जीवनको लय

भन्नैपर्ने खास कुरा छैन। तर मन शान्त छैन। त्यसोभए भन्ने कुरा छन्? पर्याप्त छन्। असरल्ल छन्।

आफ्ना कुरा अरुलाई भन्न डर लाग्छ। कसैको लय बिथोल्ने मलाई के अधिकार? आफ्नो जीवनको बोझ हरेकलाई गह्रुँगो नै लाग्छ। म हुनुले कसैलाई नबिझाओस्! नगलाओस्। बोझ नथपोस्! त्यसैले म एक्लै छु। थाहा छैन, सजिलै सहन सकिने खालको प्राणी हुँ या अफ्ठ्यारो? त्यसैले, पर छु।

एकांकीपनको देन-
सम्बन्धका अदृश्य धागाहरू देख्दिनँ। मलाई कसैको खास परवाह छैन। परवाह गर्न थालेँ भने? मलाई मर्न मन लाग्छ। पूजा गर्न मन लाग्छ। ईश्वरको निर्माण गर्न मन लाग्छ। दूरीको डरले गलाउँछ। वियोगको सम्भावनाले तर्साउँछ! महसुस नगर्न म सक्दिनँ। अनुभूतिको तीक्ष्णताले नचिथोरिन सक्दिनँ। जेपनि अति हुन्छ मसँग। समाचारमा धैरे मरेको छु। अरुको अन्याय आफूलाई बोध हुन्छ। क्रान्तिकारी हुन मन लाग्छ। अराजक हुन मन लाग्छ। मान्छे मार्न मन लाग्छ। दुनियाँ जलाउन मन लाग्छ। नकारात्मक समाचारले पागल बनाउँछ। त्यसैले, समाचार छलेर बस्छु।

सबै छोडेर यो नरम उदासी बोकेर हिँड्नु मेरो आनन्द हो।

यसैमा मलाई शान्ति छ। यसैको लयमा म हुनुको रहस्यमय बोध छ। त्यो मेरो चेतनामा सुस्त पयरले नाचेर हिँड्दछ। हिँडोस्, जहाँसम्म सक्छ। त्यसैले सोचाउँछ, लेखाउँछ! लेखाउँछ? कहिलेदेखि लेखक? के लेखियो? लेख्न जानेको छ? वाहियात!

कसैले सम्झेर मायाले हालत सोधोस्, मेरो हृदय सुनोस्- यस्तो आशा लाग्दैन। कसैलाई सोध्ने बानी बसेनछ! कसैलाई पर्खिन जानिनछु। कसैले नपर्खिँदा नछोइने भएछु। कहिलेदेखि? खै! बिर्सिदिऊन्, ठीकै छ। बोधो मलाई, कोट्याउन आऊन्, ठीकै छ। सम्झँदा आफूलाई ममाथि थोपर्न सम्झिन्छन्, करुणाले गल्छु। सम्झँदा ममाथि दया वर्षाउँन्, निथ्रुक्क भिज्छु। के छ र?

जब निश्चित कसैलाई लक्षित नगरी भावना असरल्ल पोखिन्छ, त्यो हास्यास्पद सुनिन्छ। सुन्नेले अफ्ठ्यारो महसुस गरिरहेको हुन्छ। अक्सर यस्तै हुन्छ। यसले मलाई बिमार महसुस गराउँछ। लेख्नु अफ्ठ्यारो महसुस गराउनु हो! कसैको एकनासे लयमा नयाँ अन्तरा थपिदिनु पनि हो!

कसैलाई भन्नलाई मसँग प्रायः केही हुँदैन। अर्थात् मलाई मान्छेहरूले प्रायः आफ्ना अनर्गल कुरामा घिसार्छन्। म घिसारिन्छु र त्यसलाई न्यूनतम् शिष्टाचार भनिदिन्छु। कसैलाई सुनिदिनु र मुस्कुराउँदै बसिदिनु; आजको (हतारको) जिन्दगीमा कमसेकम मित्रता हो! त्यसैले, मित्रतामा धनी छु। गेटकिपरदेखि स्विपरसम्म परिचित मुस्कान दिन्छन्, जब गुज्रन्छु। आफ्नो दिक्दारीले थिचिएको मलाई उनीहरूको मुस्कानले डुब्दाडुब्दै बचाउँछ!  गहिराईबाट उबाएर सतहमा ल्याइदिन्छन् र, सजिलो श्वास फेर्छु! खुलेर हाँस्छु!

