मन तिम्रो जेल हो

(ओशोको जन्म सन १९३१, डिसेम्बर ११ मा भएको हो । उनी आफ्नो समयका सबैभन्दा चर्चित दार्शनिक हुन् । त्योभन्दा पनि उनी सबैभन्दा ठूला पाठक ठहरिन्छन् यस अर्थमा कि उनले आफ्नो जीवनकाल भरि एक लाखभन्दा बढी पुस्तक पढेका थिए । र उनले भन्न बाँकी एकदमै कम विषय रहे अर्थात उनले लगभग सबै विषयमा बोलेका छन् । उनी विश्वभर जहाँ जहाँ गए त्यहाँ त्यहाँ पूर्वीय दर्शनका बारेमा व्यापक प्रचार गरे । र उनका केही विचार यस्ता थिए जसले पुरै विश्व चकित थियो । उनका त्यस्ता केही क्रान्तिकारी तर व्यवहारिक विचार वा सोच नपचाएर केही देश मुलतः पश्चिमा देशले उनको दार्शनिकीमाथि बाँध खडा गरेर, विभिन्न अभियोग, आरोप, चौतर्फी आलोचना गरेर देश निकाला गरे । सन १९९०, जनवरी १९ मा उनले देह त्याग गरे ।

तर जसै गरेपनि उनको विचार वा दर्शन मरेन । आज संसारभर सबैभन्दा धेरै पढिने दार्शनिक उनै हुन् । उनले दिएका प्रवचनहरु हुबहु सारेर समेत पुस्तकहरु निकालिएका छन् । तीनै मध्यको एक पुस्तक साइलेन्सः द म्याजिकल डोर टु इटर्निटी भित्र समावेश गरिएको एउटा महत्वपूर्ण प्रवचनको अनुवाद यसअघि काव्यालयमै प्रकाशित यहाँले पढिसक्नु भएकै छ । छैन भने पढ्न अनुरोध गरेँ । यो बन्दाबन्दी अर्थात् लकडाउनमा झन प्रभावकारी ठहरिने छ भन्ने विश्वास उत्तिकै छ । ह्याप्पी लकडाउन । ह्याप्पी पठन । )

प्रिय ओशो,
बहिर्मुखी भइरहँदा र काममा हुँदा म आफूलाई आफ्नो तत्वमा महसुस गर्छु । जब म चुप हुन्छु, अनि यो व्यस्त भवँरालाई लाग्दैन कि उसले गञ्जिरहनुपर्छ, यो धेरै असजिलो हुन्छ । के मभित्र कर्ता मरिरहेको छ ? काममा र मौनमा आराम, के यस्तो कहिल्यै हुन सक्दैन ?

तिमीले एकदमै महत्वपूर्ण प्रश्न उठाएका छौ । यो जान्न र बुझ्न सबैलाई अर्थपूर्ण छ कि मान्छेको मनको आधारमा आधुनिक अनुसन्धानले मानवतालाई दुई भागमा बाँडेको छ; बहिर्मुखी र अन्तर्मुखी ।

बहिर्मुखीहरु कर्ता हुन्, अन्वेषकहरू, शाहसिकहरू- वस्तुवादी, संसारमा रहन मन पराउनेहरू हुन् । तिनीहरुलाई एक्लो हुनु सब चिज गुमाउनु हो जस्तो लाग्छ । अन्तर्मुखी; ठिक विपरित छ बहिर्मुखीदेखि । ऊ आफैसँग सहज र आराम महसुस गर्छ जब ऊ केही गरिरहेको हुँदैन — जब उसका आँखा बन्द गरिएका हुन्छन्, जब ऊ आफ्नो अन्तर्मनमा डुबिरहेको हुन्छ ।

यो विभाजन जहाँसम्म जान्छ त्यहाँसम्म राम्रो छ, तर यो मनको सिमासम्म मात्र जान्छ । तिमीसँग बहिर्मुखी मन छ, त्यही भएर तिमीले भन्यौ,
“बहिर्मुखी भइरहँदा र काममा हुँदा म आफूलाई आफ्नो तत्वमा महसुस गर्छु । जब म चुप हुन्छु, अनि यो व्यस्त भवँरालाई लाग्दैन कि उसले गञ्जिरहनुपर्छ, यो धेरै असजिलो हुन्छ । के मभित्र कर्ता मरिरहेको छ ? काममा र मौनमा आराम, के यस्तो कहिल्यै हुन सक्दैन ?”

