मानसिक अस्वस्थता : संक्षिप्त विमर्श

विश्व स्वास्थ्य संगठनले “व्यक्तिले आफ्नो क्षमता उजागर गर्ने सक्ने, दैनिक जीवनका सामान्य तनावहरूको व्यवस्थापन गर्न सक्ने, सिर्जनात्मक र उपयोगी काम गर्न सक्ने तथा समुदायमा यथोचित योगदान गर्न सक्ने तन्दुरुस्त अवस्था” नै मानसिक स्वास्थ्य हो भनेर बताएको छ। यस अर्थमा मानसिक स्वास्थ्यको कम्तीमा चारवटा आयाम हुन सक्ने देखिन्छ। पहिलो, मानसिक रूपले स्वस्थ्य व्यक्तिले आफूमा अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्न, सम्बर्धन गर्न र प्रबर्धन गर्न सक्ने हुनु पर्छ। दोस्रो, व्यक्तिगत जीवनमा आइपर्ने सानातिना तनावपूर्ण परिस्थितिलाई आफ्नै प्रयासले व्यवस्थापन गर्न सक्ने हुनु पर्छ। तनाव जीवनयापनमा आइपरिरहन्छन्। तर मानसिक रूपले अस्वस्थ व्यक्तिहरूमा सानातिना तनावबाटै विचलित हुने र भाग्न खोज्ने प्रवृत्ति हुन्छ भन्ने सङ्केत यो परिभाषाले दिन खोजेको छ। तेस्रो, मानसिक रूपले स्वस्थ व्यक्तिले गर्ने काम उपयोगी, सिर्जनात्मक र उत्पादनमूलक हुन्छन्। त्यस्तै, मानसिक रूपले स्वस्थ व्यक्ति आफ्नो हैसियत, क्षमता र योग्यताअनुसार समाज र समुदायलाई कुनै न कुनै प्रकारको योगदान गर्न प्रयासरत रहन्छ भन्ने पनि विश्व स्वास्थ्य संगठनको परिभाषाले अपेक्षा गरेको छ। समुदायको सदस्यको हैसियतले व्यक्तिले जसरी समाजबाट लाभ लिइरहेको हुन्छ, त्यही अनुपातमा उनीहरूमा पनि समाजलाई योगदान गर्ने चाहना हुन्छ र हुनुपर्छ। उनीहरू कुनै न कुनै रूपमा त्यसमा लागि परिरहेका हुन्छन् भन्ने उक्त परिभाषाको आशय हो।

मानसिक स्वास्थ्य बारेको यो परिभाषा झट्ट हेर्दा जति सहज र सरल लाग्छ, गहिराइमा यो त्यत्तिकै अमूर्त पनि लाग्छ। त्यसो त, अवलोकन र विश्लेषणको दृष्टिकोणबाट यो परिभाषाको सहायताबाट व्यक्तिको मानसिक स्वास्थ्यको एउटा चित्र तयार पार्न नसकिने नै पनि होइन। अनुभववादी (एम्पिरिकल) दर्शनको सापेक्षमा यो परिभाषामा समस्या छैन। तर यस परिभाषाले समेटेका आयामहरूको पहिचान र मूल्याङ्कन चाहिँ सजिलो छैन। उदाहरणको लागि, व्यक्तिमा अन्तरनिहित क्षमता पहिचान गरी त्यसको प्रस्फुटन हुने उचित वातावरणको निर्माण गर्ने काम चुनौतिपूर्ण कुरा हो। त्यस्तै अरू आयामका पनि समस्या छन्।



