अनर्थ

उफ् !
फेरि कसैले चियाको गिलास राखेको ठाउँबाट सारिसकेछ । बिचरा ! भन्दा भन्दै थाकिसक्यो ऊ । कति भन्नु ? र कस-कसलाई भन्नु ? सबैले त उसलाई अनपढ र बेवकुफ मात्र ठान्छन् । कसैले उसको एक सुन्ने हैन । आफूसँग केहि नराम्रो घटना घटेपछि थाहा पाउनेछन् उनीहरुले । ऊ सहि थियो, सधैँ । उनीहरु गलत थिए, सधैँ ।

“चार चाउमिन, टेबल नं ३ !” बाबर्चि कोठाबाट आएको कसैको ठूलो आवाजले ऊ झस्कियो । टेबल नं १० जहाँ यताउता नमिली बसेका पाँचजनाले चियाका गिलासहरु नमिलाई राखेका थिए, उसको ध्यान त्यहीँ थियो ।

जब उनीहरु आएका थिए, उसले पाँच कुर्सीलाई समान दुरिमा टेबलका वरिपरी मिलाएर राखिदिएको थियो । तर उनीहरु मिलाएका कुर्सीहरुलाई यत्रतत्र सारेर बसिदिए । उनीहरु नमिली बसेका छन्, यो ख्याल नै नगरी अर्को वेटरले चियाका गिलासहरु उनीहरुको सामुन्ने राखिदियो । कसरी हेलचेकय्राइँ गर्न सकेको त्यो वेटरले ?

शरीरभित्र कोही छिरेर मुटु निचोरेजस्तो, नशा दबाएजस्तो, सास फेर्ने नलि थुनिएजस्तो भयो उसलाई । त्यो कुर्सी, ती मान्छे, ती चियाका गिलास र त्यो एस-ट्रे अहिलेको अहिले नमिल्ने हो भने ठूलै अनर्थ हुन्छ । यो कुरा उसले बाहेक अरु कसले बुझिदिने ? अनर्थ हुने र नहुने चिन्ता बस् उसलाई मात्रै छ । किन कसैले पनि त्यो टेबलमा नमिली बसेका ती मान्छे, चियाका गिलास, कुर्सी र एस-ट्रेमा ध्यान दिँदैनन् ? के अनर्थ हुन नदिने जिम्मा केवल उसको र उसकै मात्र हो ? त्यसरी नमिली बस्दा उनीहरुलाई नै नराम्रो हुने हो । यो कुरा कमसेकम उनीहरुले त बुझ्नुपर्ने होइन र ? तर उनीहरु यस्तो गहिरो र महत्वपूर्ण कुराको वास्ता नगरी खै कुन्नि के कुरामा पो हो, लीन छन् । उसले किन अरुको राम्रो-नराम्रो सोचिदिनु पर्ने ? तर ऊ सक्दैन सहन गर्न । अँह, सक्दै सक्दैन । अहिलेको अहिले उसले केही गरेन भने केही त हुन्छ……पक्का हुन्छ, केही नराम्रो हुन्छ । केही नसोची, कतै नहेरी, ऊ उनीहरु नजिक पुग्यो ।

“दाइ, अलि मिलेर बसिदिनुस् न । सामान लिएर यताउता गर्न गाह्रो भयो ।” यति भनेर उसले उनीहरु बसेको कुर्सी मात्र हैन चियाका गिलास पनि मिलाइदियो । उसले मिलाएपछि कति राम्रो देखियो कुर्सी । सबै कुर्सी टेबलको वरीपरी समान दूरीमा थिए र हरेक कुर्सीको ठिक अगाडी उसले मिलाएर राखिदियो चियाका गिलासहरु । एस-ट्रे उसले ठिक बिचमा राखिदियो, ठ्याक्कै उसैगरी जसरी उसले पहिला मिलाएको थियो, उनीहरु आउनु अगाडि ।

त्यहाँबाट फर्किएर अलि पर पुग्दा उनीहरु हाँसेको आवाजले ऊ रोकियो । कसैले सानो-मसिनो आवाजमा पागल भनेको पनि सुनेको हो कि झैं भान पनि भयो । उसले फर्किएर हेर्दा त उनीहरु पहिलेझैं नमिली बसिसकेका रहेछन् । फेरि उस्तै महसुस गर्यो उसले । कसैले सास थुनेजस्तो, जोरले लात्ती हानेको जस्तो……..