ध्यान मनदेखि बिल्कुलै फरक आयाम हो । मनोवैज्ञानिकहरु यो बारेमा अति भ्रमित छन् किनभने तिनीहरू ध्यानको बारेमा केही पनि जान्दैनन्; तिनीहरु सोच्छन् ध्यानि अर्को अन्तर्मुखी मात्र हो — तर त्यो सत्य होइन । ध्यानि त्यो हो, जो आफ्नो बहिर्मुखी र अन्तर्मुखी मनको बारेमा पूरापूरा सचेत हुन्छ — टाढा, दूर हिमालहरूमा; मनका सम्पूर्ण खेलहरू हेरिरहेको ।

तिमी आफ्नो मनको बहिर्मुखी भागसँग अति नै सम्बन्धित छौ — र मनको आधा भागसँग मात्र सम्बन्धित जो कोही कष्टमा पर्न जान्छ । किनभने अर्को आधा त्यहीँ छ, उपेक्षित, दमित, अवहेलित, अपमानित । त्यसले आफ्नो बदला लिने छ । र यहाँ धेरै छन् जो अन्तर्मुखी हुन् । उनीहरु सोच्छन् उनीहरु ध्यानि हुन् तर उनीहरु होइनन् । उनीहरूले मात्र मनको अर्को भाग रोजेका हुन् र त्योसँग परिचित भएका हुन् । तात्त्विक ध्यानि मनदेखि पार हुन्छ — बहिर्मुखतापार र अन्तर्मुखतापार ।


त्यसैले तिमीले आफूलाई कामसहित, बहिर्मुखीपनासहित आफ्नो कष्ट बाट बाहिर निकाल्नु पर्छ किनभने त्यो एकप्रकारको अल्कोहलिक जस्तै हो — तिनीहरु त्यसलाई “वर्काहोलिक” भन्छन् । यदि काम त्यहाँ छ, तिमी त्यसमा सहभागी छौ, र तिमीले आफ्नो बारेमा सबै कुराहरु भुलेका छौ भने; तिम्रा सम्पूर्ण समस्याहरू र तिम्रा सम्पूर्ण चिन्ताहरू धेरै समयसम्म रहँदैनन् — कमसेकम तिम्रो चेतनामा हुँदैनन् । तर तिनीहरु अझै त्यहाँ हुन्छन्; जब तिमी त्यो क्षणमा हुनेछौ जतिबेला तिमी केही गरिरहेको हुँदैनौ — र तिमी चौबिसै घण्टा त काम गर्न सक्दैनौ; तिमीले आराम गनुपर्ने हुन्छ, तिमीले विश्राम गर्नुपर्ने हुन्छ —हो, त्यस्तो आरामदायी क्षणमा तिमीभित्रको उपेक्षित र दमित अन्तर्मुखी मन तिमीमा अधिकार जमाउन खोज्छ ।

Mind Games


र अन्तर्मुखी मनमा तिमीले सबै प्रकारका फोहोरहरू फ्याल्छौ जोसँग तिमी परिचित हुन चाहँदैनौ । तिम्रो बहिर्मुखी मन सफा छ — तिमी सोच्छौ त्यो तिमी हौ, र अन्तर्मुखी मन तिमी होइनौ, त्यसैले तिमी सबै प्रकारका फोहोरहरू त्यसमा फ्याल्छौ, तर त्यो सतह हुने छ । जबजब तिमी आराम गरिरहेको हुन्छौ, त्यसले तिमीलाई आराम गर्न दिँदैन, त्यसले तिमीलाई छटपटाउने बनाउँछ ।


मेरो सुझाव बहिर्मुखी मनबाट बाहिर निस्कि — र अन्तर्मुखी मनमा पनि नपस । ती एकै सिक्काका दुई पाटा हुन् । नँया गुप्त कुरा सिक; एउटा साक्षीको रहस्य, जो न केही गर्छ न त जानाजान केही गर्दैन । साक्षी ऐना जस्तो हुन्छ — उसले जे भइरहेको छ त्यही परावर्तन गर्छ । मनभन्दा पार जानु भनेको मानवताको लागि प्राप्त हुने सबैभन्दा उत्कृष्ट स्वास्थ्य र उत्कृष्ट सुबिस्ता हासिल गर्नु हो । त्यसको मतलब यो होइन कि तिमी आफ्नो मन प्रयोग नगर; असलमा यसपछि मात्र तिमी आफ्नो मनको प्रयोग गर्न सक्छौ । अहिलेसम्म मनले तिमीलाई प्रयोग गरिरहेको छ; तिमी बहिर्मुखी मनको दास हौ ।