‘मन’ को परिभाषा

सोझो अर्थमा मानसिक स्वास्थ्य भनेको मनको स्वास्थ्य हो। स्वयम् मनको परिभाषा र सीमाको निर्क्यौल चाहिँ अन्यौलपूर्ण हुन सक्छ। व्यक्तिलाई शरीर र मन गरेर दुई भागमा बुझ्ने लामो परम्परा छ। तर शरीरका अन्य अंगहरू जस्तो मन कुनै छुट्टै अंग होइन। मनको निर्माण कसरी र के के मिलेर हुन्छ ठ्याक्क भन्न सकिन्न। हरेक मानव समुदायमा मनलाई ईश्वरप्रदत्त मान्ने र मनको नियन्त्रण शरीरले नगरेर ईश्वर र परामानवीय सत्ताले गर्ने विश्वासले गहिरो जरो गाडेको देखिन्छ। त्यसैले मानसिक समस्याको जडमा दैवी, अर्धदैवी र अधिमानवीय कारणलाई खोज्ने प्रचलन अद्यापि छँदैछ। विश्व स्वास्थ्य संगठनको माथि उल्लेख गरिएको परिभाषाले यस प्रकारको परम्परागत परिभाषालाई पूर्ण रूपमा अस्वीकार गर्दछ।

मान्छेलाई ईश्वरीय रचना मान्ने परम्पराले सिङ्गो मानव नै विज्ञानको अनुसन्धानबाट पर रहनु पर्ने विश्वास राख्छ। यस्तो विश्वासले मानव शरीरमा देखिने हर समस्या, रोग र विचलनलाई ईश्वरीय श्राप वा अनुकम्पा ठान्दछ। पूर्वीय चिन्तन परम्परामा देह र आत्मालाई अलग ठान्ने र मनको तादात्म्य आत्मासँग मान्ने धारणा प्रवल छ। इन्द्रीयहरूले बाह्य जगतसँग मनमार्फत संवाद गर्छ र मन भनेको ईश्वरीय सत्ताको प्रतिविम्ब हो भन्ने विश्वासले जरा गाडेको भेटिन्छ। आत्मालाई परमात्माको अंश मान्ने वा आत्माको मुक्तिको दर्शनलाई अङ्गीकार गर्ने परम्पराले आत्मा वा मनमा विकार/दोष हुने तथ्यलाई नै स्वीकार्दैन। यो मतअनुसार मन वा आत्माको आन्तरिक संरचना हुँदैन र मनको विकृति वा दोष भनेको यस्तै प्रकृतिको बाह्य अभौतिक सत्ताको प्रवल प्रभाव हो। त्यसैले मनको उपचार यस्ता सत्तालाई खेलाउने र नियन्त्रण गर्न सक्ने ठानिएका तान्त्रिक, मान्त्रिक तथा आकाशीय विद्याका ज्ञाताहरूमार्फत मात्र हुन सक्छ भन्ने धारणा रहेको पाइन्छ।

पश्चिममा सोरौँ शताब्दीबाट मानव शरीरको अध्ययनमा नयाँ आयाम प्रादुर्भाव भयो।फ्रान्सेली दार्शनिक रेने डेकार्टले मन र शरीर अलग तत्व भएको र शरीरलाई यान्त्रिक सिद्धान्तअनुसार अध्ययन गर्न सकिने धारणा स्थापित गरेपछि पश्चिमी समाजमा मानव शरीरमाथि औपचारिक अनुसन्धानको बाटो खुलेको हो। मन चाहिँ विचार, चेतना र तर्कसँग सम्बन्धित ठानिएकोले यान्त्रिक नियम तथा अनुशासनको वशमा नहुने स्वीकारियो। यसैबीच अङ्ग्रेज चिकित्सक विलियम हार्भेले रक्तसञ्चार प्रणालीबारे एउटा अनुसन्धान प्रकाशनमा ल्याए। हार्भेले शरीरमा रगतको प्रवाह चक्रीय रूपमा हुने र मुटुले रक्तप्रवाहको स्टेसनको जस्तो काम गर्ने तथ्य उजागर गरे। जसरी रगत शरीरको हरेक कुनामा भेटिन्थ्यो र चेतना पनि शरीरको हरेक कुनामा अनुभव गर्न सकिन्थ्यो, रगतजस्तै कुनै चेतन तत्व पनि यसै गरी शरीरभरि फैलिएको हुन सक्ने र यसको नियन्त्रण मनले गरेको हुन सक्ने तर्फ विचार हुन थाल्यो।