“चार चाउमिन, टेबल नं ३ !”

ऊ सरासर चाउमिन लिन गयो । मन त उसलाई ती पाँच जनालाई गएर कुर्सीहरु मिलाएर बस्नुस् भन्न थियो तर त्यही काम मात्रै गरेर बस्ने समय कँहा छ र ऊसँग ? उसलाई भ्याईनभ्याई छ । टेबल नं ३ मा चाउमिन पुर्याइदिनु छ । हो, उसैले गर्नु पर्ने छ त्यो काम । अरु वेटर कता गए कुन्नि ? सायद, चुरोट ब्रेकमा होलान् ! दिनमा हजार बार त उनीहरु चुरोट ब्रेक लिन्छन् । टेबल नं ३ मा चाउमिन पुर्याइसकेपछि टेबल ११ को जुठो प्लेट लिन जानु छ । हो, त्यहि बेला ऊ ती पाँच जनालाई फेरि भन्नेछ र उनीहरुको कुर्सी, गिलास, एस-ट्रे मिलाइदिने छ ।

बाफ उडाउँदै गरेको चार प्लेट चाउमिन बाबर्चि कोठाको झ्यालमा राखिएको थियो । नियालेर हेर्यो उसले ती प्लेटहरुमा, एउटा प्लेटमा अरुको प्लेटको भन्दा धैरै चाउमिन भएको अनुमान लगायो । उसले धेरै चाउमिन भएको प्लेटबाट अलिकति चाउमिन निकालेर अर्को नजिकैको प्लेटमा हाल्यो । उसले चाउमिन निकालेको प्लेटमा चाउमिनको मात्रा त घट्यो तर अर्को प्लेटमा अब चाउमिन अरुमा भन्दा धेरै भयो । तातो चाउमिनका त्यान्द्रोलाई उसले पालैपालो चारैवटा प्लेटमा घुमायो । जती घुमाए पनि कुनै प्लेटमा चाउमिन बराबरी नभएपछि पालैपालो बेसी भएका एक-एक त्यान्द्रो उसले निकाल्यो । सात त्यान्द्रा निकालिसकेपछि उसलाई ति प्लेटहरुमा बराबरी चाउमिन भएको विश्वास भयो । निकालेका सात त्यान्द्रा पालै पालो, एक-एक गरि चारै प्लेटमा हाल्दै गयो । चार त्यान्द्रा त चारै प्लेटमा उसले राख्यो तर बाँकी रह्यो तीन त्यान्द्रा ? एक एक गरेर राखे पनि ती तीन त्यान्द्रा त तीन वटा प्लेटमा मात्र राख्ने मिल्छ, एउटा त खाली रह्यो । के गर्ने त अब ती तीन त्यान्द्रा चाउमिनको ?

“ दुईटा मःम, टेबल नं…………..के गरेको ?”

चाउमिन खेलाउँदै गरेको उसलाई, बाबर्चिले देख्यो । डरका रेखाहरुले उसको निधार खुम्चियो र पहिल्यै विचलित मुटु झन् जोरले धड्कियो । के गरेको भन्ने ?. पक्का त्यो बाबर्चिले उसको कुरो बुझ्दैन । कसरी सम्झाओस् सबै प्लेट बराबरी नहुँदा अनर्थ हुने कुरा ? आजसम्म उसले आफूलाई बाहेक अरु कसैलाई सम्झाउनै सकेको छैन । बाबर्चि पनि त उहि खेतको मुला हो । तर पनि उसले कोसिस गर्यो ।

“बराबरी बनाउन खोजेको ।” मसिनो आवाजमा ऊ बोल्छ । “तिन त्यान्द्रा धेरै भयो ।”

बाबर्चि अवाक् छ र एकोहोरो उसैलाई हेरिरहेको छ भन्ने थाहापाएरै होला ऊ निहुरियो र हातमा समातेको चाउमिनका तिन त्यान्द्रा बाबर्चिका तर्फ बडायो । केही सेकेण्ड बितिसक्दा पनि बाबर्चिले उसको हातको चाउमिन नलिएपछि उसले बिस्तारै टाउको उठाएर बाबर्चिलाई हेर्यो । हल्का लामो सास तानेर बाबर्चि उसैलाई हेरिरहेको थियो । बाबर्चिका आँखा मानौँ जोडिनै लागेका थिए । ऊ बाबर्चिसँग आँखा मिलाउन सक्दैन । केही नभनि हातका तिन त्यान्द्रा चाउमिन उसले मुख सम्म पुर्यायो र ‘सुरुप’ को आवाजमा पेट तिर तान्यो । अनि केही नबोली टेबल नं ३ तर्फ लाग्यो ।

