मिनिमलिजम

मिनिमलिजम एक अङ्ग्रेजी शब्द हो । जब कोही मिनिमलिजमलाई अपनाउँछ, ऊ एक मिनिमलिस्ट बन्छ । मिनिमलिसम‌लाई एक दर्शनको रुपमा लिन सकिन्छ । कोही मिनिमलिस्ट भएमा, त्यसले जीवनलाई सरल राख्ने उसको रुचि बुझाउँछ । जीवनलाई सरल राखेर न्यूनतम ढङ्‌गमा जीवन यापन गर्नु नै मिनिमलिजम हो । जीवनका कतिपय भौतिक वस्तु त्यागेर मिनिमलिस्ट ‌बन्न सकिन्छ । यसको कला मानिसको जिवनशैलीसँग प्रत्यक्ष रुपमा जोडिएको पाइन्छ । यस काइदाका जीवन अपनउने निकै कम व्यक्ति हुन्छन् ।

अहिलेको २१औं शताब्दीमा विज्ञान र प्रविधीमा भएको परस्पर विकासले मानिसलाई भौतिक सुविधा र आनन्दमा जकडेको कुरा छर्लङ्ग छ । मानिस प्रविधी र भौतिक सुविधा बिना अपुरो जस्तै छ । मानिस सुख-भोग गर्न पूर्ण रुपमा भौतिक वस्तुसँग जोडिएको पाइन्छ । माकुराको जालो सरी बुनिएको यस भौतिक दुनियाँमा मानिस किरा जसरी फसेको छ । मानिसलाई त्यसबाट उम्किन निकै नै गाह्रो परेको देखिन्छ । यस्तो परिस्थितीमा मानिस भौतिक सुखलाई कम गर्दै मिनिमलिसम‌को सिद्धान्त अपनाउन त्यति इच्छुक देखिँदैन ।

यस सिद्धान्तले के भन्छ त ?
यसले पुर्ण रुपमा भौतिक र प्राविधक सुखबाट वञ्चित गराउने कुरा गर्दैन । यसले, मात्र जीवनमा आफूलाई अल्झाउने अनावश्यक तत्त्वबाट वञ्चित रहन प्रेरित गर्छ । जीवनबाट आफूलाई विचलित गराउने चिजहरु हटाउने र आफ्नो जिवनलाई महत्त्वपुर्ण कुरामा मात्र केन्द्रित गराउन प्रेरणा दिन्छ यस सिद्धान्तले ।

यस व्यवहारिक दर्शनका अनुयायी “जोसुवा बेकर” आफ्नो किताब “सिम्प्लिफाई (Simplify)”मा लेख्छन्, उनी आफ्नो छिमेकीका केही वाक्यबाट मिनिमलिजमतर्फ आकर्षित भएका हुन् । बिदाको समयमा घरको ग्यारेज सफा गरिरहेका उनको परिवार थकित अवस्थामा देखेर उनका छिमेकीले भनेको एक वाक्य “द मोर स्टफ यू वन, द मोर योर स्टफ वन्स यू । (The more stuff you own, the more your stuff owns you.)” । यो वाक्य उनको दिमागमा यसरी गढ्यो कि उनको मन, मस्तिस्क र आत्मा समेत यो कुराले अति-प्रभावित भयो । यो एक वाक्यले उनको सम्पूर्ण जीवनको गति परिवर्तन गरिदियो । उनले यो कुराको चर्चा उनकी पत्नीसँग पनि गरे । त्यसपछि उनले मिनिमलिजमको विषयमा अनुसन्धान गर्न थाले । उनले त्यस विषयमा जति पढ्न थाले त्यस कुरालाई त्यति नै बढि चाहन थाले । “त्यसरी एक मिनिमलिस्टको जन्म भयो” उनी आफ्नो किताबमा लेख्छन् ।