एवम् क्रममा आजको मितिसम्म आइपुग्दा मस्तिष्कलाई केन्द्र बनाएर शरीरभरि फैलिएको स्नायु प्रणाली, स्नायु प्रणालीका स्नायु रेशाभित्र प्रवाह हुने स्नायुप्रशारक र विभिन्न मानसिक भावहरूको कारक फरक फरक स्नायुप्रशारकहरूको बारेमा पनि मानिसहरूलाई ज्ञान भैसकेको छ। मनलाई अहिले अङ्ग्रेजीको ‘माइन्ड’ को अर्थमा बुझिन्छ र ‘मानसिक’ भनेको ‘माइन्ड’ सँग सम्बन्धित मानिन्छ। तर पनि माइन्डको वास्तविक स्वरूप यस्तै हुन्छ भनेर भन्न सकिएको छैन। स्वीकारिएको तथ्य चाहिँ के हो भने माइन्डको भौतिक आधार मस्तिष्क हो। मस्तिष्कभित्रको संरचना र मस्तिष्क क्रियाशील हुँदा सक्रिय हुने रसायनिक तत्वको घटबढले माइन्डलाई प्रभावित तुल्याउँछ। यो पनि तथ्यगत रूपमा पुष्टि भइसकेको छ। माइन्डको प्रभाव व्यवहारमा देखिन्छ। यसप्रकार माइन्ड अर्थात मनलाई मस्तिष्क र मानवीय व्यवहारबीच सम्बन्ध जोड्ने एक प्रकारको प्रकारात्मक प्रणाली (फङ्सनल सिस्टम) को रूपमा स्वीकारिएको ठान्न सकिन्छ।



मानसिक अस्वस्थता

मनको स्वतन्त्र अस्तित्व प्रमाणित हुन नसके पनि मनसँग सम्बन्धित कार्यव्यापारमा असामान्य स्थिति पैदा हुने गरेको भने प्रष्ट देखिन्छ। शरीरको अस्वस्थताको लक्षण हुन्छ, त्यसका सङ्केतहरू हुन्छन्, कारणको पहिचान हुन्छ र कारणको निवारण गर्ने उपचार विधि हुन्छन्। तर शरीरको जस्तो मनको जाँच पडताल सम्भव हुन्न। मानसिक स्वस्थता र अस्वस्थाका मापदण्ड हुन्छन्। व्यक्तिको आचरण र व्यवहार स्वीकृत र अपेक्षित मानक तहबाट विचलन भएको देखिएमा त्यो अवस्थालाई मानसिक अस्वस्थता भनेर ठानिन्छ। 

व्यक्तिको आचरण र व्यवहार भनेको जहिल्यै अन्तर्वैयक्तिक (इन्टरपर्सनल) अर्थात अन्य व्यक्तिसँग प्रकट हुँदा देखिन्छ। व्यक्ति समुहमा रहन्छ र एउटा व्यक्तिको वरिपरि विभिन्न तहका समुहहरू हुन्छन् – परिवार, समाज, जाति, राज्य, सिङ्गो मानव जाति आदि।हरेक समुहको फरक फरक मूल्य, मान्यता र आचार संहिताहरू हुन्छन्। व्यक्तिको निजी जीवन त्यसको केन्द्रमा रहन्छ। व्यक्तिले ती हरेक समुह र त्यसका सदस्यसँगको अन्तरक्रियामा कस्तो व्यवहार गर्छ, अरूले उसको आचरणलाई कसरी मूल्याङ्कन गरेका हुन्छन्, व्यक्तिको मानसिक स्वस्थताको मापदण्ड त्यो हो। यो भनेको व्यक्तिको व्यवहारमा देखिने लक्षण हो। त्यसकारण, व्यक्ति स्वयम्ले अवलोकन गर्न सक्ने र मूल्याङ्कन गर्नेभन्दा फरक यो बाह्यकेन्द्रीत अवलोकन हो। मानसिक (अ)स्वस्थताको समस्या नै यही हो कि यसको मूल्याङ्कन मूलत: स्यम् व्यक्तिले गर्न सक्दैन, निजले गरेको मूल्याङ्कनको वैधता हुँदैन।