आहा ! कस्तो राम्रो दृश्य । टेबल नं ३ का चारजनं उसले चाहे जसरी मिलेर बसेका थिए । टेबलको एक फेदमा दुईजना बराबरी दुरीमा थिए । उनीहरुको ठिक अगाडि, टेबलको अर्को फेदमा, अरु दुईजना उसैगरी बराबरको दुरीमा बसेका थिए । यसरी मिलेर किन बस्न सक्दैनन् टेबल नं १० का ग्राहकहरु ? चाउमिन राखिदिएर टेबल नँ १० तिर जाने र उनीहरुलाई मिलाएर बसाउने सोच्यो, उसले । टेेबल नं ३ का ग्राहकको ठिक अगाडि उसले चाउमिन मिलाएर राखीदियो र सरासर लाग्यो टेबल नं १० तर्फ ।

टेबल नं १० त खाली भइसकेको रहेछ । टेबल नं ११ को जुठो प्लेट लिएर फर्किँदै गरेको वेटरले टेबल नं १० को जुठो चियाका गिलासहरु पनि उठायो र उसैलाई ताकेर ऊ तिरै आयो ।

“भोक लागेको भए कुकलाई भन्दा हुँदैन ? कस्टमरको……” गिलास बोकेको वेटरले दायाँबायाँ हेर्यो र फेरी भन्यो- “कस्टमरको प्लेटबाट…. ? साहुले देख्यो भने ?………” यति भनेर त्यो वेटर आफ्नो बाटो लाग्यो ।

उसले त्यो वेटरलाई आफ्नो तर्फको कुरा भन्नै पाएन । आफ्नो सफाइ दिनै पाएन । उसले आफ्नो सफाइ दिएकै भएपनि के त्यो वेटरले उसको कुरा बुझ्थ्यो ? एकमनमा उसलाई थाहा थियो उसले बुझ्दैन थियो । त्यसैले पनि उसले त्यो वेटरलाई बोलाएर सफाइ दिन आवश्यक ठानेन ।

अचानक उसलाई टेबल नं ३ मा मिलेर बसेका मान्छेहरुलाई हेर्ने तिब्र इच्छा जागेर आयो । उनीहरु के अहिले सम्म त्यसरी नै मिलेर बसेका होलान् त ? ऊ टेबल नं ३ तिरै लाग्यो । उनीहरु पहिल्यैको अवस्थामा थिए । कोही कतै सरेको थिएन । कुर्सीहरु सबै समान दूरीमा थिए । चाउमिनका प्लेटहरु पनि चारै जनाको ठिक अगाडि थियो र चारकोण भएको टेबलमा सममित भएर बसेको थियो वा भनौँ बसाइएको थियो । अघि कसैले समाएको उसको मुटु छुटे जस्तै लााग्यो उसलाई । ऊ अब निर्धक्क सास फेर्न सक्छ । कसैले उसको सास फेर्ने नलि समाएको छैन । कसैले उसलाई कहीँ बाँधेको छैन । मिल्ने मात्रै भएको भए ऊ ति चारै जानाको मुख चुमिदिन्थ्यो ।
***
कामबाट आज ऊ अलि छिटै निस्कियो । उसको मूड एकदमै राम्रो थियो । धन्य होउन् टेबल नं ३ का ग्राहकहरु । उनीहरुले बुझेका रहेछन् सामानहरु मिलाएर नराख्दा अनर्थ हुने कुरा । सबैजना उनीहरु जस्तै किन हुन सक्दैनन् ? किन उनीहरु सबै सामान यताउता फ्याँक्छन् र नमिलाई राख्छन् ? मिलाउँदैमा उनीहरुको के जान्छ ? उस्ले सोच्यो, “अनर्थ हुने कुरा उनीहरुलाई थाहा छैन नि त….त्यहिभएर….”

हिँड्दाहिँड्दै ऊ एकैछिन रोकियो । किन होला कसैले उसलाई नबुझेको ? पहिला त त्यस्तो केही हुँदैन थियो । आजकल भने कुनै कुरा मिलाएर राख्दा सबैले उसलाई घुरेर हेर्छन् । किन होला ?