Minimalist Space Saving Furniture

Minimalist Space Saving Furniture

साँच्चै नै, मिनिमलिजम के हो भनेर बुझ्न प्रमूखत: पहिले आफ्नो मनलाई विश्वस्त पार्नु पर्छ । आफ्नो मन विश्वस्त भए पश्चात मन परिवर्तनदेखि कम डराउँछ । आफ्नो दैनिक जीवनशैलीभन्दा निकै नै फरक र सुरुवातमा कठिन हुन्छ मिनिमलिस्ट जीवनशैली । सरल जीवन जिउनको खातिर मिनिमलिस्ट बन्ने गन्तव्यको पहिलो चरण नै परिवर्तन सहन गर्नु हो । जिवनमा आएको परिवर्तनलाई सरल रुपमा स्विकारे मिनिमलिस्ट बन्ने लक्ष्य केहि सहज भएर जान्छ । मिनिमलिस्ट बन्ने यहि शैली चाहिँ एकदम ठीक हो भन्ने नै हुँदैन । तपाईंको गन्तव्य अरु भन्दा फरक हुन्छ, त्यसैले मिनिमलिस्ट बन्ने शैली पनि फरक नै हुन सक्छ ।

मिनिमलिस्ट भन्नाले कम भनेर बुझ्दा गलत नहोला । तर ‘कम’ यस अर्थमा, नचाहिँदो भन्दा थोरै र अपूग भन्दा अलि बढी । जीवनका हरेक श्रोतलाई चाहे अनुरुप सिमित राखी जीवनयापन गर्नु नै मिनिमलिस्टको लक्ष्य हो ।

मिनिमलिस्ट जीवनशैली अपनाउनुको के फाइदा ?
यस जीवनशैली अपनाउनुका धेरै फाइदा छन् । प्रमूखत: खर्च कटौती र पैसाको बचत नै पर्छ । यस जिवनशैलीमा नचाहिँदो कुरामा खर्च धेरै हुँदैन जसले बचतलाई बढावा दिन्छ र आर्थिक उन्नतितर्फ उन्मुख गराउँछ । अर्को फाइदा, जीवनको यस धारमा बगिरहँदा तनावले पनि त्यति तङ्ग गर्न पाउँदैनन् । अनावश्यक वस्तुहरुको बोझ घटाइ जीवनलाई तनावमुक्त बनाउन मिनिमलिजमका व्यवहारिक सुत्रहरु अति उपयोगी हुन्छन् । साथै, मिनिमलिजमले आफ्नो दैनिकीमा स्वतन्त्रताको पनि अभिवृद्धि गराउँछ । चाहिँदो भन्दा बढि भौतिक वस्तूहरुसँगको बन्धनलाई तोड्न‌ समेत यसले सहयोग गर्छ । यसले जीवनमा तनाव, दु:ख र झमेलाको फिल्टरको जस्तो कामपनि‌ गर्छ । सँगसँगै यसले वातावरणलाई समेत संरक्षण गर्छ । जति थोरै सामाग्री हामी किन्छौँ र उपभोग गर्छौँ, त्यति नै थोरै हाम्रो वातावरणमा क्षति हुन्छ । मिनिमलिस्ट जीवनशैलीले हाम्रो जीवनलाई उत्पादनशील समेत बनाउँछ । थोरै सामाग्री उपभोग गर्दा आफ्नो रुचि लागेको क्रियाकलापमा बढी समय दिन सकिन्छ । यसले केही‌ हदसम्म समयको समेत बचत हुन्छ । आफ्नो घरमा चाहिँदो ठिक्क मात्र सामानहरु हुँदा घरमा छुट्टै किसिमको आकर्षण कायम हुन्छ ।मिनिमलिस्ट बन्नूका यस्ता अन्य कैयौं लाभहरु छन् ।

जोसुवा बेकरलाई नै एक अन्तरवार्तामा सोधिएको प्रश्न; मिनिमलिस्ट बन्न कतिको कठिन छ ? को जवाफमा उनले भनेका थिए,
“मिनिमलिस्ट बन्न सुरुवातमा मलाई निकै कठिन लागेको थियो र म अझैपनि मिनिमलिस्ट बन्ने प्रक्रिया मै छु । यो एक लामो चरणको प्रक्रिया हो । आजको भोलि कोहीपनि मिनिमलिस्ट बन्न सक्दैन । मिनिमलिजम भौतिक चिजहरुसँग मात्र सम्बन्धित छैन, यो प्रक्रिया भावनात्मक पनि छ ।”

Minimalist Wardrobe (Shop What you Need Drop What you Want)

Minimalist Wardrobe (Shop What you Need Drop What you Want)