मूल्याङ्कनको एउटा प्रचलन छ, मनोचिकित्सकीय पद्धति। यसले मानसिक अस्वस्थतालाई एक प्रकारको बिरामीको सापेक्षता (फ्रेमवर्क) मा बुझ्ने प्रयास गर्छ। जसरी शारीरिक बिरामीमा बिरामीका भौतिक सङ्केतहरू हुन्छन्, त्यसै गरी मानसिक अस्वस्थताको जड पनि स्नायुप्रणालीमा पैदा भएको विकार अथवा असामान्य अवस्था हो भनेर ठानिन्छ। औषधिबाट यसलाई ठिक गर्न सकिने विश्वास यो पद्धतिमा पाइन्छ। त्यस्तै, मनोविश्लेषण पद्धतिले व्यक्तिको चेतनाको निर्माण कसरी भयो भन्ने कुरालाई जोड दिन्छ। हर चेतन व्यवहारको पछाडि अवचेतन तहमा त्यसको आधार हुन्छ, जुन व्यक्तिलाई थाहा हुँदैन भन्ने विश्वास मनोविश्लेषण पद्धतिमा पाइन्छ। व्यक्तिका हरेका सामान्य, असामान्य व्यवहारको जडमा पनि यस्तै कुनै कारण हुन्छन्, जुन व्यक्तिलाई थाहा हुँदैन। यस अर्थमा प्रत्येक व्यक्तिमा असामान्य आचरणको बीज रहेको हुन्छ र निश्चित हदसम्म व्यक्ति असामान्य हुन्छ भन्ने मान्यता मनोविश्लेषण पद्धतिले राख्छ। जब स्वीकृत असामान्य आचरणको हद पार हुन्छ, त्यो अवस्थालाई अस्वस्थता मानिन्छ। मनोविश्लेषकहरू मानसिक समस्याको समाधान औषधिबाट भन्दा पनि मनोवैज्ञानिक परामर्श, सम्बन्धित व्यक्तिसँगको अन्तरक्रिया, घटनाको विश्लेषण आदिबाट व्यक्तिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा राख्छन्। मनोचिकित्सामा जस्तो यो पद्धतिमा मानसिक समस्या भएको व्यक्तिलाई बिरामी मानिहालिँदैन।

मानिसका आचरण र व्यवहारको मूल्याङ्कन गर्ने यसबाहेक पनि विभिन्न पद्धति छन्। त्यस्तै एउटा अर्को पद्धतिमा व्यक्तिको मानसिक स्वास्थभित्र व्यक्तिगत आचरण र व्यवहार मात्र नहेरेर संज्ञानात्मक पाटोलाई पनि मूल्याङ्कन गरिन्छ। समाज एवम् समुहमा बहुजनले स्विकारेको र अपनाएको आचरणबाट व्यक्तिमा भएको विचलनको अवलोकन गरेर व्यक्तिमा संज्ञानात्मक (कग्निटिभ), अनुकूलनीय (अड्याप्टिभ) परिणाम पहिचान गरिन्छ। यो पद्धति समाजशास्त्रीय मतबाट बढी प्रभावित छ। मूल्याङ्कनमा व्यक्तिको वर्गीय पहिचान, शैक्षिक अवस्था, आर्थिक हैसियत आदिलाई आधार लिइन्छ। पर्याप्त सावधानी अपनाइएन भने मूल्याङ्कनकर्ताको विषयगत प्राथमिकताको कारण यस्ता मूल्याङ्कन आग्रहप्रेरित हुन सक्ने सम्भावना पनि त्यत्तिकै रहन्छ।



