बिहान उठ्दा बिरानो गाउँका सम्पूर्ण मान्छेहरूको मस्तिष्क खाली भयो। खोपडीमा केही बाँकी रहेन। सरल भाषामा भन्दा उनीहरूसँग कुनैपनि याद बचेन। एउटा बच्चामा चेतना निर्माण जन्मेको केही महिना पछि हुन्छ। त्यस गाउँका मान्छेहरू चेतनाविहीन भए। उनीहरूको अवस्था चेतना निर्माण अघिको स्थितिमा पुग्यो। यो आफैमा अचम्मित पार्ने खालको घटना थियो।
सुतेर उठ्दा सम्पूर्ण गाउँ अस्तित्वविहीन भयो। कसैले पनि आफू को हो, कुन ठाउँमा छु, के गर्दैछु भन्ने सम्झेनन्। ओछ्यानबाट उठेर बाहिर जाँदा परिवारका सदस्यहरूले एक अर्कालाई देखे तर कसैले कसैलाई चिनेनन्। नयाँ अनुहार। नयाँ परिस्थिति। वरपरका वस्तुहरू सबै अपरिचित बने। हरेकले हरेकलाई ट्वाल्ल परेर हेरे। प्रत्येक चिजहरूलाई जिल्ल परेर हेरे। आँखाले दृश्य त देख्थ्यो, दिमागले ठम्याउन भने सक्दैनथ्यो।
सबैभन्दा महत्त्वपूर्ण कुरा, गाउँलेहरू आफ्नो हालखबरबारे बेखबर थिए। यादहरू नबचेको उनीहरूले बुझेनन्। उनीहरूको अवस्था शहरको भिडमा बेखबर हिँडिरहेको पागलको जस्तै भयो। न आफूभित्रको जानकारी छ न आफूबाहिरको।
बिरानो गाउँ चकमन्न बन्यो। सूर्यको उदयसँगै मान्छेको कोलाहल सुनिने त्यस गाउँमा उक्त बिहान केवल पशुपंक्षीहरूको आवाज मात्र सुनियो। घरपालुवा जन्तुहरू आफ्ना मालिकको प्रतीक्षामा बसे। चुलोहरू गृहिणीहरूको बाटो कुरिरहे। बाटो, यात्रीहरूको आगमनको आसमा तड्पिरह्यो। अहँ! मान्छेको कतै चालचुल देखिएन। अघिल्लो रात ढिलो सुतेको कवि अलि ढिलै बिउँझ्यो। बिउँझिँदा उसको कुनै याद बाँकी थिएन। उसले ट्वाल्ल परेर यताउता हेर्यो। केही सम्झिन सकेन। उसको खाटको छेउमा रहेको टेबलमा डायरी पल्टिरहेको अवस्थामा थियो। अस्तित्ववादी कविको परिचय बनाएको उसले सुत्नुअघि कवि सम्मेलनमा सुनाउन नयाँ कविताको तयारी गरेको थियो। तर, सात खिल्ली चुरोटलाई धुवाँमा बदल्दासमेत कविता नफुरेपछि उसले दिक्क भएर डायरीमा यस्तो लेखेर सुतेको थियो:
म बिर्सिन चाहन्छु, आफैलाई
भाग्न चाहन्छु, आफैबाट
जान चाहन्छु यस्तो ठाउँ
जहाँ मैले आफैलाई चिन्न नसकूँ
अहिले कविले यी हरफहरू बुझ्न सकेन। उसले अक्षर चिनेन। कोठाको सम्पूर्ण किताबहरू, डायरीहरू र तिनमा लेखिएका शब्दहरू उसका लागि अर्थहीन भयो। सन्चो नभएकोले गाउँको मुखिया अघिल्लो रात चाँडै सुतेका थिए। सुत्नुअगाडि काम गर्ने केटोलाई आफ्नो गोडामा तेलले मालिस गर्न लगाउँदा उनलाई कम्ता आनन्द आएको थिएन। केटोले मालिस गर्दैगर्दा उनले आफ्नो जायजेथाको हिसाब मनमनै गरेका थिए। गाउँलेहरूले लगेको ऋणको भाका नाघेकोमा उनी थोरै चिन्तित देखिन्थे। पुर्खौंदेखि बिरानो गाउँमा मुखिया खलकको हालीमुहाली चल्दै आएको थियो। परेको बेला सहयोग गर्ने मात्र होइन नपरेको बेला दु:ख दिन समेत मुखिया अग्रपंक्तिमा थिए। गाउँलेहरूमा हल्ला थियो– मुखियाले बोराहरूमा पैसा भरेर भकारीमा लुकाएको छ।