करिब बीस दिन अगाडिको कुरा हो, ऊ टुटेको नाक लिएर काममा गएको थियो । सबैले के भयो र कसरी भयो भनी जिज्ञासा राखेका थिए । उसले सबैलाइ एकदम सत्य कुरा भनेको थियो तर विश्वास कसैले गरेका थिएनन् । विश्वास नै नगर्ने भए किन सोध्नु ?

बीस दिन अगाडि, बिहान सबेरै उठेर उसले आफ्नो कोठा मिलायो । सर्लक्क पारेर सिरक पट्यायो । तनक्क तन्ना तानेर डस्नाले छोप्यो । बेलुकी लगाएका लुगा पनि पट्याएर दराजमा, जहाँ अरु लुगापनि एकदमै सुकिला र मिलाएर पट्याइ राखिएका थिए, त्यहाँ राख्यो । चिया पकाउन ‘किचेन’मा गयो र चिया पकाई, पिएर ऊ दाँत माँझ्न गयो । हो, उसको नाकको घटना त्यहि बेला र त्यहीँ घट्यो । हैन, ऊ लडेको हैन । मुख धुनलाई जब उसले ऐनामा हेर्यो ऊ एकै छिनका लागि तर्सियो । उसलाई आफ्नो नाक अलि बाङ्गो लाग्यो । किन उसले यो भन्दा अगाडि आफ्नो बाङ्गो नाक देखेको थिएन ? उसलाई आफ्नो नाक सिधा बनाउने तिव्र इच्छा भएर आयो । बाङ्गो नाक सिधा बनाउन हातले धेरै कोसिस गर्यो, उसले । जति बल लगाउँदा पनि उसको बाङ्गो नाक सिधा नभएपछि नै त उसले मोबाइलको बिडले सिधा बनाउन खोजेको थियो । दुख्यो, हो उसलाई धेरै दुख्यो तर कमसेकम उसले आफ्नो नाक सिधा त बनाउन खोज्यो । यो अलग कुरा हो कि, बीस दिन बितिसक्दा पनि आफ्नो नाक सिधा भएको वा नभएको कुरा उसले थाहा पाएको छैन, पट्टी बाँधेको छ नी त । तर एकपटक पट्टी खोलेपछि उसले हेर्नेछ आफ्नो नाकको आकार ।

उसको यो काहानीमा कसैले विश्वास गरेनन् । कतिले त पागल नै पनि भने । उसैको अगाडि नभनेर के भयो त ? भन्न त भने नि, ढाड पछाडि नै भएपनि । त्यसपछि नै हो काममा सबैले उसलाई अर्कै नजरले हेर्न थालेका । पहिला सबैले हँसिलो र मुख च्यातिएको अनुहारले उसलाई हेर्थे। आजकल सबैले उसलाई निराश र खुम्चिएको अनुहारले हेर्न थालेका छन् । के ऊ साँच्चै पागल नै भएको हो त ? कुनै पनि कुरा मिलाएर त्यसको सहि ठाउँमा राख्नु कसरी गलत हो ? पागालपन त परको कुरो ।

साससँगै अनेकौं अश्लिल गाली निकाल्दै ऊ आफ्नो बाटो लाग्यो । अँह ऊ गलत त छँदै छैन । ऊ पागल पनि होइन । उसको दिमाग भारी हुँदै आयो र रगतहरुको चाप बड्दै गयो । एकैछिनका लागि ऊ रोकियो र लामो सास तान्यो । आँखा बन्द गर्यो । सारा दुँनिया घुमेको भान भयो उसलाई । आफ्ना आँखा बन्द गरेर खोल्दै गर्यो, उसले । खै काहाँ गयो अगिको खुसि ? हरायो । बिलायो । उसलाई भेट्न मन लाग्यो टेबल नँ ३ का ग्राहकहरुलाई । उनिहरु, मात्र उनिहरुले बुझ्न सक्छन् उसको पिडा ।

चारै तिर नजर घुमायो उसले । नजिकको घर, मिलेको छैन । यो बाटो जँहा ऊ हिँडिरहेको छ, दाँयातिर अलि साँधुरो छ । त्यो खाँबो, त्यो सिधा छैन । ढल्किएको छ । कुनै कुरा मिलेको छैन । उसले आकाशतिर आफ्नो नजर घुमायो । केही शान्ति पाइन्छ कि ? लौ न ! आकाशमा ताराहरु पनि मिलेर बसेका छैनन् । किन ति ताराहरु बिच समान दूरी छैन ? किन उसले हेरिरहेको आकाशको बायाँ भागमा दायाँ भाग भन्दा धेरै ताराहरु छन् ? उसलाई ति ताराहरु मिलाउन मन लाग्यो । त्यो बााटो, ति घर र त्यो खाँबो पनि मिलाउन मन लाग्यो । तर….तर ऊ सक्दैन ।

