मियोमा ‘साँझ’

मियो; बिम्ब एक, काव्यांश अनेक

एकले हरेक अर्कोलाई स्वीकारेर सृष्टि चलिरहेको छ। एक-अर्काको साथ र हौसलाको फलस्वरूप आज हामी यहाँ छौँ । हामी सँगैसँगै हुनुमा शारीरिक बनावट, मानसिक चिन्तन, जीवनपद्धति र समाजिक ढाँचाहरू महत्वपूर्ण छन् । यद्यपि, मस्तिष्क यति रहस्यपूर्ण छ कि- ऊ एकसाथ रहेर पनि अलग हुन जान्दछ, भिन्न हुन सक्दछ ।

सोही कुरालाई ‘मियो’ बनाएर काव्यालयको नियमित शनिबारीय प्रस्तुति ‘SATURDAYकलम’ अन्तर्गत ‘मियो; बिम्ब एक, काव्यांश अनेक’ स्तम्भमार्फत एउटै बिम्बको प्रयुक्तिमा विभिन्न स्रष्टाहरूका विविध अभिव्यक्तिसहितका काव्यांशहरूलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

यस साताको मियो छ;

साँझ



कविता : मुक्ति
कवि : हरिभक्त कटुवाल

न मैले तिमीलाई लक्ष्मण रेखाले बाँधेको छु
न मैले बाँधिदिँदैमा तिमी बाँधिन्छ्यौ प्रिये !
मन लागेको बेला फड्केर हरेक साँझ
म जस्तै तिमीलाई पनि हिँड्ने रहर होला कता-कता
म त यसबेला खोला जस्तै बगेको छु
त्यसैले कुनै बाँधले तिमीलाई पनि छेक्नु छैन ।


कविटा : एउटी स्वास्नी मान्छेको अन्तर्वार्ता
कवि :पारिजात

ढाँटेकी भए हजुरको मासु खाने
मेरी बास्सै !
लोग्नेलाई त मैले जग्गेमा मात्र देखेकी
टोपीमा लालुपातेको फूल घुसारेर
निधारमा तीनवटा सितारा टाँसेर
गालामा अलि अलि लाली घसेर
आएको मेरो अधबैंसे दुल्हा
आरनजस्तै अँध्यारो र
खलाँती जस्तै धुस्त्रो थियो
ए, हाँस्नुभएको हजुर त !
यसको गोडा पखालेको पानी खानु साँझ बिहान
यो तेरो देउता हो भनी
बूढी बज्यैले भन्दा
घुम्टोभित्र म रोएकी
खै, कसरी देखाऊँ
गालामा आँसुको डोब बस्दैन हजूर
पहरामा खहरेको डोब बसेजस्तो !


कवि/गीतकार : क्षेत्रप्रताप अधिकारी

मलाई छोडी मेरो छाया कतै झरेछ
तिमिसम्म आइपुग्दा साँझै परेछ


कवि/गीतकार : भीम विराग

आजभोलि हरेक साँझ मात्तिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ


कविताः चक्र
कवि : नविन शर्मा

हरेक साँझ यसरी ढल्छ कि
मानौँ – जड्याँहा बल्ल मात्न थालेको छ !
बिस्तारै मात्दै जान्छ
मात्छ – मात्छ र हुन्छ बेहोस जस्तो !
त्यसपछि छाड्न थाल्छ बिस्तारै नशाले
छाड्दै जान्छ – छाड्दै जान्छ र बिस्तारै उठ्न खोज्छ
र अन्तत्वगत्व उठेर हिँड्छ !
यसरी हरेक रात सकिएर बिहान हुन्छ
बिहान ~ बालक हुन्छ
तर मान्छे बूढो भइरहन्छ !


कविताः छोडिएको म
कवि : इ-राजन बस्नेत

बिहानै-
तिम्रा हत्केलामा झरेका घामका रङ्गहरू
अस्ताउदै गरेको-सुन्दर साँझ
अनि,
फुल्दै गरेको प्रेमिल वसन्त
यी सबै-सबै तिमीलाई छोडेको रहेछु।
अझै कति छोडिएलान-
हामीसँग गास्सिएका-प्रीतका मुर्छ्नाहरू।
हामीसँग लतारिएका-न्याना अङ्गालाहरू।
एक्लोपनामा छिमलिएका-तिम्रा सुकोमल यादहरू।


कविता: मैले कविता लेख्न थालेदेखि
कविः प्रकाश रम्घाली

भान्छामा दाल/चामल सकिएको छ
हरेकपटक राशन साहुले उधारो दिनुअघि–
किन लेख्छ मेरो हत्केलामा उसैको नाम ?
साँझ श्रीमतिले रुँदै भनिन् ।

बिहान सधैँ बा’को खुट्टाको साइज नापेर
नयाँ जुत्ता किन्न हिँडेको म
बेलुका बा’को रहर मात्रै लिएर फर्कन्छु
मसँग मेरा बा’ पटक्कै खुसी छैनन्


गजलकार : रोशन परियार

छोराले “स्कूलब्याग” फुत्त फालेपछि बल्ल बुझेँ
हरेक साँझ उसको पनि थकान हुँदो हो मेरो जस्तै


कविता : गरीबको आत्मकथा
कवि : प्रज्वल अधिकारी

बिहानै
जब म निस्कन्छु-
सफा,सेतो र सुकिलो
चुरोट जस्तो जिन्दगी लिएर

साँझ
केवल ठुटो भएर फर्कन्छु ।
आनन्द बनेर धुवाँ अन्तै उड्छ
खरानी बनेर जिन्दगी अन्तै सकिन्छ ।


कविता : कवितालाई पुरस्कार
कवि : चन्द्र गुरुङ

कार्यक्रमको दिन–
विशेष अतिथि थिए प्रमुख राजनैतिक पार्टीका नेता
मुख्य अतिथि थिए आयोजककै आफ्न्त
अगाडि थिए मसँगै सम्मान थाप्न एक भोँडे व्यापारी
साथैमा एक अर्को गुण्डा जस्तो अनुहार
एकजना पुलिस अधिकारी पनि रहेछ मेरो छेवैमा बसेको ।
वरिपरि हेरेँ,
नकुनै चिनेको कवि लेखकलाई देखेँ
नपाएँ कविता बुझ्ने जस्तो कुनै अनुहार ।
त्यस साँझ
पुरस्कार थापेर फर्किँदै गर्दा
फेरि एकपटक लागिरह्यो–
सम्पादकले कविता नछापिदिएको जस्तै
प्रकाशकले पाण्डुलिपी अस्विकृत गरिदिएको जस्तै ।


कविता : म त्यही हुँ तिमीले बिर्सिएको मानिस
कवि : हेमन यात्री

बिर्सिएकै भए पनि
कुनै दिन तिमीले छोडिगएको बाटो भन्ने थियो
कुनै दिन तिमीले छोडिगएको माटो भन्ने थियो
साँझको जुनकीरी जस्तै हुन सम्झनाहरू
कुनै साँझ जुनकीरीहरू निभेछन् भने
सम्झनु
हाम्रा सम्झनाहरू सकिने छन् सबै
तर त्यतिन्जेल मैले सम्झिएको प्रीय मानिस तिमी नै हुनेछौ ।


गजलकार : निरज भट्टराई

आमा हरेक साँझ एउटा दियो बाल्छिन् आँगनमा
उज्यालो कोशौं दूर हाम्रो छातीमा छिरिदिन्छ



 

Facebook Comments

You may also like

error: Content is protected !!