कानुनी परिभाषा

कतिपय मुलुकहरुमा मानसिक अस्वस्थताको कानुनी परिभाषा पनि गरिएको भेटिन्छ। उदाहरणको लागि भारतको मानसिक स्वास्थसेवा ऐनले मानसिक अस्वस्थतालाई “मूल्याङ्कन, आचरण, यथार्थतालाई चिन्न सक्ने क्षमता अथवा जीवनयापनका सामान्य अपेक्षाहरू पूरा गर्न सक्ने दक्षतामा उल्लेखनीय रूपमा हानि पुग्ने गरी विचार, भाव, ग्रहणशीलता, झुकाव र स्मरणमा परिमाणात्मक असन्तुलन पैदा गर्ने र लागू पदार्थ तथा रक्सीजन्य नशासेवनसँग सम्बन्धित मानसिक अवस्था” भनेर बताएको छ। ऐनले परिभाषित गरेको मानसिक अस्वस्थताभित्र दिमागको अपूर्ण विकास र बौद्धिक सुस्तताको कारण पैदा भएको सुस्त मनस्थितिलाई समावेश गरिएको छैन। बेलायत, अमेरिकाका कानुनले गरेका परिभाषाहरू पनि भारतीय कानुनले गरेको परिभाषासँग मिल्दाजुल्दा नै छन्। मानसिक अस्वस्थताको परिभाषामा वस्तुगतभन्दा विषयगत तत्वहरू पनि समावेश हुन सक्ने हुँदा कानुनले यसको परिभाषामा पर्याप्त सावधानी अपनाउन खोजेको देखिन्छ।



सामाजिक दृष्टिकोण

समाजमा मानसिक अस्वस्थता र मानसिक असन्तुलनलाई एउटै कोटीमा राखेर बुझ्ने गरेको पाइन्छ। माथि चर्चा गरिएका परिभाषा र विभिन्न पद्धतिहरूले पनि कुन विन्दुसम्म मानसिक अस्वस्थता भन्ने र कुन विन्दुबाट अगाडि बढेपछि असन्तुलन पैदा भएको भन्ने भनेर किटान गर्न सकेको भेटिँदैन। अहिलेको प्रतिस्पर्धी समाजमा सामान्य अवसाद (डिप्रिसन) हुनु अस्वाभाविक होइन। विभिन्न समस्यासँग जुधिरहेको व्यक्ति विभिन्न स्तरको तनावसँग जुधिरहेको हुन्छ। आर्थिक, सामाजिक, राजनैतिक आदि कारण मानिसहरू अप्ठेरोमा परिरहेका हुन्छन्। समस्याको जञ्जालबाट फुत्किन गारो परिरहेको हुन्छ। त्यस्तो अवस्थामा केही असामान्य गतिविधि देखिन सक्छ। व्यक्तिगत तहमा त्यो अवस्था सामान्य अस्वस्थता नै हो। तर सामाजिक दृष्टिमा व्यक्तिमा विचलनलाई अस्वस्थताभन्दा पनि असन्तुलनसँग जोडेर हेर्ने गरिन्छ। यो विभेदलाई प्रष्ट छुट्याउन नसक्दा समस्याको पहिचानमा समस्या खडा हुन सक्छ। यस्तो असंगतिबाट बच्न मान्छे हत्तपत्त आफ्ना मानसिक समस्या बाहिर ल्याइहाल्न चाहन्न। परिवारले पनि आफ्ना सदस्यको समस्यालाई गुपचुप राख्न खोज्छ।