धेरै छन् जो जाने गर्छन, पहाडतिर । तिनीहरु अन्तर्मुखी मानिसहरू हुन् — र तिनीहरुलाई त्यही अन्तर्मुखीपन नै ध्यानजस्तो लाग्छ । आखिरमा त्यो ध्यान होइन — तिनीहरुले मात्र सिक्काको अर्को भाग रोजेका हुन्, र जब मौका पर्छ, तत्कालै बहिर्मुखी मनले इच्छा, आवेग र तिर्सनाहरू सबै प्रकारका चिजहरुमा मतिभ्रम वा ईन्द्रजाल गराउन थाल्छ ।


सम्पुर्ण भारतीय ग्रन्थहरूमा, साधु एउटा बिन्दुमा आइपुग्छ….
कथाले धेरै सन्त र धेरै साधुको बारेमा बताउँछ — र यो कथा मात्र होइन, यो धेरै महत्वपूर्ण मनोवैज्ञानिक तथ्य होः जब साधु आफ्नो चेतनाको उच्चतम बिन्दुमा पुग्छ, भारतीय मैथोलोजीले भन्छ, भगवान ईन्द्रको सिंहासन, स्वर्गमा काँप्न थाल्छ । उनी डराउँछन् — किनभने यदि उक्त मान्छे(साधु)ले उच्चतम चेतना प्राप्त गर्न सफल भयो भने, उ ईन्द्र बन्छ, र ईन्द्र स्वर्गको भगवान हुन्छ ।
त्यसैले उनको रणनीति साधुलाई बिच्काउन स्वर्गबाट एउटी सुन्दर स्त्री पठाउने, र एकपटक ऊ बिच्कियो भने, उ नष्ट हुन्छ ।


यहाँ कुनै ईन्द्र छैन र कोही छैन जसले तिमीलाई बिच्काउन कुनै चिज पठाओस् । त्यो तिम्रो आफ्नै मन हो । जब अन्तर्मुखी मन चेतनाको उच्चतम बिन्दुमा पुग्छ, बहिर्मुखी मन तत्कालै बदलामुखी हुन्छ — पराजित भएजस्तो । तत्कालै यसले मतिभ्रम बनाउँछ । हिमालयका गुफाहरुमा बस्दा होस् वा विहारमा, मतिभ्रम सजिलै हुनसक्छ ।


बहिर्मुखी मन काममा, भिडमा, मान्छेहरूको माझमा खुसी हुन्छ; तर छिट्टै यो थकित र वाक्क हुन्छ र आरामदायीता बारे सोच्न थाल्छ । यसरी नै अन्तर्मुखी मन बहिर्मुखी मनमा हस्तक्षेप गर्न थाल्छ । र यो खेल चलिरहन्छ, चलिरहन्छ । तिमी उनिहरुको कोही होइनौ — तर तिमी उनिहरूसँग परिचित छौ ।


मेरो सुझाव हो; यो त्यो ठाउँ हो जँहा तिमी आफ्नो मनसँग अपरिचित हुन्छौ । त्यसैले जब कार्यको आवश्यक पर्छ, कार्य गर — तर त्यसलाई आफ्नो आसक्ति बन्न नदेऊ । र जब आरामको आवश्यक पर्छ, आराम गर — त्यसलाई पनि आफ्नो आसक्ति बन्न नदेऊ । जब कार्य गरिरहेका हुन्छौ, सचेत रहनु कि तिमी मन होइनौ भन्नेमा, र आराम गरिरहेको बखत पनि सचेत रहनु तिमी मन होइनौ भन्नेमा ।

तिमी त्यो हौ जो साक्षी बसिरहेको छौ ।


बिस्तारै, बिस्तारै साक्षीभाव सघन हुँदै आउँछ; त्यो धेरै तिमी भएर आँउछ, अनि तिमी मनबाट स्वतन्त्र हुन्छौ । त्यसपछि मनलाई जसरी प्रयोग गर्न पनि स्वतन्त्र हुन्छौ । तर त्यो धेरै फरक लक्षणको हुनेछ; तिम्रो क्रिया कदापि पागलजस्तो हुने छैन, गर्दैछौ किनभने गर्न जरुरी छ – मानौँ तिमी कसैको वशमा छौ, र मनले तिमीलाई केही गर्न बाध्य पारिरहेको छ । त्यसैले, मानिसहरु त्यस्ता काम वा हर्कतहरु गर्छन् जो वास्तवमा आवश्यक नै हुँदैनन् ।