त्यस दिन मुखिया सबेरै जागा भए। उठ्दा उनले आफैलाई चिनेनन्। बेवारिसे लासजस्तो आफ्नै घरमा यताउता भौंतारिए। पहिलोपटक आफ्नो पैसाले भरिएको ढुकुटीअगाडि पुग्दा उनमा लालचको सानो अंशसमेत देखिएन। आखिर उनले पैसा चिनेनन्। अरू गाउँलेहरूजस्तै उनी पनि भौंतारिन थाले रित्तो मस्तिष्क बोकेर। तेल लगाउने केटो पिढीमा टुक्रुक्क परेर बसिरहेको थियो। तर, मालिक र नोकरले एक-अर्कालाई चिनेनन्।
दिन ढल्किँदै गयो। बिरानो गाउँ पुरै सुनसान थियो। मान्छेहरू यताउता हिँड्न थाले, होसबिनै। यही क्रममा प्रेमी र प्रेमीका आमुन्ने–सामुन्ने भए। उनीहरूले पनि एक-अर्कालाई निकैबेर घुरेर हेरे, ठम्याउन भने सकेनन्। प्रेमीले प्रेमिका चिनेन। प्रेमिकाले प्रेमीलाई चिनिन।
उनीहरूको प्रेम किस्सा गाउँभरि चर्चित थियो। लुकिछिपि भेट्ने जोडी त्यस दिन आँखैअगाडि हुँदा समेत अन्जान भए। खासमा भन्दा, अघिल्लो दिन उनीहरूले भोलिपल्ट भाग्ने सल्लाह गरेका थिए। भाग्ने कुराले दुवै प्रफुल्ल थिए। अघिल्लो रात छुट्टाछुट्टै खाटमा पल्टेको उनीहरूको शरीरमा भोलि आउने संभावित मिलनको कल्पनाले काउकुती लागेको थियो। प्रेमको कल्पनामा रम्दा रम्दै बिहानी पख निदाएका उनीहरूलाई उक्त रात जीवनकै भयानक लामो रात लागेको थियो। बिहान उठ्दा दिमागमा प्रेमको एक धर्सोसमेत बाँकी थिएन। सबै छुमन्तर भयो।
यादहरू हराएको दिन बिरानो गाउँबाट केही खबर नआएपछि वरिपरि छिमेकी गाउँका मानिसहरूलाई अचम्म लाग्यो। त्यस्तो चल्तापुर्जा गाउँ पुरै एकदिन सुनसान हुनु नौलो घटना थियो।
भोलिपल्ट बिहानै चारवटा छिमेकी गाउँहरूबाट चारजना प्रतिनिधि बिरानो गाउँमा पठाइयो। फर्केर आउँदा उनीहरूले ल्याएको खबरले सबैलाई हैरान बनायो। हतारहतार छिमेकी गाउँलेहरू रमिता हेर्न बिरानो गाउँतर्फ लागे। त्यस गाउँको परिदृश्यले केहीमा रोमान्चकता पैदा गर्यो भने धेरैमा डरको माहोल बन्यो। एककान दुईकान हुँदै त्यो घटनाको बारेमा थानामा खबर पुग्यो। रहस्यात्मक घटना सुनेर सुरुमा प्रहरीले विश्वास गर्न मानेन। तर घटनाको जानकारी पाइसकेपछि त्यसको सत्यतथ्य जाँच्नु आफ्नो सरकारी प्रतिबद्धता बमोजिम प्रहरीको टोली बिरानो गाउँ पुग्यो। त्यहाँ पुगेर उनीहरूले वास्तविकता आफ्नै आँखाले देखेपछि तुरुन्तै हेडक्वार्टरमा रिपोर्ट पठाए। विभिन्न सरकारी तहहरू पार गर्दै बिरानो गाउँका मान्छेहरूको यादहरू गायब भएको तेस्रो दिनको मध्याह्न रिपोर्ट प्रधानमन्त्रीसमक्ष पुग्यो।