कानुनले गरेको परिभाषा वास्तवमा मानसिक अस्वस्थताको भन्दा पनि मानसिक असन्तुलनको हो। मानसिक अस्वस्थ व्यक्ति मात्र होइन, मानसिक रूपले असन्तुलन भएको व्यक्ति पनि फर्किएर सामान्य जीवनयापन गर्न सक्छन्। निश्चित उपचार र “थेरापी” ले त्यो सम्भव तुल्याएको पनि छ। यसमा पारिवारिक र सामाजिक सहयोग र भावनाको खाँचो चाहिँ पर्दछ। तर “एकचोटीको असन्तुलन सधैँको लागि असन्तुलन” जस्तो व्यवहार हुने त्रासले व्यक्ति आफ्ना समस्या बाहिर ल्याउँदैनन्। किनभने मानसिक “बिरामी” भएको व्यक्ति कहिल्यै पूर्णरूपमा पूर्व अवस्थामा फर्किँदैन भन्ने एकप्रकारको विश्वास समाजमा स्थापित छ। यसको कारणमा मानसिक अस्वस्थतालाई अन्य शारीरिक अस्वस्थासँग समानान्तर रूपले बुझ्नु पनि हो। शारीरिक अस्वस्थतामा बिरामीको कारण ब्याक्टेरिया, भाइरस आदिको पहिचान हुने वा संरचनात्मक (क्यान्सर, डाइबेटिज आदि) विकार प्रष्ट देखिने हुन्छ। तर मानसिक अस्वस्थता त्यो रूपको विकार होइन भन्ने विश्वास स्थापित हुन सकेको छैन। 

धेरैजसो मानसिक अस्वस्थता अस्थायी प्रकृतिका हुन्छन् र त्यसको कारणको समाधान भएपछि आफै बिलाएर जान्छन्। अभौतिक कारणले पैदा हुने त्यस्ता अवस्था अस्थायी प्रकृतिका र अनुकूलन समस्या (अड्याप्टेसन प्रोब्लम) हुन् भन्ने शिक्षाको अभाव छ समाजमा। प्रायजसो मानसिक समस्याको जडमा आर्थिक अभाव, सामाजिक विभेद, पारिवारिक दुर्घटना, व्यक्तिगत असफलता नै रहेका हुन्छन्। त्यसले बिस्तारै बिस्तारै जक्डिदैँ लगेपछि त्यसको प्रभाव शरीरमा विभिन्न रूपमा देखा पर्न सक्छ। तर सामाजिक आँखी हुने डरले व्यक्ति खुल्न डराउँछन्। यस्ता व्यक्ति खुल्न नसक्नुको अर्को कारण चिकित्सक र परामर्शदाताहरूप्रतिको अविश्वसनीयता पनि हो। डाक्टरकहाँ जानु भनेको “बिरामी” ठहरिनु हो। व्यक्ति आफूलाई बिरामी मान्न तयार हुँदैन। आफूलाई केही मानसिक समस्या भएको अनुमान गर्न सक्ने व्यक्तिलाई मानसिक रूपमा अस्वस्थ ठान्नु सम्म त ठिकै हो, तर बिरामी नै ठान्नु चाहिँ निश्चितै रूपले सही होइन। तर वैकल्पिक अभ्यासको पनि अभाव छ।

त्यसैले मानसिक रूपले अस्वस्थ व्यक्तिलाई चाहिने पहिलो सहयोग उनीहरूप्रति समानुभूति (एम्प्याथी) हो, सहानुभूति (सिम्प्याथी) होइन। सहानुभूति प्रदर्शनले व्यक्तिको अहंमा ठेस पुग्न सक्छ। मानसिक समस्यामा परेका व्यक्तिहरू समानुभूतिको अभावमा समस्या लुकाइरहेका हुन्छन् र समस्यालाई रोग-उन्मुख तुल्याइरहेका हुन्छन्, जुन स्वयम्लाई थाहा हुन्न। हरेक व्यक्ति त्यो अवस्थाबाट गुज्रिन सक्छ र उचित वातावरण उपलब्ध हुन सके त्यसबाट पूर्वअवस्थामा फर्किन सक्छन् भन्ने विश्वास विकास गर्न सके व्यक्तिहरू खुल्न सक्छन्। यसले समाजमा सकारात्मक प्रभाव विकास हुँदै जान्छ।

 
 
 
 
 

 

– राम लोहनी
(भाषाविज्ञान केन्द्रीय विभाग, त्रिविवि)



 

Facebook Comments

You may also like

error: Content is protected !!