अर्को प्रश्न; भौतिक प्रविधिहरुले मिनिमलिजममा कत्तिको सहयोग पुर्याउँछन् या प्रविधि हानिकारक छ ?को जवाफमा उनले यसो भनेका छन्,
“दुवै । हामी अहिले यस्तो समयमा छौँ‌ जहाँ प्रविधिले हाम्रो जीवन सिमित गरिदिएको छ, धेरै कुराहरुलाई प्रविधिले प्रतिस्थापना गरिदिएको छ । यसले समयको बचत त गर्ने नै भयो साथै प्रयोगमा आउने विभिन्न भौतिक वस्तुहरुबाट पनि छुटकारा दिलाउँछ । उदाहरणका लागि मोबाइल फोन अहिले विश्वप्रख्यात प्रविधि हो । यसको प्रयोगले हाम्रो जीवनमा प्रयोग हुने अन्य वस्तु जस्तै टेलिफोन, क्यालकुलेटर, घडी, क्यामेरा आदिबाट हामीले मुक्ति दिएको छ । यति हुँदाहुँदै पनि कुनै समयमा प्रविधि जीवनलाई बोझ समेत बन्न सक्छ । कूल मिलाएर मेरो विचारमा प्रविधि हानिकारक भन्दा फाइदाकारी नै बढी देखिन्छ ।”

साथै अर्को मुख्य प्रश्न; यदि म मिनिमलिस्ट सिद्धान्त अपनाउन चाहन्छु भने मैले कसरी सुरुवात गर्ने ? को जवाफमा उनी भन्छन्,
“सुरुमा तपाईंले मिनिमलिजमको बारेमा अध्ययन गर्नुपर्छ । त्यस पश्चात मिनिमलिजम मेरो लागि किन उचित छ भनी विश्वस्त हुनुपर्छ । सुरुवात सानो गर्नु पर्छ, सुरुवात आफ्नो दराजबाट गर्नु, अनि एउटा कोठा, अनि अन्य कोठाहरु । बिस्तारै तपाईंलाई खुल्ला र स्वतन्त्रताको अनुभूति हुँदै जान्छ ।”

मिनिमलिजमको सिद्धान्तमा एउटा भनाई प्रख्यात छ; “लेस इज मोर (less is more)”
हुनपनि, जब विवरण थोरै हुन्छ तब कल्पनाशक्तिका लागि ठाउँ धेरै हुन्छ । साथै, थोरै तत्व हुनका लागि धेरै समय र रचनात्मकताको आवश्यकता हुन्छ । यसरी मिनिमलिजमलाई समावेश गरेर हामीले आफ्नो जीवनमा चिरस्थायी सुख र खुशी ल्याउन सक्छौँ । हामीले जीवनमा चाहेका कुरापनि त तिनै होइनन् र ? हामी सबै खुशी हुन चाहन्छौँ । मिनिमलिस्टले भौतिक वस्तुहरुबाट खुसी नखोजी, आफैबाट खुसी पाइरहेका हुन्छन् ।

Minimalist Painting (CZ Art Design)

Minimalist Painting (CZ Art Design)

मिनिमलिजमबाट मैलेपनि धेरै कुरा सिक्ने र अनुभव गर्ने मौका पाएँ । आजको क्षणमा बाँच्ने, समयको सहि सदुपयोग गर्ने, आफ्नो रुचीलाई अपनाउने, वास्तविक स्वतन्त्रताको अनुभव गर्ने, आफूलाई मात्र भन्दा अन्य कुराहरुलाई पनि योगदान दिने, नचाहिँदो कुराहरुबाट छुटकारा पाउने । साथै जीवनको अर्थपूर्ण उदेश्यको खोजी गर्ने जस्ता महत्वपूर्ण ज्ञान मिनिमलिजमद्वारा मैले प्राप्त गर्ने मौका पाएँ । अब पालो तपाईंहरुको । मिनिमलिजमलाई आफ्नो औजार बनाउनुहोस्, आफ्नो जीवनको गति र जीवन जिउने तरिकालाई पूर्ण रुपमा परिवर्तन गर्नुहोस् । मिनिमलिजमले जीवनमा ल्याएको परिवर्तन आफ्ना साथीभाइहरुसँग बाँड्नुहोस् र अरुको जीवनमा पनि केही राम्रा परिवर्तनका लागि योगदान पुर्याउनुहोस् ।

Facebook Comments

You may also like

error: Content is protected !!