुसारी सुनेर खितिति खितिति.. खित्का छोडेर हाँसौँला । कष्ट र विपदका बुँद बुँद आँसु घुट-घुट निलौँला । 

 

*** 

 

नेपथ्यमा छुरी घोप्ने छाँयाजीवी हामी होइनौँ । छालले उछिट्याएको केही गाग्री पानीमा पौडी खेल्ने पौडीबाज हामी होइनौँ । मनको एकान्त प्रदेशमा जरासन्धझैं दुई फ्याक्लेटो शरीर बोकेर बाँचिरहेकाहरूप्रति चैतको डढेलो बनौँ, आऊ । लालीगुराँसको हार्दिकता निमठौँ, आऊ । खुकुरी तताऊँ, सानी बालिकाको योनी च्यातौँ । र, स्वार्थको यज्ञकुण्डमा कामोत्तेजनाका चरू होमौँ । 

 

बकैनाका  फूलहरू सब झारौँ । र हाँगा हाँगामा लासका गिड्कागिड्कीहरू अड्काऊँ । गिद्धहरू टोड्कामै होलान् । चीलहरू कावा खाइरहेकै छन् । हामीलाई अब कमलका पातहरू किन पो खाँचो ? रगतको सिँचाइले पृथ्वी अझ हराभरा हुन बाँकी नै छ । ईश्वर, विनाशकारी डढेलो नरोक्नु । मलाई चिसो खरानीमा तातो पिसाब तुर्क्याउन मन छ ।

 

ईश्वर, आऊ बन्दुकको खेल खेलौँ । मानव खप्पर उसिनेर सूप पिऔँ । गिदीका छयालब्याल बटुलौँ । अचार बनाऔँ, र जिब्रो ट्वाक्क पड्काऊँ । मुटुहरू थुतौँ र कुहाएर जाँड बनाऔँ, तनतनी पिऔँ । एउटा भतेर यस्तै गरौँ । सुत्केरी रगतमा नाबालकहरूको निधार मुछेर चिरिप्प लुछौँ, वात्सल्यको छोइला ! नलिखुट्टा र आँखाहरूलाई मिल्काई नहालौँ, अखण्डताको बरखी बार्नु नै छ भोलि । त्यतिखेर लुछौँला । 

 

त्यसपछि साम्यवाद र सत्ययुगको मध्यान्तरमा संविधान र धर्मग्रन्थहरू पढौँ । कुन कति मृत, जाँचौँ । कुन कति विलासी, बहस गरौँ । बदाम म केलाउँला, सुन्तला तिमी छोडाऊ । इश्वर, आऊ सभ्यताको घमाइलो मौसममा दिन बियाल्दै भलाकुसारी गरौँ । शिशिर यामका पालुवाहरू निमोठौँ । ‘अतिथी देवो भव:’ पुकारिरहने वसन्तको कठालो समातौँ ।

 

हिँड जाऊँ । मक्कामा हज गरेर आऊँ । मरुद्यानका बाख्राहरूको दूध तनतनी पिऊँ । अनि तिनैको कचेल्डोमा लात बर्साएर फर्किऊँ । ऊँट चढेर भेडाबाख्रा चराइरहेका मदनहरूलाई ढुंगा हानौँ । कतारका शरणार्थी भान्छाहरूमा छिरेर बुर्खामुनिको लिपिस्टिकहरूका स्वाद चाखौँ ।

 

ईश्वर, उडाऊँ गलैँचा !

हिँड जाऊँ, आँसुले उनिरहेका हजुरआमाका पोतेहरू चुडालेर प्रभातको आकाशमा लालिमा थपौँ । हिँड जाऊँ, हृदयका ऐनाहरूमा वायुपंखी घोडाका टापहरू बजाउँदै परेवाका प्वाँखहरू थुतौँ । 

 

कर्याङ कुरुङको ताँती देखिएको छ । के तिमीले बर्सादी बोकेका छौ ? रगतका छिटाहरूसँग छोइछिटो हालेकै जाती । रगत पिउनेहरूले अनुहारभरि रगत पोत्ने गर्दैनन् । खै छाड यसो गर, हिरोसिमा र नागासाकीको धुवाँले माथि सुन्दर घरको चित्र कोरेछन् । उक्लौँ त्यतै, । चित्रकारले हस्ताक्षर गर्न भुल्योजस्तो छ । खै एउटा चील समात र भन उसले ठ्याक्कै यहीँनेर बिस्ट्याओस् । यता उति होइन, ठ्याक्क माझ पारेर एउटा हच्ची हस्ताक्षर गरोस् । गर्यो ? अब उसलाई उड्न देऊ । आकाश उसको पिंजडा हो, उसलाई दानापानी नसोध ।

 

ईश्वर, तिम्रो खुट्टा बाउडिएको हो ? यसो गर, तन्काऊ । सर्लक्कै । सुडानदेखि रुवान्डासम्म । अझ भएन ? अर्को खुट्टा यता खुम्चाऊ, इराकदेखि भियतनामसम्म । तिमी पनि लिलाकै रहेछौ । खोइ, यो जुत्ता खोल । मिल्काइदेऊ, मस्को आसपास । अर्को पनि खोल, मिल्काइदेऊ, बेइजिङतिर । अब बुढी औंला चलाऊ, टर्कीको नाकमा लाग्यो, अलि विचार गर । अब अर्को औंला चलाऊ, इरानको बन्दरगाहा छचल्कियो यार, अलि विचार पुर्याऊ । अझ भएन ? जोड गर, दाँया बाँया गर । जेरुसेलमलाई छोला विचार गर ।…. भयो नि ?  हिँड अब । पर्ल हार्बरमा पुगेर खुट्टा भिजाइल्याऊ । अहिलेलाई गलैँचामा बस । अब अर्को उडान लिनु पर्ने छ ।

 

 

Facebook Comments

You may also like

error: Content is protected !!