एकपटक जब साक्षी स्पष्ट हुन्छ र मनबाट अलगिन्छ, तब तिमी नँया भूमिमा, नँया अन्तरिक्षमा आउँछौ — प्रत्यक्षदर्शिको अन्तरिक्ष । र यो नै तिम्रो वास्तविक आत्मा हो । जो न कहिल्यै सक्रिय हुन्छ न कहिल्यै निष्क्रिय हुन्छ, जसले परार्वतन मात्र गर्छ, त्यो तिमी हौ । यो ठूलो उत्परिर्वतन हो ।


जो रुपान्तारण बिनै जो मर्छन् तिनीहरु व्यर्थमा जिउँछन् किनभने यदि तिमीले मनलाई सक्रियता र निष्क्रियतामा हेर्न सक्छौ भने, तिमीले आफ्नो शरीर पनि हेर्न सक्छौ — स्वस्थ, बिमार — तर तिमी अलग हुनेछौ । तिमी आफ्नो शरीरमा र आफ्नो मनमा मृत्यु घटिरहेको समेत हेर्न सक्छौ किनभने तिमी अलग छौ — जे भइरहेको छ तिमी बस् त्यसलाई परावर्तन गर्छौ । त्यसैले जो मानिस वास्तवमै ध्यानि छ ऊ खुसीसाथ मर्छ किनभने ऊ मरिरहेको हुँदैन; ऐनामा परावर्तनहरु बिलाइरहेका मात्र हुन्छन् । र मलाई लाग्दैन जब केही परावर्तनहरू बिलाउँछन् तिमी ऐना अगाडि आउने छौ, आँखामा आँसु हुनेछ अथवा विगतको सम्झना समेत, अथवा उही अनुहार फेरि परावर्तन होस् भन्ने चाहाना । न विगत, न भविष्य । ऐना जहिल्यै वर्तमानमा हुन्छ; जे घटछ, बस् त्यही परावर्तन गर्छ ।


चिनमा एउटा मन्दिर छ, बुद्धको मुर्तिको साटो त्यहाँ जताततै ऐना मात्र छ । पुरै मन्दिर खाली छ । जो मानिसले यो मन्दिरको निर्माण गरेको हो ऊ पक्का ठूलो ध्यानि हुनुपर्छ । ऐनाले तिमीलाई तिमी हुनुको सम्झना दिलाउँछ ।


र तब तिमी सक्रियतामा आराममा हुनेछौ, निष्क्रियतामा आराममा हुनेछौ । खासमा, तिमीले दुवै प्रयोग गर्न थाल्छौ — चराका दुईवटा पखेटा जस्तै । र तिम्रा दुवै पखेटाले सँगै काम गरिरहेका हुनेछन्, तिमीसँग सम्पूर्ण आकाशको स्वतन्तत्रा हनेच । यो सब तिम्रो हो; सम्पूर्ण ताराहरू, जून र सूर्य र सम्पूर्ण दिशाहरू । तिमी जेलबाट मुक्त हुनेछौ ।


त्यसैले बहिर्मुखीलाई अन्तर्मुखीमा परिवर्तन गर्ने प्रयास नगर । बरु तिमीले यी दुवै; बहिर्मुखी मन र अन्तर्मुखी मनबाट बाहिर आउनु पर्ने हुन्छ । सानो प्रयत्न गर, जब तिमी सक्रिय हुन्छौ, त्यसको साक्षी बस । म आफ्नो हात हल्लाइरहेको छु र लगतै म त्यो हेरिरहेको छु । र यो चमत्कार हो — जब तिमी आफ्नो कार्य हेर्छौ, तिम्रो कार्य धेरै मनोरम, धेरै सुन्दर हुन्छ । यदि तिमीले आफ्नो शरीरलाई हेर्यौ भने, तिम्रो शरीरले केही सुन्दरता, केही विशेषभाव विकीर्ण गर्छ ।


तिमीले सम्पूर्ण विश्व आफ्नै आँखाबाट देख्न सक्छौ । यदि तिमीले आँखाभित्र बाट हेर्यौ भने, तिम्रो आँखा गहिरो हुन सुरुवात गर्छ जो तिमीले सपनामा पनि कल्पना गरेको हुँदैनौ । वास्तविक जीवन सपनाभन्दा कैयौं ज्यादा सुन्दर छ, कल्पनाभन्दा कैयौं ज्यादा अकल्पनिय छ ।
तर मन बाट बाहिर आऊ ।
मन तिम्रो जेल हो !

Prisoner of mind

Facebook Comments

You may also like

error: Content is protected !!