मियोमा ‘मुस्कान’

मियो; बिम्ब एक, काव्यांश अनेक

एकले हरेक अर्कोलाई स्वीकारेर सृष्टि चलिरहेको छ। एक-अर्काको साथ र हौसलाको फलस्वरूप आज हामी यहाँ छौँ । हामी सँगैसँगै हुनुमा शारीरिक बनावट, मानसिक चिन्तन, जीवनपद्धति र समाजिक ढाँचाहरू महत्वपूर्ण छन् । यद्यपि, मस्तिष्क यति रहस्यपूर्ण छ कि- ऊ एकसाथ रहेर पनि अलग हुन जान्दछ, भिन्न हुन सक्दछ ।

सोही कुरालाई ‘मियो’ बनाएर काव्यालयको नियमित शनिबारीय प्रस्तुति ‘SATURDAYकलम’ अन्तर्गत ‘मियो; बिम्ब एक, काव्यांश अनेक’ स्तम्भमार्फत एउटै बिम्बको प्रयुक्तिमा विभिन्न स्रष्टाहरूका विविध अभिव्यक्तिसहितका काव्यांशहरूलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

यस साताको मियो छ;

मुस्कान



…बोकेर प्रेमको सुवास
म बाँडिरहेछु तिमीलाई मखमली मुस्कान
फक्रिएर
भीर / पाखा / पखेरा र तिम्रै आँगनभरि-
फर्फराइरहेछु म मेरो यौवनभरिको सौन्दर्य
कृपया !
मलाई नबनाउनु प्रेमको अर्थहीन उपहार
बरु मजस्तै / म बनेर प्रेम गर्नू सधैँसधैँ ।

– आर. के. अदीप्त गिरी



..अब,
दोहोरिने छैन कहिल्यै पृथ्वीमा
एउटा यस्तो सत्य
तिम्रो आँखाजस्तै सुन्दर
तिम्रो मुस्कानजस्तै शालीनता
हिँडेर कहिल्यै नसकिने यी बाटाहरूजस्तै
देखेर कहिल्यै नसकिने यी सपनाहरूजस्तै
एक्लै मुस्कुराइरहेकी तिमी
थाहा छ तिमीलाई ?
तर,
जीवन जस्तै छली तिम्रो मुस्कान मलाई औधी मन पर्छ ।

– कविता : छली मुस्कान/ कविता : विमला तुम्खेवा



..जसरी
छोडेर गएका थियौ;
हाँस्दाहाँस्दैको आधा मुस्कान,
देख्दादेख्दैको आधा सपना.
गाउँगाउँदैको आधा गीत,
हो त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई ।
सायद
मेरो प्रार्थना
बोकी जाने ईश्वरहरु
आत्मघाती दंगामा पर्लान्,
मैले पुज्दै गरेका ढुंगाहरू
कुनै निधारको भागीदार बन्लान्
म ईश्वर नदेखेको मान्छे
त्यता कतै
भोकाको हातमा
रोटी देखिहाल्यौ भने
सम्झनु
मेरो ईश्वर खुसी छन् !

– कविता : सम्बोधन / कवि: रावत



जानेहरूलाई मुस्कान दिएर बिदाइ गर्नुपर्छ मैले
थाहा छ-
आँसुले रोक्न नसकेको बाटो
मुस्कानले रोक्छ कहिलेकाहीँ !

– कविता : बिदाइ / कवि: विकास रोका मगर



यशोधरा !
कल्काउँडो बैंस
छातीभरि बोकेर
आँखामा सिसाका चोइटा बनेर अल्झिएका
आँसुका टुक्राबाट नि:शब्द मुस्कान भरिरहनु
कुनै निर्वाणभन्दा कम लाग्दैन मलाई ।

– कविता : यशोधरा / कवि : महेश पौडेल



..यो खतरनाक दृश्यमाथि
मौनमौन प्रकाश खन्याइरहेको थियो चन्द्रमा
ताराहरू
चुपचाप कोरोनाको ताण्डव हेरिरहेका थिए
त्यो भन्दा खतरनाक थियो
आत्महत्या गर्नुपूर्वको प्रेमीको मुस्कान !

-कविता : खतरनाक मुस्कान / कवि : रामगोपाल आशुतोष



मानौँ … इन्द्रेणी, आकाशबाट धरती ओर्लिरहेछ
अनेकताका रंगहरू बोकेर
आआफ्नो प्रतिच्छायाको कोलाज
कोही अनुहारमा सजाएर
कोहि हृदयन्तरमा खोपेर
मुस्कान पनि अनेक स्वरुपमा फुलिरहेछ।…

– कविता : प्रयोगशीलता / कवि राज आशातीत



…मसँग पनि छन् आँसु-संवेदनाहरू
मसँग पनि छन् मुस्कान-खुसीहरू
मलाई मेरै हालतमा छोडिदिनु
तर अँह,
नछोइदिनु मलाई …
म बिलाइजान सक्छु तिम्रा हातहरूमा
नहल्लाउनु मलाई …
म खसिजान सक्छु यी पातहरूबाट…

– कविता :एक थोपा पानी / कवि : विनय सरगम



…बच्चाहरू त फूलबारी हुन्
उनीहरूको मुस्कान रङ्गीचङ्गी फूल
उनीहरूको चुम्बन सुगन्धित वासना
उनीहरूको उछलकुद पुतलीहरूको उडान
उनीहरूको चीत्कार फूलको मुर्झाइ ।
हे बिरामी मानिस !
सुँघ बच्चाहरूको गन्ध टाँसिएका कपडा
पुछ काखमा लागेको बच्चाको गुहु र मुत
बच्चाहरूसँग खेल
बच्चाहरूको र्यालदानी र डाइपर फेरिदेऊ
दुध र लिटोका छिटा
तिम्रो अनुहारमा पर्न देऊ
दिनमा एकचोटी तिमी स्वयं बच्चा बन ।…

– कविता : बच्चाहरू नभएको बस्ती/ कवि : भूपिन


१०
…मेरी पूर्णिमाको उज्यालो
उनको गुलाबी ओठको मुस्कान
शाश्वत प्रेम र क्रान्तिको प्रतिबिम्ब
त्यसैले त्यो रातो गुलाफ
घरी प्रेम बनेर फुल्छ
घरी क्रान्ति बनेर पड्किन्छ
मनमा
दुवैसँग रातो रंग हुन्छ
रातोपन हुन्छ
जहाँ मन रगताम्य बनेर बग्छ..

– कविता : रातो गुलाफ” कवि : झमक कुमारी घिमिरे



 

Facebook Comments

You may also like

error: Content is protected !!