प्रधानमन्त्रीबाट तुरुन्तै छानबिन समिति गठन गरेर घटनाको सत्यतथ्य जानकारी आफूलाई गराउन आदेश जारी भयो। घटनाको चौथो दिन सरकारी टोली बिरानो गाउँ पुग्यो। यादहरू गायब भएको कुरा सुरुमा नपत्याएको टोली सदस्यहरू घटनास्थलमा पुगेपछि तीनछ्क्क होइन नौछक्कै परे। अद्भूत परिस्थितिलाई उनीहरूको सरकारी बोधो दिमागले बुझ्ने छाँटकाट देखिएन।
सनकी शासकलाई खुशी पार्न प्रतिवेदन बुझाउनै पर्ने बाध्यताले गर्दा उनीहरू बयान संकलनमा लागे। छिमेकी चार गाउँका मुखियाहरुको पालैपालो बयान दर्ज गरियो।
मुखिया न. १:
यो घटना घट्नुमा जादुगरको हात छ। एक हप्ताअघिको कुरा हो, एउटा अनौठो देखिने व्यक्ति हाम्रो गाउँमा बिरानो गाउँको ठेगाना सोध्दै आइपुग्यो। आफूलाई जादुगर बताउने उक्त व्यक्तिको क्रियाकलाप शंकास्पद देखिन्थ्यो। त्यसबेला हामीले त्यति वास्ता गरेनौँ। तर, अहिले यस्तो घटना घट्यो। जादुगर फर्किने बेलामा साना केटाकेटीले भेटेका थिए रे। उसले ठूलो झोला पिठ्युँमा बोकेको थियो रे। केटाकेटीले सोध्दा झोलामा मानिसका यादहरू बोकेको बताएको थियो रे।
उसले ‘रे’ को भरमा लामै समय बयान दियो। त्यसपछि अर्को मुखियाको पालो आयो।
मुखिया न. २:
यस्तो गर्नसक्ने शक्ति जोगीबाहेक अरू कसमा हुन सक्छ र? हामी केटाकेटी हुँदैदेखि सुनिआएको हो– धेरै वर्ष पहिले, हाम्रा हजुरबुबाहरूको पालामा बिरानो गाउँमा एउटा जोगी आएको थियो रे। उसलाई त्यस गाउँका मान्छेहरूले बच्चा चोरको आरोपमा कुटपिट गरी अपमान गरेर गाउँ निकाला गरेका थिए रे। उसले गाउँलेहरूलाई श्राप दिएको थियो रे– भविष्यमा तिमीहरूको सन्तानको नास कहालीलाग्दो गरी हुनेछ। बिरानो गाउँका शिक्षितहरू यो कुरालाई कपोकल्पित भन्थे। तर, बुढापाकाहरू त्यो श्राप कुनैदिन साँचो होला कि भन्ने डरमा जिउँथे। खासमा त्यही श्रापले गर्दा यस्तो भएको हो हजुर।
तेस्रो मुखियाले बयान दिन आनाकानी गर्यो। ऊ डराएझैं देखिन्थ्यो।
‘मैले बयान नदिँदा हुँदैन र हजुर?’ काँपेको स्वर सुनियो।
‘तपाईंले चाहिँ बयान किन नदिने? तपाईं वरिष्ठ हो? हेर्नुस्, बयान दिनु भएन भने सरकारी काममा अवरोध गरेको आरोपमा तपाईंलाई जेल हालिनेछ।’
जेलको नाम सुनेर मुखियाको सातो गयो। उसको बयानको प्रकृति नै यस्तो थियो कि बयानले पनि उसलाई जेल पुर्याउने संभावना थियो। नखाएको विष लाग्नुभन्दा खाएकै लागोस् भनेर बयान दिन ऊ तयार भयो।
मुखिया न. ३:
बिरानो गाउँको मान्छेहरूको याद हराउनुमा सरकारको भूमिका छ। एक महिना अघिको कुरा हो, केही सरकारी मान्छेहरू हाम्रो गाउँ आएका थिए। त्यसमा डाक्टरहरू पनि थिए। हेर्दा विदेशीजस्ता देखिने मान्छेहरू पनि उक्त टोलीमा थिए। उनीहरूले बाकसमा केके बोकेका थिए। हाम्रो गाउँमा एक रात बसेर उनीहरू बिरानो गाउँमा गए। त्यहाँ एक हप्ता बसेर फर्किए। उक्त टोली फर्किएपछि मैले बिरानो गाउँको मुखियालाई तिनका बारे सोधेको थिएँ। उनले बताए अनुसार तिनीहरूले खै के को अनुसन्धान गर्नुछ भन्थे रे। सबै गाउँलेहरूलाई औषधिजस्तो कुरा खान लगाएका थिए रे।
मलाई त त्यही टोलीले गरेको अनुसन्धानले यो घटना घटेको हो जस्तो लाग्छ।
बयान सकिँदा मुखिया जति डराएको थियो, त्योभन्दा धेरै डरका रेखाहरू सरकारी टोलीको नाइकेको अनुहारमा देखिन्थ्यो। सरकारको कुनै खुफिया प्रोजेक्टअन्तर्गत यस्तो भएको हुनसक्ने आशंका उसको मनमा पर्यो। उसले मुखियालाई आइन्दाबाट यो कुरा कोहीसँग नगर्न आदेश दियो। ‘तपाईं सरकारी निगरानीमा हुनुहुनेछ।’ उसको धम्कीले काम गर्यो। मुखिया जेल जानबाट बचेकोमा खुशी भयो।
अन्त्यमा चौथो मुखियाको बयान सुरु भयो।
मुखिया न. ४:
मेरो कुरा हाँस्यास्पद सुनिन सक्छ। मलाई थाहा छ तपाईंहरूले मलाई विश्वास गर्नुहुनेछैन। त्यैपनि, मैले वास्तविकता भन्नैपर्छ। बिरानो गाउँको यो अवस्था एलियनको कारण सिर्जना भएको हो। उः भन्दै त थिएँ, मेरो पूरा कुरै नसुनी तपाईंहरू हास्न लाग्नु भयो। तर, मैले साँचो भनेको हुँ। मेरी आफ्नै श्रीमतीले साँझपख घाँस काट्न जाँदा बिरानो गाउँको छेउमा आकाशबाट जहाजजस्तो उड्दै आएको देखेकी थिई। यो घटना घटेको अघिल्लो साँझको कुरा हो। जहाज नजिकैको जङ्गलमा बस्यो। उसलाई खुलदुली भएर जङ्गल नजिकै गएर हेर्दा जहाजबाट अचम्मलाग्दा जीवहरू निस्किएको देखिछ। ऊ डरले आत्तिएर त्यहाँबाट भागेर घर आइछ।
मुखियाले बोल्दै गर्दा सरकारी टोली नाइकेले भयो भन्ने इसारा गर्यो।
त्यसपछि, प्रहरी टोली प्रमुखको बयान लिइयो। घटनाको थप विवरणहरू टिपेर सरकारी टोली शहर फर्कियो। सरकारी टोलीले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा कुनै ठोस निष्कर्ष थिएन। केवल घटनाको विवरण मात्र थियो। तर, त्यसमा एउटा सुझाव भने थियो। उक्त सुझाव बमोजिम बिरानो गाउँका सम्पूर्ण मान्छेहरूलाई शहर झिकाइयो। शहरको एउटा भव्य महलमा ठूला ठूला सिसाका च्याम्बरहरू निर्माण गरियो। उक्त च्याम्बरमा बिरानो गाउँका मान्छेहरूलाई राखियो। आधुनिक प्रविधिको मद्दतले उनीहरूलाई खाना खुवाइन थालियो।
यादविहीन मान्छेहरूलाई हेर्न टिकट काट्नेको घुइँचो बढ्यो। यादहरूको संग्रहालयलाई सनकी शासकले आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउने माध्यम बनायो।