अनेकौं सोचहरुलाई डोराउँदै, नचाउँदै केहि पर पुगेपछि उसको मन केहि शान्त भयो । उसलाई अब सुत्नु छ । निदाएपछि सब ठिक हुन्छ । यस्ता सोचहरु आउँदा ऊ पहिला पनि सुत्ने गर्थ्यो । सुतिसकेपछी सबै ठिक हुन्थ्यो । अहिले पनि हुन्छ । उसलाई विश्वास छ । ऊ घरको बाटो लाग्यो ।

बाटोमा मान्छेहरुको भिड पातलिँदै गयो । उनीहरु बाटोबाट घरभित्र बिलाउँदै गए । त्यहि बेला उसले आफ्नो अगाडि एक युवतीलाई देख्यो । सुन्दर । त्यो युवती अर्कोतिरबाट ऊतिरै आइरहेकि थिई । झट्ट हेर्दा उसका आँखाहरु खुबै सुन्दर देखिए । ओठमा नदेखिने मुस्कान थियो । अनि……अनि त्यो केटीको नाक पनि बाङ्गो थिएन । आफ्नो अगाडि त्यत्तिकि सुन्दर युवती पाएर होला ऊ रोकियो र युवतीलाई हेर्न थाल्यो । युवती निहुरिँदै आइरहेकि थिई । युवतीले ऊप्रती कुनै ध्यान दिएकी थिइन । ऊ जहाँको त्यहीँ अडिएको अडिएकै भयो । त्यो युवती भने उसको नजिकै आइपुगी, शिर उसैगरी निहुराएर ।

उसले देख्यो….के त्यो युवती मुस्कुराई ? उसले त्यो युवती मुस्कुराएको देख्यो र……के ऊ साँच्चै मुस्कुराई ? उसले नमिलेमको घर, बाटो, खाँबो, आकाशका तारा…सबै बिर्सियो । बस् याद रह्यो त त्यो मुस्कान । उसले त्यो युवतीलाई पछ्याउन थाल्यो ।

उसले युवतीलाई पछ्याइरहेको कुरा चाल पाएर होला युवतीले पनि छिटो छिटो पाइला चाल्न थाली । सायद डराइरहेकी छे ऊ । त्यत्तिकैमा त्यो युवती भाग्न थाली ।

“सुन्नुस न ।……..” उसले युवतीलाई लखेट्न थाल्यो ।
“नडराउनुस् न……सुन्नुस त….” युवतीका पाइलाभन्दा उसका पाइला छिटा थिए, केही मिनेटमै युवतीलाई पक्रीयो  उसले । आफ्नो पछाडि कसैको हात आएको महसुस गरेर होला युवतीले उम्किने कोसिस गरी । उसले युवतीको दुवै कुममा जोरले समायो र उसलाई लडाएर उसको पेटमाथि बस्यो ।

“नडराउनुस्….नडराउनुस्…म केही गर्दिनँ…..तपाईंले सोचेको जस्तो म केही गर्दिनँ । एकचोटि मुस्कुराइदिनुस् न ।”

तर यस्तो अवस्थामा हाँसो कसलाई आउँछ ? युवती सक्दिन मुस्कुराउन । तर उसले जोर दिइरह्यो । युवतीलाई ‘मुस्कुराउन’ भनिरह्यो । अन्त्यमा मुस्कुराउँदा छुटिने सोचले ऊ मुस्कुराई । निराश र भयले भरिएको मुस्कुराहट ।

“जोरले मुस्कुराउनुस्…।” उसले आदेश दियो । युवती जोरले मुस्कुराई । उस्तै निराश तरिकाले । उसले आफ्ना हात युवतीको कुमबाट हटायो, छेउको ढुङ्गा टिप्यो र युवतीको मुखमा हान्दै भन्यो-

“तापाईंको दाँत मिलेको छैन । एकैछिन….है म मिलाइदिन्छु……”

र ऊ युवतीका नमिलेका दाँत मिलाउन थाल्यो……..

Facebook Comments

You may also like

error: Content is protected !!