सजिलै उपलब्ध भइदिनुले अरुद्वारा अनावश्यक बिथोलिनुपर्ने हुन्छ। अरुले अवमूल्यन गरिदिन्छन्, आफ्ना निरर्थक छुद्रतामा मुछेर। अत्याचार मान्छेको स्वभाव रहेछ। फेरि छुद्रतामा वास्तविकता छ। निरर्थकता जताततै छ। उच्चता आदर्श रहेछ। रातको सपनामा देख्न पाइन्छ, दिनको उज्यालोमा होइन।

‘तपाईं रामायणको हनुमान जस्तै लाग्छ मलाई!’, एन्के भाइ भन्छ। हाँसिदिन्छु। पछि सोच्छु, किन?
‘अलिकति खाना बढी भयो, खानुस् न!’
‘ए भै’हाल्छ नि!’,
‘म यो गेम सकिहाल्छु, मासु पकाइदिनुस् न!’
‘ए भै’हाल्छ नि!’,

‘एक्लै परेँ, सामान लिन आइदिनुस् न!’
‘ए भै’हाल्छ नि!’,
‘सेलरी रोकिदियो, हेड्अफिस जाऊँ न!’
‘भै’हाल्छ नि!’
 आदि।
अनि त जहिले पनि, जहाँ पनि मलाई नै घिसार्छन् उनीहरू! र, यस्तो कैयन् रिस दबाएर निल्नुमा जीवन जितेको गौरव महसुस भएको हुन्छ।
‘विचरा!’– उनीहरूले सोचेको टड्कारो सुनेको छु!

आफ्नै लागि समय छुट्याउनुपर्ने बोधले अलग्याउन खोज्छु आफूलाई। आफ्नो अन्यौलताको लस्करमा बहकिएर अडिन्छु। छोड् भाइ, नबहकी! किन छलिरहेछु? केमा, कसरी समाहित हुनु मेरो नियति हो? किन भेउ पाउँदिनँ? बग्दै जा सतहमा! बगिरहन्छु आफूलाई छलेर। भित्र कुनै प्रस्ट आवाज छैन, कतै प्यासले तानेर लैजाने। ममा अभिमान र महत्त्वाकाङ्क्षाले घर बनाएन। आकाशमा बेपत्ता उडिरहेछु, हावा कम हुँदा जहाँसुकै खसिदिन सक्छु। कस्तो आपत्!

केही पढ्न खोज्छु कोही मसँग बोल्न थालिहाल्छ, कोरोनाले मार्ने भो!’ यो के, नयाँ कुरा भो? हेर्छु, ऊ व्यस्त छ। मनलागी बोलेर सन्तुष्टि चपाइरहेको छ। मेरो जवाफ, ‘अब के होला त?’ भन्छ, ‘फलानो कलाकारलाई विशेष सुरक्षा दिने रे!’ सोच्छु, यो के बकवास्? के कुरा गर्दैछ यो? यसरी बिथोलिनुमा जस्तो थकान केहीमा छैन।

मलाई यहाँदेखि उम्किएर आफ्नो विगतको शान्त कोठामा जाने छटपटी हुन्छ, हप्तामा एक दिन । अफसोस! धेरै टाढा आइसकेको छु। अबका वर्षहरूमा म एक्लै आफ्नो कोठामा बस्ने सम्भावना छैन। मान्छेको घेराउमा, रेस्टुरेन्टको काममा आगामी वर्षहरू म घिसारिने छु। उता रमाउन नजानेर यता आउनु आफ्नै चयन थियो। यता आएर उता फर्किन चाहनु? पुरानो स्वभावको इनर्सिया!

मलाई यस्ता वाहियात कुराको बानी पर्नुछ। अलिकति कसैलाई ऋण तिर्नुछ। अलिकति हलुका हुनुछ। अलिकति कमाउनुछ अनिवार्य रुपैयाँ! चालीस वर्षपछि रिटायर्ड जिन्दगी जिउनु छ। घुम्नु छ, पढ्नु छ, सके लेख्नु छ, स्वतन्त्र जिउनु छ। सके आफ्ना वास्तविक इच्छा र चाहना पत्ता लगाउनु छ र जीवनको अभिप्राय बुझ्नु छ र त्यसको आलोकमा जिउनु छ! तर ‘हनुमान’ वर्तमान!

मभित्रको हतारमा आत्तिएर जताततै दौडिने केटो अहिले कहीँ छैन। आजकल एउटा बूढो मान्छे बोलिरहन्छ मभित्र… त्यहाँ नैराश्य छैन, उत्सुकता छैन, नोस्टाल्जिया छैन, सपना पनि छैन! यो के हो थाहा छैन, त्यसैले त्यसलाई लाओत्जुको ताओ भनेको छु!

साँझ कामबाट फर्किदिनु, बिहान समुद्र हेर्नु र दिनभरि काममा आफूलाई भुल्नुको मनोटनीले पनि चिथोर्दैन। थाहा छ, चियाको कप समातेर भीड टोलाइरहेका मेरा आँखामा जुन निस्पृहता छ त्यो म हुनुको शैली हो। म मर्न सिकिरहेको छु, सायद बाँच्ने लालसा यस्तो पनि हुन्छ!

Facebook Comments

You may also like

error: Content is protected !!